विषयप्रवेश
वर्णहरूको सर्वप्रथम स्पष्ट रूपमा विस्तृत वर्णन संस्कृतमा उपलब्ध शिक्षाशास्त्रका (उच्चारणशास्त्रका) प्राचीनतम ग्रन्थ प्रातिशाख्यहरूमा गरिएको छ। प्रातिशाख्यका अहिले उपलब्ध पाठहरू आधुनिक संस्कृतज्ञहरूका मतमा कम्तीमा पनि २७–२८ सय वर्ष पुराना मानिन्छन् । वेदका विभिन्न शाखाका आआफ्ना प्रातिशाख्य छन् । तिनमा ऋग्वेदप्रातिशाख्य, शुक्लयजुर्वेदप्रातिशाख्य, तैत्तिरीयप्रातिशाख्य, ऋक्तन्त्र, सामतन्त्र, अक्षरतन्त्र, पुष्पसूत्र (फुल्लसूत्र), शौनकीय चतुरध्यायिका र अथर्वप्रातिशाख्य मुद्रित रूपमा उपलब्ध छन् । यिनै ग्रन्थ आधुनिक ध्वनिविज्ञानका पनि मूल स्रोत हुन् । नेपाली भाषामा चाहिँ संस्कृत तथा नेपाली वर्णहरूको विस्तृत विवेचना गरेर तिनको यथार्थ स्वरूप सर्वप्रथम “नेपाली वर्णोच्चारणशिक्षा” भन्ने ग्रन्थमा देखाइएको छ (शिवराज आचार्य, साझा प्रकाशन, २०३१) ।
संस्कृतमा जस्तो उच्चारण गरिन्छ त्यस्तै लेखिन्छ । त्यसैले संस्कृतमा ध्वनिको र लिपिको सम्बन्ध वास्तविक र औचित्यपूर्ण छ भन्न सकिन्छ । नेपाली पनि जस्तो बोलिन्छ त्यस्तै लेख्न सकिने भाषा हो । तथापि त्यसरी लेख्ने परिपाटी नेपालीमा बसाल्न सकिएको छैन । त्यसैले नेपालीमा पदहरूको (शब्दहरूको) उच्चारणमा र लेखनमा धेरै नै अलमल भएको स्थिति पनि देखिन्छ। नाम हलन्त (व्यञ्जनान्त) उच्चारण भए पनि हलन्त अर्थात् खुट्टा काटेर लेख्न नहुने तर क्रियापदचाहिँ हलन्त उच्चारण हुने भए उच्चारणअनुसार हलन्त (खुट्टा काटेर) नै लेख्नुपर्ने नियम बनाइएको छ । हलन्तको बहिष्कार गर्नेहरूले त क्रियापदलाई पनि हलन्त नलेख्ने अदन्त (अकारान्त) अर्थात् खुट्टा नकाटीकन लेख्ने परिपाटी अँगालेका थिए । कवि लेखनाथ पौड्यालले पनि पहिला राममणि आ.दी.को हलन्त-बहिष्कारको समर्थन गर्दै “हेरीनसकनू पारीपरखाल बडेबडे, नेपाली कविले खुट्टा काटेका वर्णझैँ लडे” भनेर लेखेका थिए (ऋतुविचार, वर्षाविचार, श्लोक ९७) । हलन्त-बहिष्कार केवल लेखाइ र छपाइसँग मात्र सम्बद्ध अभियान हो । यस अभियानले जीवन्त भाषालाई महत्त्व दिइएको देखिँदैन ।
उच्चारण र लेखनका बिचमा एकरूपता नभएपछि कुन पद हलन्त उच्चरित हुन्छ, कुन पद अदन्त (अकारान्त) उच्चरित हुन्छ, कुन पद हलन्त उच्चरित भए पनि अदन्त लेख्ने गरिएको छ, कुन पद अदन्त नै उच्चरित हुन्छ र अदन्त नै लेख्ने पनि गरिएको छ इत्यादि कुराको आकलन र विवेक गर्न सर्वसाधारण व्यक्तिलाईमात्र हैन कहलिएका भाषाशास्त्रीहरूलाई समेत कठिन भएको र उनीहरू अलमलमा पर्ने गरेको पनि देखिन्छ । यहाँ यस्तै विषयको एउटा उदाहरणका रूपमा नेपाली भाषामा हकारान्त (पदका अन्त्यमा ह् उच्चारण हुने) पद छन् कि छैनन् भन्ने र यस विषयमा सर्वप्रथम कसले यथार्थ वस्तुस्थितिको निरूपण गरेको हो भन्ने विषयमा चर्चा गर्न लागिएको छ ।
उच्चारण,लेखन र हकारान्त पद
