
कुनै पनि प्यान्डेमिकमा परीक्षणको महत्वको बारेमा यस शृंखलाका गएका अंकहरुमा प्रसस्त चर्चा परिचर्चा गरिइसकेता पनि अझै परीक्षणको महत्वको बारेमा हामीले नबुझेका र बुझ्न बाँकी रहेका कुराहरु धेरै रहेछन जुन हामी यस अंकमा संक्षपमा चर्चा र मनन गर्ने छौं।
विश्वमा कोरोना र कोभिड-१९को उत्पत्ति भएको करीब वर्षदिन पुग्दा विश्वका थुप्रै देशहरुले यसका बारेमा धेरै अध्ययन गरी धेरै तथ्यहरु पत्ता लगाई सकेका छन्। अबत भ्याक्सिनको आविष्कार पनि भइसकेको छ र विश्वका करीब आठ अरब जनताका घर दैलोमा भ्याक्सिन पुर्याउने तरखर र होडबाजीमा जुटेका छन् विश्वका दुई सयभन्दा धेरै देशहरु।
बिकसित देशहरुले अधिकतम परीक्षण गरी आफ्नो देशमा भएका कोभिड-१९का सबै संक्रमित पत्ता लगाउने कोशिश गरेका छन् भने कम बिकसित देशहरुले न्यूनतम परीक्षण गरी आफ्नो देशमा कोभिड कम भएको भ्रम पाली राखेका छन्। बिकसित देशहरुमा कोरोना या कोभिड संक्रमण अत्यधिक देखिनु र कम बिकसित देशहरुमा कम देखिनुको एक प्रमुख कारण यही पनि हो। त्यति मात्रै होइन बिकसित देशहरुमा कोरोना संक्रमणको दोस्रो तेस्रो लहर देखिनुको कारण पनि यही होअर्थात् प्रसस्त परीक्षण गरेर सबै संक्रमित पत्ता लगाएर।
तर परीक्षण गर्नु मात्र पनि सबै कुरा होइन रहेछ। जथाभाबी (Randomly) परीक्षण गर्नु र कुनै एउटा नीति नियमको पालना गरी परीक्षण गर्नुमा पनि धेरै फरक पर्दो रहेछ। जस्तै एउटा समाजमा त्यत्तिकै जथाभाबीपरीक्षण गर्नु र कुनै एउटा संक्रमितको सम्पर्कमा आएका सबैको परीक्षण गर्नु जसलाई कन्ट्याक्ट ट्रेसिंग (Contact Tracing) भनिन्छ, यी दुईमा धेरै अन्तर हुँदोरहेछ। परीक्षण अत्यधिक गर्ने देशहरुमा यूरोप र अमेरिका नै पर्दारहेछन तर कन्ट्याक्ट ट्रेसिंगको मापदण्ड पालाना गर्ने अर्थात् प्रति नया संक्रमित कति परीक्षण गर्नु पर्ने हो त्यति मात्रामा परीक्षण नगर्ने देशहरुमा पनि तिनीहरु नै पर्दछन्।डब्लूका अनुसार प्यान्डेमिक नियन्त्रण गर्न कन्ट्याक्ट ट्रेसिंग परीक्षण प्रति नया संक्रमित व्यक्ति (Test per new confirmed case) कम्तिमा १० जनाको गर्नु पर्दछ।
सबैलाई थाहा भएकै कुरा हो कि भाइरसले बेलाबेलामा आफ्नो प्रकृति परिबर्तन गर्ने गर्दछ जसलाई बैज्ञानिक भाषामा म्यूटेसन (Mutation) भनिन्छ। म्यूटेसनकति छिटो र कति धेरै हुन्छ भन्ने कुरा भाइरस पिच्छे फरक फरक हुन्छ र यही म्यूटेसनको माध्यमबाट कुनै पनि भाइरस नया वाताबरणमा कसरी टिक्ने या समयसंगै कसरी बलियो भएर आउने भन्ने शक्ति प्राप्त गर्दै जान्छ। यसै नया शक्तिको कारणले गर्दा एक चोटी निर्मूल भएको भाइरस फेरि फेरि बलियो भई दोस्रो तेस्रो लहर पैदा गर्न सक्षम भएर आउँदछ। सामान्यतया भाइरस दुई प्रकारका हुन्छन आरएनए (RNA)र डिएनए (DNA) भाइरस। SARS-CoV-2, SARS, MERS, HIV, इन्फ्लुएन्जा (Influenza virus), हेपाटाइटिस (Hepatitis Virus), आदि RNA भाइरस हुन् भने स्मलपक्स (Small Pox), हर्पिस (Herpes) आदि DNA भाइरस हुन्।
