सनातनयात्रा

ज्ञानको मूल स्रोत वेद (२)

ज्ञानको मूल स्रोत वेद (२)
+
-

यसभन्दा अगिल्लो ज्ञानको मूल स्रोत वेद (१) भन्ने लेखमा (२०८०।१०।३) वेदमा प्रतिपादन गरिएका धार्मिक, सांस्कृतिक, सामाजिक, र आध्यात्मिक–दार्शनिक विषयहरूमा चर्चा गरिएको थियो। त्यहाँ चर्चा नगरिएका कतिपय वैदिक विषयहरूको चर्चा यस लेखमा गरिँदै छ।

राष्ट्रसम्बन्धी विचार

संस्कृत–व्याकरणअनुसार ‘राजन्ते अनेन इति राष्ट्रम्’ यस्तो व्युत्पत्ति राष्ट्र–शब्दको हुन्छ। अर्थात् जसबाट राष्ट्रवासी सबैको समुन्नति हुन्छ त्यो राष्ट्र हो। शुक्लयजुर्वेदमा पनि यस्तै भावना व्यक्त गरिएको छ—

रुचन्नो धेहि ब्राह्मणेषु रुचं राजसु नस्कृधि।

रुचं विश्येषु शूद्रेषु मयि धेहि रुचा रुचम् ।।१८।४८।।0

हे अग्नि, हाम्रा ब्राह्मणहरूमा तेज स्थापित गर। हाम्रा क्षत्रियहरूमा तेज स्थापित गर। हाम्रा वैश्यहरूमा र शूद्रहरूमा तेज स्थापित गर तथा हामीमा पनि अविच्छिन्न तेज स्थापित गर (हाम्रा राष्ट्रका चारै वर्णलाई तेजस्वी बनाऊ)।

यसबाट राष्ट्र भनेको त्यसका प्रत्येक सदस्यलाई प्रदीप्तिको (समुन्नतिको) उचित अवसर दिने सङ्घटन हो भन्ने कुरा स्पष्ट हुन्छ। वैदिक राष्ट्रगानका रूपमा पनि लिने गरिएको शुक्लयजुर्वेदको अर्को मन्त्रमा पनि सबै राष्ट्रवासीको योगको र क्षेमको (प्राप्तको रक्षाको र अप्राप्तको प्राप्तिको) प्रार्थना गरिएको छ—

आ ब्रह्मन् ब्राह्मणो ब्रह्मवर्चसी जायतामा राष्ट्रे राजन्यः शूर इषव्योतिव्याधी महारथो जायतां दोग्ध्री धेनुर्वोढानड्वानाशुः सप्तिः पुरन्धिर्योषा जिष्णू रथेष्ठाः सभेयो युवास्य यजमानस्य वीरो जायतां निकामेनिकामे नः पर्जन्यो वर्षतु फलवत्यो न ओषधयः पच्यन्तां योगक्षेमो नः कल्पताम्।।२२।२२।।

हे ब्रह्मन्, यस राष्ट्रमा ब्रह्मतेजले अर्थात् वेदाध्ययन र सच्चरित्रले युक्त ब्राह्मण जन्मियोस्। पराक्रमी, धनुर्विद्यामा निपुण, लक्ष्यवेधी र महारथी क्षत्रिय उत्पन्न होओस्। दुधालु गाई, भारी बोक्ने बलियो गोरु र शीघ्रगामी घोडा होऊन्। स्त्री सर्वगुणले सम्पन्न होओस्। रथमा बसेर युद्ध गर्ने व्यक्ति विजयशील होओस्। यस यजमानको सभामा जान योग्य समर्थ वीर पुत्र जन्मियोस्। हामीलाई चाहिएर कामना गरेका–गरेका वेलामा मेघले वर्षा गराओस्। हाम्रा धान, जौ इत्यादि ओषधि फलयुक्त होऊन्। हाम्रो योग र क्षेम होस् (नपाइएको कुरा प्राप्त होस् र पाइएको कुराको रक्षा होस्)।

