अध्ययन भन्छ, हिमालय क्षेत्रका हिमनदी संकटमा

असामान्य गतिमा पग्लिँदै हिमनदी, थपिँदै जोखिम

असामान्य गतिमा पग्लिँदै हिमनदी, थपिँदै जोखिम
+
-

काठमाडौँ – नेपालसहितका हिमाली क्षेत्रका हिमनदी पछिल्लो केही दशकमा चिन्ताजनक रुपमा पग्लिरहेको पछिल्लो एक अध्ययनबाट देखिएको छ।

बेलायतको लीड्स विश्वविद्यालयको अगुवाइमा भएको अध्ययनअनुसार विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिका कारण हिमालय क्षेत्रका हिमनदी पग्लिने क्रम अत्यधिक तीव्र देखिएको हो।

विश्वका हिमालय क्षेत्रमा पछिल्लोपटक ४००–७०० वर्ष पहिले ठूलो मात्रामा हिमनदीको बिस्तार भएको थियो अर्थात त्यो समय हिमालय क्षेत्रमा हिउँले ढाकिएका क्षेत्र बढेकाे थियाे। सो समयको तुलनामा अहिले हिमनदीहरुले ४० प्रतिशतसम्म हिउँ क्षेत्र गुमाएको सोमबार प्रकाशित भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

हिमनदीहरु तीव्र गतिमा पग्लिने क्रम पछिल्ला केही दशकमा निकै डरलाग्दो रुपमा बढेको र त्यसले विशेष गरी तल्लो तटीय क्षेत्रमा बस्ने एसियाका दशौँ लाख मानिसका लागि आवश्यक पर्ने पानीको आपूर्तिमा गम्भीर असर पर्ने देखिएको अनुसन्धान प्रतिवेदनमा चेतावनी दिइएको छ।

साइन्टिफिक रिपोर्टमा प्रकाशित भएको अध्ययन प्रतिवेदनका अनुसार विश्वका अरु क्षेत्रको तुलनामा नेपालसहितका हिमाली क्षेत्रमा रहेका हिमनदीहरुले ‘असाधारण’ गतिमा हिउँ गुमाइरहेका छन्।

पछिल्लो अध्ययनमा हिमालय क्षेत्रका १४ हजार ७९८ हिमनदीको अवस्था लिडल आइस एजसँग तुलना गरेका थिए। अनुसन्धानकर्ताले हिमनदीहरुले झण्डै ४० प्रतिशत क्षेत्र गुमाएको विश्लेषण गरेका छन्। यस्तै हिमनदीहरुकाे गहिराइ कम हुने क्रम पनि तीव्र देखिएको छ। यो अवधिमा हिमनदीको क्षेत्रफल २८ हजार वर्ग किलोमिटरबाट घटेर झण्डै १९ हजार ६ सय वर्ग किलोमिटरमा आइपुगेको देखिएको छ। यस्तै हिमनदीले यो अवधिमा ३९० देखि ५८६ घनकिलोमिटरसम्म हिउँ गुमाएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

विश्वभरका हिमनदीहरु पग्लिएर बगेको पानीका कारण यो अवधिमा समुद्रको सहत ०.९२ देखि १.३८ मिलिमिटरसम्म बढेको अनुसन्धानकर्ताले विश्लेषण गरेका छन्।

केही महिना पहिले प्रकाशित भएको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था आइपिसिसीको प्रतिवेदनमा समुद्र सतह बढ्नुमा हिमाली क्षेत्रबाट पग्लिने हिउँको पनि भूमिका रहेको उल्लेख थियो।

अनुसन्धानको नेतृत्व गरेका लीड्स विश्वविद्यालयको स्कूल अफ जिओग्राफीका नायव प्रमुख डा. जोनथन कारिविकले भनेका छन्, ‘हाम्रो अनुसन्धानले स्पष्ट रुपमा देखाएको छ कि हिमालय क्षेत्रका हिमनदी पग्लिने दर  गएका शताब्दीहरुको तुलनामा कम्तीमा १० गुणा तीव्र छ। हिउँ पग्लिने वा हिमनदीहरुले हिउँ गुमाउने यो दर पछिल्लो केही दशकमा तीव्र भएको हो र यसलाई मानवीय गतिविधिका कारण भइरहेको जलवायु परिवर्तनले सहयोग गरेको छ।’

प्रमुख नदी संरचनामा असर पर्ने

मुस्ताङको मुसेडाँडाबाट देखिएको कालिगण्डकी नदीको बहाव । तस्बिर : बर्षा शाह/देश सञ्चार

असाधारण तथा चिन्ताजनक रुपमा हिमनदी पग्लिने क्रमले हिन्दू कुश हिमालय क्षेत्रमा मुहान रहेको एसियाका ठूला नदी संरचनामा गम्भीर असर पर्ने देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ। यसको प्रभाव तल्लो तटीय क्षेत्रका बासिन्दाका लागि आवश्यक पानीको आपूर्तिमा पर्नेछ। हिमालय क्षेत्रमा हिमनदीबाट पग्लिएको पानी एसियाका प्रमुख नदीहरुको मुहान वा स्रोत हो।

नेपाल तेस्रो ध्रुवका रुपमा चिनिने हिन्दू कुश हिमालय क्षेत्रमा पर्छ। यो क्षेत्रमा रहेका ८ देशमध्ये नेपाल धेरै पर्वतीय क्षेत्रले ढाकिएको देश हो। हिन्दू कुश हिमालय (एचकेएच) पृथ्वीका दुई ध्रुवपछि सबैभन्दा धेरै हिउँ अर्थात जमेको अवस्थामा पानी रहेको क्षेत्र हो।

