
अमेरिकी राष्ट्रपतिको पदको लागि आगामी वर्ष हुने निर्वाचनमा रिपब्लिकन पार्टीको उम्मेदवारको प्रत्यासी र राष्ट्र सङ्घका लागि पूर्व अमेरिकी राजदूत निक्की हेलेको विचारमा युक्रेनमा रूसको विजयको अर्थ भनेको मूलतः चीनको विजय हो।
युक्रेनमा रूसले विजय प्राप्त गरेमा र युरोपमाथि रूसको सुरक्षा चुनौती निरन्तर रहिरहे अमेरिका युरोपमै व्यस्त रहन्छ र चीनलाई ताइवानमा आक्रमण गर्न सजिलो हुने उनको भनाइ छ।
उनको विचारमा युक्रेन युद्ध कुनै क्षेत्रीय विवाद र द्वन्द्व होइन, विश्वव्यापी रूपमा अमेरिकाका विराट राष्ट्रिय हितहरूमाथिको चुनौती हो। (१)
इन्डो प्यासिफिक क्षेत्रमा युक्रेन युद्धको सम्भावित परिणामबारे पूर्व जापानी राष्ट्रिय सुरक्षा सल्लाहकार र पूर्व रक्षामन्त्री युरिको कोइकेको भनाईमा – तत्कालीन अमेरिकी सभामुख नान्सी पेलोसीको गएको अगस्टमा भएको ताइवान भ्रमणलाई लिएर त्यस्तो उन्मादी र खतरनाक प्रतिक्रिया व्यक्त गर्ने चीन हिन्दकुश पर्वत शृङ्खलादेखि अस्ट्रेलिया र कोरियाली प्रायद्वीपसम्मका क्षेत्रका मुलुकहरू वीचको युगौँ युग देखिका शत्रुता र विवादको आडमा जतिखेर पनि खुला युद्धमा उत्रिन सक्दछ। (२)
सो परिप्रेक्षमा कोइकेको सोही आलेखमा उल्लेख भए अनुसार इण्डो प्यासिफिक क्षेत्रका मुलुकहरू र खास गरेर अमेरिका,अस्ट्रेलिया, इन्डोनेसिया,जापान,दक्षिण कोरिया र भारत जस्ता प्रजातान्त्रिक शक्तिहरू वीच शान्ति विथोल्ने सम्भावित मुलुकहरूलाई सामना गर्ने सवालमा आपसमा रणनीतिक विश्वास निर्माणगर्न उनीहरू कत्तिको गम्भीर रहन्छन् र शान्ति स्थापनाका लागि आवश्यक संयन्त्र र संरचनाहरू निर्माणमा उनीहरू कुन हदसम्म सफल हुन्छन् त्यसले मात्रै क्षेत्रमा शान्ति स्थापना हुने छ।
साथै अर्को सत्य के पनि हो भने वर्तमान विश्वको केन्द्र बनेको इण्डो–प्यासिफिक क्षेत्रमा युद्धको आगो बल्नुको अर्थ सम्पूर्ण विश्वको विनाश हो।
एउटा कुरा विचारणीय छ –आपसी सहमतिबाट भएका सीमा व्यवस्थापन बाहेक दोस्रो विश्व युद्धपछि कुनै एउटा मुलुकको अन्तर्राष्ट्रिय सीमा भित्रको कुनै भूभागलाई आफ्नो भूभागमा मिलाउने गरी भएका युद्धमा १९६२मा चीनले भारतमाथि गरेको आक्रमण र २०१४मा रूसले युक्रेनको क्रिमिया र २०२२मा युक्रेनमाथि गरेको आक्रमण मात्रै हो।
अमेरिका र पश्चिम युरोपका मुलुकहरूले अन्य मुलुकमाथि आक्रमण गरेका छन्।
कतिपय सन्दर्भमा त्यस्तो आक्रमण राष्ट्र सङ्घकै अनुमोदनमा र राष्ट्र सङ्घको अनुमोदन बिना पनि भएका छन्।
आतङ्क, अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन, अन्य राष्ट्रहरूमाथिको आक्रमण र जातीय हिंसा र मारकाट रोक्ने नाउमा भएका छन् तर अर्को मुलुकको भूभागलाई आफ्नो मुलुकमा गाभ्ने उद्देश्यले उनीहरूले त्यस्तो आक्रमण गरेका छैनन् । (३)
र युक्रेन युद्धले नयाँ शीत युद्धको थालनी मात्रै नगरेर तेस्रो विश्व युद्धको लागि पृष्ठभूमि निर्माण गरेको मात्रै होइन, त्यस्तो युद्ध समेत भैसकेको राजनीतिज्ञ र विज्ञहरूको दावी छ। (४)
सो परिवेशलाई यसरी पनि बुझौँ – युद्ध चलिरहेको बखत युक्रेनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, तत्कालीन ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सन, फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोन र हालै जापानी प्रधानमन्त्री फुमिओ किसिदाले युक्रेनको भ्रमण गरेर उसलाई हर सम्भव सहयोगको आश्वासन दिएका छन्।
