
पोखरा- आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि पोखरा महानगरपालिकाले तीन अस्पतालबाट नि:शुल्क परीक्षणको व्यवस्था मिलाएको छ।
हिमालयन आँखा अस्पताल घारीपाटन, मणिपाल शिक्षण अस्पताल फूलबारी र चरक मेमोरियल हस्पिटल नागढुंगासँग सम्झौता गरी निशुल्क आँखा जाँचको व्यवस्था मिलाएको हो।
साउन मसान्तसम्म शिुल्क सेवा लिन सक्ने पोखरा महानगरपालिकाले जानकारी दिएको छ। मणिपाल र चरकबाट नि:शुल्क परीक्षणसँगै औषधी प्राप्त गर्नेछन्।
हिमालय आँखा अस्पतालले भने महानगरसँग सम्झौताअनुसार आँखा परीक्षण शुल्क नलिने मेडिकल निर्देशक डा. इलिया श्रेष्ठले बताइन् ।
आँखा पाक्ने संक्रमण फैलिएपछि पोखरा महानगरमा रहेका विद्यालय बुधबारदेखि बन्द भएका छन्। तीन दिन विद्यालय बन्द हुनेछन्।
आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न महानगरभित्रका सामुदायिक, संस्थागत, मन्टेश्वरी सम्पूर्ण शैक्षिक संस्था वर्षे/हिउँदे/स्थानीय बिदाबाट कट्टी हुने गरी आजदेखि २६ गतेसम्म बिदा दिने निर्णय गरिएको पोखरा महानगरपालिकाको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जानकारी दिए।