यसबाट राष्ट्रमा सबै प्रकारको जनशक्तिको सुव्यवस्था गरिने, त्यस जनशक्तिलाई आआफ्ना क्षेत्रमा निपुण बनाइने र विविध प्रकारको भौतिक समृद्धिसमेत राष्ट्रमा हुने परिकल्पना गरिएको कुरा स्पष्ट हुन्छ। अतः वैदिक राष्ट्रले आफूलाई धार्मिक, सांस्कृतिक, आध्यात्मिक र भौतिक रूपमा पनि समृद्ध बनाउने नीति अवलम्बन गर्ने गर्दथ्यो भन्ने कुरा देखिन्छ। वैदिक राजाले राष्ट्रलाई धारण गर्ने कुरा शतपथब्राह्मणमा बताइएको छ— राजानो वै राष्ट्रभृतस्ते हि राष्ट्राणि बिभ्रति (९।४।१।१)।

वैदिक राष्ट्रका राजा विशिष्ट गुणले युक्त हुनुपर्ने कुरा पनि विभिन्न ग्रन्थमा उल्लिखित देखिन्छ। राजाले ठिकसित राष्ट्रलाई सञ्चालन गर्न नसकेमा राजा पदच्युत हुने सम्भावना सधैँ रहने गर्दथ्यो भन्ने कुरा दुष्टरीतु, पौंसायन इत्यादि राजाहरू पदच्युत भएको कुरा वैदिक ग्रन्थ शतपथब्राह्मणमा (१२।९।३।१) आएकाले स्पष्ट हुन्छ।

विभिन्न वैदिक ऋचाहरूमा राष्ट्रमा स्थिर तथा सबल राजा चाहिने र राजाले नै वैदिक राष्ट्रलाई राम्ररी धारण वा सञ्चालन गर्न सक्ने आशय व्यक्त भएको छ। साथै आफ्ना कर्तव्यहरूबाट राजपदमा बस्ने व्यक्ति कहिल्यै भ्रष्ट नहोस् भन्ने कामना पनि गरिएको छ। यसरी राष्ट्र र राष्ट्रनीतिका विषयमा वेदमा चर्चा भएको पाइन्छ।

कूटनीतिका कुरा

राजाका कर्तव्यभित्रै परराष्ट्रसित व्यवहार गर्दा प्रयोग गरिने कूटनीति पनि पर्दछ। सर्वप्रथम ऋग्वेदको सरमा–पणि–सूक्तमा (१०.१०८.१—११) कूटनीतिको राम्रो उदाहरण भेटिन्छ। पणि नामका असुरहरूले देवगुरु बृहस्पतिका गाईहरूको अपहरण गरेर लगेको कुरा बृहस्पतिबाट थाह पाएपछि इन्द्रले सरमालाई दूत बनाएर पणिहरूकहाँ पठाउँछन्। यसबाट राजा परराष्ट्रसित वा शत्रुपक्षसित आफ्ना दूतका माध्यमले संवाद गर्ने गर्थे भन्ने प्राचीन परम्पराको ज्ञान हुन्छ। सरमा पणिहरूकहाँ पुगेपछि पणिहरूले सरमालाई त्यहाँ आउनुको प्रयोजन सोध्छन्। सरमाले इन्द्रका गाईहरू खोज्न आएको कुरा बताउँछिन्। त्यो कुरा सुनेपछि पणिहरूले सरमालाई बहिनी बनाउने र आधा गाई पनि दिने कुरा गरेर फुस्ल्याउन खोज्छन् र दुध पियाउँछन्। तर देवदूती सरमा उनीहरूका प्रलोभनमा नपरीकन गाईको दुध पिएर मात्रै फर्किन्छिन्। राजाको सन्देश निर्भीक भएर सुनाउनु दूतको धर्म हो भन्ने कुरा यस प्रसङ्गबाट स्पष्ट हुन्छ।

पणिहरूले सरमालाई धम्की दिँदै त्यहाँ भनेका छन्— हाम्रा शस्त्र तीखा छन्, हामी विनायुद्ध गाई छोड्दैनौँ। यसको जबाफमा सरमाले भनेकी छन्— तिमीहरूको भनाइमा कुनै दम छैन, तिमीहरू जति नै बलिया भए पनि इन्द्रले तिमीहरूलाई छोड्ने छैनन्। यसबाट दूतले निर्भीक भएर आफ्नो कर्तव्य पूर्ण गर्नुपर्छ भन्ने कुरा स्पष्ट हुन्छ। त्यसैगरी अर्काका प्रलोभनमा नपरीकन र घुस नखाईकन दूतले काम गर्न सक्नुपर्छ भन्ने सङ्केत पनि यहाँ पाइन्छ। यसरी यस सूक्तको विवेचनाबाट दूतका योग्यता र कर्तव्यका विषयमा धेरै कुरा अवगत हुन ससक्। वेदका सूक्तमा उल्लेख भएको कूटनीतिको यो राम्रो उदाहरण हो।

