नेपालमा कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (मंसिर ७-१३)

संक्रमित घटे पनि ज्यान गुमाउने बढ्दै छन्

संक्रमित घटे पनि ज्यान गुमाउने बढ्दै छन्
+
-

नेपालमा कोभिड प्यान्डेमिकको बारेमा तथ्यांकको आधारमा नियमितरुपमा जनतालाई सुसूचित गर्ने जानकारीमूलक लेख तथा कार्यक्रम त्यत्ति नभएको हुँदा यस कोभिड साप्ताहिक विश्लेषण हामीले विगत केही हप्तादेखि लेख्दै, चर्चा गर्दै र प्रकाशित गर्दै आएका छौँ। यस लेखलाई खोजमूलक र विश्लेषणात्मक बनाई नेपालमा प्यान्डेमिकको वास्तविक अवस्था विश्वसँग दाँजेर हेर्दा कस्तो छ, त्यसको कारण के हुन सक्दछ, भविष्यमा नेपालमा प्यान्डेमिकले कस्तो रुप लिन सक्ला र प्यान्डेमिक नियन्त्रणको लागि सरकारी तथा जनस्तरबाट के गर्नु पर्ला आदि कुराहरुको जानकारी जनतालाई गराउनु यस लेखको उद्देश्य हो।

यस विश्लेषणात्मक लेखका लेखक एक चिकित्सक भएकाले कोभिड रोग विशेषज्ञ नभए पनि एक कोभिड ज्ञाताको हैसियतले कोभिड सम्बन्धी गतहप्ता भएका विभिन्न घटनाक्रमलाई संक्षेपमा प्रस्तुत गरिएको छ।

तथ्यांक संकलन गर्ने क्रममा श्रोत अनुसार तथ्यांक पनि फरक फरक भएको पाइएको छ। त्यति मात्र नभई हरेक दिन धेरै पटक तथ्यांक अध्यावधिक (Update) हुने भएको हुनाले यस लेखमा उद्धृत गरिएका या उल्लेख गरिएका तथ्यांकहरु पाठकबर्गले भेट्टाएको तथ्यांकभन्दा फरक हुन सक्दछ। तसर्थ यस लेखमा उद्धृत गरिएको तथ्यांकको श्रोत पनि उल्लेख गरिएको छ।

कोरोना, कोभिड, प्यान्डेमिक आदि शब्दहरु अब नेपाली लगायत विश्वका आम मानिसको लागि पुरानै भइसकेको छ। विस्तारै बानी पर्दै गए पछि कोरोनाप्रतिको डर र त्रास पनि घट्दै गएको छ। बानी पर्‍यो भन्दैमा हेल्चेक्र्याइँ गर्ने प्रवृत्ति पनि केही बढेको जस्तो देखिन्छ।

चीनको वुहानमा कोरोना संक्रमणको उत्पत्ति भएको करीब एक वर्ष भएको छ र नेपालमा पहिलो पटक कोरोना संक्रमण देखिएको  पनि करीब साढे दस महिना भइसकेको छ। नेपालमा पहिलो पटक चीनको वुहानमा पढेर आएका एक विद्यार्थीमा २०७६ साल पुस २८ गते (जनवरी १३, २०२०) कोरोना संक्रमण देखिएको थियो। तर त्यसपश्चात नेपालमा फाटफुट बाहेक खासै कोरोना संक्रमितहरु देखिएका थिएनन्। नेपालमा कोरोना प्यान्डेमिक बल्ल मे (May) महिनाको देस्रो हप्तातिर सुरु भयो जुन चीनभन्दा करीब ५ महिना, यूरोपभन्दा ४ महिना, अमेरिकाभन्दा ३ महिना र भारतभन्दा १ महिना पछि हो। त्यस मानेमा नेपाल भाग्यमानी थियो र त्यो ४-५ महिनाको समय नेपालको लागि स्वर्णिम समय थियो किनभने त्यो अवधिमा नेपालले अरु देशमा प्यान्डेमिकको अवस्था हेरेर धेरै कुरा सिक्ने, अनुभव गर्ने, योजना बनाउने र प्यान्डेमिक रोकथाम र नियन्त्रणको तयारी गर्ने राम्रो मौका थियो। हाल नेपालमा पनि विश्वका अन्यत्र जस्तै प्यान्डेमिकले जरा गाडिसकेको छ र  हामी सबै यस बिरुद्ध लडाई लड्ने या योसँगै मिलेर जाने तयारीमा छौं।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता, नोभेम्बर २२ देखि २८, तदनुसार मंसिर ७ देखि १३ सम्म (जम्मा ७ दिन)को विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल दिखाइए बमोजिम प्रस्तुत गरिएको छ।

