
काठमाडौँ – पशुपति क्षेत्रको मर्यादालाई विवादमा ल्याउने गरी पछिल्लोपटक भएको प्रयासप्रति पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता गगन थापाले गम्भीर चासो व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत नेता थापाले पशुपति क्षेत्रको आफ्नै सांस्कृतिक परम्परा, मूल्य र मान्यता रहेको भन्दै यसको संरक्षण तथा प्रवर्द्धन गर्ने जिम्मा पाएकाहरुबाटै त्यसविपरित गतिविधि हुनु अति गम्भीर रहेको उल्लेख गरेका छन् ।
उनले संस्कृति मन्त्री योगेश भट्टराईलाई सम्बोधन गरेर लेखेका छन्, ‘मन्त्री ज्यू पशुपतिको परम्परागत मान्यता, प्रचलित नियम र मर्यादा विपरित गतिविधि गर्नेहरुबारे अबिलम्ब छानबिन गरी कारवाही गरियोस् ।’
पशुपति क्षेत्रमा गोवर्द्धनमठबाट ल्याइएका जगन्नाथको प्रतिमा प्रतिष्ठा गर्ने प्रयास भएपछि त्यसले विवादको रुप लिएको थियो । आफूलाई गोवर्द्धनमठको आधिकारिक व्यक्ति तथा गोवर्द्धनमठका पीठाधीश श्रीमज्जगद्गुरु शंकराचार्यको प्रतिनिधि बताउने डा. सिद्धार्थ साहूले जगन्नाथको प्रतिमा पशुपतिमा प्रतिष्ठा गर्नका लागि नेपालका विभिन्न अधिकारीसँग छलफल गरेका थिए ।
तर यो विषय विवादित बनेपछि विश्व हिन्दू महासंघकी महासचिव अस्मिता भण्डारीले आधिकारिकता के हो भन्ने जिज्ञाशा भारतको ओडिशा स्थित पूरीपीठसँग राखेकी थिइन् । त्यसको जवाफमा पुरीपीठका पीठाधिश गुरु शंकराचार्यले पशुपति क्षेत्रमा जगन्नाथको प्रतिमा प्रतिष्ठा गर्ने कल्पना पनि पीठले नगरेको स्पष्ट पारिसकेका छन् ।