
कुनै पनि भाइरसले आफ्नो प्रकृति र प्रजाति बेलाबेलामा परिवर्तन गरिरहन्छ जसलाई वैज्ञानिक भाषामा म्युटेसन (Mutation) भनिन्छ । म्युटेसनको बारेमा यस शृंखलाका गएका अंकहरुमा पनि चर्चा भइसकेको छ ।
यसरी म्युटेसन हुने क्रममा वर्तमान प्यान्डेमिकका कारक जीवाणु कोरोना भाइरसको पनि धेरै चोटी म्युटेसन भइसकेको छ। एकचोटी फेरि प्यान्डेमिकलाई परिभाषित गर्ने हो भने यो एउटा चिकित्सा विज्ञानमा प्रोयोग हुने वैज्ञानिक शब्द हो जसको अर्थ हुन्छ कुनै रोगको महामारी या प्रकोप जसले भूगोलको ठूलो हिस्सामा फैलिई जनधनलाई नराम्ररी असर गरेको हुन्छ । तर हाल यो शब्द वैज्ञानिकभन्दा पनि एउटा आम शब्द बनिसकेको छ।
कहिलेकाहीँ म्युटेसनद्वारा नयाँ प्रजाति उत्पन्न हुन्छ र भाइरस लोप भएर जान्छ भने कहिलेकाहीँ नया प्रजाति उत्पन्न भएपछि भाइरस बढी आक्रामक बनी फेरिफेरि मानव जातीलाई संक्रमण गर्दछ । बेलायतको कोरोना भाइरसको वंशाणुगत तत्व, जिन (Gene),को अध्ययन गर्ने एक संस्था, Covid-19 Genomics UK (COG-UK), का अनुसार कोरोना भाइरसको अहिलेसम्म ४ हजारभन्दा धेरै म्युटेसन भइसकेको छ ।
यसरी म्युटेसन हुँदा कोरोना भाइरसको सतहमा भएको प्रोटिनको काँडा (SpikeProtein)मा परिवर्तन आएको देखिएको छ । यी प्रोटिनका काँडाको सहायताले भाइरस हाम्रो शरीरको विभिन्न अंग तथा तन्तुभित्र छिर्न सक्दछ । यही कारणले गर्दा कोरोना भाइरसले मानव शरीरका विभिन्न अंगहरुलाई असर गर्न सकेको हो। यसरी म्युटेसन हुँदा कोरोनाका प्रोटिनका काँडामा परिवर्तन आई यो भाइरस अझै बढी शक्तिशाली हुँदै जान्छ । कोरोना भाइरसको धेरै जसो म्युटेसनले यसको प्रकृतिमा सामान्य बाहेक विशेष प्रकारको परिवर्तन ल्याएको देखिएको छैन।
तर पछिल्लो समयमा कोरोना भाइरसको म्युटेसन हुने क्रममा एक फरक प्रकृतिको भाइरसको उत्पन्न भएको कुरा COG-UKले पत्ता लगाएको छ। COG-UKका अनुसार यो प्रजाति सन् २०२० डिसेम्बरको सुरुवातीमा बेलायतका विभिन्न ठाउँहरुमा, मुख्यतया बेलायतको दक्षिणपूर्वी ठाउँबाट उत्पन्न भई तुरुन्तै वेल्स (Wales) र स्कटल्याण्ड (Scotland) मा पनि भेट्टिएको थियो ।
बेलायतका केही वैज्ञानिकहरुका अनुसार यो नयाँ प्रजाति सन् २०२०को सेप्टेम्बर तिरै उत्पन्न भई नोभेम्बर सम्ममा यो धेरै फैलिइसकेको देखिन्छ। यद्यपि यसको केही बिस्तृत जानकारी डिसेम्बरमा मात्रै आयो र यसको नाम VUI २०२०१२/१ राखिएको छ । VUI २०२०१२/१ को अर्थ हो Variant Under Investigation in December 2020।
ब्रिटिश मेडिकल जर्नलका अनुसार यस नयाँ भाइरसको जिनमा करिब १७ सेटको म्युटेसन भएको छ जसले भाइरसको प्रोटिनका काँडामा थप परिवर्तन ल्याएको छ जसले गर्दा भाइरस बढी संक्रामक हुने र एक व्यक्तिबाट अर्कोमा अझ छिटो सर्ने हुन सक्ने संका गरिएको छ ।
