
पोखरा- कास्कीका पाँच स्थानीय तहले आइतबार बजेट ल्याएका छन्। पोखरा महानगरपालिकासँगै चार गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन्।
पोखरा महानगरपालिकाले चालु वर्षको भन्दा १ अर्ब ६२ करोड ७ लाख ७३ हजार रुपैयाँले कम बजेट ल्याएको छ।
उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी वर्षका लागिे ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गरिन्।
पोखराले चालु आर्थिक वर्षमा ८ अर्ब ७७ करोड २ लाख २९ हजार रुपैयाँको बजेट ल्याएको थियो। असार ८ गतेसम्म ३ अर्ब ८५ करोड ५५ लाख ८४ हजार रुपैयाँ मात्र खर्च भएको छ। कूल बजेटको ४३.५ प्रतिशतमात्र खर्च भएको हो।
मादी गाउँपालिकाले झन्डै ८९ करोड रुपैयाँको बजेट ल्याएको छ। कास्कीको चार गाउँपालिकामध्ये सबैभन्दा ठूलो आकारको बजेट मादीले ल्याएको छ।
उपाध्यक्ष कल्पना गुरुङले ८८ करोड ८२ लाख रुपैयाँको बजेट गाउँसभामा प्रस्तुत गरिन्। गतवर्षको तुलनामा मादीले १ करोड रुपैयाँ कम बजेट ल्याएको छ।
माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले ६१ करोड ६८ लाख रुपैयाँको बजेट सार्वजनिक गरिन्। संघ सरकारबाट वित्तीय समानीकरण अनुदानमा ९ करोड ४७ लाख रुपैयाँ, सशर्तमा २६ करोड ५२ लाख रुपैयाँ, समपूरकमा १ करोड ६५ लाख रुपैयाँ र विशेष अनुदानमा १ करोड ३० लाख रुपैयाँ प्राप्त हुनेछ।
अन्नपूर्ण गाउँपालिकाले चालुको भन्दा १० करोड रुपैयाँ घटाएर बजेट ल्याएको छ। अन्नपूर्णले ५८ करोड ७८ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको हो। अन्नपूर्णले चालुतर्फ ४० करोड ५३ लाख र पुँजीगततर्फ १८ करोड २५ लाख रुपैयाँको बजेट उपाध्यक्ष चन्द्रकला अधिकारीले १४ औँ गाउँसभामा प्रस्तुत गरिन्। चालू आर्थिक वर्षमा अन्नपूर्णले ६८ करोड ६५ लाख रुपैयाँको बजेट ल्याएको थियो।
कास्कीको रूपा गाउँपालिकाले कृषिलाई प्रमुख केन्द्रमा राखेर बजेट ल्याएको छ। रूपाले ४३ करोड २९ लाख ७७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो।
गाउँपालिकाको साथः किसानको हात भन्ने नाराका साथ एक घर एक कार्यक्रम बृहत्तर रूपमा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए।
रूपाले मौरीपालनको हब बनाउने र उत्पादित महको ब्रान्डिङ गरी न्युनतम ८ हजार लिटर मह उत्पादन गर्ने लक्ष्य राखेको छ। रूपालाई महको हब बनाउने यो कार्यक्रमका लागि पालिकाले १ करोड २० लाख रुपैयाँ बिनियोजन गरेको उपाध्यक्ष गुरुङले बजेटमार्फत प्रस्तुत गरिन्।