
व्यवसायिक दुनियाँमा पनि उच्च भावनात्मक तीक्ष्णता (इमोसनल इन्टेलिजेन्स) लोकप्रिय भइरहेको छ। उच्च भावनात्मक तीक्ष्णताको महत्व कार्यस्थलमा किन बढ्न थालेको छ भनेर कतिपय मानिसहरु आश्चर्यमा छन्। तर उच्च भावनात्मक तीक्ष्णता एक ट्रेन्ड होइन।
उच्च भावनात्मक तीक्ष्णता भएका कर्मचारीले गर्दा निसन्देह कम्पनीको फाइदा या नाफामा कतिको असर गर्छ भनेर कतिपय प्रमुख कम्पनीहरुले हिसाबकिताब गरेरै पत्ता लगाएका छन्। वास्तवमा उच्च भावनात्मक तीक्ष्णता भएका कर्मचारीले कार्यस्थलमा कुल बिक्री र उत्पादकत्वमा वृद्धि निम्त्याउन सक्छन्।
उच्च भावनात्मक तीक्ष्णता बढाउने १० उपाय
१) दृढ शैलीमा कुराकानी गर्ने क्षमताको उपयोग गर्नुहोस्।
— दृढ शैलीमा कुराकानी गर्नुलाई आक्रामक वा असक्रिय रुपमा हेरिँदैन बरु त्यसले व्यक्तिहरुको आदर आर्जन गर्नमा महत्वपूर्ण भूमिका खेल्छ। उच्च भावनात्मक तीक्ष्णता भएका मानिसले अरुलाई आदर गर्दै आफ्ना भावनाहरु प्रस्ट रुपमा राख्न सक्छन्।
२) कुनै पनि असमझदारीमा प्रतिक्रिया दिनुको सट्टा जवाफ दिनुहोस्।
— कुनै पनि असमझदारीमा भावनात्मक आक्रोश र क्रोधका भावना आउनु सामान्य कुरा हो। तर उच्च भावनात्मक तीक्ष्णता भएका मानिसहरुलाई तनावपूर्ण अवस्थामा पनि कसरी शान्त रुपमा बस्न सकिन्छ भनेर थाहा हुन्छ। उनीहरुले जस्तोसुकै कठिन परिस्थितिमा पनि आवेगपूर्ण निर्णय लिँदैनन्। उनीहरुलाई थाहा छ कि असमझदारीको समयमा उनीहरुको लक्ष्य भनेको समाधान हो। उनीहरु आफ्ना कामलाई सोही अनुरुप अघि बढाउँछन्। उनीहरुले कुनै पनि कुरा सचेत भएर छनोट गर्छन् ताकि उनीहरुको कार्य र शब्दहरु प्रतिविम्वित हुन्छन् एकअर्कामा।
३)ध्यान दिएर सुन्ने बानी बसाल्नुस्।
—उच्च भावनात्मक तीक्ष्णता भएका मानिसहरु आफ्नो बोल्नु पर्ने पालो कुर्नुभन्दा पनि स्पष्टताका लागि बोल्छन्। उनीहरु कुनै पनि कुरा प्रतिक्रिया दिनुपहिले के भनिएको छ भनेर राम्रोसँग विचार गर्छन्। सामान्यतया उनीहरु शब्दहरुभन्दा अन्तर्यमा के छ भनेर ध्यानमा राख्छन्। यसले गर्दा गलत समझदारी हुँदैन र अरुले पनि प्रतिक्रिया दिन पाउँछन्।
४) उत्प्रेरित हुनुहोस्।
—उच्च भावनात्मक तीक्ष्णता भएका मानिसहरु आफैँसँग उत्प्रेरित हुन्छन् र उनीहरुले अरुलाई पनि प्रेरित गर्छन्। उनीहरु लक्ष्य निर्धारण गर्छन् र चुनौती सामना गर्न लचिलो हुन्छन्।
५) सकारात्मक दृष्टिकोणका लागि अभ्यास जारी राख्नुस्।
—आफ्नो दृष्टिकोणको शक्तिलाई कम आँकलन नगर्नुहोस्। नकारात्मक व्यवहारले अरुलाई सजिलै असर गर्छ। तर उच्च भावनात्मक तीक्ष्णता भएका मानिसलाई आफ्ना वरपरका मानिसहरुको मनस्थितिको बारेमा थाहा हुन्छ र उनीहरुले त्यही अनुसार सल्लाह सुझाव दिन्छन्। कुनै पनि दिन राम्रो बनाउनका लागि के गर्नुपर्छ र कसरी आशावादी दृष्टिकोण बनाउन सकिन्छ भनेर उनीहरुलाई राम्रोसँग थाहा हुन्छ।