ब्रिटिश मेडिकल जर्नलका अनुसार COG-UKले कोरोना भाइरसका करिब १४०००० वंशाणुगत तत्व (gene)को अध्ययन गरेर यस नयाँ भाइरस पत्ता लगाएको हो । पछिल्लो समयमा जसरी बेलायत र यूरोपभरि कोभिड संक्रमण अत्यधिक बढेर गयो र गइरहेको छ त्यसमा यस नयाँ प्रजातिको संलग्नताको आशंका गरिएको छ।
उक्त जर्नलले एक श्रोतलाई उद्धृत गरे अनुसार यस नयाँ प्रजाति बेलायतबाटै उत्पन्न भएको हो, अन्तबाट आएको कुनै प्रमाण भेट्टिएको छैन र बेलायतमा डिसेम्बरको मध्यसम्ममा देखिएका कोरोना संक्रमण मध्ये ठाउँ हेरिकन १०-२०% मा यो नयाँ प्रजाति भेट्टिएको थियो। अध्ययनहरुका अनुसार यस नयाँ प्रजातिले पुरानो प्रजातिलाई द्रुत गतिमा विस्थापन गरिरहेको देखिएको छ। बेलायतमा नोभेम्बर महिनामा यस नयाँ प्रजाति करिब तीन गुणाले बढेको पाइएको थियो भने पुरानो प्रजाति क्रमश: कम देखिँदै गएको थियो यद्यपि त्यति बेला यस नयाँ प्रजातिको बारेमा केही थाहा थिएन।
हाल यस प्रजातिको अनुपात क्रमश: बढ्दै गएको देखिन्छ जसले गर्दा यस प्रजातlले वर्तमान प्यान्डेमिकलाई झन् बढाउँदै लगेको शंका गरिएको छ। पछिल्लो समयमा बेलायतको लण्डनमा प्रत्येक १० मध्ये ६ जनामा कोरोना भाइरसको यस नयाँ प्रजाति भेट्टिएको कुरा अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (CDC)ले जनाएको छ ।
यस नयाँ प्रजातिको बारेमा धेरै कुरा थाहा नभइसकेता पनि यसले अझ बढी कडा खालको कोभिड रोग लगाउँदछ र यो बढि घातक हुन्छ भन्ने प्रमाण हालसम्म नपाइएको कुरा पनि ब्रिटिश मेडिकल जर्नलले अन्य श्रोतबाट उद्धृत गरेको छ।
यस नयाँ प्रजातिले बढि घातक र बढी कडा खालको कोभिड रोग नलगायता पनि यो प्रजातिको कारणले कोरोना संक्रमण कैयौँ गुणा बढी तीब्र गतिमा एकबाट अर्कामा फैलिने कुरा भने London’s Imperial College को अध्ययनले देखाएको छ । उक्त संस्थाका अनुसार यस नयाँ प्रजातिको संक्रमण दर पुरानो भन्दा ७०% सम्म धेरै देखिएको छ।
त्यस्तै हाल उत्पादन भइरहेको कोरोना भाइरस भ्याक्सिनले यस नयाँ प्रजातिको विरुद्धमा काम गर्छ कि गर्दैन भन्नेमा पनि अहिले नै केही भन्न नसकिने कुरा उक्त जर्नलले बताएको छ। यद्यपि कोरोना भाइरसमा आएको यो परिवर्तनकै कारण हालै विकास गरिएको यसको भ्याक्सिन र उपचारले यस नयाँ प्रजातिका विरुद्ध काम गर्न नसक्ने कुनै विशेष कारण नभएको सम्बन्धित वैज्ञानिकहरुको धारणा भएको देखिन्छ ।
हाल आएर बेलायतमा उत्पन्न भएको यस प्रजाति बेलायत र यूरोप बाहेक अमेरिका र जापान , कोरिया , भारत , चीन,नेपाल लगायत एसियाका थुप्रै देशहरुर अन्य महादेशहरुमा पनि देखिइसकेको छ भने पछिल्लो समयमा अमेरिकाको कोलोराडोमा बेलायत या अन्य कुनै पनि देश भ्रमण नगेरेको एक मानिसमा पनि यो नयाँ प्रजाति देखिएको छ।
