
मानसिक स्वास्थ्यका लागि शारीरिक व्यायामले राम्रो गर्ने तर धेरै व्यायाम भने नकारात्मक हुने अनुसन्धानकर्ताले बताएका छन् ।
अमेरिकाका १२ लाख मानिसमा गरिएको अनुसन्धानबाट हप्ताको तीनदेखि पाँच दिन ४५ मिनेटसम्म शारीरिक व्यायाम गर्नु मानसिक स्वास्थ्यका लागि फाइदाजनक हुने देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।
अनुसन्धानमा संलग्न भएका १२ लाख मानिसले एक महिनाको अवधिमा गरेको शारीरिक व्यायाम र त्यसले उनीहरुको मानसिक स्वास्थ्यमा पारेको प्रभावका बारेमा अध्ययन गरिएको हो ।
उनीहरुले औसतमा महिनाको ३.४ दिन मानसिक रुपमा कमजोर महसुस गर्ने बताएका थिए । अनुसन्धानको क्रममा उनीहरुलाई व्यायाम गर्न लगाउँदा मानसिक रुपमा कमजोर महसुस हुने दिन औसतमा १.४९ मा झरेको पाइएको छ ।
समूहमा खेलिने खेल, साइक्लिङ्ग तथा एरोबिक्सको मानसिक स्वास्थ्यमा राम्रो प्रभाव परेको देखिएको छ । घरायसी काम वा बालबालिकाको हेरचाह गर्नेसहित सबै प्रकारका शारीरिक गतिविधिको सबै उमेर तथा लिङ्गका व्यक्तिको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धान प्रतिवेदन द ल्यान्सेट जर्नलमा प्रकाशित भएको छ ।
यसअघिका अनुसन्धानले व्यायामको मानसिक स्वास्थ्यमा पर्ने प्रभावका बारेमा मिश्रित नतिजा देखाएका थिए । तर अहिलेसम्मकै बिस्तृत अनुसन्धानबाट व्यायामको मात्रा र त्यसले पार्ने प्रभावका बारेमा आश लाग्दो नतिजा दिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।
डिप्रेशनको उपचार गएकार व्यक्तिमा व्यायामको प्रभाव राम्रो भएको देखिएको छ । हप्ताको तीनदेखि पाँच दिन ४५ मिनेटसम्म व्यायाम गर्नेमा व्यक्तिले महिनाको औसत सात दिन मात्रै मानसिक रुपमा कमजोर महसुस गर्ने गरेको पाइएको छ ।
तर ड्रिपेशनको उपचार गराएका र महिनाभर व्यायाम नगरेका व्यक्तिले औसतमा ११ दिनसम्म मानसिक रुपमा कमजोर महसुस गर्ने गरेको पाइएको अनुसन्धानकर्ताले बताएका छन् । याले विश्वविद्यालयका साइक्याट्रीका एसिस्टेन्ट प्रोफेसर एडम चेक्राउडको नेतृत्वमा अनुसन्धान भएको हो।
हप्ताको तीनदेखि पाँच दिन शारीरिक गतिविधि गर्ने व्यक्तिको मानसिक स्वास्थ्य त्यो भन्दा कम वा बढी व्यायाम गर्नेको भन्दा राम्रो पाइएको अनुसन्धानकर्ता प्राध्यापक एडमले बताए ।
एक दिन बिराएर ३० देखि ६० मिनेट व्यायाम गर्नु वा शारीरिक रुपमा सक्रिय रहनु मानिसक स्वास्थ्यका लागि फाइदाजनक देखिएको छ । त्यो भन्दा कम वा बढी सक्रिय हुँदा भने महिनामा मानसिक रुपमा कमजोर महसुस हुने दिन बढ्ने देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।
महिनाको २३ पटक वा एक पटकमा ९० मिनेट भन्दा बढी व्यायाम गर्नु वा शारीरिक रुपमा सक्रिय रहनु मानसिक स्वास्थ्यका लागि खराब देखिएको छ ।