
कहींबाट दानमा प्राप्त भएको एउटा पुरानो कुर्सीलाई गुरुदेव र म आश्रममा मर्मत गरिरहेका थियौं। यसै क्रममा गुरुदेवले भनेको कुरा मलाई याद छ– पुराना कुराहरुलाई सुधार गरेर प्रयोगमा ल्याउन मलाई खूबै मन पर्छ । तँलाई नि ?’ मैले सहमति जनाएँ र गुरुदेवलाई सहयोग गरिरहें । कुनै पनि पुरानो वस्तु पाउनु भयो भने उहाँ त्यसलाई मरम्मत र सुधार गर्न थालिहाल्नुहुन्थ्यो । खालि वस्तु मात्रै होइन, कसैले कुनै विषयमा लेख लेखेको छ, आफ्नो मन्तव्य राखेको छ भने त्यो पनि उहाँ सुधार गरिदिनुहुन्थ्यो । गुरुदेवको यो स्वभाव केवल अरुलाई सुधार गर्नका लागि मात्र थिएन । उहाँ स्वयंको पनि कुनै कुरा परिमार्जन गर्न आवश्यक देख्नुभयो अथवा कसैले ‘गुरुदेव यसो गर्दा अझै राम्रो होला कि!’ भनेर सल्लाह दियो भने सुधार गर्नका लागि लागिसक्दो प्रयास गरिरहनुहुन्थ्यो। आफैंले बनाएका चित्रहरु पनि चित्र सङ्ग्रहालय घुम्न जाँदा कतै केही कमी कमजोरी देख्नुभयो भयो खोलेर संशोधन गर्न थाल्नुहुन्थ्यो ।
उहाँ मानिसहरुसँग घण्टौंसम्म चर्चा गर्नुहुन्थ्यो । उहाँका कुरामा मुख्य धर्म, दर्शन, शिक्षा, संस्कृति र समाजको उन्नति प्रगतिका विषयमा हुन्थे । व्यक्ति चर्चा उहाँ उति मन पराउनुहुन्नथ्यो । उहाँको अनुभूति जति थियो, ज्ञान र जानकारी पनि त्यति नै । उहाँका कुरा र तर्क सुनेर भेट गर्न आउने अधिकतम मानिसहरु मन्त्रमुग्ध हुन्थे । ‘जीवनभरि मानिसहरुका साथमा कुराकानी गरेको हुँदा आफूले भनेको कुरामा म कुनै छिद्र रहन दिन्नँ । मेरो कुरा मानिसले ध्यानले सुन्दा रहेछन् ।’ कतै उहाँले आफ्नो बयान गर्नुभएको हो कि जस्तो पनि लाग्न सक्छ । तर फेरि उहाँ आफ्नो अर्को पक्षलाई पनि तुरुन्तै स्वीकार गर्नुहुन्थ्यो, ‘राम्रो कुरा गरेको छ भने जसले भने पनि म ध्यानले सुन्छु । उसले बोलेको बेलामा बाधा दिन्न ।’ कतिपय काम गर्नपर्दा गुरुदेव स–साना बालबालिकाहरुको पनि राय सल्लाह लिनुहुन्थ्यो । काम गरिसकेपछि पनि उनीहरुको आत्मसम्मान उचा होस् भनेर बोलाएर देखाउनुहुन्थ्यो । ‘कस्तो लाग्यो ?’ भनेर प्रतिक्रिया जान्न खोज्नुहुन्थ्यो ।
गुरुदेवको सपना विशाल र महान हुन्थ्यो । सबैजना अटाऊन् र फाइदा पाऊन् भन्ने उहाँको चाहना हुन्थ्यो । तर ती सपना खालि काल्पनिक मात्र हुँदैन थिए । सपना विशाल भए तापनि उहाँ आफ्नो वरिपरि जो छन् र जे छ त्यसैबाट काम भने आरम्भ गरिहाल्नुहुन्थ्यो । पर्खिएर बसेको मन पराउनुहुन्न थियो । सपना देख्नुहुन्थ्यो तर वास्तविक जीवनमा यथार्थवादी र वर्तमानमा आफ्नो वरिपरि जे छ त्यसैको अधिकतम प्रयोग गर्नुहुन्थ्यो ।

