
विश्वमा कोरोनाको उत्पत्ति भएको करीब एक वर्ष र WHO ले गत मार्च महिनामा कोरोना प्यान्डेमिक घोषणा गरेको करीब नौ महिना बितिसकेको छ । यस दौरान विश्वमा करीब साढे छ करोड मानिसमा यो रोग लागिसकेको छ भने करीब पन्ध्र लाख मानिसले यसै रोगका कारण ज्यान गुमाइसकेका छन् । विश्वमा कोरोना संक्रमण अथवा कोरोना प्यान्डेमिक नियन्त्रणको कुनै लक्षण हालसम्म देखिएको छैन। बरु दैनिक संक्रमण र दैनिक मृत्युले नयाँ नयाँ कीर्तिमान बनाउने क्रम जारी नै छ । वर्ल्डोमिटर (Worldometer) का अनुसार विश्वमा कोरोनाको दैनिक संक्रमणले गत हप्ता नयाँ कीर्तिमान बनाई डिसेम्बर ३ र ४का दिन एकै दिन छ लाख असी हजार भन्दा धेरैमा संक्रमण देखायो। त्यस्तै दैनिक मृत्युको सवालमा पनि WHOका अनुसार डिसेम्बर ४ का दिन एकै दिन बाह्र हजार तीन सय भन्दा धेरै मानिसको ज्यान गएको छ जुन एउटा हालसम्मकै कीर्तिमान बन्यो। यद्यपि WHOको रेकर्ड मा अप्रिल १७ का दिन अपबाद को रुपमा एकै दिन बाह्र हजार पाँच सय भन्दा बढी मानिसको मृत्यु भएको देखिन्छ तर त्यति बेला अहिलेको जस्तो धेरै दैनिक मृत्यु देखिएको थिएन। यसरी विश्वमा धेरै कोरोना संक्रमण देखिनुमा अमेरिकी र यूरोपेली देशहरुकै योगदान धेरै देखिन्छ भने अफ्रिकी देशहरुमा कोरोना संक्रमण अति न्यून देखिन्छ। यसरी पछिल्लो समयमा दक्षिण एसिया र अफ्रीकामा कोरोना संक्रमण कम देखिनुमा परीक्षण नै कम गरेको हुनाले पनि हो।
त्यसै क्रममा नेपालमा पनि कोरोनाको आतंक मच्चिएको करीब ७ महिना बितिसकेको छ। नेपालमा लकडाउन चैत ११ गते अर्थात् मार्च (March) २४मा सुरु गरिएतापनि प्यान्डेमिकको वास्तविक असर मे (May) महिनाको मध्यतिरबाट सुरु भएको थियो ।
यस दौरान नेपाल सरकारको पछिल्लो तथ्यांक अनुसार नेपालमा हालसम्म २३९८८५ जना मानिसलाई यो रोग लागिसकेको छ भने १५७७ जनाले यसै रोगका कारण ज्यान गुमाइसकेका छन् । त्यस अर्थमा नेपालको कोरोना मृत्युदर करीब ०.७% छ । हालसम्म नेपालमा १७७८०२४ जनाको PCR परीक्षण गरिएको छ भने औसतमा संक्रमण दर अर्थात् पोजिटिभिटी १३.५ % जति देखिएको छ । नेपालमा पोजिटिभिटी बढ्ने क्रममा अक्टोबर महिनाको अन्त्य देखि नोभेम्बरको सुरुवात तिर संक्रमण अत्यधिक बढी औसत पोजिटिभिटी करीब २५% सम्म पुगेको थियो । त्यसको अर्थ १०० जनाम्मा परीक्षण गरियो भने २५ जनामा संक्रमण देखिनु हो । त्यो समय भनेको आम नेपालीको महान पर्ब दशैंपर्बको समय थियो । नेपालको सबै भन्दा उच्च पोजिटिभिटी ३४% अक्टोबर २६का दिन अर्थात् कात्तिक १० का दिन पुगेको थियो । त्यस दिन दशैंको विजयादशमीको दिन थियो र त्यस दिन ५००६ जनाको परीक्षण गरिएको मध्ये १७४१ जनामा पोजिटिभ अर्थात् संक्रमण देखिएको थियो।
