खत नबस्नुपर्ने ती यादहरु…

खत नबस्नुपर्ने ती यादहरु…
+
-

किनेकै दिन दुईवटा पुस्तक एउटै फ्रेममा फोटो खिचेर म्यासेन्जरमा पठाएँ। र, उनलाई प्रश्न गरें – कुन चाहिं पढ्ने हो मिस?

जुन पुस्तक आफैले दिन चाहेको थिएँ। उनले त्यही रोजिन्, ‘उसले दिएको उमेर।’

उनलाई पठाउन धेरै दिन झोलामा बोकेर हिँडिरहेँ। मेसो मिलेन।

‘उसले दिएको उमेर’ साथी भएर म जहाँजहाँ पुगें त्यहाँत्यहाँ डुलिरह्यो। कहिले अफिस त कहिले क्याफेमा। न्यूरोडका गल्लीहरूमा सँगै भौतारियो। एकै दिन किनेको ‘सनैया’ कोठाको तखतामा पुराना केही थान किताबसँगै सजियो।

हप्तादिन बढीसम्म बेरिएको प्लास्टिकको जालोबाट उम्कन नपाई झोला र तखतामा उकुसमुकुस बसिरहे दुवै पुस्तक।

एकदिन साँझ म आफै उकुसमुकुसमा थिएँ। के गरौं, कसो गरौं बेचैनीले सताइरहेको थियो। मोबाइलको स्क्रिन थिँच्दाथिँच्दै औंलाले पनि अल्छी मानेछ सायद।

डेरामा फर्केपछि पुस्तकका पाना पल्टाउने जाँगर चल्यो। झोलामा गुम्सिएको ‘उसले दिएको उमेर’ निकालें। सन्की मुडले तयार हुँदा उपहार दिन किनेको किताब त आफैंले पढ्ने भएँ।

मोबाइल, इन्टरनेट, फेसबुक, युट्युब, टिकटकले प्रायः मान्छेहरूलाई स्मृतिबिनाको अस्थिरपञ्जरजस्तै बनाइदिएको छ। मेसिनको जमानाका मान्छेहरु विस्मृत भएर बाँचिरहेका छन्। म कहाँ अछुतो?

सहर पसेसँगै ती धुलोमैलोसँगै रमाउने बालापनका यादहरु धुलोमैलो र माकुराको जालोमा ढपक्क बेरिएका थिए।

‘उसले दिएको उमेर’को पाना पल्टाउन थालेसँगै कतै अल्झिएका बालापनको यादले ढक्ढकायो। दिमागमा कैद भएका तिलस्मी यादहरु आँखा वरिपरि फनफनी घुम्न थाल्यो। धुमिल हुन लागेका यादका दृश्यहरु ‘फ्ल्यासब्याक’ भइरहे…!

पाखुरीका रुखमा जर्बजस्त चढेको, खेतबारीका अग्ला कान्लाबाट फाल हालेका, गुलेली लिएर चरा ताक्दै हिँडेका पलहरु थन्किएका रहेछन्। खत बसेर पुरिएका यादका डोबहरु कोट्याइदियो।

०००

‘झलक्क हेर्दा डिल्लीलाई जमुनाको हाँगाले हात समाउँदै माथि तानेजस्तै देखियो। म भने रुखको पेट समाउँदै दोस्रो हाँगा उक्लिएँ। तेस्रो हाँगा उक्लिन माथिको हाँगै समाएर झुन्डिएर माथि जानुपर्ने थियो, अर्को बाटो थिएन। डिल्ली बाँदरझै हाँगा समाएर एकछिन झुन्डियो र स्वात्त हाँगामा सर्प झैं बटारियो। लौ ऊ त जमुनै जमुनाको बीचमा पुग्यो। उसले जमुना टिप्दै खान थाल्यो। डिल्लीले जहाँनिर समाएर माथि चढेको थियो त्यहीँनिरबाट मलाई उक्लिन गाह्रो लाग्यो। म हाँगाको अलि छेउतिर आएँ। च्याप्प समाएँ। बाँदरझैं तुर्लुङ झुन्डिएँ। मलाई त्यतिसम्म होस छ। एक्कासी खोला तर्दा बालुवा भासिएजस्तो भयो। एउटा ठूलो झड्का मुटुमा पर्‍यो। हेर्नेलाई पो मान्छे स्वात्त भुइँमा खसेको लाग्छ। जब म खसें, मलाई त अर्कै लाग्यो।’ (पृष्ठ ८)