उद्योगको महत्त्व

वैदिक धर्मको मूल ग्रन्थ ऋग्वेदमा नै मनुष्यलाई उद्यमशील र परिश्रमी हुन प्रेरणा दिने खालका धेरै ऋचाहरू पाइन्छन्। ऋग्वेदमा एक ठाउँमा परिश्रम नगर्ने मानिससँग देवताहरू मित्रताका लागि तयार हुँदैनन् भनिएको छ— न ऋते श्रान्तस्य सख्याय देवाः (४।३३।११)। यसबाट देवताहरू परिश्रम वा पौरख गर्नेसित प्रसन्न हुने रहेछन् र देवतालाई प्रसन्न पार्न पनि पौरख नै गर्नुपर्ने रहेछ भन्ने बुझिन्छ।

शुक्लयजुर्वेदका मन्त्रसंहितामा पनि मान्छेलाई जीवनभर क्रियाशील हुन प्रेरणा दिइएको छ— कुर्वन्नेवेह कर्माणि जिजीविषेच् छतं समाः।। (४०।२) अर्थात् यस लोकमा कर्म गर्दै सय वर्षसम्म बाँच्ने इच्छा राखोस्। यसबाट केवल ज्ञानले मात्र पनि हुँदैन, मनुष्यजीवन सफल पार्न कर्म पनि चाहिन्छ भन्ने बुझिन्छ। यसलाई वैदिक ज्ञानकर्मसमुच्चयवाद भन्दछन् । शाङ्कर परम्परामा ज्ञानलाई बढी जोड दिइएकाले वैदिक ज्ञानकर्मसमुच्चयवादको वैदिक सिद्धान्त पछिपछि कम चर्चित भएको पाइन्छ। तर पनि मूल वैदिक मार्ग कर्ममार्ग तथा ज्ञानमार्ग भएको र ज्ञानकर्मसमुच्चयवाद मूल वाद भएको कुरा बुझ्नुपर्छ।

श्रमको र तपस्याको महिमा वैदिक शास्त्रमा जतासुकै बताइएको देखिन्छ। शुक्लयजुर्वेदकै ब्राह्मणग्रन्थ शतपथब्राह्मणमाजजमानले श्रम र तपस्या गर्दै त्यस अमृतलाई खोज्दछ भनिएको छ— तद् (अमृतम्) अद्यापि यजमानः श्रमेण तपसान्विच्छति (९।५।१।८)। यस ब्राह्मणमा श्रम र तपस्याको महत्त्व यत्रतत्र बताइएको छ।

ऋग्वेदका ऐतरेयिब्राह्मणमा क्रियाशीलताको महत्त्व विभिन्न गाथाहरूमा सारै राम्ररी दर्साइएको छ। यसै प्रसङ्गमा दस पटक आएको चरैवेति अर्थात् सञ्चरणशील होऊ नै भन्ने उपदेश त धेरैले सुनेकै हुनुपर्छ। भाग्यलाई पनि कर्मले नै डोर्‍याउँछ भन्ने कुरा त्यहीँ यसरी स्पष्ट पारिएको छ—

आस्ते भग आसीनस्य ऊर्ध्वस् तिष्ठति ततिष्ठत।

शेते निपद्यमानस्य चराति चरतो भगः।। (३३।३) चरैवेति।

अर्थात्— हे रोहित, बसीरहने मान्छेको भाग्य बसीरहन्छ। उभिईरहने मान्छेको भाग्य उभिईरहन्छ। सुतीरहने मान्छेको भाग्य सुतीरहन्छ सञ्चरणशील हुने मान्छेको भाग्य सञ्चरणशील हुन्छ। अतः तिमी पनि सञ्चरणशील (क्रियाशील) होऊ।

यसरी विभिन्न उदाहरण दिएर आलस्य नगरीकन निरन्तर क्रियाशील र गतिशील हुन वेदले मानिसलाई प्रेरणा दिएको छ। आलस्यलाई पाप र क्रियाशीलतालाई पुण्य मानिएको छ।

