
काठमाडौं- एसियाकप क्रिकेटमा घरेलु टोली श्रीलंकाले विजयी सुरुवात गरेको छ। डिफेन्डीङ च्याम्पियन श्रीलंकाले समूह ‘बी’ अन्तर्गत भएको प्रतियोगिताको पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गरेको हो। समूह ‘बी’ मा आयोजक श्रीलंका र बंगलादेश सहित अफगानिस्तान रहेका छन्।
बिहिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ४२.४ ओभरमा १ सय ६४ रनमा समेटिएको थियो। जवाफमा उक्त लक्ष्य श्रीलंकाले ३८ ओभरको समाप्तीमा ५ विकेट गुमाएर पुरा गर्यो। श्रीलंकाको जितमा चरिथ असलङ्काले ६२ रनको अर्धशतकीय अविजित इनिङ खेले। त्यस्तै सदेरा समराविक्रमाले ५४ रनको अर्को अर्धशतक इनिङ खेलेका थिए। थप दोहोरो स्कोरका रुपमा पथुम निसंकाले १४ रन बनाउँदा कप्तान दसुन सनका पनि १४ रनमा अविजित रहेका थिए।
बंगलादेशका लागि कप्तान शकिब अल हसनले २ विकेट लिंदा तस्कीन अहमेद, सोरिफुल इस्लाम र महेदी हसनले समान १-१ विकेट लिएका थिए।
त्यसअघि श्रीलंकाको केन्डी स्थित पालेकेली स्टेडियममा बंगलादेशले पहिले ब्याटिङ गर्दै १ सय ६४ रनको स्कोर बनाएको थियो। तेस्रो नम्बरमा ब्याटिङका लागि आएका नजमुल होसेइन सान्टोले ८९ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक अन्य कुनैपनि खेलाडीले सम्झनलायक इनिङ खेल्न सकेनन्। थप दोहोरो स्कोरका रुपमा टोहिड ह्रदोयले २० रन तथा मोहमम्द नावीले १६ रन बनाए। मुस्फिकर रहीमको १३ रन रह्यो। बंगलादेशका पछिल्लो क्रम लगातार वकेट पतनको सिकार भएको थियो।
बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका माथेसा पथिरनाले ४ विकेट लिए। ७.४ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिएका थिए। त्यस्तै ८ ओभर बलिङ गरेका महेश थिकसनाले २ विकेट लिंदा धनन्जय डी सिल्भा, दुनिथ वेलाल्गे र दशुन सनाकाले समान १-१ विकेट लिएका थिए।