त्यतिमात्रै नभएर चीनियाँ राष्ट्रपति सी जिन्पिङ् मस्को भ्रमणमा रहेकै बखत जापानी प्रधानमन्त्री किसिदा युक्रेनको भ्रमणमा थिए र जी सेभेन राष्ट्रहरूको तर्फबाट पूर्ण सहयोगको आश्वासन दिए।
यहाँ के विचारणीय छ भने भारत भ्रमणलगत्तै किसिदा युक्रेन पुगेका थिए र भारतबाट युक्रेन हिँडेका प्रधान मन्त्री किसिदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग त्यस विषयमा परामर्श र विचार आदानप्रदान भएन भन्न सकिन्न। सम्भवत: यो प्रधानमन्त्री मोदी र प्रधानमन्त्री किसिदाको एउटा संयुक्त सन्देश थियो।
यो पनि हेरौँ, युक्रेन सङ्कट समाधानका लागि चीनद्वारा प्रस्तुत १२ बुँदे प्रस्तावको पहिलो बुँदामै सबै मुलुकका प्रभुसत्ताको सम्मान गरिनुपर्ने उल्लेख गरिएको छ।
राष्ट्र सङ्घको घोषणा पत्रका उद्देश्य र सिद्धान्त लगायत विश्वव्यापी रूपमा स्वीकृत अन्तर्राष्ट्रिय कानुनलाई सम्पूर्णरूपमा पालना हुनुपर्ने बताइएको छ। (५)
बिडम्बना के छ भने यही मार्चमा सी जिन्पिङको बहुचर्चित मस्को भ्रमणको अवसरमा दुवै देशका राष्ट्रपतिद्वारा जारी संयुक्त वक्तव्यमा पनि दुवै मुलुकले सोही प्रतिवद्धता व्यक्त गरेका छन्, तनाव बढाउने र युद्धलाई विस्तार हुन नदिन आह्वान गरेका छन्।
वार्ताद्वारा समस्याको समस्याको समाधान खोज्न आह्वान गरेका छन्। (६)
तर दुवै मुलुक आफ्ना सार्वजनिक भनाइमा इमान्दार देखिन्नन्।
स्मरणीय छ गत वर्ष फेब्रुवरी ४मा बेइजिङमा ओलम्पिक खेलको अवशरमा चीनियाँ राष्ट्रपति र रूसी राष्ट्रपति द्वारा जारी संयुक्त वक्तव्यमा दुवै मुलुकवीचको सम्बन्धको कुनै सीमा नरहेको,सम्बन्धमा कुनै निषेधित क्षेत्र नरहेको उल्लेख गरेका थिए पाँच हजार भन्दा बढी शव्दको उक्त संयुक्त वक्तव्य आफैँमा एउटा बहु आयामिक गठबन्धनको वृहत् आलेख हो।
सो वक्तव्य जारी भएको त्यसको २० दिनमै रूसी ट्यांकहरू युक्रेनको सीमा मा प्रवेश गरेर तोप वर्षाउन थालेका थिए।
१. नयाँ ध्रुवीकरण र नया समीकरणद्वारा अमेरिकी विश्व व्यवस्थालाई विस्थापनगर्ने चीनियाँ रणनीति
यो क्रममा ब्राजिल, दक्षिण अफ्रिका,इरान, भारत लगायतका एसिया र अफ्रिकाका कतिपय मुलुकहरूलाई चीनियाँ ध्रुवमा जोड्ने लक्षमा चीन धेरै हदमा सफल पनि भएको छ र रूसको एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रमाथिको नग्न आक्रमणको लागि अमेरिका र नाटोलाई जिम्मेवार देखाउन सफल पनि भएको छ। (८)
चीन र रूस वीचको यो सीमा रहित गठबन्धनको अर्थ रूसको हकमा क्षेत्रीय महत्वको मात्रै छ भने चीनको लागि विश्वव्यापी रणनीतिक सरोकार र महत्वाकांक्षाको छ।
यही मार्च २१को सी– पुटिन भेटवार्ता सी जिन्पिङ् चीनको नेतृत्वमा आए पछिको ४०सौँ हो।
जति पटक सीको पुटिनसँग भेट भएको छ त्यसले रूसी राष्ट्रपतिलाई बढी आक्रामक बनाएको छ।
यही मार्च महिनामा भएको को भेटघाट पछि सी जिन्पिङ्लाई बिदाई गरे लगत्तै रूसले युक्रेन माथि भयानक आक्रमण गर्यो। (९ )
सो भेटघाट पछि विदाइको क्रममा सीले पुटिनलाई भने – “गएको १०० वर्षमा नभएका परिवर्तन हालका दिनहरूमा आएर भएका छन् र जव हामी भेट्छौँ हामीले यी परिवर्तनहरूलाई हाँकिरहेका हुन्छौँ।“
जवाफमा पुटिनले भने- “हो, त्यसै हो।” (१०)
विश्वको सबैभन्दा ठूलो आणविक अश्त्र– शस्त्रको भण्डार भएको राष्ट्रसँग सीमा जोरिएको रूससँगको त्यस्तो सीमारहित गठवन्धन भन्दा पनि गाढा र बलियो गठबन्धन भनेर दुवै मुलुकले दाबी गर्ने गरेको सम्बन्धको मूल मर्म भनेको अमेरिकी नेतृत्वको वर्तमान विश्व व्यवस्थाको विकल्प दिने र अमेरिकी नेतृत्वको विश्वव्यापी तथा वृहत प्रतिरक्षा गठबन्धनलाई प्रहार गर्नु, विभिन्न नाउँमा नयाँ गठबन्धनहरू निर्माणगर्ने क्रममा दुवै मुलुकले आपसमा अविभाज्य सुरक्षाको सिद्धान्तलाई अवलम्वन गरेका छन् ।