कृष्णयजुर्वेदको कठोपनिषद्‌मा पनि श्रमको र तपस्याको तथा क्रियाशीलताको महत्त्व देखाई मानिसलाई जाग्न भनिएको छ— उत्तिष्ठत जाग्रत प्राप्य वरान् निबोधत (१।३।१४) अर्थात् उठ, जाग र श्रेष्ठ व्यक्तिकहाँ गएर ज्ञान प्राप्त गर। यसरी वेदबाट नै कर्मको महत्त्व स्पष्ट रूपमा बुझ्न सकिन्छ।

कृषिको महत्त्व

कृषि–कर्म अत्यन्त प्रशंसनीय हो भन्ने कुरा वैदिक ऋचाहरूबाट पनि स्पष्ट हुन्छ। संसारभरिकै सर्वप्राचीन ग्रन्थ ऋग्वेदमा कृषि–कर्मको प्रशंसा गर्दै यस्तो भनिएको छ—

अक्षैर्मा दीव्यः कृषिमित् कृषस्व वित्ते रमस्व बहु मन्यमानः।

तत्र गावः कितव तत्र जाया तन्मे विचष्टे सवितायमर्यः।।१०।३४।१३।।

अर्थात्— हे जुवाडे, जुवा नखेल, खेती नै गर, धनलाई ठुलो मानेर त्यसमा रमाऊ, यसैबाट गाई र पत्नी पनि प्राप्त हुन्छन्, यस्तो कुरा मलाई श्रेष्ठ सविता देवले भन्नुभयो। यस ऋचामा कृषिद्वारा नै धनसम्पत्ति पनि जुट्ने र घरगृहस्थी पनि चल्ने कुरा स्पष्ट रूपमा व्यक्त भएको छ। प्राचीन काल होस् वा आधुनिक काल जुनसुकै कालमा पनि कृषि नै मानवीय जीवनको मूल आधार हो। नेपाली समाजमा उत्तम खेती मध्यम बेपार चुत्थो नोकरी भन्ने भनाइ प्रचलित छ। यसबाट मनुष्यजीवनका निम्ति सबैभन्दा महत्त्वपूर्ण कार्य कृषि हो भन्ने विषयमा हाम्रा पुर्खाहरूले उहिल्यैदेखि हामीलाई सचेत गराउँदै आएको कुरा स्पष्ट हुन्छ।

वेदमा अन्नं ह प्राणः अर्थात् अन्न नै प्राण हो भनेर अन्नको प्रशंसा गरिएको छ (ऐतरेयिब्राह्मण, ३३।१।५)। अन्न सबैको जीवनाधार भएकाले अन्न उब्जाउने कामलाई वेदमा मात्र हैन सर्वत्र महत्त्व दिइएकै देखिन्छ। ऋग्वेदमा खन्ने, जोत्ने, रोप्ने, काट्ने इत्यादि कृषिकर्मलाई महत्त्व दिएर यस्तो भनिएको छ—

युनक्त सीरा वि युगा तनुध्वं कृते योनौ वपतेह बीजम्।

गिरा च श्रुष्टिः सभरा असन् नो नेदीय इत् सृण्यः पक्वमेयात्।।१०।१०१।३।।

हे कृषक हो, हलोलाई जुवामा जोड, जुवालाई अगि बढाओ (गोरुका काँधमा जुवा राखेर खेत जोत)। तयार पारिएका खेतमा बिउ छर । हाम्रा वाणीले यहाँ धेरै अन्न होओस्। चाँडै नै पाकेको अन्न हँसियाले काटेर हामीलाई प्राप्त होस्। यो ऋचा शुक्लयजुर्वेदमा पनि छ (१२।६८)।

वेद प्राच्य जगत्‌को शाश्वत ज्ञानको भण्डार हो। यो ऋषि–महर्षिहरूको साधना र तपस्याले प्राप्त भएको दिव्य ज्ञान हो। वेदाध्ययनको परम्परा अविच्छिन्न रूपमा श्रुतिपरम्पराबाट अनादि कालदेखि अहिलेसम्म पनि आइरहेको छ। वेदमा धार्मिक, सांस्कृतिक, सामाजिक, आध्यात्मिक र विविध भौतिक विषय समेत प्रतिपादित छन्। साथै यहाँ विद्याका वा ज्ञानका विभिन्न विधाका मूल र बीज समेत पाइन्छन्।

शुक्लयजुर्वेदको एउटा मन्त्रमा गृहस्थले गाई–गोरु र भेडा–बाख्रा पाल्ने कुराको स्पष्ट उल्लेख पाइन्छ—

