भेनेजुएलाका राष्ट्रपति निकोलश मादुरोमाथि सत्ताबाट बाहिरिन दबाब बढ्दै जाँदा उनी थप अडिग देखिएका छन् । विपक्षी नेताले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेको तथा उनलाई अमेरिकासहितका देशले साथ दिएको परिवेशमा पनि मादुरो अडिग रहेका छन् ।
यहिबिचमा राष्ट्रपति मादुरोले राजनीतिक संकट गहिरिँदै गए गृह युद्धको अवस्था आउन सक्ने चेतावनी दिएका छन् । दबाब बढी रहेका बेला राष्ट्रपति मादुरोले गृह युद्धको सम्भावना नकार्न नसकिने बताएका हुन् ।
टेलिभिजन अन्तर्वार्ताको क्रममा राष्ट्रपति मादुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी समेत दिएका छन् । आफ्नो देशको अहिलेको समस्यामा हस्तक्षेप गरेमा ट्रम्पले ‘रगतले लत्तपतिएको’ अवस्थामा ह्वाइट हाउस छोड्नु पर्ने मादुरोले चेतावनी दिएका हुन् ।
यस्तै उनले राष्ट्रपतिको नयाँ निर्वाचनको मिति तोक्नका लागि युरोपियन युनियनले दिएको अल्टिमेटम पनि स्वीकार्य नरहेको बताएका छन् । इयुले राष्ट्रपतिको नयाँ निर्वाचनको मिति तोक्नका लागि आइतबारसम्मको समय दिएको थियो ।
विपक्षी नेता क्आन गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई अमेरिकाले समर्थन गरेको छ । यस्तै ब्राजिल, कोलम्बिया, पेरुसहितका दक्षिण अमेरिकी देश पनि छन् ।
यस्तै राष्ट्रपति मादुरोलाई रुस र चीनको साथ छ ।
केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलश मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।
मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।
भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।
गुएडोको आग्रहमा अमेरिकाले भेनेजुएलामा सहायता सामग्री पठाउने तयारी गरेका बेला राष्ट्रपति मादुरोको चेतावनीसहितको अन्तर्वार्ता प्रशारण भएको हो । स्पेनिस टेलिभिजन कार्यक्रम साल्भाडोसमा दिएको अन्तर्वार्ता स्थानीय समय अनुसार आइतबार प्रशारण भएको हो ।
अहिलेको अवस्थामा गृह युद्ध हुँदै हुँदैन भनेर भन्न सक्ने अवस्था नरहेको राष्ट्रपति मादुरोले बताए । उनले भनेका छन्, ‘सबैकुरा उत्तरी सत्ता (अमेरिका) र उसका पश्चिमा शक्तिको पागलपन तथा उग्रताको स्तरले निर्धारण गर्नेछ । गृह युद्धको सम्भावनालाई नकार्न सकिँदैन ।’
मादुरोले अघि भनेका छन्, ‘हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सबैसँग आग्रह गरेका छौँ…. र हामी हाम्रो देशको रक्षाका लागि तयार पनि छौँ ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि अमेरिकी प्रशारकसंस्सथा सिबिएससँग सैन्य शक्तिको प्रयोग एक विकल्प हुन सक्ने बताएका थिए । तर मादुरोले भने अमेरिकाले आफ्नो देशमा हस्तक्षेप गरेमा भियतनाम युद्धमा जस्तै हालत बेहोर्नु पर्ने चेतावनी दिएका हुन् ।
मादुरोले ट्रम्पलाई चेतावनी दिँदै भनेका छन्, ‘रोक । रोक । डोनाल्ड ट्रम्प ! तिमिले गल्ती गर्दै छौ, तिमि आफ्नो हात रगतले लत्तपताउन खोज्दै छौ र राष्ट्रपतिको जिम्मेवारी मुक्तहुँदा रगतले लत्तपतिएको हुनेछौ ।’
उनले भनेका छन्, ‘एक अर्कालाई सम्मान गरौँ, नभए तिमिले ल्याटिन अमेरिकामा भियतनाम युद्ध निम्त्याउने छौ ।’
अमेरिकाको नेतृत्वमा भियतनाम भएको युद्धमा लाखौँको ज्यान गएको थियो । त्यसमध्ये ५८ हजार भन्दा बढी अमेरिकी थिए ।

भर्खरै
लोकप्रिय






































































































































































































