
विषय प्रवेश
आयुर्वेदमा मात्र हैन वैदिक धर्मशास्त्रमा समेत विभिन्न स्थलमा स्वास्थ्य–संरक्षणका विषय आएका छन्। वैदिक धर्मशास्त्रमा सुसंस्कृत र स्वस्थ सन्तति जन्मियोस् भनेर गर्भधारण गर्नुभन्दा पहिल्यैदेखि विशेष सावधानी अपनाउनुपर्ने कुरा पनि उल्लेख छन्। यस लेखमा धर्मशास्त्र र आयुर्वेदमा उल्लिखित त्यस्ता विषयको चर्चा गर्न खोजिएको छ।
विवाह र रजस्वलाव्रत
पति–पत्नीको अव्यभिचारी परस्पर अनुरागबाट सन्ततिमा पनि सबै प्रकारले सुप्रभाव पर्ने हुनाले त्यस्तो अनुरागलाई वैदिक शास्त्रमा साह्रै महत्त्व दिइएको छ। त्यसैले कन्या अरू पुरुषसित अनुरक्त हुने स्थिति नआउँदै ब्रह्मचर्याश्रमका विधि सामान्यतया पूर्ण गरेको गृहस्थाश्रममा प्रवेश गर्न चाहने योग्य वरलाई कन्या दिएर विधिवत् विवाह गरिदिने र उनीहरूको अव्यभिचारी प्रेम–प्रीति बसाइदिने वैदिक परम्परा रहिआएको देखिन्छ (द्रष्टव्य— वैदिक धर्म मूल रूपमा, शिवराज आचार्य कौण्डिन्न्यायन, तृतीय संस्करण, २०८०, पृ। ७७४)।
धर्मविवाह गरेकी स्त्रीले आफ्ना कुलको प्रतिष्ठा राख्ने सुसंस्कृत सन्तति जन्माउन रजस्वला भएका अवस्थामा आफ्ना पतिबाहेक अरू पुरुषको भरसक दर्शन पनि नगरी पतिमा अनन्य भक्ति गरेर रजस्वलाव्रत पालन गरी गर्भधारण गर्नु उत्तम र आवश्यक कार्य मानिएको छ। रजस्वला हुँदाका यस्ता विविध नियम र व्रत पालन गर्ने कुरा वेद, स्मृति, पुराण इत्यादिमा मात्र हैन आयुर्वेदमा समेत विधान गरिएको छ।
आयुर्वेदका विश्वप्रसिद्ध ग्रन्थ चरकसंहिता, सुश्रुतसंहिता, अष्टाङ्गहृदय इत्यादि ग्रन्थमा प्रतिपादन गरिएको स्वास्थ्यसम्बद्ध कुनै पनि विषय वा नियम राम्ररी प्रयोग गर्ने र अनुभव गर्नेका प्रयोग र अनुभवबाट आजसम्म अन्यथा सावित भएको देखिँदैन। आयुर्वेदका सिद्धान्त पनि धर्मशास्त्रझैँ ऋषिमुनिहरूको शाश्वत ज्ञानकै परम्पराबाट र हजारौँ वर्षका व्यावहारिक प्रयोगबाट खारिएर आएका हुनाले परिष्कृत र कालजयी भएका देखिन्छन्। आमाको र भविष्यमा जन्मने सन्ततिको शारीरिक तथा मानसिक स्वास्थ्यको समेत विचार गरेर नै रजस्वलाव्रत पालन गर्ने यो विषय आयुर्वेदमा समेत व्याख्या गरिएको हो भन्ने बुझिन्छ। वाग्भटद्वारा रचिएको आयुर्वेदको विश्वप्रसिद्ध ग्रन्थ अष्टाङ्गहृदयमा (शारीरस्थानको पहिलो प्रकरण गर्भावक्रान्तिको पहिलो अध्यायमा) यस्तो भनिएको छ—
चतुर्थेऽह्नि ततः स्नाता शुक्लमाल्याम्बरा शुचिः।