कोरोना प्यान्डेमिकको वर्तमान विश्वमान चित्र हेर्ने हो भने विश्वमा हालसम्म करिब साढेआठ करोड मानिसमा कोरोना संक्रमण भइसकेको छ भने यसै संक्रमणका कारण २० लाखभन्दा अलि कम मानिसको मृत्यु भइसकेको छ। हाल विश्वमा दैनिक करिब ५ देखि ७ लाख मानिसमा कोरोना संक्रमण भइरहेको छ भने दैनिक ९ देखि १३ हजार जनाको मृत्यु भइरहेको छ।
ओर्ल्ड़ोमिटर (Worldometer) का अनुसार हालसम्ममा सबैभन्दा धेरै एकै दिन डिसेम्बर ३१ का दिन ७४५००० भन्दा धेरैलाई कोरोना संक्रमण भएको थियो भने सोही दिन एकै दिनमा १५००० भन्दा धेरैको मृत्यु भई कोरोनाको इतिहासमा हालसम्मकै उच्च कीर्तिमान कायम भएको थियो।
नेपालमा हाल ५ सय देखि ६ सय दैनिक कोरोना संक्रमण र ५-९ जना दैनिक मृत्यू देखिने गरेको छ। WHO का अनुसार अहिलेसम्मको विश्वको जम्मा समग्र मृत्यु दर (Cumulative death rate) करिब २.२ % छ भने पछिल्लो समयमा मृत्यु दर केही घटी २%भन्दा कम देखिएको छ। त्यस्तै नेपलाको जम्मा समग्र मृत्यू दर ०.७% जति छ भने पछिल्लो समयमा मृत्यु दर करिब १% को नजिक छ ।
चित्र न. १ मा विश्वका विभिन्न भौगोलिक क्षेत्र अनुसार कोरोना संक्रमणको अनुपात देखाइएको छ । चित्रमा देखाइए अनुसार अमेरिका महादेश (उत्तर/दक्षिण)मा सबैभन्दा धेरै कोरोना संक्रमण, झण्डै विश्वको आधाभन्दा केही कम ४३% देखिएको छ जसमध्ये करिब १५% सेन्ट्रल र दक्षिण (ल्याटिन)अमेरिका र २९% मेक्सिकोसहितको उत्तर अमेरिकामा रहेका छन्।
अफ्रिका महादेशमा विश्वको करिब ३% मात्र कोरोना संक्रमण देखिएको छ। यसरी जम्मा कोरोना संक्रमितको आधारमा विभिन्न महादेशहरु, चित्र न.२ मा देखाइए जस्तै,यूरोपमा करिब ३२%, उत्तर अमेरिका २९%, एशिया २०.५ %, दक्षिण अमेरिका १५% , अफ्रिका ३% र अस्ट्रेलिया ०.५% गरी क्रमश: पहिलो देखि छैठौं स्थानमा रहेका छन् भने देशहरुमा, चित्र न. ३ मा देखाइए जस्तै, अमेरिका २४%, भारत १२%, ब्राजिल ९%, रसिया ३.५%, फ्रान्स ३.१ % , बेलायत ३%, टर्की २.६%, इटाली २.५%, स्पेन २.३% र जर्मनी २% गरी क्रमसः पहिलो देखि दसौं स्थानसम्म रहेका छन् ।
तर जम्मा कति संक्रमित देखिए अथवा दैनिक कति संक्रमित देखिए भन्ने कुरा दैनिक कति परीक्षण गरियो भन्ने कुरामा प्रत्यक्ष भर पर्ने हुनाले यी पहिलो १० स्थानमा परेका देशहरुको दैनिक परीक्षण हेर्दा, चित्र न. ४ मा देखाइए जस्तै, फ्रान्समा प्रति एक हजार ५.७, बेलायत ५.५ , अमेरिका ३ , स्पेन २.९, रसिया २.९, टर्की २.१, इटाली २, जर्मनी १.८, भारत ०.७ गरी क्रमश: पहिलोदेखि नवौं स्थानसम्म पर्दछन् भने ब्राजिलको वास्तविक परीक्षण तथ्यांक स्पष्ट छैन।
पछिल्लो समयमा ब्राजिल कोरोनाको अत्यधिक संक्रमण भइरहेको, परिक्षण कम गरिएको र संक्रमण नियन्त्रण त्यति राम्रो नभएको देशमा पर्दछ ।