प्यान्डेमिकमा परीक्षणको महत्वको बारेमा पहिलेका अंकहरुमा उल्लेख र प्रसस्त चर्चा गरिइसकेको छ । परीक्षणको कुरा गर्दा WHO को निर्देशन (मार्गदर्शन) अनुसार परीक्षण कति गर्ने या न्यूनतम कति गर्नु पर्दछ भन्ने कुरा हुन्छ जुन पहिलेका अंकहरुमा उल्लेख गरिइसकेको  छ। त्यस्तै परीक्षण गर्दा लक्षित समूह (Target group) निर्धारण गर्नु पर्ने हुन्छ। एक जना नयाँ संक्रमित भेटिएमा उसको सम्पर्कमा आएका न्यूनतम कतिजनाको परीक्षण गर्नु पर्दछ भन्ने कुरा पनि WHO ले निर्देश गरेको छ र यस कुराको जानकारी राखी परीक्षण गर्नु पर्दछ। यी सबै मापदण्ड पूरा गरी पर्याप्त परीक्षण गरिसकेपछि पोजिटिभिटी दर कति आयो भन्ने निर्धारण गर्नु पर्दछ।  तसर्थ परीक्षण गर्नु  र पोजिटिभिटी दर निकाल्नु जत्तिको महत्वपूर्ण हुन्छ, त्यसको मापदण्ड WHO को निर्देशन अनुसार पूरा गर्नु झनै महत्वपूर्ण हुन्छ। मापदण्ड पूरा नगरेको परीक्षण जति नै धेरै गरे पनि त्यसको अर्थ नहुने मात्रै होइन, त्यसले नतिजा पनि गलत निकाली जनमानसमा भ्रम सिर्जना गरिदिन्छ।

यी र यीसँग सम्बन्धित कुराहरु गएका अंकहरुमा प्रसस्त उल्लेख गरिइसकेको छ। परीक्षण  र त्यसको पोजिटिभिटीको आधारमा प्यान्डेमिकको  नियन्त्रणका उपायहरु प्रसस्त र उपयुक्त हिसाबले कार्यान्वयन गरे मात्र प्यान्डेमिक नियन्त्रण गर्न सकिन्छ।

कुनै पनि रोगको प्रकोप या प्यान्डेमिक भएको बेला परीक्षणलाई धेरै महत्व दिइन्छ।  परीक्षणलाई  प्यान्डेमिक हेर्ने झ्याल भनेर भनिन्छ।  जसरी झ्याल नखोले कोठाभित्र भएको कुरा हेर्न सकिन्न त्यस्तै परीक्षण नगरे प्यान्डेमिकको वास्तविक अवस्था पनि जान्न सकिँदैन। विश्वका विभिन्न देशहरुले आ-आफ्नो क्षमता, सामाजिक, आर्थिक र भौगोलिक हिसाबले परीक्षण गरेका छन्।

परीक्षणको बारेमा दक्षिण एसियाली  लगायत केही अन्य देशहरुको परीक्षण सम्बन्धी थप तथ्यांक जोन्स हप्किन्स विश्वविद्यालयको रिपोर्ट र आओर ओर्ल्ड इन डाटा (Our World in Data)को रिपोर्टबाट उद्धृत गरी टेबुलमा देखाइएको छ। टेबुलमा देखाइएजस्तै नेपालको प्रति दस लाख जनासंख्यामा परीक्षणको मात्रा अन्य केही दक्षिण एसियाली देशहरुभन्दा केही राम्रो देखिए पनि पोजिटिभिटी अरुभन्दा धेरै र कन्ट्याक्ट ट्रेसिङ अरुभन्दा निकै कम देखिन्छ। त्यसको अर्थ नेपालमा प्यान्डेमिक नियन्त्रण गर्ने क्रममा WHO को निर्देशनको राम्ररी पालन भएको छैन।

