काठमाडौँ–राष्ट्रिय जनगणना २०७८ को नतिजा शुक्रबार सार्वजनिक गरिएको छ। काठमाडौँको एक होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन्।
राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ ।
जसअनुसार लैङ्गिक अनुपात अर्थात प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ । गत २०६८ सालको जनगणना अनुसार कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ र लैङ्गिक अनुपात ९४.१६ थियो ।
राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत् २५ कात्तिकदेखि ९ मंसिर ०७८ सालको जनगणना संकलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो ।
प्रारम्भिक रिपोर्टमा नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० छ । नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कूल जनसंख्यामध्ये अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २ हजार ९२८ देखिएको छ जुन कूल जनसंख्याको ०.०१ प्रतिशत हो ।
जनगणना अवधिमा वार्षिक औसत जनसंख्या वृद्धिदर प्रतिवर्ष ०.९२ प्रतिशत रहेको छ, जुन २०६८ सालको जनगणनामा १.३५ प्रतिशत प्रतिवर्ष थियो । जिल्लागत रुपमा हेर्दा सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर (३.३५ प्रतिशत) र सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछाप ((१.६७ प्रतिशत) रहेका छन् ।

भर्खरै
लोकप्रिय






































































































































































































