
काठमाडौँ – प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले असोज १० गतेदेखि चाडपर्वलक्षित बजार अनुगमन गर्ने भएको छ।
बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले ६ वटा संसदीय अनुगमन उपसमिति बनाएर बजार अनुगमन गर्न लागेको हो। समिति बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले संसदीय अनुगमन उपसमिति बनाएर धनगढीबाट असोज ६ गतेदेखि प्रदेश,स्थानीय सरकारसँग समन्वय गरी बजार अनुगमन गर्न लागेको बताए।
उनले बजार अनगमन नेपाल सरकारका सम्बन्धित निकायहरु, केन्द्रीय, प्रदेश र स्थानीय अनुगमन समितिबाट भए गरेका काम कारबाहीहरुका बारेमा स्थलगत निरीक्षण गरी जानकारी लिने उल्लेख गरे।
उनले समितिले अनुगमनको लागि विभिन्न ६ वटा संसदीय अनुगमन उपसमिति गठन गरिएको बताए। सभापति खानले उपसमितिहरुले प्रदेशका मुख्य व्यापारिक केन्द्रहरु धनगढी, नेपालगञ्ज, सुर्खेत, मोरङ, पोखरा, विराटनगर र वीरगञ्जलगायतका सहरहरुमा अनुगमन गर्ने जानकारी दिए।
उनले काठमाडौँ उपत्यकाका भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रहरुमा अनुगमन गर्ने बताए। उनले अनुगमन उपसमितिले सरोकारवाला निकायहरुसँग संसदीय अनुगमन समितिले छलफलसमेत गर्ने बताए।