RNA भाइरसहरुमा DNA भाइरसको दाँजोमा म्यूटेसनको दर अति धेरै हुन्छ जसले गर्दा RNA भाइरसले गर्ने रोग प्राय दुरगामी असर पर्ने, पुरानो औषधिले काम नगर्ने र भ्याक्सिन पत्ता लगाउन गार्हो हुने खालका हुन्छन।वर्तमान प्यान्डेमिकको कारक जीवाणु भाइरस SARS-CoV-2 पनि एक RNA भाइरस भएको हुनाले यसले हाम्रो समाजमा दुरगामी असर पारिराखेको छ र यसको उपचार, निर्मूलीकरण र उन्मुलनमा कठीनाई भइराखेको छ।
म्युटेसनको कुरा गर्दा हिजोआज देखिने गरिएको कोरोना भाइरस चीनबाट उत्पत्ति भएको कोरोनाभन्दा फरक देखिएको छ जुन म्यूटेसनकै कारणले हो। हिजोआज देखिने कोरोना भाइरस पहिलाकोभन्दा कम घातक तर बढी तेजले या छिटो एकबाट अर्कोमा सर्ने खालको देखिएको छ र यो नया कोरोना भाइरस यूरोपबाट उत्पत्ति भएको विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएको छ जसले गर्दा यो संसारभरि फैलिरहेको छ र यसैले गर्दा यूरोप अमेरिकामा दोस्रो तेस्रो लहर देखा परिरहेको छ।
यी सबै कुराहरुको अध्ययन,पहिचानर निवारण परीक्षणबाटै सम्भव हुन्छ। त्यसैले गर्दा डब्लूएचओले प्यान्डेमिकमा परीक्षणका विभिन्न मापदण्ड र मार्गदर्शनको तयार गरेको छ जुन सबै देशले मान्नु र नियमन गर्नु जरुरी छ।
प्यान्डेमिकको अवस्थामा या प्यान्डेमिकको कारक भाइरसको म्यूटेसनअत्यधिक हुन्छ जसले गर्दा भाइरस छिटो छिटो एकबाट अर्कामा सर्ने मात्रै होइन भाइरसको वृद्धि पनि गुणात्मक हिसाबले हुन्छ। वाताबरण अनुसार पनि भाइरसको म्यूटेसनफरक पर्ने भएको हुनाले विभिन्न देशका वैज्ञानिकहरुले आफ्नो देशको वाताबरणमा भाइरसको म्यूटेसन कस्तो हुन्छ भनी अध्ययन र अनुसन्धान गरी सोही अनुसारको उपचार प्रबिधिको विकास गर्दछन। त्यसको लागि पनि धेरैभन्दा धेरै संक्रमितको अध्ययन गर्नु पर्ने हुन्छ र त्यसको लागि धेरैभन्दा धेरै कोरोना परीक्षण गर्नु पर्ने हुन्छ। त्यस अर्थमा पनि परीक्षणको महत्व यस्ता प्यान्डेमिकको अवस्थामा धेरै हुन्छ।
विकसित देशहरुमा यसरी कुनै पनि रोगको बिस्तृत अध्ययन गरी रोगको प्रकोप घटाउने प्रयास गरिन्छ भने कम बिकसित देशमा बिबिध कारणले यस्ता परीक्षण र अध्ययन कम गरिन्छ जसले गर्दा रोगको कारण र प्रकोप पत्ता लगाउन सकिंदैन। कम बिकसित देशमा जनतालाई रोग लागि नै रहेको हुन्छ, मानिस मरिरहेकै हुन्छन जसको लेखाजोखा गर्ने फुर्सद र चासो त्यहाका सरकारलाई हुँदैनन अरु कसैले त्यसको खोजतलास नै गर्दछन।
