
काठमाडौँ – एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकहरुले आज पनि प्रदर्शन गरेका छन्।
मंगलबार माइतीघर मण्डलामा भेला भएर चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रियाविरुद्ध प्रदर्शन गरेका हुन्।
उनीहरुले २२ औँ दिनसम्म पनि सरकार र सम्बन्धित निकायहरुले आफ्ना मागहरु पूरा नगरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा डा. छवि पन्थीले एमडी/एमएसको प्रवेश परीक्षाको नतिजामा वैज्ञानिक व्यवस्थापन हुन नसकेको बताए।
उनले योग्यताक्रम मिचेर भर्ना प्रक्रिया अघि बढाएकाले आफूहरु आन्दोलनमा उत्रिनुपरेको बताए। उनले आयोगमा नेतृत्व गरेका पदाधिकारीहरु कानुनी राजभन्दा माथि हो? भन्दै प्रश्न गरे।
त्यस्तै, प्रदर्शनमा सहभागी चन्दनकुमार गोइतले र्यांकअनुसार विद्यार्थीहरुले भर्ना पाउनुपर्ने बताए। उनले विद्यार्थीहरुमाथि चिकित्सा शिक्षा आयोगले बारम्बार आक्रमण गरिरहेको बताए।
त्यस्तै, आन्दोलनरत चिकित्सक रविना श्रेष्ठले परीक्षा दिएको ५ महिनासम्म पनि प्रक्रियाअनुसार काम हुन नसकेको बताइन्। उनले प्रक्रियाअनुसार पढ्न मन रहे पनि नपाएको गुनासो गरे। उनले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनका माग दुई दिनमै सम्बोधन भए पनि विद्यार्थीहरुका माग सम्बोधन गर्न कुनै निकाय नआएको बताइन्।