१४० भन्दा बढी जातजातिमा बोलिने भाषा र संस्कृति थुप्रै छन्। तर सीमान्तकृत समुदायका संस्कृति भने जहिल्यै ओझेलमा परे। ती खोजिएनन्। खोजिए पनि मूलधारसँग जोडिएनन्। तर त्रिविविको मानवशास्त्र विभागमा अध्यापनरत तथा लेखक सुरेश ढकाल पछिल्लो समय मानवशास्त्र अध्ययनरत विद्यार्थीले सीमान्तकृत समुदायका संस्कृतिलाई चासो दिएको बताउँछन्।
उनले लेखेको ‘इतिहासअघिको इतिहास: सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त’ पुस्तकमाथि गरिएको कुराकानीका क्रममा भने, ‘प्रायः विश्वविद्यालयमा २२—२४ वर्ष भएकाहरू पढ्न आउँछन् र एउटा संस्कृतिको बुझाइ लिएर आएका हुन्छन्। त्यो पनि सीमित विषय लिएर। जब मावनशास्त्र विभागमा अध्ययन गर्न जोडिन्छन् अनि चासो राख्छन् मानवीय पक्ष र तिनले अँगालेको भाषा संस्कृतिलाई।’

मानवशास्त्री तथा लेखक सुरेश ढकाल।
दुई वर्षसम्म मानवशास्त्र पढिसकेपछि मात्र विद्यार्थीहरूमा सकारात्मक दृष्टिकोण आउने ढकालकाे भनाइ छ।
‘मानवशास्त्र दुई वर्ष पढिसकेपछि विद्यार्थीहरुमा सकारात्मक दृष्टिकोण बन्छ। जस्तै कुनै पनि संस्कृति उँचो वा निँचो भन्न मिल्दैन। यो राम्रो त्यो नराम्रो भन्न पनि मिल्दैन। संस्कृतिलाई तुलना गर्नै मिल्दैन, दुई वर्षभित्र मानवशास्त्र अध्ययनरत विद्यार्थीमा संस्कृतिप्रति दुई खालको दृष्टिकोण बन्छ,’ उनले भने।
बचपनदेखि जुन संस्कृति देखेर हुर्कियौं अनि बाँच्यौं त्यही आत्मीय हुनु स्वाभाविकै हो। फरक र सीमान्तकृत समुदायको संस्कृतिलाई मूलधारको संस्कृतिसँग जोडिन नसकेको गुनासाहरू पनि छन्। र यसलाई जोड्न मानवशास्त्र विभागको भूमिका बढी प्रभावकारी हुनु पर्छ नै। कम्तिमा बहसमा ल्याउने र विद्यार्थीलाई निरन्तर खोज अनुसन्धानमा चासो हुने वातावरण बनाउँदै नआएको पनि होइन मानवशास्त्र विभागले। र पनि सीमान्तकृत समदुायको संस्कृतिलाई केन्द्रसँग जोड्नका लागि के गरिरहेको छ भन्ने प्रश्न नआइरहन सक्दैन।
ढकालका अनुसार विभागले सामाजिक समावेशिताको अध्ययन गरेको छ। नेपालको विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिहरूको अवसर र पहुँच कस्तो छ भन्ने विषयमा पनि अध्ययन र अनुसन्धान गरिएको छ। बहिष्करणमा को-को परे भनेर ४२ वटा जातजातिमाथि अध्ययन गरेको छ।
‘जातजातिको पनि आ-आफ्नो भाषा संस्कृति छ त्यसमा काम गर्न सकियो भने विद्यार्थीमा रुचि बढाउन सकिन्छ। र पनि एउटा विभागले मात्रै काम गर्न सक्दैन। त्यसमा मुख्य त विश्वविद्यालयले दिने अवसर सुविधामा पनि भर पर्छ। एउटा विभाग स्वायक्त भए काम गर्न सक्दैन। विश्वविद्यालयले विभिन्न विभागबाट काम गर्न सकिने वातावरण बनाउनुपर्छ,’ ढकालले भने, ‘हाम्रो मूल कुरा शिक्षण विभाग भएकाले अनुसन्धान भन्दा पनि अध्ययनमा बढी रहन्छ।’