विश्वका कुनै पनि देशलाई आफ्नो देशमा वास्तबमा जम्मा कति जना संक्रमित छन् थाहा छैन या हुँदैन।केवल पहिचान भएका संक्रमितहरुको अवस्थाको बारेमा मात्रै थाहा छ या हुन्छ।जसलाई संक्रमण भएको छ उसको बारेमा र उसलाई लागेको कोभिडको बारेमा सबै कुरा थाहा पाउन सकिन्छ तर जसको परीक्षण भएको छैन उसको बारेमा केही थाहा हुँदैन र उसले चुपचाप अरुलाई संक्रमण प्रसारण गरिरहेको हुन्छ।त्यसकारणले पनि यस्तो प्यान्डेमिकको अवस्थामा जति सकिन्छ उति धेरै परीक्षण गर्न जरुरी हुन्छ। जसलाई परीक्षण गरेर संक्रमण देखिन्छ, तिनीहरु मात्र संक्रमितको रुपमा गणना गरिन्छन।
यसको अर्थ यो हो कि कुनै पनि देशमा जम्मा संक्रमित कति छ भन्ने कुरा जम्मा परीक्षण कति गरियो भन्नेमा भर पर्दछ। परीक्षण बिना कुनै गणना या तथ्यांक नै हुँदैन। कसलाई संक्रमण भएको छ भन्ने जानकारी नभएसम्म प्यान्डेमिकको विषयमा बिस्तृत विवरणको जानकारी पाउन सकिंदैन। प्यान्डेमिकका सम्बन्धमा कुनै पनि तथ्यांकको ब्याख्या या अनुबाद गर्न परीक्षण कति गरिएको छ भन्ने कुरा अत्यन्तै जरुरी हुन्छ। त्यही तथ्यांक र त्यसको विश्लेषण र नतिजाको आधारमा उपचार र रोकथामका उपायहरु र दिर्घकालिन योजनाहरु तर्जुमा गरिन्छन र कार्यान्बयन पनि।
इतिहासमा यस्ता प्यान्डेमिक धेरै आए र गए पनि। विश्वले यस्तै गएका प्यान्डेमिकको अध्ययन गरी भबिष्यमा आउन सक्ने प्यान्डेमिकको नियन्त्रणका बारेमा योजना बनाई प्रबिधिको विकास गर्दछन। तर नेपाल जस्तो कम बिकसित देशमा प्रबिधि भित्रिन गार्हो हुन्छ र महँगो पनि। उदाहरणको लागि कोभिडको भ्याक्सिन नेपाल जस्तो देशमा आउन करीब १ वर्ष समय लाग्न सक्ने कुरा डब्लूले भनिसकेको छ। तसर्थ हाम्रो जस्तो कम विकसित र स्रोतसाधन कम भएको देशले आफ्नै, आफ्नो भूगोल, सामाजिक र आर्थिक स्तर सुहाउँदो योजना, नीति, प्रबिधि आदिको विकास गर्नु पर्दछ जुन भविष्यको लागि उपयोगीसिद्ध होस्।
त्यस अर्थमा वर्तमान प्यान्डेमिक हामी सवैको लागि एक स्वर्णिम अवशर हो यस्तो विपदको अध्ययन र अनुसन्धान गरी नया पुस्तालाई केही सिकाउनको लागि। त्यसको लागि पनि अहिले कोरोनाको प्रसस्त परीक्षण गरी प्यान्डेमिकको गहन अध्ययन गरी हाम्रो परिप्रेक्षमा प्यान्डेमिकसँग कसरी लड्ने भन्ने नीति तर्जुमा गर्नु पर्दछ। यही कुरा हाम्रा भबिष्यका पुस्ताको लागि राम्रो उपहार हुन सक्दछ।
वर्तमान प्यान्डेमिकको अवस्थालाई असर होइन अवशरको रुपमा, सन्त्रासलाई शक्तिको रुपमा, कमजोरीलाई कर्तब्यको रुपमा, अभाबलाई अविष्कारको रुपमा , अराजकलाई अनुशासनको रुपमा, असमझदारीलाई समझदारीको रुपमा , तनाबलाई ताकतको रुपमा र समस्यालाई समाधानको रुपमा लिनु पर्दछ।