चन्द्रेश स्वामीले आफैँ बनाएको भायोलीन।
उहाँले आफैंले यहाँका काठहरुको प्रयोग गरेर भायलीन (तारको वाद्ययन्त्र) बनाउनुभएको थियो । त्यो भायलीनलाई सुधार गरेर सकेसम्म स्तरीय बनाउन उहाँ बारबार त्यसलाई खोलिरहनुहुन्थ्यो । धेरैजसो उहाँको खोल्ने समय भनेको राति हुन्थ्यो ।
नेपाली समाजको चलन के हुन्छ भने बेलुका छिटै खाने र सुत्न जाने । गुरुदेव सायद गर्मी ठाउँमा हुर्किनुभएको कारणले होला, उहाँलाई राति काम गर्न आनन्द लाग्थ्यो । दिउँसो धरेजसो उहाँले काम गरिरहेको समयमा कोही न कोही आइ नै हाल्थ्यो । जो आए पनि उहाँको निवासको द्वार सधैं खुल्ला हुन्थ्यो । कुनै औपचारिकता पूरा गर्न नै पर्दैनथ्यो । आएका मानिसलाई उहाँ व्यक्तिको वौद्धिक अवस्थाअनुसारका विभिन्न विषयहरु चर्चा गरेर सन्तुष्ट पार्ने प्रयास गर्नुहुन्थ्यो । रातको चकमन्नतामा उहाँ भने काम गरिरहनुहुन्थ्यो । धेरैजसो रातको ११:३० अथवा ११:३० बजेतिर गुरुदेव आफूले बनाएको त्यो भायलिनलाई खोल्नुहुन्थ्यो । आवश्यक पर्ने विभिन्न खालका काट्ने औजारहरु, रेती, आरा, फेविकल, खाग्सी, किलाकाँटी, काठको धूलो उहाँले एउटा छुट्टै भाँडामा नजिकै राख्नुभएको थियो । खोलेर भायलीनका भागहरुलाई अलग अलग गरेपछि आफ्नो इच्छा अनुसार उहाँ सुधार गर्न थाल्नुहुन्थ्यो । सुधार गरिसकेपछि अब फेरि ती भागहरुलाई जोडेर एकछिन सुक्न दिनुहुन्थ्यो । सुकेर तारहरुको सुर मिलाएपछि बजाएर जाँच गर्नुहुन्थ्यो आवाज ठीक भयो कि भएन भनेर । कहिले कहिले त ठीक लागेन भने फेरि खोल्नुहुन्थ्यो । रात निकै परिसकेपछि उहाँ बल्ल भन्नुहुन्थ्यो, ‘जा अब आनन्द लि ।’ यो समय रातको एकदेखि दुईको बीचमा हुन्थ्यो । मेरो उठ्ने समय भनेको बिहानको चारदेखि पाँच बजेका बीचमा । मनमनै कुरा खेल्थे, ‘यतिखेर सुत्न गएर के आनन्द लिनु होला?’ त्यो भायलीनलाई गुरुदेवले स्वास्थ्य ठीक रहँदासम्म परिस्कार परिमार्जन गरि नै रहनुभयो ।
गुरुदेव चित्र सङ्ग्रहालयमा एउटा तैलचित्र रहेको छ जसमा गुरुदेव भक्तहरुका बीचमा कतै पर हेरेर उठ्न आँटेको जस्तो देखिन्छ । चित्र बनाउँदा त्यो क्यानभासको गुणस्तर राम्रो थिएन, अथवा त्यसको राम्रोसँग जतन भएन – कपडा लुलो भएर चित्रबाट रङका पाप्राहरु उक्किन थाले । यो चित्रलाई पछाडिबाट केहीले टेवा नदिने हो भने उहाँको कीर्ति नै नास भएर जाने भयो । म गुरुदेवकै साथमा थिएँ । तत्काल केही पनि नहुँदा प्रयोग गरिरहेको ओड्नेलाई नै सानो सानो टुक्रा पारेर हामीले त्यो चित्रको पछाडि फेविकलले टाँस्दै गयौं ।
