
काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने दाबी गरेको छ। बुधबार आफूले औपचारिक अध्ययनको सुरुवात गरेको कास्कीको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्तीमा दाहालले त्यहाँका जनताको आशिर्वाद लागेमा आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताएका हुन्।
दाहालले भने, ‘तपाईंहरुको आशीर्वाद र शुभकामना लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु।’ अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिएर आफ्नै नेतृत्वमा सरकार बनाउन बार्गेनिङ गरिरहेका दाहालले सार्वजनिक रुपमा प्रधानमन्त्री बन्ने ठोकुवा गरेका हुन्।
कांग्रेससँग मिलेर गठबन्धनलाई कायम राख्ने र पहिलो कार्यकाल आफूलाई प्रधानमन्त्री दिनुपर्ने अडानमा दाहाल छन्। उनले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न अठोटसमेत गरिसकेको खुलास गरे। दाहालले भने, ‘यो मेरो तेस्रो कार्यकाल हुने अठोट गरेको छु। मेरो पहिलो कार्यकाल राम्रोसँग विधि प्रक्रिया बझ्नै नपाइ बित्यो। दोस्रो कार्यकाल देशको लागि केही महत्वपूर्ण काम गरे भन्ने गर्व छ।’
उनले निर्वाचन आयोगले राष्ट्रिपतिलाई निर्वाचनको परिणाम बुझाएपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए।
अघिल्लोपटक जाँदा घर बनाएर बस्छु, अहिले चुनाव लड्छु
‘प्रचण्ड’ नेपाली राजनीतिका चतुर खेलाडी मात्रै नभएर अस्थिर नेताका रुपमा पनि चिनिन्छन्। उनको एउटा आदत छ, प्रत्येक पटक निर्वाचन क्षेत्र फेरिरहने । सशस्त्र द्वन्द्वपछि उनले प्रत्येक निर्वाचनमा क्षेत्र फेरिरहेका छन् ।
सशस्त्र द्वन्द्वलाई पूर्णविराम लगाएर उनको पार्टी शान्ति प्रक्रियामा सामेल भएपछि चार वटा निर्वाचन भएका छन् । २०६४ मा भएको पहिलो संविधान सदस्य निर्वाचनमा प्रचण्डले राजधानी काठमाडौं–१० र सशस्त्र जनयुद्धको उद्गमस्थल रोल्पा–२ बाट उम्मेदवार भए । दुवै निर्वाचन क्षेत्रबाट उनी निर्वाचित पनि भए ।
२०७० मा दोस्रोसंविधान सभा सदस्य निर्वाचनमा उनले रोल्पा–२ छाडे । काठमाडौं–१० सँगै सिराहा–५ बाट निर्वाचन लडे । काठमाडौं–१० मा प्रचण्डको दोस्रो जित दर्ता हुन सकेन ।
मुलुकमा संघीय शासन व्यवस्था लागूपछि २०७४ मा भएको आम निर्वाचनमा उनले काठमाडौं सिराहालाई चटक्क बिर्सेर चितवन पुगे। चितवन उनको गृह जिल्ला पनि हो ।
चितवन–३ मा बाम गठबन्धनको साझा उम्मेदवार बनेका उनी विजयी भए । गत मंसिरमा भएको आम निर्वाचनमा उनले चितवन असुरिक्षत ठानेर गोरखा–२ मा उक्लिए । गोरखामा उनी उक्लिएपछि जनयुद्धको बेला प्रचण्डका सहयोद्धा हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन लडेनन्।
माओवादीले बहुमत पालिका जितेका गोरखामा सुरक्षित महसुस गर्दै उक्लिएका उनले निर्वाचन क्षेत्र फेरिरहने रेकर्ड बनाए। तर, फराकिलो मतान्तरले निर्वाचित हुने इतिहास रच्नबाट वञ्चित भए।
सत्ता गठबन्धनका साझा उम्मेदवार प्रचण्ड गोरखा–२ मा १३ हजार ४६६ मतान्तरसहित निर्वाचित भएका हुन्। प्रचण्डले २६हजार १०३ मत गर्दा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत प्राप्त गरे । निर्वाचनअगाडि प्रचण्डलाई चुनौति दिँदै हिँडेका नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले ७ हजार ३९३ मत ल्याउँदै तेस्रो बने ।
अबको प्रधानमन्त्री आफू बन्नलाई गृहकार्यमा व्यस्त प्रचण्ड बुधबार जन्मथलो कास्कीको ढिकुरीपोखरी उक्लिए। प्रचण्ड कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नाँगडाँडास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक महोत्सवमा सहभागी हुन आएका हुन्। जहाँ उनले शिशु र कक्षा १ सम्म अध्ययन गरेका थिए । त्यसपछि उनको परिवार चितवन बसाइँ स¥यो ।
निर्वाचनपछाडि पहिलो कार्यक्रम हीरक महोत्सवमा आएको बताएका प्रचण्डले अबको निर्वाचन जन्मथलो कास्कीबाट चुनाव लड्ने संकेत गरे । ‘ममात्रै त्यस्तो नेता भएको छु जो पहिलो पटक काठमाडौं र रोल्पाबाट निर्वाचन लड्यो । दोस्रो पटक मधेसमा एकदम आगो बल्लाजस्तो देखिएपछि मधेसमै गएर त्यहाँको जनताको विश्वास जितेर राष्ट्रिय एकता सुदृढ गर्नेगरी सिराहामा गएर चुनाव लड्यो,’ उनले भने,‘त्यसपछि फेरि आफ्नो अहिलेको गृहजिल्ला चितवनबाट चुनाव लडें ।’
प्रचण्डले अबको निर्वाचनमा आफू कास्कीबाट लड्न सक्ने संकेत दिँदै अगाडि थपे, ‘तपार्इंहरुलाई थाहा छ भर्खरै गोरखा गएर त्यहाँबाट निर्वाचित भएको छु । मलाई लाग्छ समय भने जस्तो भयो भने अर्को पटक कास्की हुन पनि बेर छैन।’
‘हुन पनि बेर छैन् भन्या छु है मैले । त्यो बुझिराख्नुहोला’, मसुक्क मुस्कुराउँदै प्रचण्ड सुनिए । देशभरका जनताको चहाना र भावना बुझेर सम्बोधन गर्नलाई आफू समर्पित हुने उनको भनाइ छ । आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्नेसमेत बताए ।
प्रचण्डले २५ मिनेट लामो सम्बोधनको सुरुवातमै बाल्यकाल सम्झिएर ‘नोस्टालजिक’ भए । विद्यालयको कार्यक्रममा सहभागि हुनु आगडि प्रचण्डले जन्मस्थान लेवाडे पुगेर आफन्त र कार्यकर्तासँग भेटघाट गरेका थिए ।
प्रचण्ड २०७५ बैशाखमा पनि परिवारका सदस्य लिएर जन्मथलो ढिकुरपोखरीको लेवाडे पुगेका थिए। त्यतिबेला उनले यहीँ घर बनाउने समेत बताएका थिए।