
काठमाडौँ– साउदीमा तलव र टिकटको पैसा नपाई फर्किएका १२ जना नेपालीलाई ५ हजार रुपैयाँ दिएर म्यानपावर कम्पनीले टारेको छ । एक लाख देखि एक लाख २० हजार रुपैयाँसम्म बुझाए पनि उनीहरुसँग त्यसको प्रमाण नहुँदा क्षतिपूर्ति लिन नसकेका हुन् ।
पहिल्यै एक लाख बढी रकम लिइसकेपछि म्यानपावर कम्पनीले १० हजार रुपैयाँ मात्रै तिरेको भन्न लगाएर रेकर्ड गरेको थियो। त्यहि रेकर्डका कारण उनीहरु ५ हजार रुपैयाँ मात्रै बुझेर उजुरी फिर्ता लिन तयार भए ।
मंगलबार साउदीबाट २ महिना १० दिनको तलव नपाई फर्किएका १२ नेपालीलाई बिहिबार छलफलका लागि म्यानपावर कम्पनीले बोलायो । उनीहरुलाई म्यानपावर सञ्चालक महेश बस्नेतले भनेका थिए, ‘अहिले उजुरी नगर्नुहोस्, तपाईंहरुको चित्त बुझाएर पठाउँला ।’
बिहिबार दिनैभरी ग्लोबल राइजिङ प्लेसमेन्ट म्यानपावर कम्पनीमा छलफल भयो । तर म्यानपावरले १० हजार रुपैयाँभन्दा नलिएको दावि ग¥यो । म्यानपावर कम्पनीसँग १० हजार रुपैयाँ मात्रै लिएको भन्ने प्रमाण प्रस्ट थियो । उनीहरुकै आवजमा रेकर्ड गरिएको आवाज र रसिद पनि ।
त्यतिमात्रै होइन साउदीबाट फर्किने बेलामा उनीहरुलाई नेपाल फर्किएपछि कुनै उजुरी गर्दिनँ भनेर साउदीको कम्पनीले उहिँ सही गर्न लगाएको थियो । दुई महिना देखि तलव नपाएको र अब काम गर्दा पनि तलव नपाउने भएपछि उनीहरु त्यसैमा सहि गरेर फर्किए ।
तर यहाँ उजुरी लेखेर ठिक्क गरेका उनीहरुलाई म्यानपावरले बोलाएर साउदीमा उजुरी गर्दिनँ भनेर तयार गरिएको कागजात देखाएर ठग्यो ।
त्यहि देखायो र भन्यो, ‘तिमीहरुबाट १० हजारभन्दा लिएकै छैन, जसलाई दिएको हो उसैलाई माग्नु । ठिक छ, म ५ हजार रुपैयाँ दिन्छु, उजुरी नगर ।’ मंगलबार फर्किएका मध्य केहिले घर जान बसको टिकट काटिसकेका थिए । बिहिबार उजुरी दर्ता गरेर घर जाने धेरैको तयारी थियो ।
तर त्यसअघिनै म्यानपावरले बोलायो र दिनभरि झुलाएर ५ हजार र तलव पाउन सक्ने आश्वसन दिएर टार्यो ।
५ हजार रुपैयाँ पाएर उजुरी फिर्ता गरेका लमजुङका देवराज अधिकारीले भने, ‘के गर्नु सर, साथीहरुले पनि घर जान हतार गरे, हामीसँग १० हजारभन्दा बढी रकम तिरेको प्रमाण नै छैन । पहिल्यै गल्ति गरिएछ, अहिले पछुताउनु पर्यो ।’
म्यानपावरका सञ्चालक महेश बस्नेतले भने– ‘मैले उनीहरुको चित्त बुझाएर पठाएको छु । उनीहरुले राजिखुशी भएरै उजुरी फिर्ता लिएका हुन् । साउदीको कम्पनीले तलव दिन्छ दिँदैन उनीहरुलाई पनि थाहा हुन्छ, आएछ भने दिने हो ।’
तर वैदेशिक रोजगारीका क्रममा पीडित भएकाहरुलाई निशुल्क कानूनी सहयोग गर्ने संस्था पिपुल फोरमका सल्लाहकार अधिवक्ता सोम लुईटेल भने कामदारले विदेशमा तलव नपाएमा पनि म्यानपावर कम्पनीले नै दिनु पर्ने बताउँछन् ।
उनले भने, ‘वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५५ अनुसार विदेशमा भनेको काम र तलव फरक परेमा म्यानपावर कम्पनीले दिनु पर्ने हुन्छ । पीडितले त्यो रकम नपाएको खण्डमा अझैपनि उजुरी गर्न सक्छन् ।’
सन् २०१६ को मे २५ मा अन्तिम श्रम स्वीकृति लिएका उनीहरु २६ महिना पछि फर्किएका हुन् । आफ्नै खर्चबाट फर्किएका पीडितले २ महिना १० दिनको तलव र हवाई टिकट वापतको रकम पाएका छैनन् । प्रतिव्यक्ति तलव र टिकट गरी ८९ हजार १ सय ५२ रुपैयाँका दरले पाउन बाँकी छ ।
वैदेशिक रोजगार सुधारका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले अन्य क्षेत्रमा काम गरेपनि म्यानपावरमाथिको कारबाही भने उस्तै फितलो छ । म्यानपावर कम्पनीमाथि अनुगमन हुन सकेको छैन भने अहिले पनि १० हजारको रसिद थमाएर कामदारसँग लाखौं रुपैयाँ अशुल्ने छुट पाइरहेका छन् ।
तयार भएको थियो १२ जनाको उजुरी