वर्णहरूको शुद्ध उच्चारण र उच्चारणअनुसारको यथार्थ लेखन महत्त्वपूर्ण कुरा हो । संस्कृतमा यस्तो परम्परा लामो समयदेखि चलि–नै–रहेको थियो । पछिपछि संस्कृतका ऋ लृ व श ष क्ष ज्ञ इत्यादि लिपिद्वारा सङ्केतित ध्वनिहरूको शुद्ध उच्चारण गर्ने परम्परामा केही शिथिलता आएको देखिन्छ । नेपाली भाषामा त बोलाइ र लेखाइको तालमेल नभएर नेपालीमा लेख्नेलाई धेरै नै समस्या परिरहेकै छ ।
हलन्त उच्चारण भए पनि हलन्त नलेख्ने, अदन्त (अकारान्त) नै लेख्ने नियमले गर्दा सर्वसाधारण व्यक्ति “मह, दह, रह, डाह, चाह थाह, शाह, सलह, सुलह, सल्लाह इत्यादि हकारान्त उच्चरित हुने तर लेख्दा अदन्त (अकारान्त) लेखिने पद हुन्” भन्ने पनि ठान्दछन् । सर्वसाधारणको मात्र यस्तो स्थिति हैन, कहलिएका भाषाशास्त्री दयानन्द श्रीवास्तवले पनि आफ्नो पुस्तक “नेपालि ल्याङ्ग्विज्इट्स् हिष्ट्रि याण्ड् डिवेलप्मण्ट्” (कलकत्ता विश्वविद्यालय, सन् १९६२) भन्ने पुस्तकमा (पृ. ८५)हकारान्त पदहरूको उदाहरण “गवाह्, सल्लाह्,अनुग्रह्” दिएका छन् । चूडामणि उपाध्याय रेग्मी बन्धुले (जन्म वि.सं. १९९५) पनि “नेपाली भाषाको उत्पत्ति” भन्ने आफ्ना पुस्तकमा (जगदम्बा प्रकाशन, २०२५) “तल नेपाली स्वरान्त र व्यंजनान्त प्रातिपदिकहरूको सानो सूची दिइन्छ” (पृ. १६३) भन्दै उक्त सूचीको अन्त्यमा दयानन्द श्रीवास्तवकै अनुसरण गरेर हकारान्त नेपाली पदका उदाहरण “सलह्, सल्लाह्, डाह्, निर्वाह्” (पृ. १६४) दिएका छन् ।
उच्चारण र लेखनका बिचमा एकरूपता नभएपछि कुन पद हलन्त उच्चरित हुन्छ, कुन पद अदन्त (अकारान्त) उच्चरित हुन्छ, कुन पद हलन्त उच्चरित भए पनि अदन्त लेख्ने गरिएको छ, कुन पद अदन्त नै उच्चरित हुन्छ र अदन्त नै लेख्ने पनि गरिएको छ इत्यादि कुराको आकलन र विवेक गर्न सर्वसाधारण व्यक्तिलाईमात्र हैन कहलिएका भाषाशास्त्रीहरूलाई समेत कठिन भएको र उनीहरू अलमलमा पर्ने गरेको पनि देखिन्छ ।
तर नेपालीमा हकारान्त पद नै छैनन्, हकारान्त ठानेर दयानन्दले लेखेका र तिनैको अनुसरण गरेर चूडामणि रेग्मी बन्धुले लेखेका पद अदन्त (अकारान्त) हुन् भनेर सर्वप्रथम २०२७ सालमा हाम्रा पिताजी शिवराज आचार्य कौण्डिन्न्यायनले (वि.सं. १९९७–२०७४) प्रतिपादन गर्नुभएको थियो । उहाँले २०२४ सालदेखि नै नेपाली भाषा, व्याकरण र उच्चारणशास्त्र इत्यादि विविध विषयमा सूक्ष्म रूपले विवेचना गर्दै कलम चलाउन थाल्नुभएको हो । यसै सन्दर्भमा काठमाण्डुबाट प्रकाशित हुने त्यति बेलाको चर्चित मासिक पत्रिका रूपरेखाको ११३ औँ पूर्णाङ्कमा (२०२७ असोज) “सुब्बा बिरेन्द्रकेसरिको प्राक्रित् ब्याकर्ण र नेपालिका अदन्त र हलन्त पद्हरु” भन्ने शीर्षकको निबन्ध प्रकाशित गर्नुभएको थियो । यो निबन्ध “जिम्दो नेपालि भासा” भन्ने पुस्तकको पैलो खण्डमा (२०३०) पनि पूर्ण रूपमै प्रकाशित छ (पृ. १२४–१२८) । त्यहाँ वीरेन्द्रकेसरी अर्यालको “बेसरी” भन्ने ग्रन्थको परिचय दिनुका साथै नेपाली भाषामा कस्ता पदअदन्त (अकारान्त) हुन सक्छन् र कस्ता पद हलन्त (व्यञ्जनान्त) हुन सक्छन् भन्ने कुरा उदाहरण दिएर केही विस्तारमा निरूपण गरिएको छ । साथै नेपाली भाषाका हलन्त र अकारान्त शब्दको प्रयोगसँग सम्बद्ध वीरेन्द्रकेसरीका प्रतिपादनमा केही संशोधन पनि प्रस्तुत गरिएको छ । यसबाट पूर्ववर्ती भाषाविद्का कामको उचित मूल्याङ्कन पनि भएको छ र विद्यामा परिष्कार गर्ने काम पनि भएको छ । यसै प्रसङ्गमा हकार उपधामा (उपान्त्यमा) अर्थात् अन्तिमभन्दा अगिल्लो स्थानमा हुने पदहरू अदन्त हुन सक्छन् भनेर त्यहाँ यी उदाहरणहरू दिइएका छन्– “उह, गेह, चाह (चाहा), तह, दह, निर्बाह (निर्बाहा, निर्बाआ), बह, मह, थाह (थाहा, थाआ, थाऽ), दाह (डाहा), देह, प्रमेह, लेह, मोह, रह (रअ), राह (राहा, राआ) इत्यादि ।”
त्यहीँ नेपालीमा हकारान्त पद छन् भन्ने विषयमा आफ्नो असहमति रहेको जनाउँदै टिप्पणी पनि गरिएको छ । “जिम्दो नेपालि भासा” सिद्धान्तले अँगालेको उच्चारणानुसारी लेखनशैलीमा रहेको उक्त टिप्पणीलाई यहाँ पाठकहरूका बानीलाई हेरेर प्रचलित लेखनशैलीमा परिवर्तित गरी प्रस्तुत गरिएको छ–
दयानन्द श्रीवास्तवले “नेपालि ल्याङ्ग्विज्इट्स् हिष्ट्रि याण्ड् डिवेलप्मण्ट्” भन्ने पुस्तकका पचासियौँ पृष्ठमा हकारान्त नाम-शब्दका उदाहरणहरू गवाह्, सल्लाह्, अनुग्रह् दिएका छन् र दियालोको तेइसौँ हाँगाको दशम पृष्ठमा पारसमणि प्रधानले दिनुभएको “ग्रियर्सन, टर्नर, क्लार्क र दयानन्द श्रीवास्तवले देखाइदिएको बाटामा नेपाली भाषाविद्हरूले चासो लिएर हिँड्ने बेला आएको छ” भन्ने सल्लाह मानेर हो कि झैँ गरेर एक जना हाम्रा भाषाका अन्वेषकले “नेपाली भाषाको उत्पत्ति” भन्ने पुस्तकमा नेपाली हकारान्त प्रातिपदिकका उदाहरणहरू– सलह्, सल्लाह्, डाह्, निर्वाह् दिनुभएको छ । किन्तु यो कुरा चिन्त्य छ । हो, हामी विकासोन्मुख मात्रै भएकाले हामीसित एक शिक्षकलाई चाहिने आधुनिक यन्त्रहरू पनि छैनन्, हाम्रा पुर्खाहरूको योगज प्रज्ञा पनि हामीसित छैन र हामी “हासाँऽ चाल् न कौवाऽ चाल्” मा परेका छम्, तथापि आफ्नु विचारशक्तिको पनि राम्ररी उपयोग नगरेर आर्कैले देखाएको बाटामा मात्रै हिँड्ने सल्लाहा दिनु र हिँड्नु दुवै कुरा शोचनीय हुन् (रूपरेखा, २०२७, असोज, पृ. १६-१७) ।

यसै लेखमा छायाचित्रका रूपमा पनि देखाइएका तत्तद् सामग्रीहरूको उपर्युक्त विवेचनाबाट तल उल्लिखित तथ्यहरू स्पष्ट हुन्छन्–
(१) पहिला दयानन्द श्रीवास्तवले हकारान्त पद नेपालीमा छन् भनेर प्रतिपादन गरेका थिए ।
(२) त्यसपछि त्यस प्रतिपादनलाई ठिकै ठहर्याएर त्यसको अनुसरण चूडामणि उपाध्याय रेग्मी बन्धुले गरेका थिए ।
(३) दयानन्द श्रीवास्तव र चूडामणिउपाध्याय रेग्मी बन्धुको प्रतिपादन यथार्थ हैन, नेपालीमा हकार उपधामा (उपान्त्यमा) हुने पद मात्र छन्, अन्त्यमा हकार हुने पदछैनन् भनेर पहिलो पटक शिवराज आचार्यबाट निष्कर्ष निकालिएको थियो ।
