
काठमाडौँ – कैलाश मानसरोवरको यात्रामा रहेका भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले प्रतिकात्मक ट्वीट गरेका छन् । उनको यात्राको विषयलाई लिएर भारतीय राजनीतिमा ठूलै खैलाबैला भइरहेका बेला यात्रामा रहेका गान्धीले भने बुधबार बिहान प्रतिकात्मक ट्वीट गरेका हुन् ।
उनले ट्वीटमा कैलाशले जसलाई बोलाउँछ उसैले यात्रा गर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘जब कैलाशले बोलाउँछ र जसलाई बोलाउँछ उ यात्रामा निस्कन्छ । यो अवसर पाएकोमा म निकै खुशी छु र यो सुन्दर यात्रामा देखिएका कुरा बाँड्न पाउँदा उत्साहित छु ।’
A man goes to Kailash when it calls him. I am so happy to have this opportunity and to be able to share what I see on this beautiful journey with all of you.#KailashYatra
— Rahul Gandhi (@RahulGandhi) September 5, 2018
कैलाश यात्रा ह्यासट्यागमा उनले ट्वीट गरेका छन् । त्यसपछि गरिएको ट्वीटमा राहुलले कैलाश मानसरोवरको सुन्दर दुई तस्बिर पोस्ट गरेका छन् ।
त्यसमा उनले लेखेका छन्, ‘मानसरोवरको पानी निकै निस्चल र शान्त छ । यसले सबथोक दिन्छ र केही पनि गुमाउँदैन । जसले पनि यहाँको पानी पिउन सक्छ । यसमा घृणा छैन । यसैले हो हामीले यो पानीलाई पूजा गर्ने ।’
The waters of lake Mansarovar are so gentle, tranquil and calm. They give everything and lose nothing. Anyone can drink from them. There is no hatred here. This is why we worship these waters in India.#KailashYatra pic.twitter.com/x6sDEY5mjX
— Rahul Gandhi (@RahulGandhi) September 5, 2018
राहुलको धार्मिक यात्रालाई लिएर भारतीय जनता पार्टीले विभिन्नथरीका प्रश्न गर्दै आएको छ । सत्तामा रहेको भाजपाले राहुलको यात्रा धार्मिक मात्रै नभएर चीनसँगको सम्बन्धका रुपमा चित्रित गरेको थियो ।
तर अहिले उनको यात्रामा ‘भेज–ननभेज’ को विषयलाई केन्द्रमा राखिएको छ । राहुल गान्धी गएको शुक्रबार काठमाडौँ आएर बसे । भोलिपल्ट शनिबार उनी चीनको बाटो भएर मानसरोवर यात्रामा निस्किएका हुन् ।
उनले शुक्रबार राति नेवारी खाना खाएको कुरा बाहिर आएपछि त्यसमा ननभेज रहेको र धार्मिक यात्रामा निस्केका व्यक्तिले ननभेज खान नहुने भन्दै भारतीय मिडियामा यसलाई ठूलै विषय बनाइएको छ ।
तर राहुल भने आफ्नो यात्रामा मग्न देखिएका छन् र उनले आलोचकहरुलाई प्रतिकात्मक रुपमा जवाफ पनि दिएका छन् । राहुलले आफू शिवभक्त रहेको बताउँदै आएका छन् ।