सिद्धान्तत: जति सक्यो, उति परीक्षण गरेको राम्रो हो। तर यो सबैलाई सम्भव हुँदैन। परीक्षणलाई प्यान्डेमिक नियन्त्रणको साँचो पनि भनिन्छ। साँचोबिना ढोका खोल्न नसके जस्तै परीक्षण बिना प्यान्डेमिक नियन्त्रण गर्न सकिँदैन। तर प्रसस्त परीक्षण गरे पनि प्यान्डेमिक नियन्त्रणमा नआएका देशहरु पनि प्रसस्त छन्। ती देशहरुका उदाहरणमा अति विकसित युरोपियन र अमेरिकन देशहरु नै पर्दछन्। चासो पक्कै पनि उठ्दछ, त्यसको कारण के हो त!

गएका अंकहरुमा उल्लेख गरिए जस्तै परीक्षणको पनि विभिन्न मापदण्डहरु हुन्छन्- जस्तै परीक्षणको मात्रा, परीक्षणको समय, परीक्षण जनसंख्या अनुपात, परीक्षण पोजिटिभिटी  दर, परीक्षणको लक्षित समूह आदि । ती मध्ये एक महत्वपूर्ण मापदण्ड हो- परीक्षणको लक्षित समूह (Target Group)। एकै व्यक्तिलाई धेरै चोटी परीक्षण गर्नु भन्दा धेरै मानिसलाई एक या दुई पटक मात्र परीक्षण गरेको राम्रो हुन्छ। WHO को मार्गदर्शन अनुसार प्रत्येक एक नयाँ संक्रमितको बदलामा कम्तिमा पनि १०-३० जना उसको सम्पर्कमा आएकाहरुको परीक्षण गर्नु पर्दछ जसलाई कन्ट्याक्ट ट्रेसिंग (Contact Tracing) भनिन्छ। ती सम्पर्कमा आएकाहरुलाई नै लक्षित समूह भनिन्छ। त्यस्तै सक्रिय संक्रमितहरु धेरै भएको ठाउँमा बस्ने मानिसहरु पनि लक्षित समूहमा पर्दछन्। नेपालमा दैनिक परीक्षणको मात्रा लगभग थाहा भए पनि परीक्षणको लक्षित समूह खुलेको छैन। ब्यबहारिकरुपले हेर्दा नेपालमा एकै व्यक्तिलाई रिपोर्ट नेगेटिभ नआए सम्म ४-५ पटकसम्म पनि परीक्षण गरिएको उदाहरण प्रसस्त छन्। त्यसले के देखाउँछ भने नेपालमा परीक्षणको  लक्षित समूह  WHOको मापदण्ड अनुसार निर्धारित र नियमित छैन। WHOको मार्गदर्शन अनुसार २ हप्ता वा सो भन्दा धेरै समय सम्म लक्षण नभएका तर परीक्षणमा पोजिटिभ आएकाहरुको फेरि परीक्षण गर्नु पर्दैन वा आवश्यक छैन । तर नेपालमा धेरैले रिपोर्ट नेगेटिभ नआएसम्म धेरै पटक परीक्षण गरेको पाइन्छ । त्यसले जनधनको मात्र नभई स्रोत र साधनको पनि खेर गइरहेको देखिन्छ भने अर्कोतिर परीक्षण सम्बन्धी गलत तथ्यांक निस्की त्यसको नतिजा पनि गलत देखाउँदछ।

त्यस्ता बिकसित देशहरुमा प्यान्डेमिक नियन्त्रण हुनुको साटो झन् बढ्नुको कारण लक्षित समूहको परीक्षण या कन्ट्याक्ट ट्रेसिंग अति कम हुनु नै हो जुन टेबुलमा देखाइएको छ। सायद युरोपियन र अमेरिकन देशहरु अति प्रजातान्त्रिक र त्यहाँका मानिसहरु अति स्वतन्त्रतामुखी भएका हुनाले स्वेच्छा बिपरीत परीक्षण नगरेका हुनाले हुन सक्दछ।