परीक्षण नै कुनै पनि प्यान्डेमिकको समग्र अवस्था हेर्ने झ्याल हो। यस झ्यालबाट चिहाएर हेरे मात्र प्यान्डेमिकको वास्तविक अवस्था राम्ररी देखिन्छ। परीक्षणलाई प्यान्डेमिक नियन्त्रण गर्ने साँचो पनि भनिन्छ। यसै परीक्षणलाई राम्ररी वैज्ञानिक ढंगले पर्याप्त गरेमा सही तरिकाले प्यान्डेमिक नियन्त्रण गर्न सकिन्छ। प्यान्डमिकमा परीक्षणको महत्वको बारेमा यस शृंखलाका गएका अंकहरुमा बिस्तृत उल्लेख गरिइसकेको छ। त्यसको लागि पहिलेका अंकहरु पनि हेर्नु होला ।
परीक्षणको मामलामा विभिन्न देशहरुले आ-आफ्नै किसिमले विभिन्न नीति अपनाएको देखिन्छ । यस्ता नीतिमा मुलतः तीन थरीका पर्दछन्, ती हुन् १) सम्पूर्ण जनताको परीक्षण गर्ने जसमा लक्षण भएका र नभएका दुवै पर्दछन, २) लक्षण भएकाहरुको मात्रै परीक्षण गर्ने र ३) लक्षण भएका मध्ये केही या सीमितको मात्रै परिक्षण गर्ने । अक्सफोर्ड विश्वविद्यालयको Coronavirus Government Response Tracker (OxCGRT)ले गरेको एक अध्ययनको निष्कर्ष अनुसार विश्वका विभिन्न देशहरुमध्ये करीब प्रत्येक एक तिहाइले यी तीन मध्ये एक नीति अपनाएको देखिन्छ। अर्थात् करीब एक तिहाईले माथि उल्लेखित मध्ये पहिलो नीति, दोस्रो एक तिहाइले दोस्रो नीति र तेस्रो एक तिहाइले तेस्रो नीति अपनाएको देखिन्छ। पहिलो नीति लिनेहरुमा विश्वका अति बिकसित देशहरु पर्दछन् जस्तै अमेरिका, यूरोप, कोरिया, चीन आदि। त्यस्तै दोस्रो नीति लिनेहरुमा अति विकसित र अलि कम विकसित देशहरु जस्तै यूरोपका केही देशहरु बेलायत, जापान, एसिया र दक्षिण एसियाका केही बाहेक अधिकांस देशहरु पर्दछन् र तेस्रो नीति लिनेहरुमा नेपाल लगायत अफ्रिकाका अधिकांश देशहरु पर्दछन्। अर्थात् दक्षिण एसियाका अधिकांश देशहरुले लक्षण भएका सबैको परीक्षण गर्ने नीति लिएको छ भने र नेपालले लक्षण भएकामध्ये पनि केही या सीमितका मात्रै परीक्षण गर्ने नीति लिएको देखिन्छ। नेपालमा पछिल्लो समयमा कम मात्रामा परीक्षण गरिनुले पनि यो कुराको पुष्टि गर्दछ।
यद्यपि दक्षिण एसियाका अधिकांश देशहरुले परीक्षण निकै कम गरेको देखिन्छ। जनसंख्याको अनुपातमा परीक्षण हेर्ने हो भने अमेरिका र यूरोपभन्दा दक्षिण एसियाका देशहरुमा पाँचदेखि दस गुणा परीक्षण कम गरिएको छ । दक्षिण एसियामा भारतले सबै भन्दा बढी परीक्षण गरेको छ भने उसको कन्ट्याक्ट ट्रेसिंग पनि राम्रै देखिन्छ जुन यस कोभिड प्यान्डेमिक साप्ताहिक विश्लेषण शृंखलाको अघिल्लो अंकमा पनि उल्लेख गरिएको छ । तर अमेरिकासँग तुलना गर्ने हो भने जनसंख्याको अनुपातमा भारतको परीक्षण अमेरिकाकोभन्दा करीब छ गुणाले कम छ। अमेरिकाले प्रति दस लाख जनसंख्या करीब छ लाखमा परीक्षण गरेको छ भने भारतले करीब एक लाख र नेपालले साठी हजार परीक्षण गरेको छ ।
