राइझुमा झुमा क्या मस्केकी छौं राइ झुमा
यो गीत नसुन्ने सायदै होलान्। अहिले पनि जनजनको ओठमा यो गीत झुन्डिएको छ। अझ काली-कर्णालीबासीलाई यो गीत कण्ठस्थ नै होला। यस गीतका लेखक, कम्पोजर गायक हुन् यज्ञराज उपाध्याय (५७)।
पाँच सयभन्दा बढी काली-कर्णालीको मौलिक गीतमा स्वर दिएका उपाध्यायले पचासकै दशकमा हिट थिए। उनी कहिल्यै मिडिया खोज्दै चर्चा बटुल्नतिर लागेनन्, बरु काली-कर्णालीकै लोक साहित्य तथा संस्कृति र लोकगीतमाथि खोज अनुसन्धानमा निमग्न भए।
करिब २५ वर्ष अघिदेखि उपाध्यायले काली-कर्णालीको लोकसाहित्य तथा संस्कृतिका सामग्री संकलन गर्न थाले, बिस्तारै त्यो क्रम बढिरह्यो। फलस्वरूप: एक हजार पृष्ठको किताब तयार भयाे, जसको नाम हो- काली-कर्णालीको लोक साहित्य तथा संस्कृति।
यो विषद् ग्रन्थको तयारीमा २५ वर्ष खर्चिएका उनी भन्छन्, ‘२०५५ सालदेखि मैले सामग्रीहरू संकलन गर्न थालेको थिएँ। टिपोट गर्दै गएँ। सम्बन्धित ज्ञाता जानकारसँग दोस्ती बढाएँ। अनि खोज्दै लेख्दै गर्न थालें।’
प्रायः लेखकलाई किताब छिटो सक्ने रुचि हुनसक्छ। छिटै प्रकाशन गर्न रुचाउँछन्। तर उनले लामै धैर्यता दिए र गहिरो अध्ययन गरे। उसो त गम्भीर काम गर्न आफ्नो मात्रै रुचिले सम्भव नदेखिने उनी भन्छन्, ‘आफूलाई बुझ्ने, चिन्ने जान्नेको हौसला र साथ मिल्यो भने धैर्यतापूवर्क काम गर्न सकिन्छ। मेरा अग्रज रामबहादुर रावलले २०५५ सालमा एक दिन मलाई घरमै बोलाउनु भयो र काली-कर्णालीमा विराट लोकसाहित्य र संस्कृति बुझाउने कोसिस गर्नु भयो। सुदूरको लोकसंस्कृतिमा देउडा/डेउडा मात्रै हो त? भन्ने सवाल पनि थियो। मभित्र लोक-साहित्य र संस्कृतिको बारे जान्ने भोक जगाइदिनु भयो।’
आफूले गरेको काम गहिरो गरी बुझ्नलाई अध्ययन तथा अनुसन्धान त जरुरी पर्छ नै। अझ उपाध्याय त थोरबहुत चासो राख्थे। लोक-साहित्य तथा संस्कृतिका जानकारहरूकै संगतमा थिए उनी। गीत, कविता कोर्थे र गाउँथे पनि। साथै उनले संगीत पनि भर्थे। आफ्नै क्षेत्रको बारेमा उनले धेरै जानकारहरू र लोक-साहित्य बुझेको काली-कर्णालीका स्थानीयसँग गफिए।
सुन्दर प्रकृति तथा विविध मूर्त तथा अमूर्त संस्कृतिको भण्डारको रूपमा रहेको काली-कर्णाली क्षेत्रका अमूर्त लोकसंस्कृतिमध्ये न्याउल्या (डेउडा) नै काली-कर्णालीको पहिचान जस्तै मानिन्छ। अर्थात् काली-कर्णालीमा डेउडाबाहेक केही छैन। तर लेखक उपाध्याय काली-कर्णालीको लोक साहित्य तथा संस्कृतिमार्फत् विशाल सांस्कृतिक झाँकी र साहित्यलाई उजागर गर्दछन्।
