
चितवन- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारबाट जनता निराश भएको भन्दै कांग्रेससहितको गठबन्धन सरकारको आलोचना गरेका छन्।
चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका गुनासा सुन्ने अवसर पाएको बताए। उनले सञ्चारकर्मीहरुसँग भने- ‘सुशासन, सेवा प्रवाहको सन्दर्भमा संविधान निर्माण लगायतका महत्वपूर्ण कुरा टुङ्गिसकेपछि महसुस गर्ने खालको परिवर्तन हुन्छ भन्ने लागेको हो, त्यो प्राप्त गर्न नसकेकोमा जनताको गुनासो छ ।’
आम नागरिकका साना–साना मागसमेत पूरा हुन नसकेको जनगुनासो आफूले पाएको गगनले बताए। उनले सरकारले गर्न सक्ने सामान्य कुरा पनि नगरेको देख्दा जनतामा नैराश्य उत्पन्न भएको पनि बताए।
स्रोत साधनको अभावले गर्दा गर्न नसकेको ठूला कुरा स्वाभाविक भएको भन्दै उनले अहिले सबै खालको अनुकूलता भएको समयमा गर्न सकिने काम पनि नभएकामा नागरिकले गुनासो गरेको बताए।
पूर्वाधार बनिसकेपछि लाभ लिने कुरामा हामी सबै चुकेको अनुभूति भएको उनले बताए। उनले भने- ‘पूर्वाधार बनेको तर समयमा पूरा गर्न नसक्दा सिङ्गो नेपालभरिको ठेक्का प्रणालीको समस्या हुलाकी राजर्मामा देखियो। यस कारणले गर्दा लगानी भएपनि लाभ लिन नसकेको देखिन्छ ।’
देशभरका महासमिति सदस्य केही अनुभव वोकेर काठमाडौँ आउँदा महासमितिको बैठकमा यी बिषयमा छलफल हुने महामन्त्री थापाले बताए।
निर्वाचन पछि गठवन्धन गर्दा राम्रो हुने भन्दै उनले निर्वाचन अघिको गठवन्धन उपयुक्त नहुने देखिएको टिप्पणी गरे।