नेपालमा विगत करिब ७ हप्ताको, कात्तिक १ गतेदेखि हालसम्मको, दैनिक परीक्षण, दैनिक संक्रमण तथा दैनिक मृत्युको तुलनात्मक विश्लेषण चित्र नं. १ मा देखाइएको छ । चित्रमा खरानी रंगको बारले दैनिक परीक्षणको मात्रा देखाउँछ भने रातो र सुन्तला रंगका रेखाहरुले दैनिक पोजिटिभिटी र मृत्यु देखाउँछ । त्यस्तै तीन वटा शिधा धनुरेखाहरु खरानी, रातो र सुन्तला रंगका रेखाहरु Trendline (प्रबृत्तिरेखा) हुन् जसले क्रमश: दैनिक परीक्षण, पोजिटिभिटी र मृत्युको प्रवृत्ति देखाउँछ। चित्रमा देखाइएजस्तै नेपालमा बिगत डेढ महिनाभन्दा अघिदेखि दैनिक परीक्षणको संख्या क्रमश: घट्दै आइरहेको छ अर्थात् परीक्षण क्रमश: कम गरिँदै गइरहेको छ। प्यान्डेमिकको अवस्थामा परीक्षण कम गर्नु आफैमा एक विरोधाभासपूर्ण कुरा हो। त्यस्तै कम परीक्षणसँगै दैनिक संक्रमण अर्थात् पोजिटिभिटी पनि कम हुँदै गइरहेको कुरा रातो रंगको रेखा र रातो सिधा धनुरेखाले देखाउँछ। यी दुई कुराको आधारमा यो भन्न सकिएला कि नेपालमा कोरोनाको प्रकोप कम भएछ। तर वास्तवमा यो सही होइन। वास्तबमा सही कुरा के हुन्थ्यो भने यी माथिका दुई कुराहरु एक आपसमा उल्टो हुनुपर्दथ्यो अर्थात् परीक्षण बढ्दै या बढाउँदै गएको अवस्थामा संक्रमण दर या पोजिटिभिटी घट्दै जानु पर्दथ्यो। त्यसको अर्थ साँचो मानेमा प्यान्डेमिक नियन्त्रण भएछ भन्ने हुन्थ्यो।
त्यस्तै चित्रमा सुन्तला रंगको रेखा र सुन्तला सिधा धनु रेखाले नेपालमा बिगत करीब डेढ महिनाभन्दा अघिदेखि दैनिक मृत्यू हुनेको संख्या बढ्दै गएको देखाउँछ। एकातिर खरानी र रातो रंगले देखाए जस्तै दैनिक परीक्षण र संक्रमण या पोजिटिभिटी घट्दै गएको अवस्थामा दैनिक मृत्यु भने बढ्दै जानु अर्को विरोधाभासपूर्ण कुरा हो। यसरी एक अर्कामा विरोधाभासपूर्ण कुराहरु देखिनु या देखाउनुले प्यान्डेमिकको सही चित्रण गर्दैन। तसर्थ यसरी सतहीरुपमा तथ्यांक हेर्नु या देखाउनु यस्तो भयावहको अवस्थामा अज्ञानता र मुर्खता मात्रै होइन, गैरजिम्मेवारीपूर्ण काम हो। गहिराइमा गएर तथ्यांकको विश्लेषण गर्नु र जनतालाई सुसूचित गर्नु सरकार र जिम्मेवार निकायको उत्तरदायित्व हो। यस कोभिड प्यान्डेमिक साप्ताहिक विश्लेषण शृंखलाको उद्देश्य पनि यही हो। यसरी कृतिमरुपमा प्यान्डेमिक घट्नु या घटाउनुले वास्तविक प्यान्डेमिक बढ्ने मात्रै होइन, अनावश्यक लम्बिँदै गई समाज र जनताको लागि घातकशिद्ध हुन सक्दछ।
यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता, नोभेम्बर २९ देखि डिसेम्बर ५ तदनुसार मंसिर १४ देखि २० सम्म जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ ।
यस बिश्लेषणातमक लेखका लेखक एक चिकित्सक भएको नाताले कोभिड रोग विशेषज्ञ नभएतापनि एक कोभिड ज्ञाताको हैसियतले कोभिड सम्बन्धी गतहप्ता भएका विभिन्न घटनाक्रमलाई संक्षेपमा प्रस्तुत गरिएको छ ।
तथ्यांक संकलन गर्ने क्रममा श्रोत अनुसार तथ्यांक पनि फरक फरक भएको पाइएको छ । त्यति मात्र नभई हरेक दिन धेरै पटक तथ्यांक अध्यावधिक (Update) हुने भएको हुनाले यस लेखमा उदृत गरिएका या उल्लेख गरिएका तथ्यांकहरु पाठकबर्गले भेट्टाएको तथ्यांकभन्दा फरक हुन सक्दछ । तसर्थ यस लेखमा उद्धृत गरिएको तथ्यांकको श्रोत पनि उल्लेख गरिएको छ।
गतहप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि उतारचढाव हुने क्रम जारी रह्यो । निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौं।
दैनिक नयाँ संक्रमण
यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितहरुको संख्या हो। गतहप्ता नोभेम्बर २९ देखि डिसेम्बर ५ तदनुसार मंसिर १४ देखि २० सम्म जम्मा ७ दिनको नेपालभरि र काठमाडौँ उपत्यकाको नयाँ संक्रमितको संख्या चित्र नं. २ मा प्रस्तुत गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ता सात दिनमा देशभरि जम्मा ९१६२ जना र काठमाडौँ उपत्यकामा ४२३७ नयाँ संक्रमित भेटिए भने त्योभन्दा अगाडिको हप्ता सात दिनमा देशभरि जम्मा १२०८४ र काठमाडौँ उपत्यकामा ५९९८ नया संक्रमित भेटिएका थिए। माथिको तथ्यांकको आधारमा भन्ने हो गतहप्ता त्योभन्दा अगाडिको हप्ताको दाँजोमा देशभरि र काठमाडौँ उपत्यकामा संक्रमितको संख्या निकै घटेको पाइयो।
परीक्षण नै कुनै पनि प्यान्डेमिकको समग्र अवस्था हेर्ने झ्याल हो। यस झ्यालबाट चिहाएर हेरे मात्र प्यान्डेमिकको वास्तविक अवस्था राम्ररी देखिन्छ। परीक्षणलाई प्यान्डेमिक नियन्त्रण गर्ने साँचो पनि भनिन्छ। यसै परीक्षणलाई राम्ररी वैज्ञानिक ढंगले पर्याप्त गरेमा सही तरिकाले प्यान्डेमिक नियन्त्रण गर्न सकिन्छ।
