
काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरूले देखाएको बाटोमा वर्तमान कांग्रेस नेताहरू हिँड्नुपर्ने बताएका छन्।
सोमबार काठमाडौँमा पूर्वमन्त्री स्व.नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रममा बोल्दै नेता सिंहले मूल्य मान्यता र आदर्शको राजनीतिमा नेताहरू हिँड्न आवश्यक रहेको बताएका हुन्।
उनले २०४६ सम्म मूल्य, मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाज र दलहरूले दिएको उल्लेख गर्दै २०४६ को परिवर्तनपछि संस्थापक नेताहरूले देखाएको बाटोमा कांग्रेस नेताहरू कत्तिको हिँडेका छौँ भन्ने कुराको मनन गर्न आवश्यक रहेको बताए।
नेता सिंहले भने, ‘२०४६ सम्म मूल्य, मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाजले र दलले दिएको हामीले पाएका छौँ। तर २०४६ को परिवर्तनपछि प्रतिबन्धित अवस्थाबाट पार्टी खुलामा आइसकेपछि पावर बेस पोलिटिक्समा रूपान्तरण भयाे। जसकारणले मूल्य, मान्यताको राजनीति, आदर्शको राजनीति आदरणीय संस्थापक नेताहरूले देखाएको बाटोमा हामीले कत्तिको ध्यान दिन सकेका छौँ, त्यसमा सबैले मनन गरौँ।’
नेता सिंहले स्व. जोशीले देशमा प्रजातन्त्र ल्याउन र पुनर्बहाली गराउन गरेको देन समाजले सम्झिरहने पनि बताए।