
राम मण्डल – नजिकिँदै गरेको प्रतिनिधि सभा निर्वाचनको लागि अहिले राजनीतिक दलका उम्मेदवारहरू घरदैलो कार्यक्रममा ब्यस्त छन् ।
आगामी मंसिर ४ गतेका लागि तय भएकाे निर्वाचनका लागि विभिन्न जिल्लाका विभिन्न क्षेत्रका दल तथा स्वतन्त्र उम्मेदवाहरू अहिले भाेट माग्नका लागि जनताको घरदैलोमा पुगिरहेका पाइन्छन् ।
यसैक्रममा पर्सामा पनि निर्वाचनको लागि प्रचार-प्रसार तीब्र बनेको छ । जिल्लामा रहेको चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर- ३ मा यसपालि मुख्य तीन जना उम्मेदवारहरूबीच कडा टक्कर हुने देखिएको छ । क्षेत्र नम्बर- ३ मा पाँच दलीय सतारुढ गठबन्धन नेकपा एमाले र जसपा गठबन्धन तथा नेपाल सुशासन पार्टीबीच कडा टक्कर हुने देखिएको छ।
यो क्षेत्रमा सतारुढ गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र चौधरी, एमाले जसपा गठबन्धनबाट एमालेका राजकुमार गुप्ता उम्मेदवार रहेका छन् ।
त्यसैगरी, यी दुवै जनालाई टक्कर दिन सक्ने उम्मेदवारको रूपमा नेपाल सुशासन पार्टीका राजकुमार यादव रहेका छन् । ०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा पनि यी तीनै जना नै उम्मेदवार थिए । तर, सो बेला तीनै जनाले हार बेहोरेका थिए । ०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर ३ मा तत्कालीन संघीय समाजवादी पार्टी र राजपा गठबन्धनबाट उम्मेदवार रहेका संघीय समाजवादी पार्टीका हरिनारायण रौनियार विजयी भएका थिए ।
तर, रौनियारलाई भने अहिले उम्मेदवार रहेका कांग्रेसका चौधरी, एमालेका गुप्ता र हाल सुशासन पार्टीमा रहेका यादवले भने कडा टक्कर दिएका थिए । ०७४ सालको निर्वाचनमा रौनियार १५ हजार १६८ मत ल्याएर जित हासिल गरेका थिए । सो बेला उनका निकटतम प्रतिस्पर्धी रहेका कांग्रेसका चौधरीले १३ हजार ८०१ मत प्राप्त गर्दै दोस्रो भएका थिए । त्यस्तै, एमालेबाट नै लडेका गुप्ताले १० हजार ९८६ मत र सो बेला नेपाल सँघीय समाजबादी पार्टीबाट लडेका हाल सुशासन पार्टीका उम्मेदवार यादवले १० हजार ९ मत प्राप्त गरेका थिए ।
यस आँकडा अनुसार ०७४ सालमा हार बेहोरेका कांग्रेसका चौधरी, एमालेका गुप्ता र सुशासनका यादवबीच कडा टक्कर हुने देखिन्छ । किनभने यसपालिको निर्वाचनमा रौनियार भने चुनाव लडिरहेका छैनन् । जसले गर्दा ०७४ सालमा हारेका यी तीन जनामध्ये नै एक जनाले बाजी मार्नेछन् । अहिले सतारुढ गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका चौधरी पूर्वमन्त्रीसमेत हुन् । उनी लागातार दोस्रो पटक सोही पार्टी र सोही क्षेत्रबाट उम्मेदवार छन् ।
एमालेबाट निर्वाचन लडिरहेका गुप्ता पार्टीका केन्द्रीय सदस्य हुन् । उनी ०७० सालको संविधानसभाको निर्वाचनमा क्षेत्र नम्बर ३ बाट नै निर्वाचित भएका थिए । गुप्ता भने लागातार तेस्रो पटक एमालेबाट यस क्षेत्रमा उमेदवार बनेका छन् ।
अहिले नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिएका यादव भने ०७४ सालको निर्वाचनमा नेपाल संघीय समाजवादी पार्टीबाट उम्मेदवार थिए । क्षेत्र नम्बर ३ मा यसपालि कुल ९० हजार ४३२ जना मतदाताहरू रहेका छन् ।