समग्रमा गतहप्ताको आंकडा हेर्दा नेपालमा प्यान्डेमिकको उकालो केही ओरालो लाग्न लागेको देखिन्छ। गत हप्ताको दैनिक जम्मा संक्रमितको संख्या २ हप्ता अगाडिको साताको जम्मा संक्रमित भन्दा कम देखिएको छ। त्यस्तै गतहप्ताको परीक्षण पोजिटिभिटी पनि २ हप्ता अगाडिकोभन्दा घटेको पाइएको छ। यो हामी सबैको लागि खुशीको खबर हो ।

परीक्षणको सवालमा  विभिन्न अध्ययनहरुले परीक्षणको मात्रा र परीक्षणको पोजिटिभिटी अर्थात् संक्रमण दरको सम्बन्धको अनुसन्धान गरेका छन्। जस्तै परीक्षणको मात्रा बढाउँदै लगेमा पोजिटिभिटी पनि बढ्छ कि घट्छ कि या त्यसमा कुनै परिवर्तन आउँदैन कि आदि । नेपालको सवालमा कात्तिक १ गते देखि मंसिर १३ सम्म बिगत करिब डेढ महिनाको परीक्षणको मात्रा र परीक्षण पोजिटिभिटी दरको सम्बन्ध चित्र न. १ मा देखाइएको छ। चित्रमा देखाइए जस्तै बिगत डेढ महिनामा परिक्षणको मात्रा केही घट्दै आएको छ जुन रातो धनुरेखाले (Trendline) देखाएको छ। त्यस्तै डेढ महिनाको पोजिटिभिटी दर हेर्ने हो भने यो पनि घट्दै आएको देखिन्छ जुन निलो धनुरेखाले देखाएको छ। परीक्षण कम गर्दै लानु राम्रो कुरा होइन भने पोजिटिभिटी कम हुँदै जानु राम्रो कुरा हो र यसले संक्रमण दर घटेको देखाउँछ। यस चित्रले के देखाउँछ भने परीक्षण घटाएमा पोजिटिभिटी पनि घट्दछ। त्यस्तै परीक्षण बढाउँदै लगेमा पोजिटिभिटी पनि बढ्दै जाने सम्भावना पनि यस विश्लेषणात्मक चित्रले देखाउँछ। हाम्रो उद्देश्य संक्रमण दर र संक्रमित बढाउनु या घटाउनु होइन। हाम्रो उद्देश्य त यदि समाजमा संक्रमितहरु छन् भने सकेसम्म सबै संक्रमितहरु परीक्षणको माध्यमबाट पत्ता लगाउनु हो। हाम्रो उद्देश्य संक्रमित पत्ता लागे पछि आवश्यक  क्वारेन्टाइन, आइसोलेसन, उपचार आदि गर्नु हो जसले गर्दा संक्रमण समाजमा नफैलियोस्। तर माथि उल्लेख गरिए जस्तै पोजिटिभिटीलाई धेरै कुराले असर गर्ने भएको हुनाले ती सबै कुराहरुको अध्ययन गर्न पाए यथार्थ बुझ्न सजिलो हुन्छ।

परीक्षणको बारेमा यति चर्चा गरिसकेपछि अब नेपालमा कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण तर्फ लागौं। गतहप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि  उतारचढाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौं।

दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने  नयाँ संक्रमितहरुको संख्या हो। गतहप्ता, नोभेम्बर २२ देखि २८, तदनुसार मंसिर ७ देखि १३ सम्म (जम्मा ७ दिन) को नेपालभरि र काठमाडौँ उपत्यकाको नयाँ संक्रमितको संख्या चित्र न. २ मा प्रस्तुत गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ता सात दिनमा देशभरि जम्मा १२०८४  जना र काठमाडौँ उपत्यकामा ५९९८ नयाँ संक्रमित भेटिए भने त्योभन्दा अगाडिको हप्ता सात दिनमा देशभरि जम्मा  १२२८६ र काठमाडौँ उपत्यकामा ६७५५ नया संक्रमित भेटिएका थिए। माथिको तथ्यांकको आधारमा भन्ने हो गतहप्ता त्योभन्दा अगाडिको हप्ताको दाँजोमा देशभरि र काठमाडौँ उपत्यकामा संक्रमितको संख्या घटेको पाइयो।