गुरुदेवले एउटा पुरानो भक्स वेगन गाडी लिनुभएको थियो । यो गाडीको निर्माण दोस्रो विश्वयुद्ध ताका भएको हुनुपर्छ । सेतो रङको यो गाडीको छानो कपडाको थियो र चाहिएको समयमा झार्न पनि मिल्थ्यो । पुरानो जमानाको भएको हुँदा यो गाडी बराबर बिग्रिइरहन्थ्यो । तेल पनि धेरै खान्थ्यो । हेर्दा अनौठो लाग्ने यो गाडीमा गुरुदेव घुमफिर गर्न मन पराउनुहुन्थ्यो । तर यस गाडीले दिएका दुःख भने अनौठा छन् । एकपटक राति ९:०० बजेतिरको समयमा हामी चक्रपथ नारायणगोपाल चौकमा थियौं । त्यसबेला सो चौक सानो थियो र चौकदेखि उत्तर दक्षिणका दुबै बाटाहरु अलिक भिराला थिए । त्यो चौकमा गाडीको इञ्जिन स्टार्ट नै हुँदैन । गाडीमा गुरुदेव, म र चालक भाइ वासुदेव भण्डारी छन् । रातको समय, झमझम पानी परिरहेको छ, ठेल्नेमा म मात्रै परें त्यो पनि ओरालोबाट उकालोतिर । ठेल्दाखेरि अर्को समस्या के भयो भने म अगाडिपट्टि झुकेर ठेल्दा खुट्टाले भूईं लत्रिएको धोतीलाई कुल्चिएर तानिदिने । निकैबेर पछि त्यहींको होटेलमा काम गर्ने एकजना भाइले पनि ठेल्न सहयोग गरेकाले गाडीको इञ्जिन चल्न थाल्यो ।
मलाई मनमा दिक्क लागेको थियो । तत्काल गुरुदेवलाई केही जवाफ नदिई म तल भूइँमा उभिईरहें । गुरुदेव बरण्डाबाट मतिर हेरिरहनुभएको छ । मेरो अनुहारमा झल्किएको अवज्ञा, अनिच्छा, दिक्दारी, विरक्ति गुरुदेवले राम्रैसँग बुझिरहेको हुनुपर्छ । अब मलाई गुरुदेवले प्रश्न गर्नुभयो, –किन अनुहार अँध्यारो पारेर उभिइरहेको छस् ?’ मैले पनि आफ्नो मनको वह पोखें – मैले चाहिं खाली यस्तै झण्झटिला र बिग्रिएका कामहरु गरिरहन पर्ने ।’
एकदिन यो गाडीले झन अप्ठेरो समस्या उत्पन्न गर्यो। यसबेला नेपालमा राजाको प्रत्यक्ष शासन लागू भएको थियो । त्यस दिन हाम्रो गाडी काठमाडौंबाट बूढानीलकण्ठतर्फ आउँदै थियो । गाडीमा चालक राजकुमार ठकुरी र ममात्र थियौं । निर्मल निवासभन्दा अलिक अगाडि आएपछि गाडीको स्टेयरिङ फेल भयो । बीच बाटोमा गाडी उभ्भिएको छ। चक्का न यता घुम्छ न उता । फेरि चक्का बाङ्गो भएर गाडी उभ्भिएको छ । त्यहीबेला पूर्वराजा ज्ञानेन्द्र धापासीतिरको कुनै कार्यक्रम सकेर दरवारमा फर्किने बेला भएको हुँदा लागि बाटो खाली गरिँदै थियो । सार्वजनिक यातायात त पहिलेदेखि नै बन्द थिए । निजी यातायात मात्र फाटफुट चल्दै थिए । हाम्रो गाडी बिग्रँदासम्म बाटोमा यातायात पूरै बन्द भइसकेको थियो । सडकबीचमा एउटा