६) स्वचेतनाको अभ्यास गर्नुहोस्।
—उच्च भावनात्मक तीक्ष्णता भएका मानिसहरुमा सहजता र स्वचेतना हुन्छ। उनीहरु आफ्नो भावनाहरुका बारेमा सचेत हुन्छन् र आफू वरिपरिका मानिसलाई कसरी यसले प्रभावित गर्छ भनेर जानकार रहन्छन्। उनीहरु अरुको भावनालाई तथा शरीरिक हाउभाउलाई पनि ध्यानमा राख्छन् र उक्त जानकारीहरुलाई आफ्नो सञ्चार क्षमता बढाउन उपयोग गर्छन।
७) आलोचना सुन्न सिक्नुहोस्।
—उच्च भावनात्मक तीक्ष्णता बढाउने एउटा महत्वपूर्ण कुरा भनेको आलोचना लिन सिक्नु हो। कुनै पनि कुरामा चित्त दुखाउनु या रक्षात्मक बन्नुको सट्टा उच्च भावनात्मक तीक्ष्णता भएका मानिसहरुले आलोचना कसरी र कहाँबाट आइरहेको छ भनेर मनन गर्छन्। यसले कसरी आफ्नो साथसाथै अरुलाई पनि असर गरेको छ भनेर पत्ता लगाई समाधान गर्न खोज्छन्।
८) अरुसँग समानुभूति राख्नुस्।
—उच्च भावनात्मक तीक्ष्णता भएका मानिसलाई कसरी समानुभूति राख्ने भनेर थाहा हुन्छ। उनीहरु बुझ्छन् की समानुभूति एउटा विशेषता हो जसले भावनात्मक शक्तिलाई देखाउँछ कमजोरीलाई होइन। समानुभूतिले उनीहरुलाई अरुसँग मानवीय तहमा जोड्न मद्धत गदर्छ। यसले फरक मत र परिस्थितिहरुका बेलामा मानिसहरुबीच आपसी सम्मान र समझका लागी ढोका खोल्छ।
९) नेतृत्वको उपयोग गर्नुहोस्।
—उच्च भावनात्मक तीक्ष्णता भएका मानिसहरुमा उच्च नेतृत्व कौशल हुन्छ। उनीहरु आफ्ना लागि उच्च मापदण्ड सेट गर्छन र अरुको लागि पनि उदाहरणीय बन्छन्। उनीहरुमा महान निर्णय लिने र समस्या समाधान गर्न सक्ने कौशल हुन्छ। यसले गर्दा उनीहरुले जीवन र काम पनि फलदायी हुन्छ।
१०) पहुँचयोग्य र सामाजिक हुनुहोस्।
—उच्च भावनात्मक तीक्ष्णता भएका मानिसहरु पहुँचयोग्य हुन्छन्। उनीहरुलाई सँग हामीले सजिलै कुराकानी गर्न सक्छौँ। उनीहरु कुनै पनि कुरामा मुस्कुराएर सकारात्मक प्रतिक्रिया दिन्छन्। उनीहरुले आफ्नो सामाजिक कौशलको उपयोग गर्दै वरिपरिका मान्छेलाई सजिलो गराउँछन्। उनीहरुले अरुसँग कसरी कुराकानी गर्न सकिन्छ भनेर राम्रो सँग जान्दछन्। चाहे औपचारिक होस या अनौपचारिक।
यस्ता क्षमताहरु मनोविज्ञान राम्रोसँग बुझ्ने मानिसलाई फाइदाजनक हुन्छ। उच्च भावनात्मक तीक्ष्णता स्वभाविक रुपमा समानुभूति भएका मानिसमा सजिलै विकसित हुन्छ। कम समानुभूति भएका मानिसहरुलाई भने स्वचेतना तथा सचेतनाका लागि अभ्यास गर्नुपर्ने हुन्छ।
उक्त माथिका चरणहरुलाई उपयोग गरेर हामीले उच्च भावनात्मक तीक्ष्णता बढाउन सक्छौँ।
(आइएनसी डट कमबाट साभार)