
बुटवल – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को मतगणना पुनः सुरु भएको छ। मतगणनामा अनियमितता भएको आरोप लगाउँदै बाहिरिएका सत्तारूढ गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीको अनुपस्थितिमै निर्वाचन कार्यालयले मतगणना सुरु गरेको हो।
मुचुल्कामा उल्लेख गरिएको मतपत्रको संख्याभन्दा कम्प्युटरमा प्रविष्ट गरिएको मतपत्रको संख्या कम भेटिएपछि बढी मतपत्र आएको भन्दै सत्ता गठबन्धनसहित रास्वपा र अन्य उम्मेदवारहरु विरोधमा उत्रिएका थिए।
उनीहरुले पुनः मतदानको माग गर्दै दिनभरी मतगणनास्थल बाहिर नाराबाजी गरे पनि निर्वाचन कार्यालयले साँझबाट एमाले र नेमकिपाका उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतगणना सुरु गरेको हो।
मतपेटिकामा र मुचुल्कामा उल्लेख गरिएको मतपत्रको संख्या मिलेको तर कम्प्युटर प्रविष्ट गर्दा कर्मचारीबाट कमजोरी भएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले छलफलका लागि पटक–पटक दलहरुलाई बोलाएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनका दलहरुले भने विवाद भएको वडामा पुनः मतदानको माग गर्दै बैठकमा बस्न अस्वीकार गरेका थिए।
रास्वपाका उम्मेदवार गणेश पौडेलसहित सत्ता गठबन्धनका नेताहरुले भने कम्प्युटरमा राखिएको डाटाभन्दा बढी संख्यामा मतपत्र भेटिएको भन्दै विरोध जनाइरहेका छन्।
निर्वाचन कार्यालयले पटक–पटक सर्वदलीय बैठकका लागि सूचना गर्दा पनि ती दलहरु उपस्थित नभएपछि मतगणना नियमित रुपमा सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
एमाले उम्मेदवार विष्णु पौडेल रास्वपाका उम्मेदवार गणेश पौडेलभन्दा अगाडि छन्।