मात्र अनौठो गाडी त्यो पनि दरबार नजिकै उभ्भिएको छ । सडक प्रहरीहरुको भागदौड सुरु भयो । उताबाट सवारी निस्कन आँट्यो भन्ने खबर आइसकेको हुनुपर्छ । अब प्रहरीहरु आएर हाम्रो गाडी त्यो बाङ्गो चक्कालाई बल लगाएर ठेलेर सोझो पारे । अनि गाडी अगाडि बढ्यो । अलिक अगाडिको घुमाउरो बाटोमा हामीले गाडीलाई सोझै अगाडि लग्यौं र गाडी एउटा कुनामा पुग्यो अनि बाटो खुल्ला भयो । सवारी पछि हामीले त्यहींका एकजना लामा मिस्त्री बोलाएर ठीक गरी गाडी लिएर आयौं ।
पुरानो जमानाको गाडी भएको हुँदा यसको प्रमाणपत्र नवीकरण गर्न पनि अनेक समस्याहरु आइरहन्थे । यी र यस्ता सरकारी कार्यालयमा गर्नुपर्ने कामहरुका लागि म धाइरहनु पर्थ्यो। कहिले कहिले दिक्क पनि लाग्थ्यो । म गुरुदेवलाई आफ्नो दिक्दारी सुनाउँथे ।
ठीक यही समयमा एकजना निर्माणको काम गर्ने मिस्त्रीले गुरुदेवले भनेको जस्तो काम गर्न मानेनन् । कता कता उनी र गुरुदेवका बीचमा कुरा नमिलेको जस्तो लागि रहेको थियो । ती मिस्त्रीलाई के लाग्यो कुन्नि उनी काम अधूरो राखेर घरतिर लागे । गुरुदेवलाई चिन्ता हुन थाल्यो । गुरुदेवले मलाई ‘ती मिस्त्रीलाई बोलाएर लिएर आइज’ भन्नुभयो । मैले गुरुदेव र उनका बीचमा भएको असमझदारी प्रत्यक्ष रुपमा देखेको छु । एकदुई पटक त मैले गुरुदेवको त्यो आज्ञालाई टार्ने प्रयास गरें । ती मिस्त्री आइहाल्छन् जस्तो पनि मलाई लागेको थिएन । गुरुदेवले पुनः पुनः मलाई उनलाई बोलाएर ल्याउनका लागि भनिरहनुभयो ।
अन्तिमपटक गुरुदेवले मलाई ती मानिसलाई बोलाउन भन्नुहुँदा म उहाँको निवास अगाडिको आँगनमा उभ्भिइरहेको थिएँ । गुरुदेव एक तल्लामाथिको आफ्नो निवासको बाहिर बरण्डामा हुनुहुन्थ्यो । भर्खरै त्यो गाडीले दिएको दुःख र यी गुरुदेवसँग चित्त दुखाएर गएका मानिसलाई फेरि आउन भनेर अनुरोध गर्न पर्ने । मलाई मनमा दिक्क लागेको थियो । तत्काल गुरुदेवलाई केही जवाफ नदिई म तल भूइँमा उभिईरहें । गुरुदेव बरण्डाबाट मतिर हेरिरहनुभएको छ । मेरो अनुहारमा झल्किएको अवज्ञा, अनिच्छा, दिक्दारी, विरक्ति गुरुदेवले राम्रैसँग बुझिरहेको हुनुपर्छ । अब मलाई गुरुदेवले प्रश्न गर्नुभयो, –किन अनुहार अँध्यारो पारेर उभिइरहेको छस् ?’ मैले पनि आफ्नो मनको वह पोखें – मैले चाहिं खाली यस्तै झण्झटिला र बिग्रिएका कामहरु गरिरहन पर्ने ।’
गुरुदेवले फेरि जफ दिनुभयो – यस्तो झोक्राएर बसेर केही पनि हुँदैन । बिग्रिएर कुराहरु सिधा पार्दै जा एकदिन तँ आफैं सिधा हुन्छस् ।’
२०८० चैत्र ५, बूढानीलकण्ठ