ढकाल मानवशास्त्रका विद्यार्थीहरूको वृत्तभन्दा बाहिर पनि चर्चामा छन्। सार्वजनिक वृत्तमा मानवशास्त्रीय कोणबाट बहस र विमर्शमा निरन्तर संलग्न छन्। यसअघि उनको ‘नेपालमा भूमि सम्बन्ध र किसान आन्दोलन’ पुस्तक प्रकाशित भएको थियो। त्यसले नेपालको भूमि सम्बन्ध र किसान आन्दोलनसम्बन्धी जानकारीलाई जनस्तरमा पुर्याउने काम गरेको छ।
‘इतिहासअघिको इतिहास’ मूलतः प्राक ऐतिहासिक मान्छेको अध्ययन हो भन्ने प्रष्ट पारेका छन् ढकालले। उनका अनुसार उपलब्ध लेख्य सामग्रीहरूको विश्लेषणबाट इतिहासको जानकारी पाइने समय ऐतिहासिक समय हो भने लिपिको विकास नभइसकेको समयलाई प्राक-ऐतिहासिक समय भन्ने गरिएको छ, अर्थात् इतिहास भन्दा पहिलेको समय।
ढकाल यस किताबलाई मानवशास्त्र अध्ययनरत विद्यार्थीका लागि महत्त्वपूर्ण हुनसक्ने बताउँछन्। उनका अनुसार मानवशास्त्रका विद्यार्थीहरूले यसलाई पाठका रूपमा लिन सक्छन्।
‘अंग्रेजीमा अध्ययन गर्न बाध्य भएका विद्यार्थी र नेपालीमा पढ्न रुचि राख्ने, स्नाकोत्तर, स्नातक र शिक्षकहरूलाई समेत यो पुस्तक उपयोगी हुन सक्छ भनेर ठोकुवा गर्न सकिन्छ,’ उनले भने, ‘प्राक-ऐतिहासिक समयमा भएको विकास, फलाम, पांग्रा, आगो यस्ता विषय जान्न चाहनेका लागि उपयोगी हुन सक्छ।’
‘हामीले इतिहास पढ्ने भनेको जानकारी राख्नका लागि मात्रै होइन नि, वर्तमान बुझ्नलाई हो र भविष्य के हुन्छ भन्ने पनि हाे,’ उनले थपे, ‘विगतका लागि मात्रै इतिहास थाहा पाएर हुँदैन। त्यसको जानकारी मात्रै पर्याप्त छैन।’
ढकाल वर्तमानकाे राजनीतिक जटिलता र अन्य जटिलता बुझ्न इतिहास आवश्यक रहेकाे बताउँछन्।
‘हजार वर्ष अगाडि नेपाल थिएन। राज्य र सहर थिएन। हाम्रो इतिहास त त्यहीबाट आउँछ नि! मात्र कति हजार वर्ष अगाडि जाने भन्ने हो। जति पछाडि गइन्छ त्यति नै हामी यहाँ कसरी आइपुग्यौं भनेर बुझिन्छ,’ उनी भन्छन्, ‘कुन खालको ऐतिहासिक उपज हौं? वर्तमानको कतिपय राजनीतिक जटिलता र अन्य खालको जटिलता बुझ्न आवश्यक छ।’
मानव सभ्यताको विकास क्रमसँगै फलाम धेरै पछि पत्ता लगाइएको धातु हो। अरू महत्त्वपूर्ण धातुहरू पनि थिए तर फलाम अझै धेरै महत्त्वपूर्ण हुन पुग्यो। त्यो समय ढुंगामा निर्भर भइन्थ्यो। जब फलाम पत्ता लाग्यो तब आफूले चाहेको आकारमा ल्याउन सकिएकाे ढकाल बताउँछन्। त्यो प्रभावकारी आविष्कार भयो। जोसँग फलाम छ त्यो गण राज्य बलियो हुन पुग्यो। ती राज्यका मानिस शक्तिशाली भए। काठको भाला र ढुँगासँग लड्नलाई फलामले सजिलै जित्न सकिन्छ।
