
जुन पत्रिका पल्टाए पनि पहिले आँखा पर्छ- नापिएर छापिएको समवेदनामा। जिउँदाो छौञ्जेल नाक-मुख कहिले नदेखेका पनि खबर फैलिएपछि लस्कर लागेर आउँछन्। म पनि के कम्? आफ्नु त आफैंले बेहाेरिहालियाे। चिनेका काे-कतिले सिल टिमुर खाएछन् भनेर थाहा पाउनै पर्याे।
अहिले जिब्राे चपाउने र समवेदना छपाउनेकाे लहर सहरमा बढी भएकाे ठहर गरेकाे छु। जति ठूलाे समवेदना छाप्याे उति नै राैरव नरक जानेले पनि गाैरव गर्छन्। टाेलमा कसैले आँखा चिम्लियाे कि घरै आएर धरै नदिइ क्रिया बसेकै ठाउँमा छाेला झैं गरेर समवेदना छपाइदिने मान्छे धर्ना दिन्छ। उसलाई हुने काइदाकाे फाइदा उही जानाेस्।
त्यही साइतमा घरकी बुढी घैलामा पानी बाेकेर दैलामा आएर घ्याच्च घैलाे अडाएर थ्याच्च बस्दै भन्छे- उहाँ घर खाज्दै हुनुहुन्थ्याे, बेलामा फेला पारेँ र यहाँ पठाएँ। समवेदना अलि ठूलाे छाप्न लगाउनु अनि मेराे नाम पनि हाल्नु पर्छ नि भन्दै जुरुक्क उठेर खुरुक्क गई।
मलाई लाग्याे- मर्नु मरिगयाे, पर्नु परिगयाे, टर्नु टरिसक्याे, अब केकाे समवेदना? खर्च गर्न बाधा हुनेगरी आधा तलब किन सिध्याउनु? एक छिन् झाेक्राएर बसेँ। आखिर घरकाले रहर गरेकाे ठहर गर्दै समवेदना छाप्न दिनेमा पुगेँ। समवेदना छाप्न अरूकाे नमूना हेर्न अफिसबाट बटारेर सुटक्क खल्तीमा काेचेर ल्याएकाे पत्रिका ओल्टाइ पल्टाइ गर्न लागेँ।
मेरा आँखा स्वर्गीय भएकाे दु:खद घडीमा लेखिएकाे ठाउँमा अडियाे। कसैले पनि अर्काकाे राम्राे देख्न नसक्ने हाम्राे चाम्राे बेहाेरा छर्लंग भयाे। स्वर्ग जानलाई मान्छेले खाइ नख्वाइ बैंकमा लुकाएर ट्यांकमा सुकाएर राखेका दाम फुकाएर धाम जाने गरेकाे सर्वविदितै छ। स्वर्ग जान कति गाह्राे छ जानेलाई थाहा हाेला। भर नलागे डर नमानी आफू पनि गइ हेरे भयाे। अनि मर्नुकाे अर्थ खुलाउने अरू धेरै शब्द तथा पदावलीहरू छन्। जस्तै. मुक्त हुनु, आँखा चिम्लनु, निधन हुनु, सिल्टिमुर खानु, जिब्राे टाेक्नु, माटाे खानु, लम्पसार पर्नु, प्राण त्याग्नु, माथि जानु, ज्यान जानु, खुत्रुक्क हुनु, देहावसान हुनु, खुट्टा तान्नु, दिन सकिनु, दैवले लैजानु, भाेग भाग सकिनु आदि। मर्नुकाे अर्थ लाग्ने यतिका कुरा हुँदा हुँदै स्वर्गीय नै छान्नुकाे पनि कारण हाेला, त्यतातिर नजाऊँ भैगाे।
दान-धर्म केही नगरी लुत्रुक्क परी खुत्रुक्क भएकालाई स्वर्गीय भनिसकेपछि किन दु:खद घडी भनेर खिल्ली उडाउनु? स्वर्ग गएकाेमा त झन बढी सुखद घडी भन्नु पर्ने हाे। केकाे रुवावासी? यहाँ पनि राजनीति घुसेकाे देखेँ। सत्तामा बस्नेले अपवादकाे रूपमा कहिले काहीं राम्रै काम गरे पनि विराेधीले धज्जी उडाएकाे लेखे-देखेकै कुरा हाे। अन्तै गएकाे ठाने मानेमा चाहिं दु:खद भन्नु स्वाभाविकै हुन्छ। अर्काे खास कुरा- हाम्रा मुलुकका जाे काेहीले माटाे खाँदा पनि स्वर्ग नै जान्छन्। किताब, पत्र-पत्रिका पढ्दा हालसम्म जति जना मास छर्न गए, सबैकाे नामकाे अगाडि ‘स्व.’ लेखिएकाे हुन्छ। यसकाे अर्थ स्वर्गीय नै हाे। स्वर्गीयकाे अर्थ स्वर्गै गएकाे हाे।
