
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गोकर्णेश्वर नगर अस्पतालको शिलान्यास गरेका छन्। गोकर्णेश्वर नगरपालिकाले निर्माण गर्न थालेको नगर अस्पताल १५ शय्याको हुनेछ।
अस्पताल शिलान्यास गर्दै उनले शिलान्यास भएको अस्पताल समयमै सम्पन्न हुनुपर्ने बताए। उनले संविधानले हरेक जनताको स्वास्थ्योपचारको ग्यारेन्टी गरेकाले पैसा नभएका कारण कुनै पनि नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाए।
चिकित्सा शिक्षा ऐन चाँडै परिमार्जन हुने र धेरैले स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने उनको भनाइ थियो। मन्त्री बस्नेतले राम्रा काम गर्ने स्थानीय सरकारलाई सरकारले पूर्ण सहयोग गर्ने आश्वासन दिए।
कार्यक्रममा सांसद सन्तोष चालिसेले अस्पताल शिलान्यास भएकामा खुसी व्यक्त गर्दै समयमै निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिए। बागमती प्रदेशसभा सदस्यद्वय सांसद बिमल ठकुरी र छिरिङदोर्जे लामाले निजी क्षेत्रमा स्वास्थ्य सेवा महँगो भएकाले सरकारी सेवा प्रभावकारी बनाउनुपर्नेमा केन्द्र सरकारको ध्यानाकर्षण गराए।
नगरप्रमुख दीपक रिसालले नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उनले चाँडै अस्पताल निर्माण सम्पन्न गरेर नगरवासीलाई गुणस्तरीय सेवा दिने बताए। अस्पताल रु २२ करोड ५० लाखको लागतमा निर्माण गरिने जनाइएको छ।