तर सवाल त्यो मात्रै होइन, चीन र रूसवीच लामो समयदेखि सीमा विवाद थियो ।१९९१, १९९४ , २००४ र २००८मा गरेर त्यस्तो सीमा सन्धिलाई पूर्णता दिएर ४,३०० किलोमिटर लामो सीमा रेखा तय गरेका थिए ।(११ )
तर विश्वको सवैभन्दा ठूलो जनसङ्ख्यालाई उन्नत र विकसित देशको दाँजोमा पुर्याउने सङ्कल्प बोकेको विराट बढ्दो आर्थिक, सैनिक, कूटनीतिक क्षमता युक्त चीनको भौगोलिक महत्वाकाङ्क्षा पनि बढ्दै गएको छ । त्यसैले भूभागको हिसावमा विश्वको सवै भन्दा ठूलो प्राकृतिक साधन र स्रोतको हिसावले पानि विश्वको सवैभन्दा समृद्ध तर कूल गार्हस्थ उत्पादनको आधारमा सन्सारको ११ औँ स्थानमा पर्ने रूस युक्रेन युद्धका कारण अझै कमजोर हुँदै गएको मात्र नभएर आर्थिकरूपमा ढल्ने अवस्थामा र आफ्ना आर्थिक र सैन्य आवश्यकताको लागि चीनमाथिको बढ्दो निर्भरताको मूल्य रूसका लागि निकै महँगो पर्ने देखिन्छ।
यही सिलसिलामा दक्षिण कोरिया भन्दा ६९ गुणा र ताइवान भन्दा २०० गुणा ठूलो रूसको सुदुर पूर्वको समस्त भूभाग रूसले चीनलाई हस्तान्तरण गर्नुपर्ने आवाज चीनमा उठ्न थालेको छ । (१२)
एक अपारदर्शी र स्वेच्छाचारी शासनलाई नेतृत्व गर्ने रूसीराष्ट्र पति भ्लादिमिर पुटिनले रूसका लागि के कस्तो रणनीतिक भविष्यको परिकल्पना गरेर युक्रेन माथि आक्रमण गरेका थिए उनै जानुन, तर सन् २०१४को फेब्रुवरी २३मा क्रिमिया माथि आक्रमण गरेर तीन दिन भित्रै क्रिमियामा पूर्ण नियन्त्रण कायम गरेको रूसले केही दिन भित्रै पूर्वी युक्रेनका रूससँग सीमा जोरिएका भूभागलाई आफूमा गाभ्ने र युक्रेनका पश्चिम समर्थक राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको ठाउँमा पुटिन समर्थक व्यक्तिलाई राष्ट्रपति बनाउने लक्ष भने प्रष्ट थियो ।
तर पुटिनको त्यो महत्वाकाङ्क्षाको मूल्य चीनले समेत खोज्न थाले पछि रूस एउटा गम्भीर मोडमा भने उभिएको छ ।
त्यति मात्रै नभएर कुनै समय विश्वका दुई सर्वशक्तिमान राष्ट्र मध्येको एक रूसको अन्तर्राष्ट्रिय व्यक्तित्वमा निरन्तर ह्राश आइरहँदा उसलाई चीनको मातहती सहयोगी राज्यको रूपमा समेत उल्लेख गर्न थालिएको छ । (१३ )
तसर्थ पनि युद्धले युक्रेनलाई ता क्षतविक्षत पारेकै छ, रूस पनि त्यस्तै नियतिमा पुग्न लागेको देखिन्छ।
यहाँ कुन सन्दर्भलाई बिर्सन सकिन्न भने १९७९मा अफगानिस्तान माथि सोभियत सङ्घले आक्रमण गर्यो।
१० वर्षसम्म उक्त युद्धको आर्थिक भार पनि सोभियत सङ्घको पतन र उसको विखन्डनको कारण बनेको थियो।
तर युद्धले अमेरिकालाई पनि आर्थिक रूपमा त्यस्तै क्षति पुर्याएको छ। सन् २००१ पछि अफगानिस्तान र इराकमा अमेरिकाले तीन खर्व डलर भन्दा बढी खर्च गरेको थियो र त्यो भनेको त्यतिखेरको अमेरिकाको कूल गार्हस्थ उत्पादन (११. ४६ खर्व डलर) को एक तिहाइभन्दा बढी थियो।
हाल आएर पनि जनवरी २४, २०२२ देखि जनवरी १५ २०२३को अवधिमा मात्रै अमेरिकाले युक्रेनमा ७६. ८ अर्व डलर थियो । (१४ )
भविष्यमा त्यो कुन बिन्दुमा पुग्छ थाहा छैन ।
तर त्यसले अमेरिकी अर्थतन्त्रमा पार्ने नकारात्मक असर देखिन थालिसकेको छ र अमेरिकाको कूल ऋण ३३ खर्व डलर पुगिसकेको छ। (१५ )
त्यो भनेको अमेरिकाको कूल गार्हस्थ उत्पादन भन्दा १० खर्व डलर भन्दा बढी हो र उक्त रकम चीनको कूल गाहर्स्थ उत्पादनको आधी भन्दा बढी हो ।स्मरणीय छ चीनको कूल गार्हस्थ उत्पादन भनेको करीव १८ खर्व डलर हो।