उपहूता इह गाव उपहूता अजावयः।

अथो अन्नस्य कीलाल उपहूतो गृहेषु नः।।३।४३।।

अर्थात्— हाम्रा घरहरूमा गाईगोरु र भेडाबाख्राहरू सुखपूर्वक रहनका लागि बोलाइएका छन्। हाम्रा घरहरूमा अन्नरस पर्याप्त होस् भनेर आह्वान गरिएको छ। यस मन्त्रबाट पनि कृषि र पशुपालनमा समाजका अधिकांश मानिस कुनै–न–कुनै रूपमा संलग्न हुने कुरा व्यक्त भएको छ। वेदका अन्य मन्त्रमा पनि कृषिसम्बद्ध कुराहरू उल्लिखित देखिन्छन्।

भाषिक विषय

वेदमा भाषासम्बद्ध विभिन्न कुराहरूको विवेचना गरिएको पाइन्छ। ऋग्वेदमा विभिन्न प्राणीहरूका बोलीको व्यक्तताको स्तरका दृष्टिले त्यसको चार भागमा विभाजन गरिएको छ। त्यहाँ वाणीको चार प्रकारका पदहरूमा (नाम, आख्यात, उपसर्ग र निपातमा) विभाग छ, जो ब्राह्मणहरू मनलाई वशमा राख्न सक्छन् र विषयहरूमा लम्पट नभई विद्याको उपासनामा लाग्दछन्, ती चार प्रकारका पदहरू जान्दछन्, पशु पक्षी सरीसृपरूप तीन गुफामा रहेका वाणीका तीन भाग प्रष्ट अर्थ बुझाएर चेष्टा गराउँदैनन् (अर्थात् अव्यक्त छन्), वाणीको चतुर्थ भाग मनुष्यहरू बोल्दछन् (जो स्पष्ट रूपमा अर्थ बुझाउने र व्यक्त वर्णात्मक छ) भनिएको छ)–

चत्वारि वाक् परिमिता पदानि तानि विदुर् ब्राह्मणा ये मनीषिणः।

गुहा त्रीणि निहिता नेङ्गयन्ति तुरीयं वाचो मनुष्या वदन्ति।।१।१६४।४५।।

यस ऋचामा स्वर–व्यञ्जनको झलक कत्ति नपाइने सरीसृपका (घस्रने प्राणीका) शब्दलाई सबैभन्दा तल्लो तहमा, स्वर–व्यञ्जनको अस्पष्ट झलकसम्म पाइने पक्षीका शब्दलाई अल्लि माथिल्लो तहमा, पशुका स्वरमय शब्दलाई अझै माथिल्लो तहमा र स्वर तथा व्यञ्जन स्पष्ट रूपमा व्यक्त हुने मनुष्यका शब्दलाई अझै माथिल्लो तहमा राखी स्तरविभाजन गरिएको कुरा यस ऋचाको शतपथ–ब्राह्मणले (४।१।३।१६–१७) दिएको अवतरणिकाबाट स्पष्ट हुन्छ (द्रष्टव्य– नेपाली वर्णोच्चारणशिक्षा, शिवराज आचार्य, साझा प्रकाशन, २०३१, पृ.२)।

ऋग्वेदको आर्को ऋचामा विद्वान्हरूले वर्ण, पद र वाक्यअनुसार वाणीको विवेचन गरेर त्यसलाई सुव्यवस्थित गराएको कुरा उल्लिखित छ—

सक्तुमिव तितउना पुनन्तो यत्र धीरा मनसा वाचमक्रत।

अत्रा सखायः सख्यानि जानते भद्घैषां लक्ष्मीर्निहिताधि वाचि।।१०।७१।२।।

अन्य वेदमा र ब्राह्मणग्रन्थहरूमा समेत वाणी र उच्चारणसम्बन्धी विविध विषयहरू प्रतिपादित छन्।