पाप गरे जन्त गएजस्ताे अन्त गइएला भनेर पीर नमाने हुन्छ, शेषपछि जसकाे नाममा पनि स्व. थप्दिन्छन्। स्व.थपिने निश्चित भएकाे हुँदा धर्म गर्नैपर्ने बाध्यकारी नियम छैन। जसले जे गर्दा पनि स्वर्गकाे बाटाे छेकिन्न। त्यसैले टक मार्न, ठुङ मार्न, धुरी मार्न, अँगालाे मार्न, त्यस्तै, बगली मार्न, जग्गा मार्न, देश मार्न, घुस मार्न, राजस्व मार्न, नियम मार्न, गरिब मार्नसाथै ज्यान मार्न पनि डराउँदैनन्। दैवकाे लीला यस्तै रहेछ भनेर खित्त हाँसेर चित्त बझाउनु पर्छ तर चित्रगुप्तले चाहिं हिसाब-किताब राखेकै हाेलान्। जनतालाई राहतकाे सट्टा आहत दिने नेताहरूलाई भने अपवादकाे रूपमा लिनुपर्छ। त्यस्ता नेताहरू स्वर्ग जान्छन् कि अन्त जान्छन्… भन्न सकिएन।
चित्रगुप्तले ती नेताहरूलाई धक्का लाग्नेगरी पक्का साेध्छन्, ‘तिमीहरूले भ्रष्टाचार गर्यौ? गरेनाै । तिम्रा मुलुकमा श्रीमती, छाेरी-बुहारी तिमीहरूका मात्रै छन् कि अरूका पनि छन्? जनताले सिटामाेल नपाउँदा तिमीहरू उपचार गर्न कुन खर्चले कति पटक विदेश गयाै? तिमीहरूले मार्सी भात चम्चाले खाँदा गम्छा ओड्नेहरूकाे पेटमा गाेलाले साेला हानेकाे देख्याै कि देखेनाै?।’ यस्ता खाेइराे खन्ने प्रश्नका ओइराे लागेपछि झुट बाेल्न छुट नपाउँदा कवाफ खाएर रवाफ देखाउने नवाफजस्ता नेताले जवाफ दिन नसकी अक्क न बक्क भै पक्क पर्नु पर्ने हुन्छ। यस्ताे अवस्था आइपर्यो भने स्वर्गकाे बाटामा भाटा तेर्सिने पक्का छ। सामान्य जनता चाहिं डराउन र कराउन पर्दैन।
भन्न खाेजेकाे कुराले पनि नेताले जस्तै बाटाे बिराएछ। अब फेरि लागाैँ आफ्नै रन्थन् पार्ने गन्थन् तिर। पढ्दै जाँदा असामयिक निधन भन्ने रमाइलाे कुरा पनि फेला पारेँ। असामयिककाे अर्थ ठिक समयमा नभएकाे नहुने, कुयामकाे, ताेकिएकाे वा मानिएकाे अवधि भाेग्न नपाएकाे भन्ने हुन्छ। मान्छे जन्मिँदा उसकाे आयु र वायु ताेकिएकाे हुन्न। जुन् बेलामा पनि भाेगभाग सकिन सक्छ। उमेरकै हिसाबले निसाफ गर्ने हाे भने सन्तानब्बे वर्षमा सिल्टिमुर खाँदा पनि असामयिक निधन भनिन्छ। याे कतिकाे सुहाउँछ र मान्छेकाे आयु कति वर्षकाे आश गरिएकाे हाे?
एकाध जना साँच्चिकै र कतिका जन्मिएकाे साल थाहा नहुँदा अनि नागरिकता लिँदा कारिन्दाकाे खुसीले पनि सय वर्ष कटेका हाेलान्। त्यसाे हुँदैमा सबैले घटिमा सय दुई सय वर्ष रजाइँ गर्थे भन्न मिल्दैन कि?
समवेदनाकाे नमुना हेर्दै जाँदा मृत आत्मा लेखेकाे पनि देखेँ अनि मेराे मथिङ्गलमा कचिङ्गल सुरु भयाे। याे कुन दर्शनअनुसार लेखिएकाे हाे? पूर्वीय दर्शन भनाैँ अथवा सनातन धर्मअनुसार भन्ने हाे भने आत्मा मर्दैन, यसमा डराउन पर्दैन। आत्मा अजर अमर हुन्छ। कृष्णले गीताकाे अध्याय २ श्लाेक २० मा यही भनेका छन्। हाम्रा मुलुकमा विभिन्न नामधारी पदाधिकारीले समेत यस विषयमा केही बाेलेनन्। कसैलाई यस्ताे लेख्याे भनेर पाेलेनन् भने मचाहिं बुच्चाे मुख खाेलेर किन छुच्चाे हुनु?
अब उपरान्त समवेदनामा मृत आत्मा, असामयिक र स्वर्गीय भनेर लेख्ने/नलेख्ने आफ्नै खुसी। सक्नेले जे गरे पनि छुट छ भने कसैले कुट्छ भनेर यस विषयमा डराउनु पर्ने भएन। यस्ता विभिन्न कुराले मन छिन्न-भिन्न पारेपछि चित्त बुझ्ने नमुना नपाएसम्म म चाहिं समवेदना छपाउँदिनँ भनेर रन्किएर थन्किएँ।