
क्यामरासँग कर्म जोडिएको केही वर्ष भयो, फोटो पत्रकारका रुपमा काम गर्दैगर्दा धेरै परिवेश र पात्रका कथाहरु तस्बिरमा समेटिएका छन् ।
कहिले पात्र वा परिवेशसम्मको पहुँचको असहजता त कहिले त्यसको पहिचानमा झेल्नु पर्ने कठिनाईहरु छँदैछन् यो कर्ममा । अर्को पाटो पनि भोग्नु पर्यो- पात्र, परिवेश र घटनासम्म पुगेर पनि तस्बिरमा त्यसलाई समेट्न नसक्नुको अप्ठ्यारो ।
काठमाडौँको बुढानीलकण्ड नगरपालिका–११ कपन बालुवाखान नजिकैको राम मन्दिर आसपासमा केही वर्षदेखि केही सय रोहिंग्या शरणार्थीहरुको बसोबास छ ।
म्यानमारका भएको हिंसाबाट जोगिनका लागि सुरक्षित बसोबासको खोजी गर्ने क्रममा बंगलादेश, भारत हुँदै नेपाल आइपुगेका हुन् । सन् २०१२ मा पहिलो रोहिंग्या शरणार्थीको प्रवेश भएको नेपालमा अहिले प्राप्त तथ्यांक अनुसार उनीहरुको संख्या साढे तीन सयको हाराहारीमा छ ।
उनीहरुको अवस्था, बसोबास, स्थानीय बासिन्दाका कुरा तथा त्यससँग जोडिएका विवादहरुबारे बुझ्न केही दिनअघि हामी कपन गएका थियौँ ।
कपनमा रहेका अधिकांश रोहिंग्याहरुले नेपाली बोल्न जान्दैन र बुझ्नै न भन्ने जानकारी त थियो । तर जानेकाहरु पनि तर्किएको देखियो । त्यो भन्दा भयानक लागेको भनेको त्यहाँ रहेका रोहिंग्या महिलाहरुको अवस्था हो ।
हुन त आ–आफ्नो सामाजिक मूल्य मान्यता मान्न पाउने अधिकार सबैसँग हुन्छ र त्यसको सम्मान पनि छ । र पनि रोहिंग्या शरणार्थी शिविरमा रहेका महिलाहरुको अवस्था देख्दा आफू पनि महिला नै भएकाले केही असजिलो भने लाग्यो ।
रोहिंग्या महिलाहरुसँग बोल्न खोज्दा उनीहरु तर्किए अझ भनौँ तर्सिए । प्रयास छोडिएन, २० वर्षकी रोफुन नाहार केही बोलिन् । उनका साढे तीन वर्षका छोरा छन् । सानो टहरोमा उनीसहित ६ जनाको बसोबास छ । अवस्था देख्दा मन कुँडियो । केही बेर गफ गरेपछि अर्को शिविरमा गयौँ ।
त्यहाँ रोहिंग्या शरणार्थीका अगुवासँग कुरा गरेर महिलाहरुको पनि अवस्थाबारे थाहा पाउन खोज्न असजिलो भयो । एक त मान्छे देखेपछि बाहिर रहेका महिला पनि टहरो भित्र जाने र ढोका बन्द गर्ने। हेरे भने पनि क्यामरा देखेपछि तर्सिने अनि भागि हाल्ने ।

रोहिंग्या शरणार्थी सयतरा बेगमकी छोरीले उनले कपनमा रहेको शिविरमा चलाएको सानो पसल ।
रोहिंग्याका अगुवासँग आग्रह गरेपछि केही महिलासँग कुरा गर्न प्रयास गरेँ । तर उनीहरुले नेपाली नबुझ्ने मैले रोहिंग्या भाषा नबुझ्ने भएपछि असजिलो भयो । प्रयास गर्दै जाँदा ६ वर्षअघि नेपाल आएकी सयतरा बेगम भेटिइन्, जसले नेपाली बुझ्ने रहिछन् ।
२५ वर्षकी उनी बंगलादेशमा ८ दिन र भारतको रेल वेमा पाँच दिनको बसाईपछि विराटनगर हुँदै नेपाल आएकी रहिछन् । विवाह भएको १५ दिनमै आफ्नो गाउँ छोडेर नामै थाहा नभएको देश आइपुगेकी उनी अहिले दुई छोरीकी आमा हुन् । दुवै छोरी नेपाल आएपछि नै जन्मिएका हुन् ।
सयतरासँग कुरा गर्दै जाँदा थाहा लाग्यो पढ्न नपाएकोमा पछुतो रहेछ, किनकी नपढेकै कारण यो परदेश (नेपाल) मा आफूलाई परेको अप्ठ्यारो उनले भुलेकी छैनन् । यहि भएर उनले साथैमा ल्याएकी बहिनीलाई ६ कक्षासम्म पढाइन् ।
रोहिंग्याको ‘छोरी पढाउनु’ हुँदैन भन्ने संस्कारका बिच ६ सम्म पढेकी उनकी बहिनीले पढ्न छोडिन् । अब सयतरालाई सकेसम्म आफ्ना छोरीहरु पढाउने मन रहेछ ।
उनकी ठूली छोरी साढे चार वर्षकी भइन् र एल केजीमा पढ्छिन् । आर्थिक अवस्थाले भ्याएसम्म छोरी पढाउने बताएकी सयतरासँग केहीबेर कुरा गरेपछि आफ्नो पेशाको धर्म निभाउन फोटो खिच्न आग्रह गरेँ ।
त्यसपछि उनी हच्किइन् । क्यामरासँग उनी तर्सिइन्, र धेरै अनुरोध गर्दा पनि फोटो खिच्न मानिन् अरु रोहिंग्या महिलाले जस्तै ।
आफूहरुको संस्कारमा नै यसरी फोटो खिचाउन नहुने रहेको भन्दै उनी तर्किइन् । लोग्नेले मोबाइलमा समेत तस्बिर नलिएको सयतराले बताइन् । नमानेपछि जोड बल गर्न मिलेन अनि उनको टहराको तस्बिर खिचेर चित्त बुझाएँ ।
अरु महिलासँग पनि तस्बिरका लागि अग्रह गर्दा वा क्यामरा तेर्साउँदा भागे । मेरा लागि यो अनुभवले महिला भएकै कारण मान्नु पर्ने नियम रुपी बन्धनहरु कस्तोसम्म हुँदो रहेछ भन्ने देखायो । अनि भित्रैसम्म हल्लायो ।