इच्छन्ती भर्तृसदृशं पुत्त्रं पश्येत् पुरः पतिम्।।२६।।
अर्थात्— रजस्वला भएको चौथो दिन स्नान गरेर सेतो फूलको माला र सेतो वस्त्र धारण गरेर शुद्ध भएकी स्त्रीले पतिजस्तै पुत्रको (सन्तानको) इच्छा राख्दै सर्वप्रथम पतिको दर्शन गरोस्। (सधवा स्त्रीले सेतो वस्त्र पहिरने कुरा पनि धर्मशास्त्रसम्मत नै हो।) आयुर्वेदको विश्वप्रसिद्ध प्राचीन ग्रन्थ सुश्रुतसंहितामा (शारीरस्थान, २।२६०) पनि रजस्वलाव्रतको पालनका विषयमा यस्तै कुरा भनिएको छ। जस्तै—
पूर्वं पश्येदृतुस्नाता यादृशं नरमङ्गना।
तादृशं जनयेत् पुत्रं भर्तारं दर्शयेत् ततः।।
अर्थात्— रजस्वला भएपछि ऋतुस्नान गरेर चोखिएकी स्त्रीले पहिला जस्तो पुरुषलाई देख्छे त्यस्तै छोरो पाउँछे। अतः सर्वप्रथम पतिलाई नै दर्शन गरोस्।
आयुर्वेदका ग्रन्थमा भनिएका कुरा सामान्यतया धर्मानुकूल हुनुका साथै व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यसित सम्बद्धसमेत हुने भएकाले रजस्वलाका नियम पनि स्त्रीको आफ्नै स्वास्थ्य र शुद्धिका लागि तथा भावी सन्ततिको सद्गुण र सुसंस्कारका निम्तिसमेत हो भन्ने बुझिन्छ। यस विषयमा वैदिक धर्मशास्त्रको पनि सम्मति छ। त्यसैले स्त्री रजस्वला भएपछि नै प्रजननकर्मको विशेष रूपमा प्रारम्भ हुने देखिन्छ।
रजस्वलाव्रतका विषयमा ऋषिपञ्चमीव्रत र रजस्वलाव्रत भन्ने शीर्षकका लेखमा (२०८०।५।३१) पनि केही कुरा प्रकाश पारिएको छ।
इच्छानुसार सन्तति जन्माउने विधि
इच्छानुसार पुत्रप्राप्तिका लागि वा पुत्रीप्राप्तिका लागि गर्भाधानभन्दा पहिलादेखि नै पति र पत्नीले अनुसरण गर्नुपर्ने आहार–विहारको निर्देशन पनि आयुर्वेदका ग्रन्थमा दिइएको छ। यो विषय धर्मशास्त्रमा पनि सङ्क्षेपमा प्रतिपादन गरिएको छ। पुत्रप्राप्तिका निम्ति गरिने पुत्रेष्टि, पुत्रमन्थकर्म, हरिवंशपुराणको श्रवण इत्यादिको विधान शास्त्रमा पाइन्छ। त्यसैगरी पुत्रीप्राप्तिका निम्ति गर्नुपर्ने आहारको निर्देश पनि पुत्रमन्थकर्ममै (शतपथ–ब्राह्मण १४।९।४।१६) बताइएको छ। साथै स्त्रैषूयको (स्त्रीसन्तति–प्रसवको) उल्लेख पनि शास्त्रमा (अथर्ववेद ६।११।३) पाइन्छ। पुंसवन पनि पुत्रप्राप्तिका लागि गरिने संस्कार हो भन्ने बुझिन्छ।
गर्भिणीको र गर्भको संरक्षणका नियम