उनी न्याउल्या गीत र न्याउल्या खेलको काली-कर्णालीको जनजीवनसँग अन्योन्याश्रित सम्बन्ध रहेको बताउँछन्। उपाध्याय भन्छन्, ‘कर्णाली प्रदेशदेखि सुदूरपश्चिम हुँदै छिमेकी राष्ट्र भारतको उत्तराखण्ड कुमाउँ र गढवालसम्म न्याउल्याले विगतदेखि वर्तमानसम्म आफ्नो दरिलो प्रभाव जमाउँदै आएको छ। र हामीले न्याउल्या गीत र न्याउला खेलको बारेमा पनि बुझ्न आवश्यक छ।’
उसो त उपाध्यायले केही गीतको कम्पोज गर्दा नयाँपन ल्याउने कोसिस गरेको स्विकार्छन्। केही तोडमोड पनि गरेका छन्। त्यो नै दर्शकले रुचाइदिए। त्यसो गर्नुका कारण सबै भाषाभाषीका दर्शक श्राेताले सुदूरका भाका बुझून् भन्ने पनि हो। उनी भन्छन्, ‘समयक्रमअनुसार भाकाहरूमा केही परिवर्तन आउँलान् तर काली-कर्णालीमा देउडा मात्रै छैन है। देउडा र डेउडा पनि बुझ्नु पर्ने आवश्यक छ। र मेरो काली-कर्णालीको लोकसाहित्य तथा संस्कृतिको बारेमा थप बुझाउन पाइयोस् भन्ने पनि हो।’
अछाम साँफेबगर जन्मिएका उपाध्याय चार कक्षादेखि संगीत र साहित्यसँग भिजे। गीतसँगै साहित्यका अनेक विधामा कलम चलाउन थाले। गीतमा स्वर दिन थाले। उनलाई पहिलो पटक खुसी मिलेको भने २०३४ सालमै हो, जसबेला उनी जिल्लास्तरीय लोक-गीत प्रतियोगितामा प्रथम भए। उनै उपाध्यायले त्रिपूरासुन्दरा माविबाट एसएलसी २०४० सालमा उत्तीण गरे।
एक वर्षपछि प्रमाणपत्र तहको अध्ययन गर्न उनी नेपालगञ्ज पुगे। त्यहाँ जनजागृत साहित्यिक परिषद्ले लोक-गीत र दोहोरी गीत प्रतियोगिता आयोजना गर्याे। उनी फेरि प्रथम भए। महेन्द्र बहुमुखी क्याम्पसले आयोजना गरेको दोहोरीमा समेत प्रथम भए।
उपाध्यायकाे जिल्ला अछामलाई स्थानीय सर्जकहरू लोक-संगीत र संस्कृतिको ‘बैठकुण्ठधाम’ मान्छन्। उनी सम्झिन्छन् ती दिन— बाल्यकालमा प्रत्येक दिन पटकानी अर्थात सार्वजनिक स्थलमा जम्मा भएर न्याउल्या खेलिन्थ्यो, जुन चार स्टेपमा खुट्टाको चाल हुनेगरी खेलिन्छ।’
सुदूरपश्चिम प्रदेशको महाकाली, सेती र कर्णाली प्रदेशको समग्र सांस्कृतिक लोकभूमिलाई काली-कर्णाली क्षेत्र भन्ने गरिन्छ। यो क्षेत्र लोक-साहित्य तथा संस्कृतिमा अति उर्वर भूमिका रूपमा परिचित छ भनेर विभिन्न पुराणहरूमा उल्लेख भएकाे पाइन्छ।
यहाँको लोकसाहित्य तथा संस्कृतिको भण्डार कहिल्यै नरित्तिने महासागरजस्तै विराट र अनुपम रहेको बताउँछन् उपाध्याय। उनी भन्छन्, ‘यस क्षेत्रका जनजीवनको अमूल्य निधिका रूपमा रहेका सगुन, फाग, माँगल, चैत धमारी, होरी, रनपुतला, न्याउल्या, हुँड्केली, भारीखेल, सवाई, हलिया झुराउनी, लोकमन्त्र, डाडझंकार, पडेली, जिउनापुरी, बात बाह्रमासा, भजन, जिउँती, गवलागीत, राङवाङगीत, सखिया, रानाहोरी, कसम, उखान-टुक्का आदि लोक साहित्य र संस्कृतिका विपुल सम्पत्ति हुन्, जसको बारेमा मैले व्याख्या विश्लेषण, काल, वर्गीकरण गर्ने कोसिस गरेको छु।’