यसपछि आफूले दयानन्द श्रीवास्तवको अनुसरण गरेर लेखेको कुरा गलत रहेछ, शिवराज आचार्यले लेखेको कुरा ठिक रहेछ भन्ने अनुभूति चूडामणि उपाध्याय रेग्मी बन्धुलाई भएछ । अनि “नेपाली भाषाको उत्पत्ति” भन्ने आफ्ना पुस्तकका पछिल्ला संस्करणहरूमा (साझा प्रकाशन, २०३२, २०३६, २०४७, ….) उनले सकारान्त पदका उदाहरणहरू“आस्, उडुस्, रस्, रास्, घाँस्, बास्, भुस्, रिस्, बहस्, रास्” दिएपछि २०२५ सालको पहिलो संस्करणमा आफैँले तिनको लगत्तै दिएका हकारान्त पदका उदाहरणहरू “सलह्, सल्लाह्, डाह्, निर्वाह्”लाई पुस्तकबाट हटाएका छन् । सकारान्त पदका उदाहरण दिँदा असावधानीले गर्दा एउटै रास्-शब्द एकै पङ्क्तिमा दुई-दुई पटक उल्लेख भएकामा उनको ध्यान पछिसम्म पनि गएको छैन, तर अर्काले स्पष्ट पारिदिएपछि हकारान्त पद नेपालीमा नहुने कुरालाई तत्कालै आत्मसात् गरेर तिनलाई शहटाउने कुरामा चाहिँ उनी सचेत भैहालेका देखिन्छन् । यसबाट आफ्नो त्रुटि आफैँले देख्न गारो हुन्छ, अर्काले देखाएपछि सच्च्याउन चाहिँ सजिलो हुन्छ भन्ने कुरा पनि स्पष्ट हुन्छ ।
निष्कर्ष
यदि २०२७ सालमा हाम्रा पिताजी शिवराज आचार्यले आफूभन्दा पूर्ववर्ती लेखकले प्रतिपादन गरेका “नेपाली भाषामा हकारान्त पद हुन्छन्” भन्ने सिद्धान्तलाई सच्च्याएर “नेपाली भाषामा हकारान्त पद छैनन्” भन्ने सिद्धान्त स्थापित नगर्नुभएको भए आजसम्म कतिले दयानन्द श्रीवास्तवको अनुसरण गरेर लेख्ने चूडामणि उपाध्याय रेग्मी बन्धुको लेखाइलाईआधिकारिक मानेर लेख्थे होलान् । तर सुरुमै अशुद्ध कुराको संशोधन हुन पाएकाले अयथार्थ कुराको प्रचार हुन पाएन । नेपाली भाषाका क्षेत्रमा यति महत्त्वपूर्ण सिद्धान्त स्थापित गर्ने र विद्याका परिष्कारमा योगदान दिने व्यक्तिले गरेको आफूले प्रतिपादन गरेका विषयलाई संशोधन गर्ने टिप्पणीलाई चूडामणि रेग्मी बन्धुले खुला रूपमा स्वीकार गरेर सधन्यवाद आफ्ना पुस्तकमा उल्लेख गर्नुपर्थ्यो । यस्तो गर्दै गएपछि मात्र विद्यामा परिष्कार हुने र नयाँनयाँ कुरा थपिँदै जाने हुन् । जसले जे नयाँ तथ्य सर्वप्रथम प्रकाशित गरेको हो, त्यसको यथार्थ उल्लेख गरेर त्यसमा आफूले थप गरेको तथ्य के हो भन्ने कुराको यथार्थ चर्चा गर्नु नै विद्वान् र प्राज्ञको धर्म र कर्तव्य पनि हो । विद्यामा जजसले जेजे योगदान गर्छन् त्यसको यथार्थ मूल्याङ्कन र उल्लेख नगर्ने हो भने कसले कसरी विद्यामा योगदान दिन सक्छन् र? केका निम्ति दिन्छन् र? त्यसैले “नेपाली भाषाको उत्पत्ति” भन्ने पुस्तकका पछिल्ला संस्करणमा यसप्रकारको उल्लेख वा टिप्पणी गर्न पर्थ्यो वा गर्न सकिन्थ्यो–“मैले पहिला आफैँले धेरै विचार नगरी दयानन्द श्रीवास्तवका ग्रन्थको अनुसरण गरेर नेपाली भाषामा हकारान्त प्रातिपदिक वा