त्यस्तै मृत्यु हुनेको संख्या गतहप्ता जम्मा १२३ थियो भने त्योभन्दा अगाडिको हप्ता १४९ थियो जुन गतहप्ता त्योभन्दा अगाडिको हप्ताको दाँजोमा घटेको हो। तर यी सतही कुरा हुन् र यसको आधारमा मात्रै खुशी हुन सकिँदैन। वास्तविक कुरा माथि उल्लेख गरिइसकेको छ। परीक्षण नै कम गरेपछि वास्तविक रोग र यसको कारणले हुने मृत्यु पनि कम मात्रामा भेटिन्छ। तसर्थ वास्तविक कुरा बुझी आफै सजग भई सावधानी र होशियारी अपनाउनु नै बुद्धिमत्तापूर्ण कार्य हुने देखिन्छ।
त्यस्तै काठमाडौँ र नेपालको अनुपात केलाउने हो भने चित्र नं. ३ मा देखाइए जस्तै नेपालभरिको दाँजोमा काठमाडौँ उपत्यकाको नयाँ संक्रमण अनुपात ४०.६४% देखि ५४.८८% सम्म रह्यो भने त्यो भन्दा अगाडिको हप्ता यो अनुपात ४२.८६% देखि ५७.३३% सम्म रहेको थियो। गतहप्ता नेपालभरिको संक्रमितको दाँजोमा काठमाडौँ उपत्यकाको संक्रमितको अनुपात औसतमा करीब ४६% थियो भने त्योभन्दा अगाडिको हप्ता यो औसत अनुपात करिब ४९.६५% थियो। यसरी देशभरिको दाँजोमा काठमाडौँको नयाँ संक्रमितको अनुपात बिगत केही हप्तादेखि घट्दै गएको देखिन्छ। माथि उल्लेखित तथ्यांक र त्यसको विश्लेषणको आधारमा देश र काठमाडौँको प्यान्डेमिक प्रबृत्ति (Pandemic trend) ले कस्तो रुप लिइराखेको छ बुझ्न कठीन छ ।
तर काठमाडौँ उपत्यका अर्थात देशकै राजधानीमा प्यान्डेमिकको वास्तविक असर कत्तिको छ थाहा पाउन उपत्यकाभित्र मात्रै कति परीक्षण गरियो र कतिमा पोजिटिभ देखियो, त्यस्तै प्रत्येक संक्रमितको कन्ट्याक्ट ट्रेसिङ कत्तिको गरियो, लक्षित समूहमा परीक्षण पुग्यो कि पुगेन आदि WHOको मापदण्ड अनुसार नापेर हेर्नु पर्दछ।
दैनिक संक्रमण पोजिटिभिटी दर (Positivity Rate)
प्यान्डेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी दर एक सबैभन्दा भर पर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ। पोजिटिभिटी दरको बारेमा माथि र गएका अंकहरुमा विस्तृत जानकारी गराइसकेको छ। त्यसको लागि कृपया यस शृंखलाका गएका अंकहरु पनि हेर्नु होला।
नेपालको गएको हप्ताको दैनिक संक्रमण पोजिटिभिटी दर चित्र नं. ४मा देखाइएको छ। गतहप्ता पनि नेपालको प्यान्डेमिक निरन्तररुपमा कायम रहेतापनि केही तल झर्दै गएको देखिन्छ। गतहप्ता पोजिटिभिटी दर न्यूनतम १४.४६% देखि अधिकतम १७.९५% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर १६.०% रह्यो। दुई हप्ता अगाडिको पोजिटिभिटी दर १४.७३% र २१.१५% का बीच रही साताको औसत दर १७.