हुन त यसअघि पनि काली-कर्णाली माथि लेखिएको थुप्रै किताब आएका छन्। लोकसाहित्य र संस्कृतिमाथि खोजी र लेखनकाे क्रम जारी नै छ। यही निरन्तरता हो- काली-कर्णालीको लोकसाहित्य तथा संस्कृति।
यसअघि लेखिएका पुस्तकभन्दा धेरै फरक नभए पनि केही कुरा नयाँ रहेको बताउँछन् उपाध्याय। ‘म ठूलै अध्येता होइन, वरिष्ठ साधक पनि होइन। कसले के छुटाए भन्ने बारेमा पनि मैले दख्खल राखिनँ। आफ्नै खोज अनुसन्धानका क्रममा केही सामाग्री खट्कियो अनि त्यो सामग्री किन नखोज्ने भन्ने भयो। पाठकले यसलाई जे-जसरी लिनुहुन्छ, म त्यसलाई सजिलै स्विकार्न तयार छु’, उनले भने, ‘मैले मात्रै पूर्ण लेखे भन्दिनँ। तर मैले नयाँपन पक्कै ल्याएको छु भन्ने लाग्छ। जस्तै: गायन विधि, नृत्य विधि, त्यसको विकास क्रम, त्यसको संस्कृति भेषभूषा र चाडपर्वलाई पनि जोड्ने कोसिस गरेको छु।’
उपाध्यायले काली-कर्णाली क्षेत्रमा पाइने लाेकगीतकाे काल विभाजन पनि गरेका छन्। ‘बाह्रै महिना मनाइने चाडपर्व छन्। काली-कर्णाली क्षेत्रमा गाइने लोकगीतको काल विभाजन भएको थिएन, त्यसको काल विभाजन मैले गरेको छु। मैले अत्याधुनिक काल भनेर पनि समावेश गरेको छु। यसरी काली-कर्णलीको लोकगीतको वर्गीकरण गर्ने प्रयास गरेको छु।’
तालप्रधान लोकगीत चालप्रधान लोकगीत र स्वरप्रधान लोकगीत नाम दिएका छन् भने। कालको हिसाबमा प्राचीन काल (१०-१८ औं शताब्दी), मध्यकाल (१८ सयदेखि २०१४ सम्म) आधुनिककाल (२०१५ देखि २०४९) अत्याधुनिक काल (२०५० साल हालसम्म ) कालीकर्णालीमाथि खोजमूलक पुस्तक आइरहेका छन् र गीतसंगीत पनि निरन्तर चलिरहेको छ।
केहीले काली-कर्णालीको लोकसाहित्य केन्द्रसँग जोडिन सकेन भने पनि उपाध्याय भने गीतसंगीतमार्फत् पचासको दशकदेखि नै केन्द्रसँग जोडिएका थिए। देशैभरिका दर्शक श्राेताको मन जितेका थिए। देशकै चर्चित गायक कलाकारसँग उनले सहकार्य गरेका थिए। वर्तमानमा नेपालका रैथाने गीत-संगीत, धुन, नृत्य, लय भाका, र तिनका वाद्य-यन्त्रले संकट झेलेका छन्र ती लोपोन्मुख हुने अवस्थामा छन्। किताब काली-कर्णालीबाट उनले तिनको संरक्षणमा सहयोग पुर्याउन सकिने देखिन्छ।
उपाध्याय २०४४ सालमा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरेका थिए। उनले अध्ययन र हिमालयन कल्चरल सेन्टरमा शास्त्रीय संगीत कोर्सलाई सँगसँगै बढाए। २०४५ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिए। उनले स्वर परीक्षा पनि ‘राइझुमा’ गीतबाटै दिएका थिए। त्यसपछि लगातार १४ वटा एल्वम निकाले उनले। विभिन्न ठाउँमा एकल सांगीतिक कार्यक्रम सञ्चालन पनि गरे।
