गाउँको गाथा:

गाउँमा पनि हराउन थाल्यो चाडपर्वको रौनक, सामाजिक सञ्जालमै व्यस्त छ पछिल्लो पुस्ता

गाउँमा पनि हराउन थाल्यो चाडपर्वको रौनक, सामाजिक सञ्जालमै व्यस्त छ पछिल्लो पुस्ता
+
-

कुनै समय थियो, चाडबाड भन्ने बित्तिकै गाउँको याद आउँथ्यो। दसैँतिहार त यस्तो लाग्थ्यो, गाउँकै लागि बनेका हुन्। दसैँको एक महिनाअघिदेखि नै कमेरो र रातो माटो जम्मा गर्नेदेखि घर रङ्ग्याउने तरखरले गाउँमा चाडबाडको रौनक नै बेग्लै हुन्थ्यो।

परदेश गएकाहरू अत्तर मगमगाउँदै अनि टेप घन्काउँदै गाउँ फर्किन्थे। स्कूले नानीबाबुहरू पनि चोक-चौतारीमा जम्मा भएर रमाउँथे। स्कूल जानु नपर्ने खुसीसँगै नयाँ नाना र मीठो खाना पाउने आशमा बालमन निकै हर्षित हुन्थ्यो। मेलापातदेखि, माटो, पानी-पधेरो, टपरी गाँस्ने, कुटानी-पिसानी सबै छिमेकी मिलेर गर्ने हुन्थ्यो। बाँडेर खाने हुन्थ्यो, लगाउने हुन्थ्यो, एक अर्कासँग दु:ख सुख साट्ने हुन्थ्यो, अधिकांश कुरामा सामूहिकता हुन्थ्यो।

समय फेरिँदै गयो। फेरिँदै गएको समयको गतिसँगै हाम्रा मौलिक चाडबाडको रौनक पनि फेरिन थाल्यो। पुँजीवादी व्यवस्थाले लादिएको वर्तमान समाजले हाम्रा पुराना संस्कृति चालचलन मात्र नभएर हाम्रा चाडबाड र हाम्रो खुसीको शैलीमासमेत परिवर्तन ल्यायो। प्रथा-परम्परालाई त छायाँमा पारेको छ नै, यसले हाम्रो दैनिकीलाई समेत प्रभावित गर्न थाल्यो जसको प्रत्यक्ष प्रभाव अहिले गाउँ-गाउँमा पनि देख्न सकिन्छ।

आधुनिकीकरण र विश्वव्यापीकरणले गाउँको पुरानो सभ्यतालाई झनै छायाँमा पारेको छ। गुच्चा र गट्टामा रमाउने साना नानीबाबुहरू मोबाइल र ट्याबमा रमाउने भएका छन्। बा-हजुरबुवाका काँधमा काँधेकुरी खेल्ने केटाकेटीहरू अहिले कार्टुन र फ्रिफायरमा रमाउन थालेका छन्।

पुराना कलात्मक घरहरू भत्किन थालेका छन्। जग्गा-जमिन बाँझिन थालेका छन्। भएकामा पनि गर्ने जनशक्ति छैन। धारा, पधेरा, पार्टी-पौवाको हाल पनि परदेशीको सम्झनामा मुर्झाएका घरदेशीको अनुहार जस्तो छ।

यतिबेला, अधिकांश गाउँका आधाभन्दा ज्यादा युवा वैदेशिक रोजगारीमा छन्। त्यसको आधा युवा अध्ययन तथा कामको सिलसिलामा सहरमा बस्छन्। तिनै आधाको पनि आधा युवा वर्षको एकपल्ट गाउँ फिर्छन्, चाडबाडमा। सामाजिक सञ्जालमा छ्यापछ्याप्ती पाइने त्यही जमात गाउँमा पाउन कस्तुरीको सिङ पाउन जत्तिकै मुस्किल पर्छ। अझ यसो भनूँ, गाउँमा उनीहरूको शरीरमात्र हुन्छ। मन, दैनिकी, संस्कार र व्यवहार सहरमै हुन्छ। गाउँमा आफन्त र साथीभाइसँग भन्दा टिकटक, फेसबुक, इन्स्ट्रा, रिल्समा रमाउँछ पछिल्लो पुस्ता।

पछिल्लो समय सामाजिक सञ्जालमा एउटा गीत निकै चर्चामा छ। ‘के हुन्छ के हुन्छ, लेकमा बस्छु कोही आउन्नन् मन रुन्छ’ एचबिएन किस्मतले सिर्जना गरेको यो गीतका यी शब्द जस्तै भएको छ, यतिबेला गाउँको हाल पनि। बढ्दै गरेको वैदेशिक रोजगारी तथा माइग्रेसनका कारण गाउँहरू रित्तो बन्न थालेका छन्। गाउँमा महिला र बुढापाका मात्र छन्। मर्दा-पर्दा होस् या अन्य कुनै विपद्‍को बेला गुहार पाउनसमेत मुस्किल पर्ने अवस्थामा निरिह बनि बसेको छ, गाउँ यतिबेला।

पुराना कलात्मक घरहरू भत्किन थालेका छन्। जग्गा-जमिन बाँझिन थालेका छन्। भएकामा पनि गर्ने जनशक्ति छैन। धारा, पधेरा, पार्टी-पौवाको हाल पनि परदेशीको सम्झनामा मुर्झाएका घरदेशी जस्तो अनुहार जस्तो छ।

केही खुसीको कुरा पनि हो, भौतिक दूरीले टाढा भएपनि सञ्जालले सबैलाई जोडेको छ। हरेक दैनिकी साट्नै मौका पनि दिएको छ। तर, छेवैमा भएकाहरूलाई हालखबरसम्म सोध्न फुर्सद नहुने तर टाढाकाहरूलाई पलपलमा ‘स्न्याप सेयर’ गर्ने पछिल्लो पुस्ताले सामूहिकतामा रमाउने पूर्वीय संस्कारलाई व्यक्तिवादी पश्चिमा संकृतिको खाडलमा लैजाने भय पनि उत्तिकै छ। जसको गुनासो बुढ्यैली पुस्ताबाट अत्याधिक रुपमा पाउन सकिन्छ।

पछिल्लो पुस्ता र अघिल्लो पुस्ताबीच दूरी बढ्नाले परम्परागत ज्ञानको हस्तान्तरण मात्र नभएर मानव सभ्यताको संस्कृतिसमेत झनै जोखिमपूर्ण अवस्थामा जाने संम्भावना देख्न सकिन्छ। यसको लागि अघिल्लो र पछिल्लो दुवै पुस्तालाईसँगै लैजान बिचको पुस्ता(४०-५०)को अहम् भूमिका रहन्छ। यसो गर्न सके गाउँको सभ्यता बच्ने मात्र होइन। बढ्दो वैदेशिक रोजगारी र बसाईसराईलाई कम गर्न सकिन्छ। यसो गर्नाले उत्पादनमूलक कार्यमा युवाको प्रत्यक्ष सहभागिता रहनेहुन्छ। फलत: परनिर्भरता र दातृ सहयोग जस्ता मुलुकका जटिल समस्याहरू न्यूनीकरण तथा निर्मलीकरण हुनुका साथै सभ्य, सरल, सहज र आत्मनिर्भर समाज निर्माणको आधारस्तम्भ तयार हुन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?