
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले अस्पतालजस्तो संवेदनशील ठाउँमा राजनीतिक भागबण्डाको आधारमा नियक्ति गर्नु नहुने बताएकी छन्।
बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै डा. कार्कीले अस्पतालमा राजनीतिक भागबण्डाका आधारमा निर्देशक नियुक्ति हुने गरेको भन्दै त्यसो गर्नु नहुने बताएकी हुन्।
मन्त्री नयाँ आएपिच्छे निर्देशक फेरिँदा अस्पतालको अवस्थाको बारेमा निर्देशकलाई नै थाहा नहुने गरेको उनको भनाइ थियो।
उनले बिरामीको उपचारमा अस्पतालका भौतिक पूर्वाधार, उपकरण, स्वास्थ्यकर्मी, व्यवस्थापन, सरकारको नीति र अस्पतालका प्रोटोकलको कुरा जोडिने भए पनि चिकित्सकहरुलाई मात्रै दोषारोपण गर्ने गरिएको उनले बताइन्।
उनले भनिन्, ‘अस्पतालमा सरकारको प्रतिनिधित्व भनेको अस्पतालको निर्देशक हुन्छ। प्रशासकीय प्रमुख हुन्छ। हामीकहाँ व्यवस्था कुनै पनि निर्देशकको नियुक्ति, कान्तिकै पनि ९ महिनामा ६ वटा निर्देशक बदलिएको हुन्छ। मन्त्री कुन पार्टीको भयो त्यो पार्टीको निर्देशक बनाउने। त्यो निर्देशकलाई केही थाहा हुँदैन। भागबण्डाको राजनीति अस्पतालजस्तो संवेदनशील ठाउँलाई बनाउनु भएन नि।’