गर्भिणी र गर्भको संरक्षणका विषयमा आयुर्वेदमा विस्तृत चर्चा गरिएको छ। चरकसंहितामा (शारीरस्थान ४।१८, ८।२१), सुश्रुतसंहितामा (शारीरस्थान ३।१६–१९, १०।३) तथा अष्टाङ्गहृदयमा ९शारीरस्थान १।४४–४७, ५२–५४० गर्भोपघातक (गर्भलाई घात गर्ने) क्रियाकलापबाट गर्भिणीको रक्षा गर्नुपर्ने र त्यसो नगरेमा जन्मने शिशु विगुण (शारीरिक र मानसिक रूपमा कमजोर वा अपाङ्ग) जन्मन सक्ने कुरा बताइएको छ। गर्भिणीले सफा–सुग्घर गर्ने, चोखोनितो गर्ने, मनमा कलुषित (अपवित्र) भावना आउन नदिने र रिस ईर्ष्या कलह अश्लील कठोर वचन इत्यादि छाड्ने गर्नुपर्छ। पथ्य (स्वस्थकर) र पोषिलो खानेकुरा मात्र खानुपर्छ। रुखो, ज्यादा पिरो–अमिलो र अपथ्य खानेकुरा खानु हुँदैन। कडा परिश्रम गर्नु हुँदैन। विषम (उबडखाबड भएका) मार्गमा कुनै पनि प्रकारका यानमा चढ्नुहुँदैन। यस्ता क्रियाकलापबाट गर्भपात पनि हुन सक्छ। सासू–ससुरा र पतिले गर्भिणीका समुचित इच्छाको यथासम्भव पूर्ति गरिदिनुपर्छ। भरसक इच्छामा आघात पार्नुहुँदैन। यस विषयमा याज्ञवल्क्यस्मृतिमा (३।७९) यस्तो भनिएको छ—
दौर्हृदस्याऽप्रदानेन गर्भो दोषमवाप्नुयात्।
वैरूप्यं मरणं वाऽपि तस्मात् कार्यं प्रियं स्त्रियाः।।
अर्थात्— दोहद (गर्भिणीले इच्छा गरेको कुरा) नपुर्याइदिँदा गर्भमा कुरूपता वा मरणको दोष आउन सक्छ। त्यसैले गर्भिणी स्त्रीलाई जे प्रिय लाग्छ, त्यो गरिदिनुपर्छ। अष्टाङ्गहृदयमा (शारीरस्थान १।४४–४७) गर्भवती स्त्रीका निम्ति निषिद्ध कार्यको उल्लेख यसरी गरिएको छ—
अतिव्यवायमायासं भारं प्रावरणं गुरु।
अकालजागरस्वप्नं कठिनोत्कटकासनम्।।
शोकक्रोधभयोद्वेग–वेगश्रद्धाविधारणम्।
उपवासाध्वतीक्ष्णोष्ण–गुरुविष्टम्भिभोजनम्।।
रक्तं निवसनं श्वभ्रकूपेक्षां मद्यमामिषम्।
उत्तानशयनं यच्च स्त्रियो नेच्छन्ति तत् त्यजेत्।।
तथा रक्तस्रुतिं शुद्धिं वस्तिमामासतोऽष्टमात्।
एभिर्गर्भः स्रवेदामः कुक्षौ शुष्येन् म्रियेत वा।।
अर्थात्— गर्भिणीले अति मैथुन नगरोस्, धेरै परिश्रम नगरोस्, गरुङ्गो भारी नउठाओस्, गरुङ्गो ओढ्ने (सिरक) नओढोस्, अकालमा (कुवेलामा) नजागोस्, अकालमा (कुवेलामा) नसुतोस्, असजिलरी बस्नै गाह्रो हुने गरेर नबसोस्, शोक, क्रोध, भय, उद्वेग, विभिन्न प्रकारका शारीरिक वेगलाई रोक्ने काम, अभिलाषाको निरोध, उपवास, लामो बाटो हिँड्ने काम, पिरो तातो चाँडै नपच्ने र विष्टम्भकारक (पेट सफा हुन नदिने) भोजन, रातो वस्त्र, इनार–कुवा र गहिरो खाल्डोमा एकोहोरो हेर्ने काम, मद्य–मांस खाने काम, उत्तानो परेर सुत्ने काम, वृद्धा स्त्रीहरूले बुढीरूढिअनुसार