त्यस्तै अर्कोतिर मृत्यु हुनेको संख्या गतहप्ता जम्मा १४९ थियो भने त्योभन्दा अगाडिको हप्ता मात्र १०३ थियो जुन गतहप्ता त्योभन्दा अगाडिको हप्ताको दाँजोमा धेरै बढेको हो। एकातिर साताभरिको जम्मा कोरोना संक्रमितको संख्या घटेको पाइयो भने अर्कोतिर त्यही कारणले मृत्यु हुनेको संख्या भने ज्यादै बढेको, करीब ४५% ले बढेको, पाइयो । त्यसले गर्दा उपलब्ध तथ्यांकमाथि विश्वशनीयताको प्रश्न उठ्दछ भने नेपालको कोभिड प्यान्डेमिक कुन दिशातिर गइरहेको छ, ठम्याउन गाह्रो पनि हुन्छ ।

त्यस्तै काठमाडौँ  र नेपालको अनुपात केलाउने हो भने चित्र नं. ३ मा देखाइए जस्तै नेपालभरिको दाँजोमा काठमाडौँ उपत्यकाको नया संक्रमण अनुपात ४२.८६% देखि ५७.३३% सम्म रह्यो भने त्यो भन्दा अगाडिको हप्ता यो अनुपात ४१.८५% देखि ७१.९८% सम्म रहेको थियो। गतहप्ता नेपालभरिको संक्रमितको  दाँजोमा काठमाडौँ उपत्यकाको संक्रमितको अनुपात औसतमा करीब ४९.६५% थियो भने त्योभन्दा अगाडिको हप्ता यो औसत अनुपात  करीब ५६% थियो । यसरी देशभरिको दाँजोमा काठमाडौँको नयाँ संक्रमितको अनुपात घट्दै गएको छ।

तर काठमाडौँ उपत्यका अर्थात देशकै राजधानीमा प्यान्डेमिकको वास्तविक असर कत्तिको छ थाहा पाउन उपत्यकाभित्र मात्रै कति परीक्षण गरियो र कतिमा पोजिटिभ देखियो, त्यस्तै प्रत्येक संक्रमितको कन्ट्याक्ट ट्रेसिंग कत्तिको गरियो, लक्षित समूहमा परीक्षण पुग्यो कि पुगेन आदि WHO को मापदण्ड नापेर हेर्नु पर्दछ ।

दैनिक संक्रमण पोजिटिभिटी दर (Positivity Rate)

प्यान्डेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी दर एक सबैभन्दा भर पर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण  पोजिटिभ देखियो भन्ने देखाउँदछ । पोजिटिभिटी दरको बारेमा माथि र गएका अंकहरुमा विस्तृत जानकारी गराइसकेको छ। त्यसको लागि कृपया यस शृंखलाका गएका अंकहरु पनि हेर्नु  होला।

नेपालको गएको हप्ताको दैनिक संक्रमण पोजिटिभिटी दर चित्र न. ४मा देखाइएको छ। गतहप्ता पनि नेपालको प्यान्डेमिक  निरन्तररुपमा कायम रहेतापनि केही तल झर्दै गएको देखिन्छ । गतहप्ता पोजिटिभिटी दर न्यूनतम १४.७३% देखि अधिकतम २१.१५% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर १७.९३% रह्यो । दुई हप्ता अगाडिको पोजिटिभिटी दर १६.१३% र २४.७७% का बीच रही साताको औसत दर २१.०२% पुगेको थियो । त्यस अर्थमा गतहप्ताको औसत  संक्रमण दर २ हप्ता अगाडिभन्दा केही कम देखिएको छ जुन सुखद समाचार हो।

