
काठमाडौँ – मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयअगाडि प्रदर्शन गरेको छ। समाजले ललितपुरको पुलचोकस्थित राष्ट्रसंघीय कार्यालयअघि मंगलबार दिउँसो करिब आधा घण्टा प्रदर्शन गरेको हो।
युद्धग्रस्त गाजामा नागरिकहरुको जीवन रक्षाको लागि प्रभावकारी कदम चाल्न र हमासले बन्धक बनाएका विपिन जोशीलगायत सबै बन्धकहरुको शीघ्र रिहाइका लागि पहल गर्न संयुक्त राष्ट्रसंघलाई आग्रहसहित प्रदर्शन गरिएको समाजले जनाएको छ।
मानव अधिकार तथा शान्ति समाजले हमासको आतंक र इजरायलको बर्बरताको निन्दा गर्दै आएको छ।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापतिहरु होमकान्त चौलागाई र डा. गंगाधर अधिकारीलगायतको उपस्थिति थियो।