काठमाडौं- तपाईँ काठमाडौंको न्यूरोड क्षेत्रमा रहेको नेपाल वायुसेवा निगमको कार्यालयको पछाडिको गल्लीतिर जानुभयो भने एक प्रसिद्ध मन्दिर पुग्नुहुन्छ जसलाई संकटा मन्दिर भनिन्छ।
यो ठाउँलाई टेबहाल भनिन्छ। संकटा मन्दिरलाई कसैले शनिको मन्दिर त कसैले देवीको मन्दिर भन्ने गरेका छन्। तर संकटा देवी वा शनि नभई भैरव भएको मन्दिरका मुख्य पुजारी मोती राज बजाचार्य बताउँछन्। उनका अनुसार संकटालाई पदमाण्डवको भैरवको रुपमा चिनिने गरेको छ।
संकटा मन्दिर दुई तल्लाको छ। माथिल्लो तलामा संकटा भैरवको पुजा गरिन्छ भने तल्लो तल्लामा मछिन्द्रनाथको पूजा गरिन्छ। यस मन्दिरमा विशेष गरी शनिबार र मंगलबार भक्तजनहरूको ठूलो भिड लाग्ने गर्छ । साथै दसैँको बेला यस मन्दिरमा भक्तजनको ठूलो भिड लाग्ने गरेको छ।
संकटाको पूजा सुरु हुनुमा विभिन्न व्यक्तिले छुट्टाछुट्टै इतिहास बताउने गरेको पाइन्छ।
आजभन्दा करिब १४ सय वर्षपहिले लिच्छिवि कालमा नेपालमा राजा नरेन्द्रदेवको पालामा १२ वर्षसम्म पानी परेन। पानी नपरेपछि राजाले कसरी पानी पार्न सकिन्छ भनेर विभिन्न तान्त्रिकहरुसँग सोधपुछ गर्न सुरु गरे। सोधपुछ गर्दै जाँदा तान्त्रिक शान्ति प्राचार्यसँग पनि राजाले कसरी पानी पार्न सकिन्छ भनेर सोधे। सो क्रममा गुरु गोरखनाथले ९ नागहरु १२ बर्षसम्म आसन गरेर आफ्नो गुरु मछिन्द्रनाथ जबसम्म नेपालमा आउनुहुन्न तबसम्म उठ्दैनौं भनेर बसेकाले गर्दा पानी नपरेको कुरा तान्त्रिकले राजालाई बताए। राजाले तान्त्रिकलाई अब कसरी पानी पार्न सकिन्छ त भनेर सोधे। तान्त्रिकले सल्लाह दिदैं भने, ‘मछिन्द्रनाथलाई नेपाल ल्यायो भने गुरु गोरखनाथ दर्शन गर्नको लागि उठ्छन् अनि नागहरु पनि उठ्छन् र त्यसपछि पानी पर्छ।’
त्यसपछि राजाले यो काम कसले गर्छ त भनेर सोध्दा तान्त्रिकले आफ्नो शिस्य गोलुदत्य वज्राचार्यले गर्ने बताउँदै उनलाई सम्पर्क गर्न सल्लाह दिए।
उनले १०८ देवतामध्ये सबैभन्दा कान्छो पुत्र मछिन्द्रनाथले राक्षसको रुपमा जन्म लिएर बसेको कुरा बताए। उनलाई नेपाल ल्याउन सजिलो थिएन। जब मछिन्द्रनाथलाई ल्याइँदै थियो, त्यसक्रममा बाटोमा संकटासँग भेट भयो। संकटा भनेको भैरव हो। संकटालाई ल्याएसँगै देशको सबै संकटहरु हटेर जाने उक्त तान्त्रिकले बताए। त्यसक्रममा संकटासँग उक्त तान्त्रिक गोलुदत्यले पहिले मछिन्द्रनाथलाई नेपालमा विराजमान गराउने र पछि पुन: संकटालाई लिन आउने वाचा गरी त्यहाँबाट फर्किए।
मछिन्द्रनाथलाई नेपाल ल्याएर राखेको गरेको १५ दिनपछि पुन: तान्त्रिकहरु गएर संकटालाई ल्याइएको जनविश्वास छ। संकटाले मछिन्द्रसँगै बस्ने रुचि देखाएकोले हालसम्म पनि संकटा र मछिन्द्रलाई एउटै मन्दिरको माथिल्लो र तल्लो तल्लामा गरेर पूजा गरिँदै आएको छ।
संकटालाई छोएर पूजा गर्नु हुँदैन भन्ने धेरैको जनविश्वास छ। मुख्य पुजारीका अनुसार संकटालाई सुरुबाट नै नछोएर र नहेरेर नै पूजा गरिने गरेको छ। ‘संकटालाई छुन पनि हुन्न, हेर्नु पनि हुँदैन,’ उनी भन्छन्, ‘जति देखाइएको छ, त्यतिमा मात्रै पूजा गर्ने हो।’
देशमा शान्ति भएन, उपद्रो बढ्यो या अन्य कुनै पनि संकट आइलाग्यो भने संकटा मन्दिरमा पूजा गर्ने परम्परा रहँदै आएको छ।
संकटालाई विशेष गरी निलो कपडा र सगुनको रुपमा अण्डा चढाउने चलन समेत छ।