
काठमाडौं- डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स व्यारेकका प्रमुख मेजर विमल पण्डित १२ दिनदेखि सम्पर्कविहीन रहेका छन्।
भदौ १० गतेदेखि उनी सम्पर्कविहीन भएका हुन्। उक्त दिन मेजर पण्डित दुईजनाका साथमा ब्यारेकबाट निस्किएका थिए।
उनले दुई जनालाई केहीबेरमै फर्काइदिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
उनले भने, ‘बिदामा गएर सम्पर्कमा नआउने अधिकृतको घटना यो पहिलो होइन। यसरी सम्पर्कमा नरहँदा हामीले केही दिन खोज तलास गर्छौं तर उहाँलाई अलि बढी गर्नु परेको छ। हाम्रो अहिले पनि खोजी कार्य भइरहेको छ।’
घटनाबारे जानकारी पाएलगत्तै आफूहरू खोजी कार्यमा लागेको जिल्ला प्रहरी कार्यालय, डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले बताए।
‘हामीले सोधखोजसँगै प्राविधिक पक्ष पनि हेरेका छौं। बेलका ७:१० मा उहाँको मोबाइल स्विच अफ देखिएको छ। त्योभन्दा अगाडि उहाँको कल डिटेल हेर्दा त्यस्तो केही देखिएको छैन। परिवारसँग कुरा गरेको देखिन्छ। हामीले छिमेकी जिल्लामा पनि हुलिया पठाएर खोज्नलाई भनेका छौं। उहाँले त्रिपुरा बजारमा चप्पल किन्नु भएको छ। उहाँले रिजर्भ गरेर गएको गाडीको चालकले उहाँको शरीर काँपिरहेको बताएका छन्’, उनले भने।
मेजर पण्डित जग्दुल्ला हुँदै जुम्ला जाने बाटो अलि पर गएर फेरि फर्केको पनि देखिन्छ।