साहित्यिक विषय

ऋग्वेदमा उषःसूक्त (१।११३।१–२०) जस्ता केही सूक्तहरूमा प्राकृतिक छटाको साहित्यिक ढङ्गले वर्णन गरिएको देखिन्छ। ऋचाहरूमा उपमा अलङ्कारको धेरै नै प्रयोग भएको पाइन्छ। वैदिक ऋचामा प्रयुक्त भएका जगती छन्दबाट शालिनी र वंशस्थ वृत्त, शक्वरी छन्दबाट वसन्ततिलका वृत्त इत्यादि लौकिक वृत्तहरूको विकास भएको बुझिन्छ। रूपक वा नाटकको मूल पनि ऋग्वेदकै यमयमी–सूक्त (१०।१०।१–१४), पुरूरवोर्वशी–सूक्त (१०।९५।१–१८) इत्यादि संवाद–सूक्तहरू हुन् भन्ने समालोचकहरूको भनाइ छ। कथा र आख्यायिकाको मूल पनि वेदमै पाइन्छ।

गणनासम्बद्ध विषय

शुक्लयजुर्वेदमा इष्टकाको उल्लेख गर्ने प्रसङ्गमा एकदेखि परार्धसम्मका वैदिक सङ्ख्यास्थान देखाइएका छन्, जुन प्रचलित पौराणिक सङ्ख्यास्थानभन्दा केही भिन्न छन्। जस्तै— एक, दश, शत (सय), सहस्र (हजार), अयुत (दस हजार), नियुत (लक्ष, लाख), प्रयुत (दस लाख), अर्बुद (कोटि, करोड), न्यर्बुद, समुद्र, मध्य, अन्त र परार्ध। उक्त मन्त्र यस प्रकारको छ—

इमा मे अग्न इष्टका धेनवः सन्त्वेका च दश च दश च शतं च शतं च सहस्रं च सहस्रं चायुतं चायुतं च नियुतं च नियुतं च प्रयुतं चार्बुदं च न्यर्बुदं च समुद्रश्च मध्यं चान्तश्च परार्धश्चैता मे अग्न इष्टका धेनवः सन्त्वमुत्रामुष्मिँल्लोके।।१७।२।।

यसै वैदिक उल्लेखका आधारमा नै पौराणिक सङ्ख्यास्थान पनि विकसित भएको हो भन्न सकिन्छ।

खगोल र कालगणनासँग सम्बद्ध विषय

ऋग्वेदमा (१।१६४।११) विशेष गरी १२ अरा भएको नित्य चलिरहने चक्रको उल्लेख छ। त्यहाँ सूर्य र चन्द्रमाको गतिको मनोहर वर्णन पनि पाइन्छ।

यजुर्वेदमा ज्योतिषसम्बन्धी धेरै विषय आएका छन्। अहोरात्रात्मक तिथिको (शुक्लयजुर्वेद २२।२८, तैत्तिरीय–कृष्णयजुर्वेद ७।१।१५) र पक्षको (शतपथब्राह्मण १२।८।३।१४) विशेष उल्लेख पाइन्छ।

ऋतुअनुसारका बार महिना मधु, माधव, शुक्र, शुचि, नभ, नभस्य, इष, ऊर्ज, सह, सहस्य, तप र तपस्यका नाम (शु.य.वे. २२।३१) र छओटा ऋतुहरूको वैज्ञानिक विभाजन (मधुश् च माधवश् च वासन्तिकावृतू… –शु.य.वे. १३।२५, १४।६,१५,१६,२७, १५।५७) पाइन्छ।

वेदमा पाँच वर्षको समुदायलाई एक युग मानिएको छ र प्रत्येक वर्षका छुट्टाछुट्टै नाम छन् (संवत्सरोसि परिवत्सरोसीदावत्सरोसीद्वत्सरोसि वत्सरोसि– शु.य.वे. २७।४५, तैत्तिरीय–ब्राह्मण ३।१०।४।१) । ज्योतिषसम्बद्ध यस्तै अन्य विषय पनि वेदमा आएका छन्।

सारांश

वेद प्राच्य जगत्‌को शाश्वत ज्ञानको भण्डार हो। यो ऋषि–महर्षिहरूको साधना र तपस्याले प्राप्त भएको दिव्य ज्ञान हो। वेदाध्ययनको परम्परा अविच्छिन्न रूपमा श्रुतिपरम्पराबाट अनादि कालदेखि अहिलेसम्म पनि आइरहेको छ। वेदमा धार्मिक, सांस्कृतिक, सामाजिक, आध्यात्मिक र विविध भौतिक विषय समेत प्रतिपादित छन्। साथै यहाँ विद्याका वा ज्ञानका विभिन्न विधाका मूल र बीज समेत पाइन्छन्। त्यसैले वेदलाई विभिन्न प्रकारका ज्ञानको मूल स्रोत भन्न सकिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?