पदहरू भएको मानेर सलह्, सल्लाह्, डाह्, निर्वाह् उदाहरण दिएको थिएँ। तर शिवराज आचार्यले राम्ररी विचार गरेर ती हकारान्त नभएर हकार उपधामा (उपान्त्यमा) हुने प्रातिपदिक वा पद हुन् भन्ने विषयमा मेरो ध्यान आकृष्ट गर्नुभएकाले (रूपरेखा, २०२७, असोज) यहाँ अगिल्लो संस्करणमा हकारान्त भनेर दिइएका उदाहरण हटाइएका छन् ।” यस्तो टिप्पणी लेख्दा चूडामणि रेग्मी बन्धुको कमजोरी देखिने हैन, अपितु विद्याप्रियता र सत्यनिष्ठा नै अभिव्यक्त हुन्थ्यो । साथै नेपाली भाषामा हकारान्त पद छन् कि छैनन् भनेर विचार गर्ने पछिपछिका भाषाशास्त्रीलाई पनि यस विषयको यथार्थ विवेचना गर्न अझ सजिलो हुन्थ्यो । कुनै पनि बेला जोसुकैले पनि इतिहास केलाएर सत्य कुरा उद्घाटित गर्न त सकिहाल्छ र त्यसो हुँदा आफ्नो अर्घेलो वा अनुचित कार्य प्रमाणित हुन पनि सक्छ भनेर विचारशील सज्जन विद्याव्यसनीहरू सत्य-तथ्य लेख्ने काममा बढी नै सचेत हुनुपर्ने देखिन्छ । साथै कुनै ग्रन्थ वा इतिहास लेख्दा विद्यामा योगदान गर्ने व्यक्तिको कार्यको चर्चा नगरी ढाकछोप गर्नु अनुचित कार्य पनि हो । आज ५०–५५ वर्षपछि पनि ओझेलमा पारिराखिएको एउटा यथार्थ तथ्य जनसमक्ष आइ-नै-पनि-हाल्यो । यस्तो काम कुनै पनि प्राज्ञिक व्यक्तिको अनिवार्य नैतिक दायित्वभित्रै पर्ने विषय हो । बालकृष्ण पोखरेल र वल्लभमणि दाहालद्वारा लिखित “ध्वनिप्रक्रिया र केही ध्वनि सिद्धान्त” भन्ने ग्रन्थमा (२०२७) पनि नेपाली वर्णका विषयमा थुप्रै अयथार्थ कुरा परेका छन् र तिनको पनि समीक्षा गरिसकिएको छ । माधवप्रसाद पोखरेलद्वारा सम्पादित “नेपाली साहित्यको बृहत् इतिहास” भन्ने ग्रन्थको “भाषा, व्याकरण र अभिलेख”भन्ने पहिलो ठेलीमा (२०७४) पनि अशुद्ध, अयथार्थ, असत्य र पूर्वाग्रहपूर्ण कुरा धेरै नै परेका छन् । विद्याका क्षेत्रमा पनि गुटबन्दी गरेर सत्य कुरालाई नदेखाई ढाकछोप गर्ने र अयथार्थ कुराको गुणगान गर्ने काम हुनु दुःखद हो । त्यस्ता कार्यहरूको पनि चिरफार गरेर सप्रमाण यथार्थ तथ्य र इतिहास जनसमक्ष राख्ने काम यथावसर गरिने छ । अरूले पनि यस्तो काम केही मात्रामा भए पनि गरेको देखिन्छ । अल्पसङ्ख्यक भए पनि विद्याप्रिय र सत्यनिष्ठ व्यक्ति समाजमा जहिले पनि हुन्छन् र तिनले यस्ता कामको मूल्याङ्कन जहिले पनि गर्ने नै छन्। यस लेखमा पनि यदि केही कुरा तलमाथि परेका छन् अथवा तथ्यविपरीत परेका छन् भने तिनको सप्रमाण संशोधन विद्याप्रेमी र सत्यनिष्ठ व्यक्तिहरूले गर्नुहोला भन्ने अपेक्षा छ । यथार्थ कुरा जनसमक्ष ल्याउने काम यथासमय अनुसन्धाताहरूबाट हुँदै जाने हो ।

भर्खरै
लोकप्रिय






































































































































































































