
काठमाडौँ- काठमाडौँ उपत्यकामा बिहीबारको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
विभागका अनुसार बिहीबारको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ।
विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा स्थानीय वायुको प्रभावले बिहीबार अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ। यद्यपि तापक्रम उच्च नै रहने छ। मनसुन भित्रन अझै केही दिन लाग्नेछ।
शनिबारदेखि भने काठमाडौँमा आंशिक बदली हुने मौसमविद्ले जानकारी दिएका छन्।
बिहीबार दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
विभागका अनुसार बिहीबार राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ।