काठमाडौँ – नेपालमा उत्पादित वस्तुलाई बजारीकरण गर्ने उद्देश्यका साथ नेपाली युवा उद्यमी मञ्चले ‘मेड इन नेपाल–२०२३’ अभियानअन्तर्गत एक हप्ते आउटलेट कार्यक्रम सञ्चालन गरिरहेको छ।
यस अभियानअन्तर्गत देशभरका भाटभटेनी सुपरमार्केटमा एक हप्ताका लागि नेपाली वस्तुहरुको आउटलेट राखिएको छ। नेपाली युवा उद्यमी मञ्च नेपाल र भाटभटेनी सुपरमार्केटको सहकार्यमा यो अभियान चलाइएको हो।
अभियानअन्तर्गत हाल काठमाडौँको टंगालस्थित भाटभटेनी सुपरमार्केटमा नेपाली उत्पादनका सामानहरु राखिएको छ। हरेक हप्ता फरक–फरक उत्पादन राख्ने गरिएको छ। उनीहरुले सो स्थानमा इस्टल राख्न हप्ता दिनको २५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ।
यस कार्यक्रममा सहभागी हुन चाहने नेपाली वस्तु उत्पादक उद्योग तथा उद्यमीले मञ्चमा आवेदन दिन सक्नेछन्। नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्य यो अभियान संचालनमा ल्याइएको आयोजकले बताएका छन्। असार २ गतेदेखि सुरु भएको यो अभियान एक महिनासम्म चल्ने छ।