निषेध गरेका आहार–विहार यी कुरालाई त्यागोस्। साथै रक्तस्रावण (रगत बग्न दिने वा रगत निकाल्ने काम), वमन, विरेचन इत्यादि शोधनकार्य तथा आठ महिनासम्म वस्तिकर्म (पेटको मल सफा गर्न गुदद्वारबाट पिचकारी लगाउने काम) पनि नगरोस्। यी कारणहरूले गर्भस्राव अथवा गर्भपात हुन सक्छ। अथवा गर्भाशयमै गर्भ रोकिन पनि सक्छ अथवा गर्भ मर्न पनि सक्छ। यस विषयको विस्तृत विवेचना चरकसंहितामा र सुश्रुतसंहितामा पनि गरिएको छ। चार महिनासम्मको गर्भ तुहिनुलाई गर्भस्राव र ५–६ महिनाको गर्भ तुहिनुलाई गर्भपात भनेर धर्मशास्त्रमा उल्लेख गरिएको छ। त्यसपछिको गर्भको बहिर्गमनचाहिँ प्रसव नै भनिन्छ। सात महिनादेखिको गर्भ पूर्णाङ्ग हुने हुनाले त्यसपछि प्रसव हुँदा त्यो बाँच्ने सम्भावना पनि हुन्छ।
धर्मशास्त्र–निबन्धग्रन्थ भगवन्तभास्करको संस्कारमयूख भन्ने भागको गर्भाधान संस्कारका प्रकरणमा (पृष्ठ १८–१९) पनि पद्मपुराण र मत्स्यपुराणका उल्लेखका आधारमा गर्भिणी स्त्रीले पालन गर्नुपर्ने नियमको निर्देशन गरिएको छ। त्यहाँ दिइएका निर्देशन यस्ता छन्— गर्भिणी स्त्री फोहोर ठाउँमा नबसोस्, ओखल–मुसलमा नबसोस्, जलमा डुबुल्की नलगाओस्, कोही नभएको शून्य घरमा एक्लै नबसोस्, नङले अँगारले र भस्मले भुइँमा नलेखोस्, जति वेला पनि सुतिरहने बानी नलियोस्, व्यायामको परित्याग गरोस्, भुस अँगार भस्म हाड र खप्परमा नबसोस्, कसैसित पनि झगडा नगरोस्, शरीरका अङ्गमा बल पर्ने वा अङ्ग मर्कने काम नगरोस्, उत्तरपट्टि वा होचोपट्टि शिर पारेर नसुतोस्, नाङ्गै वा उद्विग्न भएर वा भिजेका खुट्टा लिएर नसुतोस्, सन्ध्याकालमा नखाओस्, ठूला रुखका फेदमा नजाओस् नबसोस्, सर्वौषधि (विभिन्न जरीबुटी) हालेको मनतातो पानीले स्नान गरोस्, आफ्नो रक्षा गर्ने भूषित भएर बस्ने र वास्तुदेवतालाई पुज्ने होओस्, दानशील होओस्, हात्ती घोडा गाडा पर्वत र अग्ला भवनमा चढ्ने काम र छिटोछिटो हिँड्ने वा दौडने काम नगरोस्, शोक र भयबाट मुक्त होओस्, कुक्कुटासनमा (असजिलो शैलीले बस्ने आसनविशेषमा) नबसोस्, शरीरबाट रगत बगाउने वा निकाल्ने काम नगरोस्, दिउसो सुत्ने र रातमा जाग्ने काम नगरोस्, अत्यन्त क्षारयुक्त, बढी अमिलो, धेरै मात्रामा, अत्यन्त तातो, बढी चिसो र गरिष्ठ (पच्न गाह्रो हुने) खाद्यवस्तु नखाओस्। यस्ता नियमहरूको पालन गर्ने गर्भिणीको सन्तति स्वस्थ र दीर्घायु हुन्छ। उल्लिखित नियमहरूको पालना नगर्ने स्त्रीको गर्भपतन हुन्छ भन्ने कुरा पनि उक्त ग्रन्थमा बताइएको छ। जस्तै—
