मुस्ताङमा हिमपहिरो जानुको कारण के थियो?

मुस्ताङमा हिमपहिरो जानुको कारण के थियो?
+
-

काठमाडौँ – मुस्ताङको थासाङमा गएको कात्तिक २८ गते गएको हिमपहिरो प्राकृतिक मौसमी प्रक्रियाहरुकै कारण गएको प्रारम्भिक अध्ययनबाट देखिएको छ।

जल तथा मौसम विज्ञान विभागले गरेको प्रारम्भिक अध्ययनमा विगतमा भन्दा बढी हिउँ परेको र त्यसको वजनले गर्दा प्राकृतिक रुपमा नै कात्तिकको २८ गते हिमपहिरो गएको प्रारम्भिक अनुमान गरिएको उल्लेख छ।

कात्तिक २८ गते बिहान ११ः४० को आसपासमा मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङमा हिमपहिरो गएको थियो।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हिम सर्वेक्षण तथा हिमताल शाखाका प्रमुख सुवास तुलाधरका अनुसार विभिन्न तथ्य र मौसमी अवस्थाहरुको विश्लेषण गर्दा प्रारम्भिक निष्कर्षमा मुस्ताङको हिमपहिरो असामान्य घटनाक्रम नभई हिमाली क्षेत्रमा देखिने प्राकृतिक प्रक्रिया नै रहेको पाइएको हो।

हिम सर्वेक्षण तथा हिमताल शाखा प्रमुख तुलाधरले भने, ‘यो वर्षको मनसुनमा देशभर सरदरभन्दा बढी पानी परेकाले माथिल्लो पहाडी तथा हिमाली क्षेत्रमा सोहीअनुसार बढी हिउँ परेको अनुमान छ। हिउँ बढी परेकाले त्यसको तौलका कारण तल खस्दा पहिरो गएको प्रारम्भिक अध्ययनबाट अनुमान गरिएको हो।’

कोबाङमा गएको हिम पहिरोको मूल टुकुचे हिमालमा रहेको बताउँदै तुलाधरले भने, ‘त्यो बेला (हिमपहिरो गएको आसपासका दिनहरु) तापक्रम एक्कासी बढेको असामान्य अवस्था पनि देखिएन, बरु निरन्तर घट्दो क्रममा थियो तापक्रम पनि सोही कारण प्राकृतिक प्रक्रियाअन्तर्गत नै हिम पहिरो गएको अनुमान गरिएको हो।’

विभागले जारी गरेको प्रारम्भिक अध्ययनसम्बन्धी जानकारीमा भनिएको छ, ‘हिमपहिरो गएको स्थानबाट लगभग ८ किलोमिटर दक्षिण पूर्वमा रहेको थाकमार्फा हावापानी केन्द्रको औसत वार्षिक वर्षा ४१० मिलिमिटर रहेकोमा सन् २०२० र २०२१ औसतभन्दा बढी क्रमशः ५२९ मिलिमिटर (२०२०) र ६५५ मिलिमिटर (सन् २०२१ को हालसम्म) वर्षा भएको देखिन्छ।’

स्रोत : जल तथा मौसम विज्ञान विभाग

यसैगरी हिमपहिरो गएको क्षेत्रबाट साढे १२ किलोमिटर दक्षिणमा रहेको लेते हावापानी केन्द्रको औसत वार्षिक वर्षा १४२३ मिलिमिटर रहेकोमा सन् २०२० मा १८५४ मिलिमिटर तथा सन् २०२१ को हालसम्म १७६२ मिलिमिटर वर्षा भएको छ।

तापक्रम पनि उल्लेख्य रुपमा घटीबढी नभएको विभागले जनाएको छ। थाकमार्फा हावापानी केन्द्रको औसत वार्षिक तापक्रम ११.४ डिग्री सेल्सियस तथा लेते केन्द्रको औसत वार्षिक तापक्रम ११.८ डिग्री सेल्सियस रहेकोमा गत वर्ष र यो वर्ष उल्लेख्य घटीबढी नभएको विभागले जनाएको छ।

जारी गरिएको प्रारम्भिक अध्ययन जानकारीमा भनिएको छ, ‘विगत एक महिनाको थाकमार्फा र लेते हावापानी केन्द्रको तापक्रमको अवलोकन गर्दा तापक्रम घट्दोक्रममा देखिन्छ।

हिमपहिरोपश्चात कालीगण्डकी नदीको तल्लो तटीय क्षेत्रमा रहेको कालीगण्डकी तातोपानी जलविज्ञान केन्द्रमा मापन गरिएको जलसतहमा उल्लेख्य रुपमा परिवर्तन आएको देखिएको छैन। त्यसैगरी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पनि सो क्षेत्रमा त्यो समयमा कुनै भूकम्प मापन भएको छैन।’

हिमाली क्षेत्रमा ठूला साना हिमपहिरो प्राकृतिक रुपमा प्रायः गइरहने हुँदा निरन्तर प्रक्रिया रहेको विभागले जनाएको छ। हिमपहिरोको प्रारम्भिक अध्ययनको निष्कर्षमा विभागले भनेको छ, ‘सन् २०२० र २०२१ मा सो क्षेत्रमा औसतभन्दा बढी वर्षा भएको लेते तथा थाकमार्फ हावापानी केन्द्रको तथ्यांकबाट देखिएकाले त्यहाँ विगतमा भन्दा बढी हिउँ परेको हुन सक्ने अनुमान गरिएको छ। कबाङमा गएको हिमपहिरो पनि जम्मा भएको हिउँको वजनले प्राकृतिक रुपमा भएको प्रारम्भिक अनुमान छ। यस सम्बन्धमा विस्तृत अध्ययनपछि थप जानकारी उपलब्ध हुनेछ।’

काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक तथा हिमनदी विज्ञ डा रिजनभक्त कायस्थले हिमपहिरो गएलगत्तै पनि प्राकृतिक प्रक्रियाअन्तर्गत नै हिमपहिरो गएको बताएका थिए।

उनले भनेका थिए, ‘कोबाङको हिमपहिरो जलवायुजन्य असामान्य गतिविधिका कारण नभई प्राकृतिक कारणले भएको देखिन्छ।’

हिमपहिरो कसरी जान्छ?

धेरै हिमपात भएर भिरालो हिमालको पहाडमा धेरै हिउँ जम्मा भएपछि सामान्य अवस्थामा न्यानो दिनमा हिमपहिरो जाने गर्छ। असामान्य मौसमी गतिविधि भयो र अत्यधिक हिउँ परेको अवस्थामा सोही बेला नै वजन बढी भएर तथा भूकम्प गएको अवस्थामा हल्लिएर हिमपहिरो जान्छ।

तर सामान्य अवस्थामा हिउँ थेग्न सक्नेभन्दा बढी भएमा न्यानो दिनमा माथिल्लो भागको हिउँ पग्लेर सो पानी भित्र पस्ने र त्यसले गर्दा तल्लो भागको हिउँ पहिरोका रुपमा खस्ने गर्छ। हिउँ जम्मा भएको क्षेत्रको भिरालोपन ३० डिग्री वा त्योभन्दा बढी भएमा पहिरोको जोखिम हुने गर्छ।

यो पनि पढ्नुहोस्

किन जान्छ हिमपहिरो? के हुन्छ जोखिम?

किन जान्छ हिमपहिरो? के हुन्छ जोखिम?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?