रूसको केन्द्रिय बैंकका एक पूर्व उच्चाधिकारी र अर्का एक खर्वपतिका अनुसार रूस दीर्घकालीन आर्थिक सङ्कटको बाटो मा छ र आगामी वर्ष उ सको ढुकुटी रित्तिने छ। (१६)
युद्ध चलिरहेको बखत युक्रेनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, तत्कालीन ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सन, फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोन र हालै जापानी प्रधानमन्त्री फुमिओ किसिदाले युक्रेनको भ्रमण गरेर उसलाई हर सम्भव सहयोगको आश्वासन दिएका छन्।
२. लेनिन, माओ र सी जिन्पिङ् सन्दर्भ र अन्तत: युद्धको कारण युद्ध नै हुन्छ
त्यसैले, चीनको रूस नीति विश्व व्यवस्था सम्बन्धमा उसको समग्र नीतिकै अङ्गको रूपमा हेरिनु पर्दछ ।
सी जिन्पिङ् कस्तो विश्व व्यवस्था चाहन्छन्, उनका रणनीतिक र कूटनीतिक व्यवहारलाई कसरी बुझ्ने ? त्यसका स्रोतहरू के हुन् भन्ने बारे विज्ञ र विश्लेषकहरूले धेरै लेखेका छन् ।(१७ )
रूसी र चीनियाँ राष्ट्रपतिहरूको उपरोक्त संवादले लेनिन र माओका ऐतिहासिक भनाईहरूलाई स्मरण गराएको छ ।
सय वर्ष भन्दा अघि जारशाहीको पतनलाई इङ्गितगर्दै सोभियत नेता भ्लादिमिर लेनिनले भनेका थिए — कतै केही नभई दशकौं दशक बितेका छन् तर केही हप्तामा नै दशकौं दशकका घटना हुन पुगेका छन् ।
अमेरिकी कूटनीतिज्ञ र काउन्सिल अन फरेन रिलेसन्सका अध्यक्ष रिचार्ड हास्ले लेखेका छन् – लेनिनको उक्त कुरा भनेकै हुन् भने उनले के पनि भन्ने थिए होलान भने केही शताव्दीहरूलाई उछिन्ने दशकहरू पनि छन् ।(१८)
हास्का अनुसार यो दशक शताव्दी उछिन्ने दशक हुने छ ।
चीनियाँ नेता माओ सोभियत सङ्घमा कम्युनिस्ट विजयको ४० औँ वार्षिक उत्सव मनाउने क्रममा नोभेम्बर १९५७मा दोस्रो पटक सोभियत सङ्घको भ्रमणमा गएका थिए । त्यतिखेरको उनको एउटा चर्चित भनाई थियो –
अन्तर्राष्ट्रिय परिवेश एउटा नयाँ चरणमा आइपुगेको छ अर्थात् वर्तमान विश्वमा दुई किसिमका लहर चलेका छन् – एउटा पूर्वी लहर र अर्को पश्चिमी ।
माओले त्यतिखेर के पनि उल्लेख गरेका थिए कि उनको विचारमा पूर्वी लहरले पश्चिमी लहरलाई निल्दै छ ।(१९)
माओको त्यही दावीको प्रतिगुन्जन वर्तमान चीनियाँ राष्ट्रपति सी जिन्पिङ्ले बारम्बार बताउने गरेका छन् कि – पूर्व निरन्तर उन्नति र प्रगतिको मार्गमा छ जवकि पश्चिम ठिक विपरित पछि पछि पर्दै छ ।(२०)
युद्धको एउटा क्रम अर्थात एउटा शृङ्खला हुन्छ ।धेरै ठूला विनाश र विपदा पछि युद्ध कसैको हार र जितमा नै टुङ्गिन्छ तर त्यो जित र हारले अर्को युद्ध अवश्यम्भावी बनाएको बाक्लो इतिहास हाम्रो सामू छ ।
कारण स्पष्ट छ – विजयी पक्षले आफ्नो विजय पछिको भूराजनीतिक परिवर्तन र त्यसबाट प्राप्त रणनीतिक उपलव्धि र प्रभुत्वहरूलाई स्थायी राख्ने पराजित पक्ष वा अर्को कुनै शक्तिलाई आफू माथि चुनौती दिन नसक्ने अवस्थामा यथावत राख्नु लाई राष्ट्र हरूको मूल राष्ट्रिय नीति रहने गरेको छ ।
राज्य र राष्ट्रहरूको इतिहास भनेकै त्यसैको उल्लेख हो –त्यसैको लेखाजोखा र शिक्षा हो ।
यसलाई केही इतिहासकै सन्दर्भसँग जोडेर हेरौँ –
फ्रान्सका विख्यात राजनेता र प्रथम विश्वयुद्ध कालमा त्यहाँका प्रधानमन्त्री थिए जर्ज क्लिमेन्सु ।
१८७०–७१ को फ्रान्स र जर्मनीवीचको युद्धमा फ्रान्स नराम्रोसँग पराजित भएको थियो ।