त्यस्तै चित्र न. ५मा अमेरिका र दक्षिण यसियाली देशहरुमा विश्वको दाँजोमा कोरोना संक्रमणको अनुपात देखाइएको छ। चित्रमा देखाइए जस्तै नेपालमा विश्वको जम्मा कोरोना संक्रमणको करिब ०.३१% रहेको छ भने भुटानमा हालसम्म संक्रमित अति कम देखिएको छ, विश्वको करिब ०.००१%/ भुटानमा पछिल्लो समयमा जम्मा संक्रमितको संख्या ६८९ पुगेको छ, परीक्षण पनि प्रशस्त गरिएको छ र हासम्म कोरोना संक्रमणको कारणले भएको मृत्यु सुन्ना छ ।
यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता, डिसेम्बर २७ देखि जनवरी २ सम्म(पौष १२देखि१८)जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ ।
यस लेखमा उद्धृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन् । जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन होप्किन्स विश्व विद्यालय (John Hopkins University), WHO , ओल्ड़ोमिटर(Worldometer) आदि । यस लेखको उद्ध्यश्य कोरोना सम्बन्धी तथ्यांकलाई सहि रुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सहि चित्रलाई पाठकवर्ग समक्ष पुर्याउनु हाे ।
गत हप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि उतारचढाव हुने क्रम जारी रह्यो /निम्न केही तथ्यांककोआधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौँ ।
दैनिक नयाँ संक्रमण
यो हरेक दिन नेपालमा देखिएका/देखिने नयाँ संक्रमितहरुको संख्या हो । गत हप्ता डिसेम्बर २७ देखि जनवरी २ (पौष १२देखि१८)सम्म जम्मा ७ दिन नेपालभरि र काठमाडौँ उपत्यकाको नयाँ संक्रमितको संख्या चित्र न.६ मा प्रस्तुत गरिएको । नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ता सात दिनमा देशभरि जम्मा ३७३८ जना र काठमाडौँ उपत्यकामा १७६४ नयाँ संक्रमित भेटिए भने त्यो भन्दा अगाडिको हप्ता सात दिनमा देशभरि जम्मा ४५१६र काठमाडौँ उपत्यकामा २०२२ नयाँ संक्रमित भेटिएका थिए। माथिको तथ्यांकको आधारमा भन्ने हो गत हप्ता त्यो भन्दा अगाडिको हप्ताको दाँजोमा देशभरि र काठमाडौँ उपत्यकामा संक्रमितको संख्या निकै घटेको पाइयो।
त्यस्तै मृत्यु हुनेको संख्या गतहप्ता जम्मा ५१ थियो भने त्यो भन्दा अगाडिको हप्ता ४२ मात्र थियो जुन गतहप्ता त्यो भन्दा अगाडिको हप्ताको दाँजोमा बढेको हो। साताभरि संक्रमण घट्दै गएको अवस्थामा मृत्यु बढ्नु भनेको निश्चय पनि सुखद समाचार होइन र यसले नेपालमा प्यान्डेमिकको वास्तविक अवस्थामाथि शंका उत्पन्न गराउँदछ ।
त्यस्तै काठमाडौँ र नेपालको अनुपात केलाउने हो भने चित्र न. ७ मा देखाइए जस्तै नेपालभरिको दाँजोमा काठमाडौँ उपत्यकाको नयाँ संक्रमण अनुपात न्यूनतम ३६.७५देखि अधिकतम६१.०६%सम्म रह्यो भने त्यो भन्दा अगाडिको हप्ता यो अनुपात ३९.८%देखि ५३.४१% सम्म रहेको थियो ।
