
काठमाडौं- न्याय माग्दै काठमाडौँको माइतीघरमा धर्नामा बसेका आरती साहको परिवारलाई नेपाल प्रहरीले अमानवीय व्यवहार गरेको छ। प्रहरीले आफ्नो जिम्मेवारीलाई बेमतलव गरी साहको परिवारलाई वीर अस्पतालमा अलपत्र पारेको हो।
न्यायको माग गर्दै धर्नारत पीडित साह परिवारलाई प्रहरीले माइतीघरबाट गत शनिबार उठाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा लगेको थियो।
महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा पनि आरतीका आमाबुवा र भाइ धर्ना बसेका थिए। प्रहरीले घर जान भनेपनि उनीहरूले मानेनन्।
प्रहरीले तपाईंहरू जानुस् भन्दा पनि नमानेपछि काठमाडौँ वडा नम्बर २९ का अध्यक्ष कुश ढकालको रोहबरमा उनीहरूलाई छाडिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता कुमुद ढुंगेलले जानकारी दिए।
वडा अध्यक्ष ढकालले सिंहदरबारमा लगेको भोलिपल्ट अर्थात् आइतबार बेलुका उनीहरूको मेडिकल चेकअप गर्न भनी वीर अस्पताल पुर्याएका थिए।
सुरुमा मेडिकल गर्ने भनी प्रहरी वृत्तबाट निकालिए पनि उनीहरूको अस्पतालमा मेडिकल चेकअप नभएको आरतीका भाइले बताए।
हाल उनीहरू वीर अस्पतालमै छन्। आफूहरूलाई किन प्रहरीले लग्यो र किन यहाँ ल्याएर छाड्यो भन्ने बुझ्न नसकेको आरतीका भाइले बताए।
‘प्रहरीले हामीलाई पहिला माइतीघरबाट महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा लग्यो। त्यहाँबाट मेडिकल चेकअप गर्ने भनी वीर अस्पताल ल्याइयो। यहाँ ल्याइए पनि हामीलाई अलपत्र पारी छाडियो। हाम्रो चेकअप भएको छैन’, उनले भने।
उक्त घटनाबारे प्रहरीसँग सोधपुछ गर्दा प्रहरीले वडाअध्यक्ष ढकालको जिम्मामा छाडेको बतायो। यता वडाअध्यक्ष ढकालले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा पुर्याउन आफूलाई दिएको जानकारी दिए।
प्रहरीले कहिले साहको परिवारलाई घेर्ने, कहिले फोन खोस्न, ब्यानर च्यातिदिने गर्दै आइरहेको छ।
दाइजोको निहुँमा हत्या भएको भन्दै आरतीको परिवार विगत गत असार १ गतेदेखि निरन्तर काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बस्दै आएको थियो।
उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति र ससुरालाई साधारण तारेखमा रिहा गरेको छ। यसबिरुद्ध पनि आरतीको परिवारले अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।
आरतीका बुबा विनोद साहले दिएको जाहेरीमा पति मोतिबाबु र ससुरा मदन मोहनले कर्तव्यज्यान गरी उनको हत्या गरेको गरेको भन्ने कुरामा आधार प्रमाण नदेखिएको उच्च अदालतको ठहर छ।
जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका- ९ थापाचोकमा मृत फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति र ससुरालाई पक्राउ गरी अनुसन्धान गरेको थियो।