काठमाडौँ – खानाले पेट मात्रै भर्दैन मन पनि आनन्दित बनाउँछ । भोक मेटाउनका लागि मात्रै होइन खान भेटघाट र आफ्नोपनको माध्यम पनि हो ।
स्वादिलो परिकार र त्यस्तै परिवेष मिल्यो भने पेट भरिन्छ, मन भरिँदैन अर्थात मन अघाउँदैन । त्यसैले त खानासँग जोडिने व्यवसायहरु जहिले बढी रहेकै हुन्छन् ।
होटल, रेष्टुरेन्टदेखि क्यान्टिन र चिया पसलहरु सबैतिर आफ्नो क्षमता र स्वाद अनुसारको खानाका लागि पुग्नेहरु देखिन्छन् ।
केही वर्षअघिसम्म घर भन्दा बाहिर खान जाने भनेको होटल वा रेस्टुरेन्ट नै हुन्थ्यो । तर पछिल्लो समय सडकपेटीका स्टलहरु धेरैको रोजाइमा पर्न थालेका छन् । विशेषतः सपिङ्ग मलहरुको बाहिर रहेका स्टलमा आफ्नो स्वाद अनुसारको खानाका परिकार लिएका मानिस धेरै देखिन्छन् ।
स्ट्रिट फुड भनिने यस्ता स्टलको छेउछाउमा मानिसहरु आफ्नो रोजाइ अनुसारका खानाका परिकारहरु अडर गरिरेका, कोही नजिकै पेटीमा वा उभिएर खाँदै गरेका र स्टल सञ्चालकहरु बनाउन र अडर लिन व्यस्त भएको देखिन्छ ।
यस्तै व्यस्त स्ट्रिट फुड स्टलका सञ्चालक हुन्, आयाज उद्दिन । उनले गएको तीन वर्षदेखि काठमाडौँको कमलपोखरीमा स्ट्रिट फुड स्टल चलाउँदै आएका छन् । दिउँसो १२ देखि राति ८ बजेसम्म उनी यहिँ व्यस्त हुन्छन् ।
आयाजकै अनुभवमा तीन वर्षअघि र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको छ । सुरु सुरुमा खाली जस्तै हुने स्टलमा अहिले भ्याइनभ्याई हुने गरेको उनले बताए ।
आफ्नो स्टलमा खान आउनेमा बच्चादेखि बुढासम्म र सामान्यदेखि त्यो भन्दा माथिल्लो आर्थिक अवस्था भएकासम्म रहेको उनले बताए ।
पहिला बाटोको छेउमा वा खुल्ला ठाउँमा बसेर खान असजिलो मान्नेहरु पनि अहिले स्ट्रिट फुडमा आकर्षित भएको देखिन्छ । स्ट्रिट फुड स्टलमा लाग्ने गरेको भिड त्यसको गतिलो प्रमाण रहेको आयाजले बताए ।
सस्तो, मिठो तथा स्वादिलो परिकार पाइने भएकाले स्ट्रिट फुड रोजाइमा पर्न थालेको खानाका पारखीहरु बताउँछन् । अहिले माछापोखरी बस्दै आएका बुटवलका सुरञ्जन शर्मालाई स्ट्रिट फुडले निकै लोभ्याएको छ । उनका अनुसार स्ट्रिट फुड मिठो हुने र सस्तो तथा छिटो पनि हुने भएकाले मन परेको हो ।
उनले भने, ‘बिहानै खाना खाएर पढ्न आइन्छ । बिचमा भोक लाग्छ, रेस्टुरेन्टमा गयो भने समय पनि धेरै लाग्ने र पैसा पनि बढी तर स्ट्रिट फुड स्टलमा स्वादिलो पनि, छिटो र सस्तो पनि हुन्छ । मलाई त मन पर्छ ।’
हरेक दिन व्यस्त हुँदै र महंगिदै गएको दैनिकीमा स्ट्रिट फुड समय र पैसा दुवैको बचत र भोक र स्वादको परिपूर्तिका रुपमा आएको देखिएको छ ।
स्ट्रिट फुडकै लागि भनेर बाहिर निस्कनेहरु पनि छन् । गोकर्णकी कृषा महत प्रायः स्ट्रिट फुड खानका लागि बाहिर निस्कन्छिन् । उनलाई स्ट्रिट फुड निकै मन पर्छ ।
कलेज पढ्ने मात्रै होइन राम्रै पदमा राम्रै संस्थामा काम गर्नेहरुले पनि स्ट्रिट फुडको स्वाद मजाले लिएको देखिन्छ । यस्ता स्ट्रिट फुड स्टलहरुमा मम, ससेज, समोसा, चाट, चटपटे, पकौडा, कट्टी रोल लगायतका खानेकुरा पाइन्छ ।