नावस्करेषूपविशेन् मुसलोलूखलादिषु।
जलं च नाऽवगाहेत शून्यागारं च वर्जयेत्।।
विलिखेन् न नखैर्भूमिं नाऽङ्गारेण न भस्मना।
न शयालुः सदा तिष्ठेद् व्यायामं च विवर्जयेत्।।
न तुषाङ्गारभस्मास्थिकपालेषु च संविशेत्।
वर्जयेत् कलहं लोकैर् गात्रभङ्गं तथैव च।।
न शयीतोत्तरशिरा न चैवाधःशिराः क्वचित्।
न वस्त्रहीना नोद्विग्ना न चाऽऽर्द्रचरणा सती।।
सन्ध्यायां हि न भोक्तव्यं गर्भिण्या वरवर्णिनि।
न स्थातव्यं न गन्तव्यं वृक्षमूलेषु सर्वदा।।
न शयालुः सदा तिष्ठेत् खट्वाछायां विवर्जयेत्।
सर्वौषधीभिः कोष्णेन वारिणा स्नानमाचरेत्।।
कृतरक्षा सुभूषा च वास्तुपूजनतत्परा।
दानशीला तृतीयायां पार्वत्या भक्तिमाचरेत्।।
गर्भिणी कुञ्जराश्वादिशैलहर्म्यादिरोहणम्।
व्यायामं शीघ्रगमनं शकटारोहणं त्यजेत्।।
शोकं रक्तविमोक्षं च साध्वसं कुक्कुटासनम्।
व्यवसायं दिवा स्वापं रात्रौ जागरणं त्यजेत्।।
अतिक्षारं तु नाऽश्नीयादत्यम्लमतिभूरि च।
अत्युष्णमतिशीतं च गुर्वाहारं परित्यजेत्।।
यस्तु तस्या भवेत् पुत्रः स्थिरायुर्वृद्धिसंयुतः।
अन्यथा गर्भपतनं सा चाऽऽप्नोति न संशयः।।
धर्मसिन्धुमा (द्रष्टव्य— नेपाली टीकासहित, हेमराज शर्मा पौडेल, पृ। ३६८) र अन्य धर्मशास्त्र–निबन्धग्रन्थमा पनि गर्भिणीका धर्मको चर्चा गरिएको पाइन्छ।
पुंसवन संस्कार
स्त्रीमा गर्भ रहेको निश्चित भएपछि प्रत्येक गर्भमा पेटमा शिशु नचल्दै दोस्रो वा तेस्रो महिनामा पुंसवन संस्कार गर्ने विधान गृह्यसूत्रहरूमा पाइन्छ। यसको उद्देश्य सुसंस्कृत पुरुष सन्तान प्राप्त गर्नु नै हो भन्ने बुझिन्छ। अथर्ववेदमा “पुमांसं पुत्त्रं जनय” इत्यादि मन्त्र पाइन्छ (३।२३।३)। छोरै जन्मियोस् भन्ने इच्छा नभए पुंसवन नगरे पनि हुनेजस्तो देखिनाले यो काम्य कर्मजस्तो बुझिन्छ तापनि सूत्रकारहरूले भने नित्य संस्कारजस्तै गरी बताएका छन्। यहाँ “पुमांसं पुत्त्रं जनय” भनेको पुरुषार्थ गर्ने वीर सन्तति भनेको हो भन्ने बुझिनाले वीर भावनाले युक्त पुत्र वा पुत्री जे चाहे पनि यो संस्कार गर्नुपर्ने व्यवस्था गृह्यसूत्रहरूमा दिइएको हो भन्ने बुझिन्छ। तथापि नेपाली समाजमा यो संस्कार चल्तीमा त देखिँदैन (द्रष्टव्य— वैदिक धर्म मूल रूपमा, शिवराज आचार्य कौण्डिन्न्यायन, तृतीय संस्करण, २०८०, पृ।७७४)।