‘फलामसँगै तामा र काँसजस्ता धातु पनि थिए तर तामा चाहेको आकारमा ढाल्न सके पनि कडा हुन सक्दैन। काँस कडा हुन्छ र भाँचिन्छ। आफूले चाहेको आकारमा ल्याउन गाह्रो हुन्छ तर फलाम आफूले चाहेको आकारमा ढाल्न पनि सक्ने र कडा पनि हुने हुनाले संसारमा ठूलो हतियारको रूपमा प्रयोग गर्न सकियो,’ उनी भन्छन्, ‘फलामको आधारमा ठूलोठूलो साम्राज्य स्थापित भए। जसको उदाहारण रोमको साम्राज्य नै लिन सकिन्छ।’
फलामको काम गर्ने हिजोका मानिस ठूलो मानिन्थ्यो र ती सम्मानित हुन्थे। कलाको रूपमा लिइन्थ्यो तर जात व्यवस्थाका कारण फलामका काम गर्नेहरू दलनमा परे। होचिनु पर्याे।
ढकालका अनुसार संस्कृति भनेको निरन्तर परिवर्तन हुने कुरा हो। ‘हजार वर्षदेखि एउटै संस्कृति हुँदैन। पुरानो संस्कृति जगाउन त्यसको सीमा हुन्छ। मानिसको भौतिक आवश्यकतालाई पुरा गर्नुपर्छ। अर्को चाहिं मानसिक तथा इच्छा आकांक्षालाई पुरा गर्नुपर्छ। जब त्यसले पुरा गर्न छोड्छ अनि विस्तारै लोप भएर जान थाल्छ। मान्छेको दैनिक जीवनमा सहयोग हुन सक्छ। संस्कृतिलाई अमूर्त रूपमा बुझ्नु हुँदैन,’ उनी भन्छन्, ‘सामूहिक पहिचानसहितको संस्कृतिलाई निरन्तरता दिनु जरुरी छ। पुरानै ढंगबाट चल्दैन।’
राज्यले संस्कृतिलाई गम्भीरताका साथ लिन नसकेको गुनासो गर्छन् ढकाल। ‘संस्कृतिले राज्यलाई नै बलियो बनाउन सक्छ तर शासकले लादेको संस्कृतिले राज्यलाई बलियो बनाउँदैन,’ उनी भन्छन्, ‘केही संस्कृति यस्तो हुन्छ जो शासकले मात्रै लाद्छ। त्यसका विरुद्ध नै भएको हो जनयुद्ध, संघीयता र धर्मनिरेपक्षता।’
तर नेपालमा संस्कृतिलाई माथि उठाउन सहजीकरण गर्नुपर्ने थियो तर भएन, शासकको वैचारिकतासँग मात्रै जोडियो। शासकको हितका लागि मात्रै संस्कृति लादिएकाे ढकाल बताउँछन्।
‘संस्कति र राजनीतिको बीचमा कुरा गर्दा राजनीति गर्ने मान्छेले आफ्नो स्वार्थ कसरी पुरा हुन्छ भनेर उपयोग गर्न खोजिरहेका छन्। चुनाव अघि हेर्ने हो भने सानोसानो जात्रामा नेताहरू नाचिरहेका देखिन्छन्। सीमित राजनीतिका लागि संस्कृतिसँग जोडिन खोज्छन्,’ उनले भने, ‘मैले भन्दा अन्य अर्थ नलागोस्। हाम्रा राजनीतिक नेताहरूमा वृहत्तर सांस्कृतिक चिन्तन छ जस्तो लाग्दैन। साँघुरो घेरामा हुनुहुन्छ नेताहरू। जुन कला र संस्कृतिबाट आउँछन् त्यसैमा सीमित छन्। मेरो सचेतकतापूर्वक अवलोकनको आधारमा भन्दा पनि नयाँ पुराना सबै खालका नेतामा सांस्कृतिक चिन्तन छैन।’