अनौपचारिक रुपमा थर्ड पोल (तेस्रो ध्रुव) का रुपमा समेत चिनिने हिन्दू् कुश हिमालय क्षेत्र नेपालसहित ८ देश (अफगानिस्तान, बंगलादेश, भूटान, चीन, भारत, म्यानमार, नेपाल, पाकिस्तान) को करिब ३४ लाख ४१ हजार ७१९ वर्ग किलोमिटरमा फैलिएको छ।

‘थर्ड पोल’ एसियाका १० ठूला नदी संरचनाको स्रोत हो। २४ करोडको बसोबास रहेको हिन्दू कुश हिमालय क्षेत्र हुँदै बग्ने नदीहरु पर्वतीय तथा तल्लो तटीय क्षेत्रका एक अर्ब ९० करोडभन्दा बढी मानिसका लागि पानीको स्रोत हो।

हिमनदी पग्लिँदा थपिने जोखिम

च्छोरोल्पा हिमताल । तस्बिर सौजन्यः विक्रम भट्ट

हिमनदी पग्लिने दर तीव्र हुँदा प्रमुख नदी संरचनाहरुको स्रोतको दीगोपनलाई लिएर चिन्ता थपिएको हो। तुलनात्मक रुपमा हिमालय क्षेत्रमा हिमनदी पग्लिने क्रम तीव्र देखिएको र त्यसले गर्दा हिमतालहरुको संख्या तथा आकार बढाउने गरेको छ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले रिमोट सेन्सिङ्थ तथा जिओग्राफिक इन्फरमेशन सिस्टम (जिआइएस) मार्फत सन् २०१५ र त्यसयताका केही स्याटेलाइट तस्बिरलाई आधार मानेर गरेको पछिल्लो अध्ययन (२०२०) अनुसार कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा तीन हजार ६२४ वटा हिमताल छन्।

तीन जलाधार क्षेत्र (कोशी, गण्डकी र कर्णाली) मा नेपालसँगै चीनको स्वशासित क्षेत्र तिब्बत तथा भारत पनि पर्छ। अध्ययन प्रतिवेदनअनुसार दुई हजार ७० वटा हिमताल नेपालमा, १५ सय ९ वटा हिमताल तिब्बत तथा ४५ वटा हिमताल भारतमा पर्छन्। भेटिएकामध्ये १४ सय १० वटा तालको आकार ०.०२ स्क्वायर किलोमिटर वा त्योभन्दा ठूलो रहेको छ। ०.०२ स्क्वायर किलोमिटर वा त्योभन्दा माथिको आकारका हिमतालहरु फुट्ने वा छचल्किएर अप्रत्याशित बाढी आउने सम्भावना रहेको मानिन्छ।

नेपाल र हिन्दू कुश हिमालय क्षेत्रमा रहेका अन्य पहाडी मुलुकका लागि हिमताल फुटेर निम्तिने बाढीको उच्च जोखिम कायम छ। हिमनदीको हिउँ पग्लेर तालहरु बन्ने र ती तालहरु फुटेमा त्यसले तल्लो तटीय क्षेत्रमा एक्कासी ठूलो बाढीको प्रकोप सिर्जना गर्न सक्छ।

इसिमोड र युएनडीपीले गरेको पछिल्लो अध्ययन प्रतिवेदनले नेपालको कोशी, गण्डकी र कर्णाली नदीको जलाधार क्षेत्र, चीनको स्वशासित क्षेत्र तिब्बत र भारतमा रहेका ४७ हिमताल फुट्ने वा ‘ओभर फ्लो’ को खतराको सम्भावनामा रहेको पहिचान गरेको छ। यी हिमतालहरू फुट्ने जोखिममा रहेको र तल्लो तटीय क्षेत्रमा ताल फुटेर बाढीको प्रकोप सिर्जना हुनसक्ने ठूलो जोखिम रहेको सो अध्ययन प्रतिवेदनमा उल्लेख छ।

सन् १९९७ देखि २६ वटा हिमताल फुटेर बाढी आएका घटना नेपालले बेहोरिसकेको छ। त्यसमध्ये १४ वटा देशभित्रैका हिमताल फुटेर बाढी आएका छन्। मौसममा आएको परिवर्तनसँगै हिमताल पग्लने दर बढ्दो क्रममा रहेकाले नेपालका लागि हिमताल सिर्जित बाढी वर्तमान समयको सबैभन्दा ठूलो चुनौती रहेको विज्ञ तथा वैज्ञानिक अध्ययनहरुले देखाएका छन्।

सन् २०२० अगस्ट अन्तिममा नेचर जर्नलमा प्रकाशित भएको अध्ययन प्रतिवेदनमा सन् १९९० यता विश्वव्यापी रुपमा हिमतालहरुको संख्या तथा आकार तीव्र गतिमा बढिरहेको उल्लेख थियो। सो अध्ययनअनुसार सन् १९९० देखि २०१८ को भित्र विश्वभर हिमतालहरुको आकार झण्डै ४८ प्रतिशतले वृद्धि भएको छ।

यस्तै हिमनदी पग्लिने क्रम तीव्र हुँदा हिमालय क्षेत्रमा गेग्रानको मात्रा बढ्ने र ती गेग्रानहरु मौसमी तथा जलवायुजन्य गतिविधिका कारण तल्लो तटीय क्षेत्रमा बगेर आउने तथा खस्दा भौतिक तथा मानवीय क्षतिको जोखिम पनि रहन्छ।

यो पनि पढ्नुहोस्

जोखिममा छन् हिमतालहरु, के गर्न सकिन्छ?

जोखिममा छन् हिमतालहरु, के गर्न सकिन्छ?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?