म पनि उसैगरी अम्चुर, बेलौती, भोगटे, सुन्तला, नासपति, आरुबखडा, काफल, वनकफालका रुखहरुमा ठसठस कन्दै चढ्थेँ। घरदेखि मामाघरसम्मका। बुद्धिजस्तै रुखबाट भुइँमा बझारिएको त्यो पलमा फर्कदा ऐया! भन्ने गरी दुखाएन। बरु दिल हाँस्ने गरेर रोमाञ्चित तुल्यायो।

अचेलका केटाकेटीसँग त मोबाइलको प्लेस्टोरबाट डाउनलोड हुने गेम र खेलौनाको चाङबाहेक सम्झनलायक अरु के छ र? गाउँमा जन्मिएका मेरो पुस्तासँग बाल्यकाल सम्झिएर नोस्टाल्जिक हुनलाई धेरधेरै थोक पो रहेछ!

एसएलसी सकाएपछि रेडियो बज्ने मोबाइल पाएँ। कलेज जानेबेलामा टर्च बाल्नेदेखि घाँस काट्नेबेलामा रेडियो सुन्न काम दिन्थ्यो। ११ पढ्ने बेला २ महिना इन्डिया गएर काम गरेँ। त्यहाँ कमाएको पैसाले फोटो खिच्न मिल्ने मोबाइल किनेर घर फर्किएँ।

रमाउँदै खेल्नलाई ढुंगा र माटो काफी। धूलो र हिलो सुगन्धित। स–साना घोंचा गाडेर घर बनाउथ्यौँ। त्यही घरमा बेहुला बेहुली बनेर भित्रिएको खेल खेल्थ्यौँ। घरगृहस्थी बसालेको खेलमा मग्न हामीले ढुंगामाटोको मिष्ठान भोजन पकाएर खाना छुटाएन।

अलिक उमेर बढेपछि खेल्नलाई रुख थिए, हाँगा थिए। पैसाको नोटसरह गन्नलाई प्रशस्त पाखुरीका पातहरु। अहिले पैसाको पछाडि दगुर्दा त्यो खुशी हराएको छ।

गुन्दरगानाको डल्लोलाई त्यसैको लहरोले डोहोर्‍याएर खेल्थ्यौँ । गुच्चा, खोप्पि, हात काट्दै बनाएको भुरुङ रिघाउन हिउँदका सिजन थिए।

रुखका हाँगामा मच्चिँदै झ्याङ्कुसी र लहरामा झुन्डिएर धर्ती छोड्नुको स्वाद बेग्लैथ्यो। काठकै मोटर बनाएर गुडाउँथ्यौँ। रिमोर्टले कन्ट्रोल गर्दै कार चलाउन अहिलेका केटाकेटीलाई ओरालोमा ब्रेक नलागेर गुल्टिएको काठको मोटरबाट दुई बलड्याङ खाएपछिको सुखानुभूति गर्ने न फुर्सद छ न जमाना।

जामुना टिपेर खान चढेको बुद्धिको जस्तै रुखमा चढेर खेल्दा भुइँमा बझारिएको याद मसँग पनि छ। त्यतिबेला छुटेको यादलाई झन्डै २० वर्षमा साँवा ब्याजसहित फिर्ता पाएको महसुस गर्दै छु।

०००

घरनेरको वनपालामा चिलौनाका पोथरो चढेर खेल्दै थियौँ। दाइले फेदबाट बेस्मारी हल्लाउँदा म भुइँमा बझारिन पुगेछु।

मलाई के भयो एकछिन केही मेसो पाइनँ। जब विस्तारै दुख्न थाल्यो दाइले कोकाले चरा रुखबाट झर्‍यो भन्दै हाँस्दा साथीभाइले खुब जिस्काएझैं लाग्यो।