गतहप्ता नेपालभरिको संक्रमितको दाँजोमा काठमाडौँ उपत्यकाको संक्रमितको अनुपात औसतमा करिब ४६% रह्यो भने त्योभन्दा अगाडिको हप्ता यो औसत अनुपात करिब ४५% थियो। यसरी देशभरिको दाँजोमा काठमाडौँको नयाँ संक्रमितको अनुपात विगत केही हप्तादेखि घट्दै गएको देखिएता पनि यो अनुपात गत तीन हप्तामा करिब करिब स्थिर देखियो र केही बढ्न खोजेको जस्तो देखियो ।
नेपाल सरकारले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकापछि कोभिड संक्रमण ज्यादा देखिएका जिल्लाहरुमा कास्की, रुपन्देही, कैलाली,कञ्चनपुर आदि पर्दछन् ।
तर काठमाडौँ उपत्यका र देशका अरु प्रमुख शहरहरुमा प्यान्डेमिकको वास्तविक असर कत्तिको छ थाहा पाउन ती शहरहरुमा कति परीक्षण गरियो र कतिमा पोजिटिभ देखियो, त्यस्तै प्रत्येक शहरमा संक्रमितको कन्ट्याक्ट ट्रेसिंग कत्तिको गरियो, लक्षित समूहमा परीक्षण पुग्यो कि पुगेन आदि WHO को मापदण्ड अनुसार नापेर हेर्नु पर्दछ ।
दैनिक संक्रमण पोजिटिभिटीदर(Positivity Rate)
प्यानडेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी दर एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ। पोजिटिभिटी दरको बारेमा माथि र गएका अंकहरुमा बिस्तृत जानकारी गराइसकेको छ । त्यसको लागि कृपया यस शृंखलाका गएका अंकहरु पनि हेर्नु होला।
नेपालको गएको हप्ताको दैनिक संक्रमण पोजिटिभिटी दर चित्र न. ८ मा देखाइएको छ। गतहप्ता पनि नेपालको प्यान्डेमिक निरन्तर रुपमा कायम रहेता पनि केही तल झर्दै गएको देखिन्छ। गतहप्ता पोजिटिभिटी दर न्यूनतम ८.१५% देखि अधिकतम १२.५७% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर १०.१९% रह्यो।
दुई हप्ता अगाडिको पोजिटिभिटी दर ९.२% र १४.६८% का बीच रही त्यो साताको औसत पोजिटिभिटी दर १२.०% रहेको थियो।
गतहप्ता देशभरि जम्मा ३६८७६ परीक्षण गरियो भने त्यो भन्दा अगाडिको हप्ता जम्मा ३८६८८परीक्षण गरिएका थिए। हाल नेपालमा दैनिक औसतमा करिब पाँच हजार जति मात्र परीक्षण गरिँदै आएको छ। यसरी परीक्षण कम गर्दै जाने क्रममा गत हप्ता आइतबार पौष १२ गते साताकै सबैभन्दा कम जम्मा ३८२८ मात्र परीक्षण गरिएका थिए जस मध्ये १२.५७% लाई संक्रमण देखिएको थियो । यो नेपालमा प्यान्डेमिक सुरु भएपछिकै सबैभन्दा कम परीक्षण हो। योभन्दा अगाडि पौष १० गते शुक्रबार देशभरि जम्मा ४१४२ परीक्षण गरिएको थियो।
विश्वका केही देशहरुका पछिल्लो औसत संक्रमण दर अर्थात् पोजिटिभिटी हेर्ने हो भने जोन्स हप्किन्स विश्वविद्यालय (Johns Hopkins University)का अनुसार बंगलादेशको८.१३%, पाकिस्तानको ५.४८%, माल्दिभ्सको ४.९६%, श्रीलंकाको ५.०४%, भारतको २.२२%, नेपालको ११.७७%, अमेरिकाको ११.९५% र बेलायत १०.१९%को छ।