विश्वमा कोभिड प्यान्डेमिक सुरु भएसंगै नेपालमा पनि यसले आतंक मच्चाएको करीब ७ महिना बितिसकेको छ। नेपालमा कोरोना संक्रमणको पहिलो केस (व्यक्ति) २०७६ साल माघ ९ गते देखिएको र लकडाउन चैत्र ११ गते अर्थात् मार्च (March) २४मा सुरु गरिएतापनि प्यान्डेमिकको वास्तविक असर २०७७ साल जेष्ठ महिनाको सुरुवात अर्थात् मे (May) महिनाको मध्यतिरबाट सुरु भएको थियो। जेष्ठ २९ गतेसम्म Lockdown कायमै गरी त्यसपछि केही खुकुलो गरियो।
यसरी ७९ दिनको लामो Lockdownले त्यति बेला कोरोना संक्रमण र त्यसको समाजमा प्रसारण केही नियन्त्रण गरेतापनि त्यसले नेपाली समाजको सामाजिक र आर्थिक अवस्थालाई ठूलै क्षति पुर्यायो। त्यति मात्र नभइ त्यति लामो Lockdownले नेपालमा कोरोना प्यान्डेमिकलाई नियन्त्रण र रोकथाम पनि गर्न सकेनजुन अहिले हामी भोगिरहेका छौं। त्यसको मूल कारण Lockdownको समयमा प्रसस्त गृहकार्य र तयारी नगर्नु नै हो। त्यसपछि थप ४१ दिनको Lockdown निरन्तर गरी अन्त्यमा श्रावण ७ गते केही प्रतिबन्ध सहित Lockdownको अन्त्य गरियो। ती केही प्रतिबन्ध हालसम्म पनि कायमै थिए।यसरी नेपालमा १२० दिन अर्थात् ४ महिनाको Lockdown नेपालको इतिहासमा श्मरणयोग्य हुनेछ।
यस दौरान नेपाल सरकारको पछिल्लो तथ्यांक अनुसार नेपालमा हालसम्म २५३१८४जना मानिसलाई यो रोग लागिसकेको छ जसमा ३४.५% महिला र६५.५%पुरुष छन्। त्यस्तै १७७७ जनाले यसै रोगका कारण ज्यान गुमाईसकेका छन् जसमा करीब ३०% महिला र ७०% पुरुष छन्। त्यस अर्थमा नेपालको हालको कोरोना मृत्यूदर (Cumulative death rate) करीब ०.७% छ। हालसम्म नेपालमा १८६६२१० जनाको PCR परीक्षण गरिएको छ भने औसतमा समग्र संक्रमण दर अर्थात् पोजिटिभिटी (Cumulative positivity) १३.५ % जति देखिएको छ।
यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता,डिसेम्बर१३देखि१९ तदनुसारमंशिर २८ देखि पौष ४सम्मजम्मा ७ दिनकोविश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ।
यस लेखमा उदृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन होप्किन्स विश्वविद्यालय (John Hopkins University), डब्लू , ओल्ड़ोमिटर (Worldometer) आदि।
यस लेखको उदेश्य कोरोनासम्बन्धी तथ्यांकलाई सहि रुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकवर्ग समक्ष पुर्याउनु हो।
गत हप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि उताभचढ़ाभ हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौं।
दैनिक नयाँ संक्रमण
यो हरेक दिन नेपालमा देखिएका या देखिने नया संक्रमितहरुको संख्या हो। गत हप्ता डिसेम्बर १३ देखि १९ तदनुसार मंसीर २८ देखि पौष ४सम्म जम्मा ७ दिनको नेपाल भरि र काठमाडौँ उपत्यकाको नया संक्रमितको संख्या चित्र न.१मा प्रस्तुत गरिएको छ।
नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ता सात दिनमा देशभरि जम्मा ५५९१जना र काठमाडौँ उपत्यकामा २४४१ नया संक्रमित भेटिए भने त्योभन्दा अगाडिको हप्ता सात दिनमा देशभरि जम्मा ७७०८र काठमाडौँ उपत्यकामा ३३७९नया संक्रमित भेटिएका थिए। माथिको तथ्यांकको आधारमा भन्ने हो गतहप्ता त्योभन्दा अगाडिको हप्ताको दाँजोमा देशभरि र काठमाडौँ उपत्यकामा संक्रमितको संख्या निकै घटेको पाइयो।
त्यस्तै मृत्यू हुनेको संख्या गतहप्ता जम्मा ८८ थियो भने त्योभन्दा अगाडिको हप्ता११२थियो जुन गतहप्ता त्योभन्दा अगाडिको हप्ताको दाँजोमाघटेको हो। त्यस्तै काठमाडौँ र नेपालको अनुपात केलाउने हो भने चित्र न. २ मा देखाइए जस्तै नेपालभरिको दाँजोमा काठमाडौँ उपत्यकाको नया संक्रमण अनुपात ३६.७देखि ५३.१३सम्म रह्यो भने त्यो भन्दा अगाडिको हप्ता यो अनुपात ३२.२% देखि ५३.६२% सम्म रहेको थियो।
गत हप्ता नेपालभरिको संक्रमितको दाँजोमा काठमाडौँ उपत्यकाको संक्रमितको अनुपात औसतमा करीब ४४% थियो भने त्योभन्दा अगाडिको हप्ता यो औसत अनुपात करीब ४५%थियो। यसरी देशभरिको दाँजोमा काठमाडौँको नया संक्रमितको अनुपात बिगत केही हप्तादेखि घट्दै गएको देखिन्छ।
माथि उल्लेखित तथ्यांक र त्यसको विश्लेषणको आधारमा देश र काठमाडौँको प्यान्डेमिक प्रबृत्ति (Pandemic trend)ले कस्तो रुप लिइराखेको छ बुझ्न कठिन भएता पनि यसले अर्को अर्थ के लगाउँछ भने सिंगो देशमा काठमाडौँको कोभिडको अनुपात घट्दै जानु भनेको काठमाडौँ बाहिरको अनुपात बढ्दै जानु हो।
पछिल्लो समय परीक्षणमा किन कमी गरियो त्यसको सहि कारण खुलेको देखिन्दैन। तर त्यसले गर्दा प्यान्डेमिक लुकेर बस्ने सम्भावना भने पक्कै पनि हुन्छ। प्रयाप्त परीक्षण गर्दा गर्दै दैनिक नया संक्रमित र नया मृत्यु घट्दै गएमा त्यसले सही मानेमा प्यान्डेमिक घटेको अर्थ लाग्छ। अस्ट्रेलिया त्यसको उदाहरण हो। तर अप्रयाप्त परीक्षण गरेर दैनिक संक्रमित जति नै घटे पनि त्यसले समाजमा प्यान्डेमिकको वास्तविक अवस्था देखाउदैन।नेपाल त्यसको उदाहरण हो।
असोज महिनको मध्यतिर काठमाडौँको कोभिड अनुपात औसतमा ६०-७०% सम्म पुग्थ्यो भने पछिल्लो समयमा यो अनुपात ४४% मा झरी गत हप्ता न्युनतम ३६% सम्म पुग्यो। नेपाल सरकारले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यका पछि कोभिड संक्रमण ज्यादा देखिएका जिल्लाहरुमा कास्की, लम्जुङ्ग, रुपन्देही, मोरङ, झापा, सुनसरी, धनुषा आदि पर्दछन्।