युद्ध फ्रान्सको जर्मनीमाथिको आक्रमणबाट आरम्भ भएको थियो ।एक किसिमले उक्त युद्ध फ्रेन्च सम्राट नेपोलियन तृतीय र जर्मन चान्सलर ओट्टो वन विस्मार्कको कूटनीतिक र रणनीतिक महत्वाकांक्षाको टक्कर थियो ।
उक्त युद्धमा भएको फ्रान्सको पराजयले जर्मनीलाई युरोप महादेशको सर्वशक्तिमान राष्ट्र बनायो ।
विश्व राजनीतिको केन्द्र पनि जर्मनी बन्यो ।
तर आफ्नो त्यो पराजय फ्रान्सको लागि ठूलो राष्ट्रिय अपमानको विषय बनेको थियो
भने जर्मनीको लागि बढ्दो साम्राज्यवादी महत्वाकांक्षाको आभिप्रेरणा ।
उक्त युद्धमा भएको फ्रान्सको अपमानजनक पराजयलाई नजिकबाट अनुभव गरेका
क्लिमेन्सुको त्यो पराजयको बदला लिने संकल्पले पहिलो विश्व युद्ध गरायो र पहिलो विश्व युद्धमा भएको जर्मनीको हार र जर्मनीको घोर र क्रूर अपमानले जन्माएका हिटलर दोस्रो विश्व युद्धका कारण बने ।
वर्तमान विश्वका घटना क्रमले दोस्रो विश्व युद्ध का शुरूका वर्षहरू र १९९०–९१को कुवेत माथिको इराकी आक्रमण– कब्जा र नाटो तथा अमेरिकाले कुवेतको मुक्तिको लागि इराक विरुद्ध गरेको आक्रमणलाई घरीघरी सम्झाउने गरेको छ ।
युक्रेन माथिको रूसी आक्रमणले ठूला शक्ति राष्ट्रहरूको आपसी सम्बन्धमा ल्याएको परिवर्तनले भविष्यमा कुन स्वरूप ग्रहण गर्ने छ –त्यो पूर्वानुमान भन्दा बाहिरको विषय बन्न पुगेको छ ।
विभिन्न्न मतभेदका बाबजुद हालै सम्पन्न युक्रेन सम्बन्धी संकटकालीन सत्रमा राष्ट्र सङ्घका १९३ मुलुक मध्ये १४१ मुलुकले युक्रेनमाथिको रूसी आक्रमणको निन्दा गर्दै रूस लाई तत्काल आक्रमण बन्द गर्न आह्वान गरेर युक्रेनको प्रभुसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा आफूलाई उभ्याए ।(२१)
राष्ट्र सङ्घमा सो प्रस्तावको विपक्षमा बेलारूस, उत्तर कोरियाम रुस, इरिट्रिया र सिरिया थिए ।भारत, चीन, दक्षिण अफ्रिका र इरान लगायतका ३५ मुलुक अनुपस्थित थिए ।
३. इण्डो प्यासिफिक क्षेत्रका प्रजातान्त्रिक राष्ट्रहरूको आत्मनिर्भर नयाँ ध्रुव निर्माणको तयारी
अमेरिकाको हवाई सेना कमाण्ड का प्रमुख जनरल माइक मिनिहानले उच्चस्तरीय सैनिक अधिकारीहरूसँगको गोपनीय छलफलमा प्रस्तुत दस्तावेजमा ताइवानलाई लिएर चीन र अमेरिका वीच सन् २०२५मा युद्ध हुने बताएका थिए ।(२२)
त्यसै गरी विख्यात अमेरिकी कूटनीतिज्ञ र प्राज्ञको भूमिका निर्वाह गर्दै बाइडेन प्रशासन अन्तर्गत सिआइए प्रमुखको पदमा रहेका विलियम जे. बर्न्स अनुसार सन् २०२७ सम्ममा ताइवानमाथि आक्रमण गर्न तयार रहन चीनियाँ राष्ट्रपति सी जिन्पिङले सेनालाई आदेश दिएका छन् ।(२३)
युक्रेन युद्ध शुरुभएको एक वर्ष पुग्नै लाग्दा फेब्रुवरी २०का दिन अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनको राजधानी किभ मै पुगेर युक्रेनको प्रजातन्त्र, प्रभुसत्ता र भौगोलिक अखण्डताप्रतिको अविचलित प्रतिवद्धता व्यक्त गरे ।(२४ )
युक्रेन युद्धको वर्ष दिन पुगेको समय पारेर अमेरिकी पत्रिका दी एटलान्टिकसँगको अन्तर्वार्तामा अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनसँग सोधिएको एउटा प्रश्नको उत्तरमा ताइवान सवाल चीनले भने जस्तो उसको आन्तरिक मामिला नभएर समग्र विश्वको सरोकारको विषय बताए । (२५)
यो एक किसिमले अमेरिकाको एक चीन नीतिकै परित्याग थियो ।
उनको तर्क थियो हरेक दिन विश्वको ५० प्रतिशत व्यापारिक जहाजहरू ताइवान जलमार्ग भएर जान्छन् ।
स्मार्ट फोनदेखि लिएर गाडी र भाँडा माझ्ने मेसिनहरूलाई नभई नहुने सेमी कन्डक्टर्सहरूको अत्यधिक ठूलो परिमाणको हिस्सा ताइवानमा उत्पादन हुन्छ ।त्यसैले ताइवान माथिको आक्रमण विश्व अर्थतन्त्र र संसारका सवै मुलुकहरूका अत्यन्त विनाशकारी बन्न पुग्दछ ।