यस संस्कारमा पुंलिङ्गी नाम भएका नक्षत्रसित चन्द्रमाको योग भएका दिनमा गर्भिणीलाई उपवास गराएर नुहाइदिई नयाँ वस्त्र फेराई राति बरको जटा र कोपिला पानीमा पिँधेर त्यो झोल मन्त्रवाचन गर्दै गर्भिणीका नाकको दाहिने प्वालमा पतिले हाल्ने विधि छ। कुशको आँकुरो र सोमलताको टुक्रो पनि पिँधिने बरको जटामा मिसाएर पिँध्ने पक्ष पनि छ। छोरो वीर्यवान् होस् भन्ने चाहनेले पानी भरिएको माटाको सानो आरी गर्भिणीका काखमा राखेर मन्त्रपूर्वक गर्भको अभिमन्त्रण गर्नुपर्छ भन्ने उल्लेख पनि पारस्करगृह्यसूत्रमा छ (१।१४।१—५)।
सीमन्तोन्नयन संस्कार
सीमन्तोन्नयन संस्कार गर्भवतीको सौभाग्यका लागि र गर्भमा रहेको सन्तानको दीर्घायुका लागि गर्भाधानको छैटौँ वा आठौँ महिनामा गरिने वैदिक संस्कार हो। यो संस्कार पारस्करगृह्यसूत्रका व्याख्याकार कर्कोपाध्यायका मतमा प्रत्येक गर्भमा गर्नुपर्ने देखिन्छ। कसैले यो संस्कार प्रथम गर्भमा मात्र गरे पुग्ने संस्कार हो भनेको पाइन्छ। यस विषयमा ब्रह्मोक्त–याज्ञवल्क्यसंहितामा पनि यस्तै कुरा गरिएको पाइन्छ (८।३०७)। भविष्यपुराणमा (१।१८२।६–७) पनि गर्भाधान, पुंसवन र सीमन्तोन्नयन संस्कारहरू पात्रको (गर्भवतीको) संस्कारका लागि गरिने भएकाले प्रथम गर्भमा गरे पुग्ने संस्कार मानिएका बुझिन्छन्—
पात्रसंस्कारका दृष्टा गर्भाधानादयस् त्रयः।
जातकर्मादयः सर्वे संस्काराः पुरुषस्य तु।।
गर्भवतीका सौभाग्यमा र सन्तानका दीर्घ आयुमा उदासीनता भए यो संस्कार नगरे पनि हुनेजस्तो देखिन्छ तापनि सूत्रकार इत्यादिले भने नित्य–संस्कारझैँ गरेर यसको उल्लेख गरेका छन्। नेपाली समाजमा यो संस्कार पनि चल्तीमा देखिँदैन।
यस संस्कारमा पनि पुंलिङ्गी नाम भएका नक्षत्रसित चन्द्रमाको योग भएका दिनमा गर्भिणीलाई उपवास गराएर नुहाइदिई नयाँ वस्त्र फेराई पूर्वाह्णमा बाहिर जग्गियामा अग्निस्थापन गरेर तिल र मुँगी मिसेको खिच्रो पकाई घिउले आघारहोम र आज्यभागहोम गरेर विधिपूर्वक प्रजापतिलाई होमी स्विष्टकृत् इत्यादि होम गरेर संस्रव (हवन गरेर सुरोमा बाँकी रहेको निथार) प्राशन (खाने काम) गरी ब्रह्मालाई दक्षिणा दिएर गर्भिणीलाई अग्निका पश्चिमपट्टि मृदु (कमलो) आसनमा राखेर डुम्रीका जोर सङ्ख्याका काँचा फलका झुप्पामा तीनवटा कुशमुष्टि, तीन ठाउँमा सेतो भएको दुम्सीको काँडा र भोरी धागो भएको नियालाको सर भएको कतुवा पनि बाँधी ती सबैथोकका मुठाले मन्त्रपूर्वक पतिले शिरका तालुभागमा कपालको चुल्ठो बनाएकी गर्भिणी पत्नीको कपाल तलबाट माथितिर सम्याउनुपर्छ र त्यो मुठो चुल्ठाका फेदमा बाँध्नुपर्छ। अनि वीणावादकहरूले राजाको वा अरू कुनै श्रेष्ठ वीरको गाथा वा शास्त्रले देखाएको अरू कुनै गाथा गाउनुपर्छ। अन्त्यमा ब्राह्मणलाई भोजन गराउनुपर्छ (पारस्करगृह्यसूत्र १।