तर काठमाडौँ उपत्यका र देशका अरु प्रमुख सहरहरुमा प्यान्डेमिकको वास्तविक असर कत्तिको छ थाहा पाउन ती सहरहरुमा कति परीक्षण गरियो र कतिमा पोजिटिभ देखियो, त्यस्तै प्रत्येक सहरमासंक्रमितको कन्ट्याक्ट ट्रेसिंग कत्तिको गरियो,लक्षित समूहमा परीक्षण पुग्यो कि पुगेन आदि डब्लूको मापदण्ड अनुसार नापेर हेर्नु पर्दछ।
दैनिक संक्रमण पोजिटिभिटी दर(Positivity Rate)
प्यानडेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी दर एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँदछ। पोजिटिभिटीदरको बारेमा माथि रंगिएका अंकहरुमा बिस्तृत जानकारी गराइसकेको छ। त्यसको लागि कृपया यस शृंखलाका गएका अंकहरु पनि हेर्नु होला।
नेपालको गएको हप्ताको दैनिक संक्रमण पोजिटिभिटी दर चित्र न. ३ मा देखाइएको छ। गत हप्ता पनि नेपालको प्यान्डेमिक निरन्तर रुपमा कायम रहेता पनि केही तल झर्दै गएको देखिन्छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम ११.७८% देखि अधिकतम १६.०२% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर१४.०% रह्यो। दुई हप्ता अगाडिको पोजिटिभिटी दर १४.०८% र १७.१५%काबीच रही त्यो साताको औसत पोजिटिभिटी दर १६.०% रहेको थियो।
गतहप्ता देशभरि जम्मा ४०३५० परीक्षण गरियो भने त्यो भन्दा अगाडिको हप्ता जम्मा ४७८३६परीक्षण गरिएका थिए। त्यस अर्थमा गत हप्ता त्योभन्दा अगाडिको हप्ताको दाँजोमा जम्मा परीक्षण करीब १६%ले कम गरियो।
नेपाल सरकारले जानकारी दिए अनुसार नेपालको जम्मा परीक्षण क्षमता करीब २०००० प्रति दिन भएता पनि हाल नेपालमा दैनिक औसतमा करीब साढे पांच हजार जति मात्र परीक्षण गरिंदै आएको छ। पौष ४ गते अर्थात् गत शनिबार देशभरि जम्मा करीब ४७८०मात्र परीक्षण गरिएको थियो।यो नेपालमा प्यान्डेमिक सुरु भएपछिकै सबैभन्दा कम परीक्षण हो।
योभन्दा अगाडि कार्तिक १० गते दशैंको बिजया दशमीको दिन परेको हुनाले सबै भन्दा कम परीक्षण, मात्र ५००६ परीक्षण गरिएको थियो जस मध्ये ३४%लाई संक्रमण देखिएको थियो। परीक्षण नै कम गरेपछि वास्तविक रोग र यसको कारणले हुने मृत्यू पनि कम मात्रामा भेटिन्छ। तसर्थ वास्तविक कुरा बुझी आफै सजग भई साबधानी र होशियारी अपनाउनु नै बुद्धिमत्तापूर्ण कार्य हुने देखिन्छ।
विश्वका केही देशहरुका पछिल्लो औसत संक्रमण दर अर्थात् पोजिटिभिटी हेर्ने हो भने जोन्सहप्किन्स विश्वविद्यालय (Johns Hopkins University)का अनुसारबंगलादेशको१०.६३%,पाकिस्तानको ७.०८%,माल्दिभ्सको २.७६%, श्रीलंकाको४.०९६%,भारतको २.७१%, नेपालको१५.४५%,र अमेरिकाको ११.५२%छ।
यसबाट के देखिन्छ भने नेपाल अझै पनि दक्षिण एसिया र विश्वका अन्य मुलुकको तुलनामा प्यान्डेमिक नियन्त्रण अति कम्जोर रहेको र यसको जोखिम उच्च रहेको देशमा पर्दछ।दक्षिण एसियाका मुलुकहरुमा भारत, माल्दिभ्स , श्रीलंका रभुटान प्यान्डेमिक नियन्त्रण गर्न सफल राष्ट्रका रुपमा देखिन्छन भने पाकिस्तानको अवस्था पनि सुधारुन्मुख देखिन्छ। बंगलादेश र नेपालले भने हालसम्म प्यान्डेमिक नियन्त्रण राम्ररी गर्न नसकेको देखिन्छ।
