
बाँके- स्वास्थ्य कार्यालय, बाँकेको आयोजना र नरैनापुर गाँउपालिकाको समन्वयमा महिलाको स्तन, मुख र पाठेघरको मुखको क्यान्सर परीक्षणसम्बन्धी निःशुल्क शिविर भएको छ।
महिलाहरूमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले नरैनापुर ५ मटेहिया स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएका हेल्थ असिस्टेन्ट अमन चौधरीले जानकारी दिए।
मटेहिया स्वास्थ्य चौकीका इन्चार्ज प्रेम बुढाको अध्यक्षतामा सम्पन्न भएको शिबिरमा शुक्रबार नरैनापुर वडा नं ५ मटेहियाका १५४ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत विष्णु श्रेष्ठले बताए।
पाठेघरको मुखको क्यान्सर सम्बन्धी उपचार कार्यक्रममा स्त्रीरोग विशेषज्ञ कल्पना थापाले पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको बताउँदै सानै उमेरमा धेरै सन्तान जन्माउने, खानपान र सरसफाइमा ध्यान नदिने र धेरैजनासँग असुरक्षित यौन सम्पर्क र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा पाठेघरको क्यान्सरको जोखिम बढी हुने गरेको बताइन्।
शिविरमा १५४ जनाको पाठेघर परीक्षण गरिएको थियाे।जसमध्ये ६ जनामा क्यान्सर ‘पोजिटिभ’ र १३ जना महिलामा पाठेघर खस्ने समस्या देखिएको छ।
यस्तै, शिविरमा भिआइए (दृष्य निरीक्षण कार्य) विधिबाट पाठेघरको मुखको क्यान्सर सम्बन्धी सम्भावनाको जाँच गर्दा भविष्यमा ८ देखि १० प्रतिशत महिलामा क्यान्सर हुन सक्ने सम्भावना देखिएकाले शिविरकै क्रममा सजगता अपनाउन सुझाव दिइएकाे थियाे।