मकै पाक्ने असार साउनको याममा कोकाले चराको बथानले राज गर्थे। भोकाएपछि मकैबारी पस्थे, टन्न अघाएपछि सर्लक्क परेका चिलौनेका पोथरोको टुप्पोमा भेला भइ खैलाबैला मच्चाइरहन्थे। कहिलेकसो हामी गुलेलीले ताँक्दा चाल पाएर उडेका कोकालेको पछिपछि दुर्गुथ्यौँ।

०००

स्कुल पढ्नेबेला मैले किताबमा लेखिएकाभन्दा बेसी पत्रिका लेखिएका साना अक्षरलाई केलाएर पढेँ हुँला।

बुद्धिलाई कमिक्सको जस्तै मलाई पत्रिकाको अक्षर पढ्ने लत लागेको रहेछ। पत्रिकाका लेखिएका ठूला हेडलाइनदेखि साना पढ्नै मुस्किल लाग्ने अक्षर पढ्नलाई रहर लाग्ने थियो, जति स्कुलका किताब पढ्नलाई अल्छी लाग्थ्यो त्यो भन्दा दुई गुणा बेसी।

मामा घरका कोठाका भित्तामा चारैतिर टाँसिएका पत्रिका पढेर मैले एकै दिनमा सक्थेँ। बीच्चबीच्चमा टाँसिएको साप्ताहिको ब्लोअप आकर्षक लाग्थ्यो।

कहिलेकसो कोठामा मामा नभएको बखत भेट्ने ठाउँमा सत्यतथ्य कथा देखे ढोकाको गजबार लगाएर पढ्नुको मजा त ओहो! सत्यतथ्य कथा पढ्दा भएको महशुस त अहिले पो बल्ल बुझ्दै छु।

०००

मलाई खेलकुदमा उतिसारो चाख छैन अचेल पनि। पहिला अलि अलि चाख लाग्थ्यो केटाहरु खेलेको हेर्दा। मोजाको बल लुगा सुकाउन आँगनमा टाँगेको डोरीलाई नेट बनाएर भलिबल खेलिन्थ्यो। खेल्दाखेल्दै केटाहरुको मुक्कामुक्की कतिबेला सुरु हुन्थ्यो पत्तै नहुने। नाकको नाथ्रीबाट रगत आउनजेल हानाहान चल्थ्यो।

मोजाको फूटबल खेलेर रोनाल्डो नै बनुँला जस्तो शान झार्ने एक दुई जना साथी पनि थिए। बलभन्दा बढी विपरीत टिमका साथीभाइको खुट्टामा हान्ने ध्याउन्नमा खेल्थे उनीहरु। गोलपोस्टमा चुमाउने होइन, उनीहरुको उद्देश्य त दिउँसो भएको भनाभनको रिस साँध्न खेल्ने साथीहरुको झल्यास्स याद आयो।

धुलाम्मे सडकमा बेतोडले कुदेका ट्याक्टरमा चढेको त मैले भुसुक्कै बिर्सिएको रहेछु। स्कुले बेलामा साथीभाइको ग्याङफाइट। केटाकेटी बेलामै एकै नजरमा उनी मन परेको भन्न नसकेको। कपीका पन्नामा दाइहरुको प्रेमपत्र लेखिदिएको सब झझल्को फिर्ता पाएजस्तो भएको छ।

२०६४/६५ सालतिर होला, गाउँमा बिजुली बल्यो। झ्याल ढोका थुनेर राख्दा पनि कहाँबाट हो कुन्नी मिलिक्क हराउने बिजुली आएपछि त संसारै अर्को भयो।

मट्टीतेलले पानस बालेर होमवर्क सक्दानसक्दै भुसुक्क निदाउँदा कपाल जल्दासमेत होस नपाउने मजस्ता धेरैलाई त मुक्तिको दिन सुरु भा’थ्यो क्यारे।

