
थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफा र त्यहाँ फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक । गएको दुई हप्ताभन्दा बढी समयदेखि विश्वभरका सञ्चारमाध्यम, उद्धारकर्मी र सर्वसाधारणको ध्यान यसैमा केन्द्रित भयो ।
१८ औँ दिन थियो मंगलबार, प्रशिक्षकसहित बालकहरु गुफामा फसेको । मंगलबार गुफामा बाँकी रहेका चार बालक र उनीहरुका प्रशिक्षकलाई ‘मिसन इम्पोसिबल’ जस्तै मानिसएको उद्धार अभियानमा खटिएका विश्वभरका उत्कृष्ट केभ डाइभरले बाहिर निकाले । त्यसअघि सोमबार चार तथा मंगलबार चार बालकलाई बाहिर निकालिएको थियो ।
बाढीको पानी पसेर चुनौतीपूर्ण बनेको गुफामा डरलाई जितेर उद्धारका लागि आफूहरुलाई नै जोखिममा धकेलेका उद्धारकर्मीले मंगलबार बेलुका राहको महसुस मात्रै गरेनन्, जीवनमा आफूले गरेको सबैभन्दा चुनौतीपूर्ण र आनन्द लाग्दो कामको खुशी मनाइरहेका छन् ।
१२ बालक र प्रशिक्षकको सकुशल उद्धार भएपछि अहिले थाइल्याण्डमा उत्सवको अवस्था छ भने त्यसको रंग विश्वभर चढेको छ । विश्वभरबाट उनीहरुको उद्धारमा खटिएको प्रशंसा भएको छ ।
उद्धार अभियानको संयोजन गरेका चिएङ्ग राईका गभर्नर नारोङ्गसाक ओसोटानाकोर्नले भनेका छन्, ‘आज थाइ नागरिक, टिम थाइल्याण्डले मिसन इम्पोसिबललाई पोसिबल बनेको अवस्थामा पाएको छ ।’

तस्बिर : राेयटर्स
मंगलबार बेलुका मो पा (वाइल्ड बोएर) फुटबल टिमका सबै युवा खेलाडी र प्रशिक्षकको उद्धार भयो । उनीहरुको उद्धारका लागि विश्वभरका ९० जना उद्धारकर्मी खटिएका थिए ।
उद्धार गरिएका सबै बालक र प्रशिक्षकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी सरकारी अधिकारीले दिएको बिबिसी र द गार्डियनले जनाएका छन् ।
पहिलो दिन उद्धार गरिएका चार बालकले सिसाको झ्यालबाट आफ्ना अभिभावकलाई हेरेको स्वास्थ्य अधिकारीले बताएका छन् । उनीहरुले चाँडै नै अभिभावकसँग बोल्न पाउने छन् । यस्तै दोस्रो दिन सोमबार उद्धार गरिएका चार बालकले पनि चाँडै नै आफ्ना अभिभावकलाई देख्न पाउने छन् ।

अस्पतालमा रहेका ८ बालकका लागि खानाको तयारी गर्दै पोषणविदहरु । तस्बिर : इपिए
अस्पतालमा रहेका दुई बालकको फोक्सोमा सामान्य खालको संक्रमण देखिएको छ । सबैलाई सनग्लासेस लगाउन दिइएको छ, किनकी उनीहरु दुई हप्ता भन्दा बढी समय पूर्ण अँध्यारोमा थिए ।
उनीहरुलाई अहिलेसम्म थाइ खाना, भात दिइएको छैन । बालकहरुले भने भात खाने इच्छा व्यक्त गरेका छन् । उनीहरुलाई केही चकलेट र हलुका खाना दिइएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उद्धार गरिएका बालकलाई कम्तिमा सात दिन अस्पतालमै राखिने छ ।
गएको जुन २३ मा फुटबलको प्रशिक्षण सकेर गुफामा गएका १२ बालक र उनीहरुका प्रशिक्षक त्यहिँ फसेका थिए । १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक प्रशिक्षण सकेर गुफा हेर्न गएका थिए ।
चिएङ्ग राईमा रहेको थाम लुङ्ग गुफा गएका उनीहरु गुफामा बाढीको पानी पसेका कारण निस्कने बाटो बन्द हुँदा फसेका थिए ।