
कार्बोहाइड्रेट कम भएको खानाले आयु घटाउने एक अनुसन्धानले देखाएको छ । पछिल्लो समय मोटोपन घटाउनका लागि कार्बोहाइड्रेट कम भएको खाना बढी प्रचलनमा रहेको छ ।
कार्बोहाइड्रेट कम भएको खानाले मुटु तथा रक्तचापसहितका रोगको जोखिम कम गर्ने देखिएको छ । तर यसले आयु चार वर्षसम्म कम गर्ने देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।
२५ वर्ष लगाएर अमेरिकामा गरिएको अनुसन्धानबाट मध्यम स्तरमा कार्बोहाइड्रेटयुक्त खाना खानु राम्रो देखिएको हो । मोटोपन घटाउने नाममा कार्बोहाइड्रेट कम भएका खाना खाँदा त्यसको प्रभाव जीवनप्रत्यासा (आयु) मा पर्ने देखिएको छ । मध्यम स्तरमा कार्बोहाइड्रेट खानु वा मासुको सट्टा प्रोटिन तथा फ्याट युक्त शाकाहारी भोजन गर्नु स्वस्थ्यकर देखिएको छ ।
१५ हजार ४ सय अमेरिकीमा गरिएको अनुसन्धानको प्रतिवेदन द ल्यान्सेट पब्लिक हेल्थ जर्नलमा प्रकाशित भएको छ ।
अनुसन्धानमा मानिसहरुलाई उनीहरुले खाएको खाना र त्यसको मात्रासहितको विवरण भर्न लगाइएको थियो । त्यसपछि वैज्ञानिकले व्यक्तिले कार्बोहाइड्रेट, फ्याट र प्रोटिनबाट लिएको क्यालोरिको गणना गरि अनुसन्धान गरेका हुन् ।
२५ वर्षसम्म ती व्यक्तिमाथि निरन्तर अनुसन्धान गर्दा कार्बोहाइड्रेटबाट ५०–५५ प्रतिशत उर्जा लिएका व्यक्तिको आयु त्यो भन्दा कम वा बढी उर्जा कार्बोहाइड्रेटबाट लिएकाहरुको भन्दा बढी देखिएको हो ।
तरकारी, फलफूल तथा गुलियो खानेकुरा कार्बोहाइड्रेटको मुख्य स्रोत हो । विशेष गरी आलु, भात, रोटीसहितबाट बढी कार्बोहाइड्रेट प्राप्त हुन्छ ।
मध्यम स्तरमा कार्बोहाइड्रेट युक्त खाना खाने व्यक्तिको आयु ३० प्रतिशत भन्दा कम वा ५५ प्रतिशत भन्दा बढी कार्बोहाइड्रेट युक्त खाना खाने व्यक्तिको भन्दा बढी आयु रहेको पाइएको छ ।
३० प्रतिशत भन्दा कम उर्जा कार्बोहाइड्रेटबाट लिने व्यक्तिको भन्दा मध्यम स्तरमा उर्जा लिने व्यक्तिको आयु ४ वर्ष बढी हुने देखिएको छ ।
यस्तै ३० देखि ४० प्रतिशत भन्दा कम उर्जा कार्बोहाइड्रेटबाट लिने व्यक्तिको भन्दा २.३ तथा ६५ प्रतिशत भन्दा बढी उर्जा कार्बोहाइड्रेटबाट लिनेको भन्दा १.१ वर्ष आयु बढी हुने देखिएको छ ।
यसअघि २० देशका ४ लाख भन्दा बढी मानिसमा गरिएको अनुसन्धानबाट पनि यस्तै नतिजा आएको थियो ।