गाउँमा बिजुलीमात्रै आएन छिमेकी अर्जुन दाइकोमा २८ इन्चको रंगिन टिभी आयो। रंगीन टिभीसँगै हुल बाँधेर फिल्म हेर्न गाउँले आए। म असाध्यै रेडियोप्रेमी थिएँ। हाम्रो घरमा सानो थोत्रो रेडियो थियो। बिजुली आइसकेपछि पनि ब्याट्रीबाट चल्ने। बिजुलीबाट बज्ने रेडियो किन्ने रकमको अभावले।

म धेरै रेडियो सुन्न चाहन्थेँ। बिहानको कायाकैरन र बेलुकीको नेपाल दर्पण नबिराइ सुन्नुहुन्थ्यो आमाले। मलाई भने रेडियोमा आउने समाचारसँगै गीतसंगीत, फिल्मका गसिप र नाटकका कार्यक्रम औधी मनपर्ने। मैले सुन्न चाहेरै पनि ब्याट्री सकिने लोभमा आमाले धेरै बेर सुन्न दिनुहुन्नथ्यो।

मैले एसएलसी दिने वर्ष बल्ल हो बिजुलीबाट बजाउन मिल्ने अलि चर्को बज्ने रेडियो किनेको। असारको रोपाइँमा आली लगाउने बाउसेको काम गरेर कमाएको पैसाले रेडियो किन्न आमालाई सघाएको थिएँ।

एसएलसी सकाएपछि रेडियो बज्ने मोबाइल पाएँ। कलेज जानेबेलामा टर्च बाल्नेदेखि घाँस काट्नेबेलामा रेडियो सुन्न काम दिन्थ्यो। ११ पढ्ने बेला २ महिना इन्डिया गएर काम गरेँ। त्यहाँ कमाएको पैसाले फोटो खिच्न मिल्ने मोबाइल किनेर घर फर्किएँ।

१२ पढेर नसक्दै गाउँ छाडेर सहर छिरे। सहर छिरेपछि गाउँको सम्झना, बालापनका याद उतै छुटाएको रहेछु। स्क्रिन टच गरेर चल्ने हुँदै स्मार्टफोन, आइफोनको जमानामा बाँचेँ। फेसबुक, युट्युब, टिकटकमा रमाएको नाटक मञ्चन गर्दा ती यादहरुमाथि जर्बजस्त हस्तक्षेप भएका रहेछन्।

लाग्दैछ, मैले पाएको उमेरको स्वर्णिम पल रहेछ बालापन। न चिन्ता न सुर्ता थियो। डिजिटल युगमा रमाइरहेको ढोंगले त्यो समयले दिएको उपहार त भुसुक्कै बिर्सिएर बाँचेको पो रहेछु!

‘उसले दिएको उमेर’ले हरकोहीलाई बालापनमा फर्काउँछ। हुन त पुस्तकको कभरमै लेखिएको छ, ‘बुद्धिसागरका स्मृति पढ्दा पाठक आफ्ना पूर्वस्मृतिसम्म पुग्नेछन्। जहाँ उनीहरु नपुगेको धेरै भइसकेको हुन सक्छ।’

तर, कहीँकतै भने उनको स्मृतिले बिझाउँछ। एकाध ठाउँमा लेखकले अनावश्यक प्रसंग जोडेका छन्। ‘जिप थियो–शीघ्र स्खलन हुने पुरुषजस्तो। सानो ढिस्को आयो कि फ्वाँफ्वाँ।’ (पृष्ठ २१२)

‘जासुसी उपन्यास रमाइलै हुन्थ्यो। झन् बीचबीचमा आउने यौन दृश्यले त किताब पढेको दिन म छट्पटिँदै बजार पुगिरहन्थे। ज्वरो आएजस्तो हुन्थ्यो। कम्मरमुन्तिर पिलो टन्किएजस्तो हुन्थ्यो।’ (पृष्ठ ४६)

कहीँकतै अलिक धेरै लम्बिरहेजस्तो, पाठकलाई अल्झाउन खोजिरहेजस्तो लाग्छ। पढ्दापढ्दै सहजै बग्न नदिने। सायद उनी आफ्नै स्मृतिमा घोत्लिरहेकाले पनि होला।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?