
काठमाडौं- प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा निर्वाचित नेपाली राष्ट्रिय पूर्वकप्तान पारस खड्काले यसअघि क्रिकेटमा आफैंले उठाउँदै आएको परिवर्तनका प्रश्न अब आफैंमाथि आउने बताएका छन्।
ललितपुरस्थित धोबीघाटमा शुक्रबार भएको दोस्रो साधारणसभा तथा निर्वाचनबाट प्यानलसहित विजयी भएपछि पारसले सो धारणा राखेका हुन्।
पूर्वकप्तान पारसले निकटम प्रतिष्पर्धी चितवनका उमेश पियालाई ९ मतले पराजित गरे।
अध्यक्ष पदमा विजयी भएपछि पारसले चार वटा जिल्लाको एउटा टिमले ३-५ महिनादेखि तयारी गरेको र सोही टिम वर्कका कारण जित सम्भव भएको बताए।
साथै पारसले पहिलोपटक यसरी निर्वाचनमा भाग लिएको उल्लेख गर्दै दुई दशकदेखि क्रिकेट खेले पनि निर्वाचनमा जाँदा केही फरक अनुभुति भएको धारणा राखे।
क्रिकेट खेल्न छाडेपछि क्रिकेटमा पदाधिकारीका रूपमा काम गर्ने शुरुवात भएको पनि उनले बताए।
यसअघि आफै उठाउँदै आएको परिवर्तनको प्रश्न आफैंमाथि आउने पनि उनको भनाइ थियो।
असोज ५ र ६ गते काठमाडौंमा तय भएको केन्द्रीय महाधिवेशनका लागि सबै प्रदेशको निर्वाचन सम्पन्न भएको छ। केन्द्रीय निर्वाचनमा पारसले सचिव पदमा दाबेदारी दिने चर्चा चलिरहेको भन्ने प्रश्नमा उनले क्यानको प्रदेशका नयाँ निर्वाचित टोलीसँग छलफल गरेर अगाडि बढ्ने बताए।
बागमती प्रदेशका कुल ६ जिल्लामध्ये चार जिल्लाले यसअघि नै पत्रकार सम्मेलनमार्फत् पारसको नेतृत्वमा प्रदेशको निर्वाचनमा होमिने जनाएको थियो। साथै अन्य पदमा भने चार जिल्लाले बाँडेर निर्वाचन लड्ने घोषणा गरेको थियो।
सोहीअनुरूप पारसको प्यानलले नै समान २३ मत पायो। १२ पदका लागि निर्वाचन हुँदा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्वकप्तान निरा राजोपाध्याय भने सदस्यमा निर्विरोध चयन भए।
कुल ३७ जना प्रतिनिधिले नै मतदानमा भाग लिएका थिए। त्यसमध्ये पारसले २३ मत र चितवनका उमेशले १४ मत पाए।
उनको प्यानलबाट उठेका अधिकांशले सोही अनुपातमा मत पाए । उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री २३ मत प्राप्त उनका प्रतिद्वन्दी रूपक रञ्जितले १४ मत पाए। सचिवमा प्रशन्न शाक्य २३ मतसहित निर्वाचित हुँदा प्रज्वल सापकोटाले १४ मत मात्र प्राप्त गरे।
कोषाध्यक्ष पदमा सञ्जय बस्नेत २३ मतका साथ विजयी हुँदा विजय बोहोराले १४ मत प्राप्त गरे। सदस्य पदमा पारसकै प्यानलका अजयवीर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ र वसन्तराज सत्यालले समान २३-२३ मत प्राप्त गरे।