९३% पुगेको थियो। त्यस अर्थमा गतहप्ताको औसत संक्रमण दर २ हप्ता अगाडिभन्दा केही कम देखिएको छ जुन सुखद समाचार हो। तर यसरी संक्रमण दर या पोजिटिभिटी कम हुँदै जानुमा अति कम परीक्षण गरिनु नै प्रमुख कारण हो। गत हप्ता साताभरि जम्मा ५८१९६ परीक्षण गरिएको थियो भने त्योभन्दा अगाडिको हप्ता साताभरि जम्मा ६७७१५ परीक्षण गरिएको थियो। यसरी अति न्यून मात्रामा परीक्षण गरी प्यान्डेमिक घटेको देखिनु एक कृतिम कुरा मात्रै हो। नेपाल सरकारले जानकारी दिए अनुसार नेपालको जम्मा परीक्षण क्षमता करीब २० हजार प्रतिदिन छ भने हाल नेपालमा दैनिक १० हजार भन्दा कम परीक्षण गरिँदै आएको छ। मंसिर २० गते अर्थात् गत शनिबार देशभरि जम्मा करीब ६ हजार मात्र परीक्षण गरिएको छ।
विश्वका केही देशहरुका पछिल्लो औसत पोजिटिभिटी हेर्ने हो भने जोन्स हप्किन्स विश्व विद्यालय (Johns Hopkins University) का अनुसार बंगलादेशको १४.२५%, पाकिस्तानको ७.३०%, माल्दिभ्सको २.८३%, श्रीलंकाको ४.८३%, भारतको ३.३९%, नेपालको १५.४२%, र अमेरिकाको १०.५८% छ। यसबाट के देखिन्छ भने नेपाल अझै पनि दक्षिण एसिया र विश्वका अन्य मुलुकको तुलनामा प्यान्डेमिक नियन्त्रण अति कमजोर रहेको र यसको जोखिम उच्च रहेको देशमा पर्दछ । दक्षिण एसियाका मुलुकहरुमा भारत, माल्दिभ्स, श्रीलंका र भुटान प्यान्डेमिक नियन्त्रण गर्न सफल राष्ट्रका रुपमा देखिन्छन् भने पाकिस्तानको अवस्था पनि सुधारोन्मुख देखिन्छ। बंगलादेश र नेपालले भने हालसम्म प्यान्डेमिक नियन्त्रण राम्ररी गर्न नसकेको देखिन्छ। WHO का अनुसार प्यान्डेमिक नियन्त्रण गर्न कन्ट्याक्ट ट्रेसिंग परीक्षण प्रति नयाँ संक्रमित व्यक्ति कम्तिमा १० जनाको गर्नु पर्दछ भने पोजिटिभिटी कम्तिमा २ हप्तासम्म ५% भन्दा कम कायम भएमा प्यान्डेमिक नियन्त्रण भएको मानिन्छ ।
समग्रमा गतहप्ताको आंकडा हेर्दा नेपालमा प्यान्डेमिकको उकालो केही ओरालो लाग्न लागेको देखिन्छ। गत हप्ताको दैनिक जम्मा संक्रमितको संख्या २ हप्ता अगाडिको साताको जम्मा संक्रमित भन्दा कम देखिएको छ। त्यस्तै गतहप्ताको परिक्षण पोजिटिभिटी पनि २ हप्ता अगाडिकोभन्दा घटेको पाइएको छ। यो हामी सबैको लागि खुशीको खबर हो । यद्यपि चित्र नं. १ मा देखाइए जस्तै परीक्षण प्रयाप्त मात्रामा नभएको हुनाले यो ओरालो फेरि उकालो नलागोस् भन्नेमा हामी सबै चनाखो र होशियार हुनु पर्ने देखिन्छ ।
त्यस्तै जम्मा संक्रमित र पोजिटिभिटी कम हुँदै गएतापनि मृत्यु हुनेको संख्या बढेको प्रबृत्ति देखिनाले नेपालमा प्यान्डेमिकको जोखिम अति उच्च छ र त्यसको लागि पर्याप्त परीक्षण गरी प्यान्डेमिक नियन्त्रणका उपाय WHOको निर्देशन अनुसार गर्नु जरुरी छ ।
prabinshrestha@hotmail.com
(डा. श्रेष्ठ ग्वार्को, ललितपुरस्थित बीएन्डबी अस्पतालका कन्सल्टेन्ट न्युरोसर्जन तथा कोभिड ज्ञाता हुन्।)