सुदूरपश्चिममा देउकी प्रथा प्रचलनमा थियो र अझै पनि केही देउकीहरू जीवित छन्। आफ्ना मनोकामना पूरा गर्न भगवानसँग विभिन्न भाकल (वाचा) गरेकाहरूले युवतीलाई किनेर देवालयहरूमा चढाउने युवतीहरू नै देउकी हुन्। देवालयमा चढाएकी युवतीहरूले बिहे गर्न पाउँदैनन् भन्ने मान्यता थियो। मन्दिरमै चढाएका फलफूल, अन्न खाएर जीवन गुजार्नुपर्थ्याे। सो परम्परा आँखाले देखेका उपाध्यायले ‘राइझुमा’ गीतमार्फत उक्त भावनालाई पस्केका छन्। यसैगरी, उद्घोषण र सामाजिक काममा उनले आफ्नो समय व्यतित गरिरहेका छन्।
त्यसैगरी, उपाध्याय सुदूरपश्चिमका पहिलो लोकगीतका प्राज्ञ परिषद् सदस्य पनि हुन्। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यसमेत रहिसकेका उनी पुस्तकमार्फत् काली-कर्णालीको साहित्य, संस्कृति पर्यटनको गरिमामय पाटोलाई उठान गर्न खोजेको बताउँछन्।
कालीकर्णाली क्षेत्रलाई उनी मानस खण्डसँग जोड्छन् र आउँदा दिनमा मानस खण्डमा अध्ययन अनुसन्धानमा लाग्ने पनि बताउँछन्। मानस खण्ड कहाँदेखि कहाँसम्म पर्छ भने- कुमाउ र गडवालको बीचदेखि काग पर्वत भनेको भेरी कर्णालीको बीचसम्म पर्छ। योबारे स्कन्ध पुराणमा उल्लेख गरिएको पाइन्छ। त्यहाँ भएको भौतिक तथा सांस्कृतिक रूपमा उल्लेख गरेका बताउँछन् उपाध्याय। उनी भन्छन्, ‘कुनै समय काली कर्णालीको भाग कुमाउ गडवालसम्म जोडिएको थियो। मानस खण्ड यस्तो पवित्र भूमि हो, जहाँ धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपले स्थापित छ।’
युवाअवस्थाले गाइरहेको डेउडा गीत कता गइरहेको छ कस्तो अवस्था छ भन्दा उपाध्याय दुःख मनाउँछन्। उनी भन्छन्, ‘हाम्रा मौलिक गीतहरूलाई जस्तोको तस्तै नयाँ पुस्तालाई हस्तान्तरण गर्नु पर्ने थियो। त्यो छुटिरहेको छ जस्तो लाग्छ। केही परिवर्तन आउँछन्। विकास पनि हुन्छन् तर हाम्रो लोक भाका नै लोप हुने अवस्थाबाट सचेत हुन पर्ने देखिन्छ। हजारौं वर्षदेखि लोकअनुगुञ्जका रागविरागहरू श्रुति परम्पराबाट आजको प्रविधिसापेक्ष दुनियाँसम्म आइपुग्दा स्मृति—विस्मृतिका दोसाँधमा रहेका यी अनमोल रत्नहरूलाई लामो खोजअनुसन्धानबाट उत्खनन हुन आवश्यक थियो। यो कुरा नयाँ पुस्तालाई पढ्नपर्छ।’
उपाध्यायले लोकवार्ता, लोकसंस्कृति, काली-कर्णालीको लोकसाहित्य र काली-कर्णालीका लोकगीतलाई मिहीन ढंगले उठान गरेका छन्। देशको विशिष्ट पहिचान बोकेको भाषा, साहित्य र संस्कृतिलाई सरकारले प्राथमिकताका साथ जगेर्ना गर्दै समृद्ध बनाउनु पर्नेमा उनी जोड दिन्छन्।