विश्वका केही देशहरुका पछिल्लो औसत पोजिटिभिटी हेर्ने हो भने जोन्स हप्किन्स विश्व विद्यालय (Johns Hopkins University) का अनुसार  बंगलादेशको १४.३५%, पाकिस्तानको ७.२२%, माल्दिभ्सको ४.३०%, श्रीलंकाको ४.१६%, भारतको ४.०९%, नेपालको १९.०२% र अमेरिकाको  ९.४४% छ । यसबाट के देखिन्छ भने नेपाल अझै पनि दक्षिण एसिया र विश्वका अन्य मुलुकको तुलनामा प्यान्डेमिक नियन्त्रण अति कम्जोर रहेको र यसको जोखिम उच्च रहेको देशमा पर्दछ । दक्षिण एसियाका मुलुकहरुमा भारत, माल्दिभ्स , श्रीलंका र भुटान प्यान्डेमिक नियन्त्रण गर्न सफल राष्ट्रका रुपमा देखिन्छन भने पाकिस्तानको अवस्था पनि सुधारोन्मुख देखिन्छ । बंगलादेश र नेपालले भने हालसम्म प्यान्डेमिक नियन्त्रण राम्ररी गर्न नसकेको देखिन्छ । WHOका अनुसार प्यान्डेमिक नियन्त्रण गर्न कन्ट्याक्ट ट्रेसिंग परीक्षण प्रति नया संक्रमित व्यक्ति कम्तिमा १० जनाको गर्नु पर्दछ भने पोजिटिभिटी कम्तिमा २ हप्तासम्म ५% भन्दा कम कायम भएमा प्यान्डेमिक नियन्त्रण भएको मानिन्छ ।

समग्रमा गतहप्ताको आंकडा हेर्दा नेपालमा प्यान्डेमिकको उकालो केही ओरालो लाग्न लागेको देखिन्छ। गत हप्ताको दैनिक जम्मा संक्रमितको संख्या २ हप्ता अगाडिको साताको जम्मा संक्रमित भन्दा कम देखिएको छ। त्यस्तै गतहप्ताको परीक्षण पोजिटिभिटी पनि २ हप्ता अगाडिकोभन्दा घटेको पाइएको छ। यो हामी सबैको लागि खुशीको खबर हो । यद्यपि चित्र न. १ मा देखाइए जस्तै परीक्षण पर्याप्त मात्रामा नभएको हुनाले यो ओरालो फेरि उकालो नलागोस् भन्नेमा हामी सबै चनाखो र होशियार हुनु पर्ने देखिन्छ ।

त्यस्तै जम्मा संक्रमित र पोजिटिभिटी कम हुँदै गए पनि मृत्यु हुनेको संख्या निकै बढेको हुनाले नेपालमा प्यान्डेमिकको जोखिम अति उच्च छ र त्यसको लागि पर्याप्त परीक्षण गरी प्यान्डेमिक नियन्त्रणका उपाय WHOको निर्देशन अनुसार गर्नु जरुरी  छ।

prabinshrestha@hotmail.com

(श्रेष्ठ ग्वार्को, ललितपुरस्थित बीएन्डबी अस्पतालका कन्सल्टेन्ट न्युरोसर्जन तथा कोभिड ज्ञाता हुन्।)

यो पनि पढ्नुहोस्

कोरोनासँग अल्झेर बस्नु हुन्न

कोरोनासँग अल्झेर बस्नु हुन्न

सधैँ एउटै मन्त्र होइन, उत्साहजनक प्रचार आवश्यक

सधैँ एउटै मन्त्र होइन, उत्साहजनक प्रचार आवश्यक

नेपालको कोरोना रेकर्ड- एकै दिनको पोजिटिभिटी दर ३४.७७ प्रतिशत

नेपालको कोरोना रेकर्ड- एकै दिनको पोजिटिभिटी दर ३४.७७ प्रतिशत

काठमाडौँका कोरोना हटस्पटहरु सिल गर्नुपर्छ

काठमाडौँका कोरोना हटस्पटहरु सिल गर्नुपर्छ

नेपालमा संक्रमणको अवस्था भयावह

नेपालमा संक्रमणको अवस्था भयावह

नेपालमा कोभिड प्यान्डेमिकको पछिल्लाे अवस्थाकाे विश्लेषणात्मक झलक

नेपालमा कोभिड प्यान्डेमिकको पछिल्लाे अवस्थाकाे विश्लेषणात्मक झलक

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?