१५।१—५)। यो सीमन्तोन्नयनको सङ्क्षिप्त विधि हो।
हरिवंशपुराण श्रवण
पुगिसरी आएका व्यक्तिले छोरो जन्मियोस् भनी गर्भिणीलाई हरिवंशपुराण सुनाउने व्यवस्था गर्ने र छोरा नभएका छोरी मात्र भएका व्यक्तिले छोरो होस् भनी हरिवंशको नवाहयज्ञ गर्ने शास्त्रविधानको अनुकूल प्रचलन नेपालमा पनि छ। हरिवंश लगाएर जन्मिएका छोराको नाम पनि हरिवंश नै राखिदिने प्रचलन पनि नेपाली समाजमा देखिन्छ। यो हरिवंशपुराण महाभारतको खिलभाग वा परिशिष्ट मानिन्छ। वैदिक वाङ्मयमा भने पुत्रको इच्छा गर्नेले गुरुमुख गरी ऐतरेयि(य)ब्राह्मण पढेका ब्राह्मणका मुखबाट ऐतरेयिब्राह्मणको शौनःशेपोपाख्यान (हरिश्चन्द्रोपाख्यान) सुन्ने विधान देखिन्छ। अरू पनि अनेक ग्रन्थका पठन र श्रवणलाई पुंसवन भनिएको पाइन्छ।
उपसंहार
हिरण्यकशिपुकी गर्भवती पत्नी कयाधुलाई नारद मुनिले धर्मको उपदेश दिएका हुनाले (श्रीमद्भागवत ७।७।१५) त्यसको सुप्रभाव गर्भावस्थामा रहेका प्रह्लादमाथि पनि परेको र उनी दैत्यकुलमा जन्मे पनि भगवान् विष्णुका ठूला भक्त बनेको कथा पुराणमा पाइन्छ। अर्जुनका पुत्र अभिमन्युले पनि गर्भमै चक्रव्यूहसम्बन्धी ज्ञान पाएको प्रसङ्ग पनि महाभारतमा आएको छ। यसबाट गर्भवती स्त्रीले आजभोलिका बजारू कुसाहित्य नपढ्ने, कुचलचित्र नहेर्ने, खराब स्त्रीको सङ्गत नगर्ने र कुचर्चामा संलग्न नहुने तथा धार्मिक–आध्यात्मिक ग्रन्थहरू पढ्ने र धार्मिक–पौराणिक महापुरुष र सती–साध्वी स्त्रीहरूको चरित्र पढ्ने गर्नु उत्तम हुन्छ भन्ने शिक्षा लिनुपर्ने देखिन्छ।
गर्भिणीका व्यवहार र मनोभावले गर्भलाई पनि प्रभावित पार्ने कुरा केवल धर्मशास्त्र र आयुर्वेदले मात्र बताएका हैनन् अपितु आधुनिक अनुसन्धाताहरू समेत यस विषयमा सहमत भएका छन् भन्ने बुझिन्छ। तसर्थ गर्भवती स्त्रीको र गर्भको संरक्षणका निम्ति वैदिक धर्मशास्त्रले र आयुर्वेदले दिएका कल्याणकारी उपदेशहरूको पालना गर्ने आवश्यकता स्पष्ट हुन्छ। गर्भिणी स्त्रीका पतिका विशेष धर्म पनि धर्मशास्त्रमा बताइएका छन् जसको चर्चा र विवेचना यथावसर पछि गरिनेछ।