यसबाट के देखिन्छ भने नेपाल अझै पनि दक्षिण एसियाका अन्य मुलुकको तुलनामा प्यान्डेमिक नियन्त्रण कमजाेर रहेको र यसको जोखिम उच्च रहेको देशमा पर्दछ। यसरी पछिल्लो समयमा दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश र नेपालमा प्यान्डेमिक क्रमश: घट्दै गएको देखिन्छ भने श्रीलंका र माल्दिभ्स लगायत अमेरिका र यूरोपमा प्यान्डेमिक बढ्दै गएको देखिन्छ। दक्षिण एसियाका मुलुकहरुमा बंगलादेश र नेपालले भने हालसम्म प्यान्डेमिक परीक्षण र नियन्त्रण राम्ररी गर्न केही कमजाेरी देखिन्छ ।
समग्रमा गत हप्ताकोआँकडा हेर्दा नेपालमा प्यान्डेमिकओरालो लाग्ने क्रम जारी छ। गत हप्ताको दैनिक जम्मा संक्रमितको संख्या २ हप्ता अगाडिको साताको जम्मा संक्रमित भन्दा कम देखिएको छ । तर गत हप्ताको जम्मा मृत्यु भने बढेको देखिन्छ। यसरी देशभरि जम्मा कोरोना संक्रमित घट्दै जानु खुशीको कुरा हो तर मृत्यु बढ्नु चाहि पक्कै खुशीको कुरा होइन । तर कोभिड संक्रमित घट्दै जानुको एक प्रमुख कारण कम परीक्षण गर्नु पनि हो । परीक्षण कम गर्दा प्यान्डेमिक लुकेर बस्ने सम्भावना भने पक्कै पनि हुन्छ। प्रयाप्त परीक्षण गर्दा गर्दै दैनिक नयाँ संक्रमित र नयाँ मृत्यु घट्दै गएमा त्यसले सहि मानेमा प्यान्डेमिक घटेको अर्थ लाग्छ।
यस दौरान नेपाल सरकारको पछिल्लो तथ्यांक अनुसार नेपालमा हालसम्म २ लाख ६१ हजार ४ सय ३८ जना मानिसलाई यो रोग लागिसकेको छ जसमा ३५% महिला र ६५%पुरुष छन्। त्यस्तै १८७० जनाले यसै रोगका कारण ज्यान गुमाईसकेका छन् । जसमा करिब ३०% महिला र ७०% पुरुष छन्। त्यस अर्थमा नेपालको हालसम्मको समग्र कोरोना मृत्युदर (Cumulative death rate) करिब ०.७% छ। हालसम्म नेपालमा १९ लाख ४२ हजार ७ सय २ जनाको PCR परीक्षण गरिएको छ भने औसतमा समग्र संक्रमण दर अर्थात् पोजिटिभिटी (Cumulative positivity) १३.५ % जति देखिएको छ।
जे होस्, दक्षिण एसियाका अन्य देशहरुमा जस्तै नेपालमा पनि कोरोना प्यान्डेमिक घट्दै जाने क्रम जारि छ। त्यसै अनुरुप जनजीवन पनि सामान्य बन्दै गएको अवस्था छ। हाल परीक्षण कम गर्दै गएको हुनाले पनि कोरोनाको संक्रमण कम हुँदै गएको देखिन्छ। तर नेपाल र दक्षिण एसिया जस्ता कम विकसित देशहरुमा अमेरिका र यूरोपमा जस्तै प्यान्डेमिकले भयाभह रुप लिए भने हाम्रो अवस्था कस्तो होला सोचनीय छ । तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई भुल्न सकिँदैन। त्यसैले हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने , मास्क लगाउने , हात राम्ररी धुने , अनावश्यक भिडभाड नगर्ने आदि सावधानीका कुराहरु अपनाउनु पर्ने देखिन्छ।
prabinshrestha@hotmail.com
(डा. श्रेष्ठ ग्वार्को, ललितपुरस्थित बीएन्डबी अस्पतालका कन्सल्टेन्ट न्युरोसर्जन तथा कोभिड ज्ञाता हुन्।)