
काठमाडौँ – मर्निङवाक हिँड्ने महिलाहरुको श्रृखलाबद्धरुपमा रुपमा सिक्री लुट्ने समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले राजधानीका विभिन्न स्थानबाट मर्निङवाक हिँड्ने महिलाहरुको सिक्री लुट्ने गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो। प्रहरीले सिक्री लुटिएका महिलाहरुले दिएको जाहेरीको आधारमा उनीहरुलाई खोज्न सुरु गरेको थियो।
प्रहरीले उमेश क्षेत्री, रविन दमाई, रवि विक, राहुल माझी र श्रीकान्ता माइतीलाई पक्राउ गरेको हो। महाशाखा प्रमुख मनोज केसीका अनुसार पक्राउ परेकाहरुको समूहले असार १ गतेदेखि २० गतेसम्म काठमाडौँका विभिन्न स्थानमा ८ जनाको सिक्री लुटेका हुन्।
घटना १
असार १ गते बिहान ४:४० बजे कपुरधारास्थित ४६ वर्षीया रमा पाण्डे मर्निङवाकमा निस्किएको समयमा एकिन नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना व्यक्तिहरुले घाटीमा लगाएको १ तोलाको सुनको सिक्री लुटपाट गरी फरार।
घटना २
असार १ गते नै बिहान ५:५५ बजे टोखा-६ ग्राण्डी अस्पतालनजिक मर्निङवाकमा निस्केकी वर्ष ४५ की सरस्वती खतिवडाको घाँटीमा लगाएको १ तोलाको सुनको सिक्री एकिन नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिले लुटपाट गरी फरार।
घटना ३
असार ३ गते ५:५५ बजे मागार्जुन-५ बुद्धचोकस्थित मर्निङ वाकमा निस्केकी वर्ष ५५ की रेखा घिमिरेले लगाएको १.७५ तोलाको सिक्री मोटरसाइकलमा आएका २ जनाले लुटे।
घटना ४
असार १३ गते बिहान ५:५० बजे टोखा-३ विष्णुमति पुलनजिक वर्ष करिब ६५/७० की मंगली माया डंगोलले घाटीमा लगाएको सुनको सिक्री २ जना अपरिचित व्यक्तिहरु मोटरसाइकलमा आइ १ तोलाको सुनको सिक्री लुटपाट गरी फरार।
घटना ५
असार १९ गते बिहानको ०४:५० बजे टोखा-४ कृष्ण मन्दिरस्थित मर्निङवाकमा निस्केकी वर्ष ३४ की गंगा राना मगरले लगाएको अन्दाजी १ तोलाको सुनको सिक्री मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार।
घटना ६
असार १९ गते नै बिहानको ०५:३७ बजे चक्रपथ बंगलामुखी मन्दिरनजिक मर्निङवाकमा निस्केकी वर्ष ६० की कान्छी बेसले लगाएको अन्दाजी ०.५ तोलाको सुनको सिक्री मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार।
घटना ७
असार २० गते बिहानको ०४:४५ बजे टोखा-३ शेर्पा पेट्रोल पम्पनजिक मर्निङवाकमा निस्केकी वर्ष ४३ की रिता श्रेष्ठले घाँटीमा लगाएको अन्दाजी ०.७५ तोलाको सुनको सिक्री मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार रहेको।
घटना ८
असार २० गते नै बिहानको ०५:४५ बजे चागल, जनसेवा मार्गस्थित मर्निङ वाकमा निस्केकी वर्ष ६५ की सरस्वती डंगोलले घाँटीमा लगाएको अन्दाजी १.२५ तोलाको सुनको सिक्री मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार।
लुटेराहरुले २० दिनमा नै ८ जनाको सिक्री लुटेका हुन्। सिसिटिभी नभएको ठाउँहरु निर्क्योल गरेर र उज्यालो हुनुभन्दा अघि नै लुट्ने गरेकोले प्रहरीलाई उनीहरुलाई पक्राउ गर्न समस्या भएको थियो।
हरेक पटक एउटा केटीएम ड्युक मोटरसाइकलमा २ जना व्यक्तिहरु आउने र त्यसमध्ये पछाडि बसेको व्यक्ति हरेक समय एउटै हुडीमा देखिने गरेको केसीले बताए।
उनीहरुको अनुहार प्रष्टसँग नदेखिएकै कारण प्रहरीलाई लुटेरासम्म पुग्न सहज थिएन। त्यही क्रममा प्रहरीले असार २० गते चागल, जनसेवा मार्गमा मर्निङवाक गरिरहेकी महिलाको सिक्री लुटिएको सिसिटिभी फुटेज फेला पार्यो। जुन भिडियोमा लुटेराहरु मोटरसाइकलमा आएर मर्निङ वाक गरिरहेकी महिलाले घाँटीमा लगाएको सिक्रीको रेख्खी गरी लुटेको प्रष्ट देखिएको छ।
प्रहरीले उक्त भिडियो फेला पारेपछि मात्रै लुटेरसम्म पुग्ने आधार भेटाएको थियो। त्यसभन्दा अघि केटीएम ड्युकमा आएर लुट्ने गरेको तर हरेक पटक हेलमेट अर्कै लगाउने गरेको साथै फरक–फरक मोटरसाइकल प्रयोग गर्ने गरेका थिए। सबै घटनामा उस्तै देखिने भनेकै एउटै आधार बाइक पछाडि बस्ने मान्छे भने उही हुडी लगाएका थिए।
प्रहरीका अनुसार हाल पक्राउ परेकामध्ये हुडी लगाएर लुटपाट गर्ने रविन दमाईले हरेक पटक सिक्री थुत्ने गरेको पाइएको छ। अन्य ३ जनामध्ये व्यवस्थापन गर्ने उमेश क्षेत्री, मोटरसाइकल चलाउने रविन विक र लुटपाट गरिएको सुन बिक्री गर्न सघाउने राहुल दमाई रहेको प्रहरीले जनाएको छ। त्यस्तै, श्रीकान्त माइती भने सुनचाँदी पसलका संचालक हुन्। लुटेराहरुले लुटेको सुन उनको पसलमा लगेर बेच्ने गरेका थिए।
प्रहरीका अनुसार लुटपाटमा प्रयोग भएको मोटरसाइकल पनी चोरीको नै भएको पाइएको छ। पक्राउ परेकामध्ये रविन दमाई यसअघि पनि चोरीको घटनामा पक्राउ परिसकेका व्यक्ति हुन्। उनी थुनामा रहेका बेला उमेश क्षेत्रीसँग चिनजान भएको प्रहरीले जनाएको छ। क्षेत्री भने मोटरसाइकल चोरीको घटनामा थुनामा रहेका थिए। हिरासतमा चिनजान भई छुटेका उनीहरुले छुटेको केही दिनबाट नै सिक्री लुट्न सुरु गरेका थिए।
प्रहरीले उनीहरुको साथबाट ११.२ ग्रामको सुनको ढिक्का, सिक्री लुटपाट गर्न प्रयोग गरिएको २ थान मोटरसाइकल, मोबाइल ६ थान र सुनको नेक्लेस ४७ ग्राम बरामद गरेको छ।