
वीरगञ्ज- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि पर्साको क्षेत्र नम्बर २ मा दुई गठबन्धनबीच नै तीव्र प्रतिस्पर्धा हुने भएकाे छ।
सतारूढ पाँच दलीय गठबन्धन र नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनकाे उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुन लागेकाे हाे।
क्षेत्र नम्बर २ मा सतारूढ गठबन्धनबाट नेपाली कांग्रेसका अजय चौरसिया उम्मेदवार छन् भने एमाले-जसपा गठबन्धनबाट जसपाका नेता सुरेन्द्र कुर्मी उम्मेदवार छन्।
कांग्रेसबाट उम्मेदवार रहेका चौरसिया लगातार दोस्रो पटक यस क्षेत्रबाट प्रतिनिधिसभामा लडदैछन्। उनी यसअघि ०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट उम्मेदवार भए पनि पराजित भएका थिए।
०७४ सालमा यस क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी गठबन्धनबाट २१ हजार १६९ मत ल्याई राजपाका विमल श्रीवास्तवले जितेका थिए। चौरसिया भने १९ हजार ७०४ मतका साथ दोस्रो भएका थिए।
चौरसिया कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्रीसमेत हुन्। उनको विरुद्धमा उम्मेदवार बनेका जसपाका कुर्मी भने नव प्रवेशी हुन्।
कुर्मी केही दिनअघि मात्रै आफू आबद्ध रहेको दल लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका थिए।
प्रतिनिधिसभामा कुर्मी पहिलो पटक चुनाव लडदैछन्। अधिवक्ताको रूपमा काम गर्दै आएका उनी समाजसेवी र राजनीतिज्ञकाे रूपमा पनि चिनिन्छन्।
यसपटक क्षेत्र नम्बर २ मा यिनै दुई जनाबीच नै कडा टक्कर हुने देखिएकाे छ। दुवै उम्मेदवारहरू अहिले घरदैलो कार्यक्रममा व्यस्त छन्।