ढकालका अनुसार राजनीतिले धर्म, संस्कृति र संस्कारलाई ‘ओभरल्याप’ गर्छ। संस्कृतिको विविधतालाई एकै ठाउँमा राखेर बुझ्ने गरेको बताउँछन् उनी। ‘संस्कृतिलाई बुझ्ने सोंच नेताहरूमा पनि फराकिलो हुनु आवश्यक छ,’ उनले भने। सांस्कृतिक पक्ष होस् या पुरातात्त्विक राज्यले गम्भीर काम गर्न नसकेको दावी गर्छन् उनी।
सन् १९८० को दशकतिर नेपालको पुरातात्त्विक अन्वेषणले नयाँ उचाइ प्राप्त गरेको समय भनिन्थ्यो। तर ढकाल स्वीकार्दैनन्। नेपालको संस्कृति र पुरातात्त्विक जस्ता महत्त्वपूर्ण क्षेत्रमा भोटको राजनीति हुने तर्क गर्छन् उनी।
र, पुरातात्त्विक क्षेत्रमा थुप्रो लगानी हुने भएकाले राज्य डराउने र कामको जस आफूले मात्रै लिने मानसिकताका कारण प्रभावकारी काम हुन नसकेको बताउँछन् उनी। उनले किताबमा लिखित इतिहासमा महिलाको योगदान र भूमिका लुकाइएको विषयमाथि गम्भीर विमर्श गरेका छन्। किन त्यसो गरिन्थ्यो त?
उनी भन्छन्, ‘लैंगिकता सामाजिक-सांस्कृतिक संरचना र अभिप्रायः हो। र कृषिक्रान्तिकाे सुरुवातसँगै महिलाले लाखौं वर्षदेखि उपभोग गरेको स्वतन्त्रता क्रमशः गुमाउँदै गए। लिखित इतिहासको परम्परा सुरु हुँदासम्म त पुरुषहरूले लेखन कार्यलाई कब्जा गरिसकेका थिए भन्दा हुन्छ, जुन निकट विगतसम्म पनि निरन्तर नै थियो । यसरी पुरुषसत्ता लेखनमा हावी हुँदा महिलाको अस्तित्वलाई कमजोर बनाउने कार्य भयो। मिथक, पुराणमा गरिने महिलाको स्थानबारेका विषय प्रमाणित गर्ने वैज्ञानिक आधार/पुरातात्त्विक तथ्यहरू उपलब्ध छैनन्।’
राजनीतिक रूपमा पनि महिलालाई पछाडि पारिएका थुप्रै लिखित इतिहास भेटिने बताउँछन् ढकाल। उनका अनुसार संस्कृति परिवर्तनशील छ। आजको डिजिटल युगले परम्परागतरूपमा जनताकाे जीवनशैलीसँग घनिभूत भएका केही संस्कृतिलाई प्रत्यक्ष सहयोग नपुर्याएकाे र ती स्वत: हराउँदै गएकाे छ।
कुराकानीकै क्रममा ढकालले आजका समयमा मानवशास्त्र पढ्न रुचि राख्ने विद्यार्थीहरू बढेकाेमा खुसी व्यक्त गरे। कुनै समय डाक्टर वा इन्जिनियर जस्ता विषय पढ्न चासो राख्थे। स्कोप त्यहाँ धेरै देख्थे। तर अहिले आफू र समाज बुझ्न पनि चासो राख्नेहरू छन्। ‘मानवशास्त्र अध्ययन गरेर के स्कोप होला भन्ने विद्यार्थी अब कमै छन्। समाजमा स्कोप खोजेरै पढ्ने विद्यार्थी मात्र छैनन्। आफूलाई चिन्ने, समाज चिन्ने र भोलि र हिजोको समाज चिन्न रुचि राख्नेहरू पनि छन्,’ उनले भने।