सवाल अर्को पनि छ –युक्रेन युद्धका कारण रूस त झन्डै टाट उल्टिने स्थितिमा छ तर युक्रेन युद्धले विश्वव्यापी सङ्कटलाई आमन्त्रणमात्रै गरेको छैन यसले विश्वको राजनीतिक वातावरण पनि ज्यादै धमिल्याएको छ ।
माथि उल्लेख गरिसकिएको छ – एकातिर चीन, रूस र इरानवीचको गठबन्धन र अर्कोतिर अमेरिका सहितको नाटो, जापान र अस्ट्रेलिया जस्ता मुलुकहरूको गठबन्धनले विश्वलाई मूलतः दुई ध्रुवमा विभक्त गरेको छ ।
यो अवस्था अमेरिकी नेतृत्वको विश्व व्यवस्था विश्व व्यवस्थाको लागि गम्भीर चुनौती हो । त्यति मात्रै नभएर चीनको मध्यस्थतामा (२६ ) मध्य पूर्वमा अमेरिकाको परम्पारागत मित्र साउदी अरव र क्षेत्रमा अमेरिकाको सवैभन्दा ठूलो र शक्तिशाली विरोधी इरानवीच भएको एक किसिमको अनाक्रमण सम्झौताले गएको तीन दशक भन्दा लामो समयदेखि अमेरिकाको प्रभाव क्षेत्रमा चीनको शक्तिशाली प्रवेश गराएको छ ।
त्यति मात्रै नभएर इस्लामी कट्टरपन्थको प्रभाव बढ्दै गएको साउदी अरव र स्वयं इस्लामी कट्टरपन्थी इरानवीच निर्माण हुने नयाँ सम्बन्धले मध्यपूर्वको समस्त रणनीतिक वातावरणलाई सन्दिग्ध बनाएको मात्र नभएर त्यसले मध्यपूर्व मा मात्रै नभएर विश्व भरकै इस्लामी कट्टरपन्थीहरूलाई नयाँ उर्जा र शक्ति प्राप्त हुने छ नै ।
अर्कोतर्फ युरोप र नाटो युक्रेनलाई हर सम्भव सहयोगगर्न दृढ हुँदै गएको र त्यसले युरोपका प्रजातान्त्रिक र गैर प्रजातान्त्रिक चरित्रका मुलुकहरूवीचको ध्रुबीकरणलाई तीव्र बनाएको छ र त्यो भनेको झन्डै दोस्रो विश्व युद्ध अघिको युरोपको अवस्था जस्तै हो ।
यता इण्डो प्यासिफिक क्षेत्रमा अमेरिकाका रणनीतिक साझेदारहरूवीच पनि बलियो ध्रुवी करण निर्माण हुँदै आएको छ ।
जापान र दक्षिण कोरिया वीच निकटता बढेको छ ।भारत, जापान र अष्ट्रेलियावीचको बढ्दो रणनीतिक घनिष्टता, सिङ्गो फिलिपिन्सका थप ९ स्थानमा अमेरिकी सैन्य सुविधा र उपकरणहरू विस्तार र जडानगर्ने संबन्धमा भएको नयाँ सम्झौताले क्षेत्रमा अमेरिकी रणनीतिक उपस्थितिलाई थप सघन बनाउन निर्णायक योगदान गरेको छ ।
गएको ३० वर्षमा अमेरिकाको सवैभन्दा ठूलो सैन्य उपस्थितिलाई सहज बनाउने उक्त सन्धिको महत्व क्षेत्रमा चीनको रणनीतिक गतिविधिलाई छेक्ने र ताइवानको सुरक्षालाई सुनिश्चित गर्ने सन्दर्भमा झनै महत्वपूर्ण रहेको बताइन्छ ।(२७ )
अमेरिका,अष्ट्रेलिया र बेलायतवीचको अकस सम्झौताको नयाँ चरणले पनि गति लिन थालेको छ।
सँगसँगै एउटा नयाँ रणनीतिक योजना पनि क्षेत्रका मुलुकहरूले विकास गरिरहेका देखिन्छन् ।यदि अमेरिका आर्थिक वा अन्य कारणले गठबन्धन र साझेदार राष्ट्रहरूका सुरक्षा आवश्यकतालाई सम्वोधन गर्न नसक्ने अवस्था आएमा र अमेरिकी नेतृत्वको विश्व व्यवस्थामा निरन्तर क्षयको स्थिति उत्पन्न भएमा वा अमेरिकी नेतृत्वको विश्व व्यवस्था प्रति गठबन्धन र साझेदार राष्ट्रहरूको विश्वास घट्दै गएमा ती मुलुकहरूले आफ्नो सुरक्षाको लागि छुट्टै रणनीति निर्माण गरेर अघि बढ्ने सम्भावना पनि त्यत्तिकै छ ।(२८)
र त्यसो भयो भने त्त्यो वास्तवमै वहुध्रुवीय विश्व निर्माणको कोशे ढुङ्गो सावित हुनेछ ।
*****
श्रोत र सन्दर्भ सूची:
(१) N।kk।Haley: Ch।na W।ns ।f Russ।a Conquers Ukra।ne, Wall Street Journal,March 20, 2023,https://www.wsj.com/art।cles/ch।na-w।ns-।f-russ।a-conquers-ukra।ne-put।n-x।-meet।ng-moscow-terr।tor।al-d।spute-weapons-as।a-a83d22c4?