डब्लूका अनुसार प्यान्डेमिक नियन्त्रण गर्न कन्ट्याक्ट ट्रेसिंग परीक्षण प्रति नया संक्रमित व्यक्ति (Test per new confirmed case) कम्तिमा १० जनाको गर्नु पर्दछ भने पोजिटिभिटी कम्तिमा २ हप्तासम्म ५% भन्दा कम कायम भएमा प्यान्डेमिक नियन्त्रण भएको मानिन्छ। आओर ओर्ल्ड इन डाटा (Our Wolrd in data)का अनुसार पछिल्लो समयको कन्ट्याक्ट ट्रेसिंग परीक्षण प्रति नया संक्रमित व्यक्ति नेपालमा करीब ७, भारतमा ३८, बंगलादेशमा १०, पाकिस्तानमा १४, श्रीलंकामा २० , माल्दिभ्समा ३३ परीक्षण गर्ने गरिएको छ। यो परीक्षण जति धेरै गर्यो उति प्यान्डेमिक पत्ता लगाउन र नियन्त्रण गर्न सजिलो हुन्छ।
त्यस्तै यो परीक्षण जति कम गरियो उति प्यान्डेमिक पत्ता लगाउन गाह्रो हुन्छ अर्थात् प्यान्डेमिक लुकेर बस्छ। माथिको तथ्यांक अनुसार पनि नेपाल परीक्षण अति कम गर्ने मात्र होइन डब्लूको मार्गदर्शन पालना नगर्ने देशमा पनि पर्दछ। यूरोप र अमेरिकामा पनि यो परीक्षण त्यति धेरै गरेको पाइन्दैन भने अस्ट्रेलिया, न्युजिल्यान्ड, कोरिया आदि अत्यधिक परीक्षण गर्ने देशमा पर्दछन।
समग्रमा गत हप्ताकोआंकडा हेर्दा नेपालमा प्यान्डेमिकको उकालो केही ओरालो लाग्न लागेको देखिन्छ। गत हप्ताको दैनिक जम्मा संक्रमितको संख्या २ हप्ता अगाडिको साताको जम्मा संक्रमित भन्दा कम देखिएको छ। त्यस्तै गत हप्ताको जम्मा मृत्यू पनि कम देखिन्छ। तर यसरी कोभिड संक्रमित र मृत्युको संख्या कोभिडका कारण घट्दै जानुको एक प्रमुख कारण कम परीक्षण गर्नु नै हो।
पछिल्लो समय परीक्षणमा किन कमी गरियो त्यसको सहि कारण खुलेको देखिन्दैन। तर त्यसले गर्दा प्यान्डेमिक लुकेर बस्ने सम्भावना भने पक्कै पनि हुन्छ। प्रयाप्त परीक्षण गर्दा गर्दै दैनिक नया संक्रमित र नया मृत्यु घट्दै गएमा त्यसले सही मानेमा प्यान्डेमिक घटेको अर्थ लाग्छ। अस्ट्रेलिया त्यसको उदाहरण हो। तर अप्रयाप्त परीक्षण गरेर दैनिक संक्रमित जति नै घटे पनि त्यसले समाजमा प्यान्डेमिकको वास्तविक अवस्था देखाउदैन।नेपाल त्यसको उदाहरण हो।
यस शृंखला तथा यस लेख नेपालमा साप्ताहिकरुपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपालर विश्वमा प्यान्डेमिकको बारेमा तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएको कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक बिरुद्धको हाम्रो लडाईं जारी छ, होशियारी पूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।