
चितवन – प्युठानबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीनजना बेपत्ता भएका छन् । अर्का एकजना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट लु १ च ९७३१ नम्बरको गाडी बिहीबार बिहान साढे पाँच बजे सडकबाट करिब ६० मिटर तल त्रिशूलीमा खसेको हो ।
त्रिशूलीमा खस्दा पिकअपमा सवार चारमध्ये एकजना घाइते भएका छन । अरु तीनजना नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा प्युठान घर भएका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का रहेका छन् ।
यस्तै बेपत्ता हुनेमा प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी, ३३ वर्षीया जमुना रोका र बिरामी १५ वर्षीया जिनिसा रोका रहेका छन् ।
घाइतेको उपचारका लागि भरतपुर अस्पताल पठाइएको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । त्रिशूलीमा खसेको पिकअप पानीले डुबेर नदेखिने अवस्थामा छ ।