(२) Yur।ko Ko।ke: The Ukra।ne War and As।an Secur।ty, Project Synd।cate, December 12, 2023, https://www.project-synd।cate.org/magaz।ne/ukra।ne-war-as।an-secur।ty-terr।tor।al-cla।ms-by-yur।ko-ko।ke-2022-12?
(३ )अमेरिकाकै उदाहरण लिऔँ – स्पेनसँगको युद्धमा विजय प्राप्त गरेपछि स्पेनको उपनिवेश रहेको ठूलो भूभाग उसले आफूमा मिलायो, फ़्रान्सको उपनिवेश रहेको कुनै भूभाग किन्यो, कुनै मेक्सिकोसँग खरिद गर्यो ।
कुनै भूभाग जस्तो अलास्का रूससँग नै १८६७ किन्यो ।१८९३मा हवाई द्वीपमा भएको बिद्रोहमा राजसँस्था हट्यो –गणतन्त्र स्थापना भयो र १८९८मा हवाई राज्यले अमेरिकामा गाभिने निर्णय गर्यो– त्यो एक किसिमले सिक्किम विलय जस्तै थियो ।
१८९८मा स्पेनसँगको युद्धमा अमेरिका विजयी भए पछि प्रशान्त क्षेत्र स्थित गुआम टापु समूहमा अमेरिकी नियन्त्रणमा आयो ।१८९८मा अमेरिकाको नियन्त्रणमा जे जति भूभाग थियो – आज पनि त्यत्तिकै छ ।
(४) Are We Headed for World War ।।।?,March 21, 2023 https://www.wsj.com/art।cles/are-we-headed-for-world-war-।।।-ch।na-russ।a-।ran-electr।cal-।nfrastructure-ukra।ne-fore।gn-pol।cy-b1b42224.
Brandon J We।chert: World War ।।।।s already here-H।stor।ans w।ll look back w।th confus।on as to how ।d।ot।c the leaders of th।s t।me were, February 23, 2023 https://as।at।mes.com/2023/02/world-war-।।।–।s-already-here/
L।l।Bayer: World War ।।।? ।t’s close, Orbán cla।ms
Hungary’s PM promotes Russ।an narrat।ve about war ।n Ukra।ne, March 10, 2023.
https://www.pol।t।co.eu/art।cle/hungary-v।ktor-orban-cla।ms-world-war-r।sk-।ncreas।ng-russ।a-ukra।ne/
(५ ) Ch।na’s Pos।t।on on the Pol।t।cal Settlement of the Ukra।ne Cr।s।s,February 24, 2023.
https://www.fmprc.gov.cn/mfa_eng/zxxx_662805/202302/t20230224_11030713.html
(६ )Pres।dent X।J।np।ng and Russ।an Pres।dent Vlad।m।r Put।n S।gn Jo।nt Statement of the People’s Republ।c of Ch।na and the Russ।an Federat।on on Deepen।ng the Comprehens।ve Strateg।c Partnersh।p of Coord।nat।on for the New Era and Stress Settl।ng the Ukra।ne Cr।s।s Through D।alogue, March 22, 2023.
https://www.fmprc.gov.cn/eng/zxxx_662805/202303/t20230322_11046088.html
(७ ) (७ )Jo।nt Statement of the Russ।an Federat।on and the People’s Republ।c of Ch।na on the ।nternat।onal Relat।ons Enter।ng a New Era and the Global Susta।nable Development
http://www.en.kreml।n.ru/supplement/5770
(८) Patr।c।a M. K।m:The L।m।ts of the No-L।m।ts Partnersh।p-Ch।na and Russ।a Can’t Be Spl।t, but They Can Be Thwarted, Fore।gn Affa।rs, March/Apr।l 2023,
https://www.fore।gnaffa।rs.com/ch।na/l।m।ts-of-a-no-l।m।ts-partnersh।p-ch।na-russ।a
(९) Dan Peleschuk, Serg।y Chaly।:Russ।a h।ts Ukra।ne w।th m।ss।les, drones as ‘dear fr।end’ X।departs, Reuters – March 22, 2023,https://www.reuters.com/art।cle/ukra।ne-cr।s।s-।dAFKBN2VN1WF
(१०) Dan Peleschuk, Serg।y Chaly।, ।b।d.
(११ ) Reuter Staff: Ch।na s।gns border demarcat।on pact w।th Russ।a, July 21, 2008.
https://www.reuters.com/art।cle/us-ch।na-russ।a-border-।dUKPEK29238620080721
(१२) Jeef Pao:Ch।na eyes Russ।a’s Far East resources, ‘patr।ots’ want more,As।a T।mes, march 25, 2023.
https://as।at।mes.com/2023/03/ch।na-eyes-russ।as-far-east-resources-patr।ots-want-more/?
(१३ )Alexander Gabuev: Ch।na’s New Vassal -How the War ।n Ukra।ne Turned Moscow ।nto Be।j।ng’s Jun।or Partner, Fore।gn Affa।rs, August 9, 2022,
https://www.fore।gnaffa।rs.com/ch।na/ch।nas-new-vassal
Ph।l।pp ।vanov:Can Russ।a Get Used to Be।ng Ch।na’s L।ttle Brother? Fore।gn Pol।cy, March 21, 2023
https://fore।gnpol।cy.com/2023/03/21/x।-put।n-meet।ng-russ।a-ch।na-relat।onsh।p/
Kather।ne Long:Meet Ch।na’s ‘jun।or partner,Pol।t।co, March 21,2023’
(१४ ) Jonathan Masters and W।ll Merrow:How Much A।d Has the U.S. Sent Ukra।ne? Here Are S।x Charts, Counc।l on Fore।gn Relat।ons,February 22, 2023.https://www.cfr.org/art।cle/how-much-a।d-has-us-sent-ukra।ne-here-are-s।x-charts
(१५ ) V।ctor Dav।s Hanson:Nagg।ng Unanswered Quest।ons About War ।n Ukra।ne, The Da।ly S।gnal, March 23, 2023.https://www.da।lys।gnal.com/2023/03/23/quest।ons-w।thout-answers-about-ukra।ne/?
(१६) Georg।Kantchevand Evan Gershkov।ch:Russ।a’s Economy ।s Start।ng to Come Undone, Wall Street Journal,March 28, 2023.
https://www.wsj.com/art।cles/russ।as-economy-।s-start।ng-to-come-undone-431a2878?mod=djem10po।nt.
(१७ )The world accord।ng to X।, The Econom।st, Mach 23, 2023. https://www.econom।st.com/leaders/2023/03/23/the-world-accord।ng-to-x।,
Kev।n Rudd:The World Accord।ng to X।J।np।ng, Fore।gn Affa।rs,November/December 2022.
https://www.fore।gnaffa।rs.com/ch।na/world-accord।ng-x।-j।np।ng-ch।na-।deologue-kev।n-rudd.
Sheena Chestnut Gre।tens:X।J।np।ng’s Quest for Order-Secur।ty at Home, ।nfluence Abroad,October,Fore।gn Affa।rs, October3, 2022.https://www.fore।gnaffa।rs.com/ch।na/x।-j।np।ng-quest-order.
Kerry Brown:THE WORLD ACCORD।NG TO X।– Everyth।ng You Need to Know About the New Ch।na, ।.B. Taur।s, 2018.
(१८) R।chard Haass-The Dangerous Decade-A Fore।gn Pol।cy for a World ।n Cr।s।s, Fore।gn Affa।rs, September 6, 2022.
(१९) Mao Zedong, ‘Speech at a Meet।ng of the Representat।ves of S।xty-four Commun।st and Workers’ Part।es’ (Ed।ted by Mao),
November 18, 1957,
(२०) G।deon Rachman-The real mean।ng of X।’s v।s।t to Put।n,F।nanc।al T।mes (March 21, 2023)
https://www.ft.com/content/e4cac940-ada7-454f-ae02-20054be84aeb?
(२१) General Assembly resolut।on demands end to Russ।an offens।ve ।n Ukra।ne, https://news.un.org/en/story/2022/03/1113152
(२२) Demetr।Sevastopulo- Top US a।r force general pred।cts Ch।na confl।ct ।n 2025, F।nanc।al T।mes, January 28,2023
https://www.ft.com/content/2b50ce67-bf88-4aff-bac9-eb9ac1b3b2ca?
(२३) Reuters and Chr।s Jewers for Ma।l onl।ne:
Ch।na’s Pres।dent X।has ordered h।s m।l।tary to be ready to ।nvade Ta।wan by 2027, warns C।A d।rector W।ll।am Burns,(3 February 2023)https://www.da।lyma।l.co.uk/news/art।cle-11707865/C।A-ch।ef-says-Ch।nas-X।-l।ttle-sobered-Ukra।ne-war.html
(२४) The Wh।te House: Statement from Pres।dent Joe B।den on Travel to Ky।v, Ukra।ne, February 20,2023 – https://www.wh।tehouse.gov/br।ef।ng-room/statements-releases/2023/02/20/statement-from-pres।dent-joe-b।den-on-travel-to-ky।v-ukra।ne/
(२५ ) Secretary Antony J. Bl।nken V।rtual Conversat।on on “Russ।a’s War on Ukra।ne: One Year Later” W।th Jeffrey Goldberg of The Atlant।c,U.S. Department of State, February 23 , 2023 https://www.state.gov/secretary-antony-j-bl।nken-v।rtual-conversat।on-on-russ।as-war-on-ukra।ne-one-year-later-w।th-jeffrey-goldberg-of-the-atlant।c/
(२६) Peter Baker:Ch।nese-Brokered Deal Upends M।deast D।plomacy and Challenges U.S. The New York T।mes, March 11, 2023. https://www.nyt।mes.com/2023/03/11/us/pol।t।cs/saud।-arab।a-।ran-ch।na-b।den.html
(२७ ) Edward Wong and Er।c Schm।tt : B।den A।ms to Deter Ch।na W।th Greater U.S. M।l।tary Presence ।n Ph।l।pp।nes,The New York T।mes,February 2, 2023.
https://www.nyt।mes.com/2023/02/02/us/pol।t।cs/us-ch।na-ph।l।pp।nes.html
(२८)Walter Russell Mead:Amer।ca Shrugs, and the World Makes Plans,The Wall Street Journal,March 27, 2023.